काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक चालकको पहिचान भने खुल्न सकेको छैन । यसअघि ती व्यक्ति बागमती गाउँपालिकाका दावा लामा रहेको भनिएको थियो । सोही नामको चालक अनुमतिपत्रसमेत प्रहरीले फेला पारेको थियो ।
तर दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि आगलागीमा घाइते भएका चालक अर्कै व्यक्ति रहेको खुलेको हो ।
चालकका आफन्तसमेत हालसम्म सम्पर्कमा नआएकाले उनको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।