विकासन्युज

डेटएक्सपायर वस्तु भेटिएपछि अदोरा होल्डिङ्सलाई साढे २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका-३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यवसायिक फर्महरूको बजार अनुगमन गर्ने क्रममा अदोरा होल्डिङ्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ठ) विपरीत म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएको जनाएको छ। उक्त कसुर ऐनको दफा ३८(ङ) अन्तर्गत प्रमाणित भएपछि दफा ३९(१)(ख) बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अन्य केही व्यवसायलाई भने आवश्यक निर्देशन दिएको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित बागबजार स्टोर, ललितपुर महानगरपालिका-४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालि, गोकर्णेश्वर नगरपालिका-५, नयाँवस्तीस्थित एभरेष्ट फ्युल डिष्ट्रीब्यूटर्स, काठमाडौं महानगरपालिका-२९, पुतलीसडकस्थित टेक्नो ट्रेड प्रालि, काठमाडौं महानगरपालिका-३१, देवकोटा मार्गस्थित रुद्र किचेन मार्ट स्टोर तथा मध्य बानेश्वरस्थित प्रिन्स मार्ट प्रालिलाई सामान्य निर्देशन दिइएको छ। विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

ग्लोबल आइएमई बैंकको स्मार्ट प्लस एपबाटै अब बैंक खाता ब्लक गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको निक्षेपलाई डिजिटल ठगीबाट सुरक्षित राख्ने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पछिल्लो समय फिसिङ, स्क्याम तथा अन्य अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको हो । अब ग्राहकले खाता ह्याक भएको वा अनधिकृत पहुँच भएको आशंका लागेमा तुरुन्तै आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन् । यसका लागि ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधका आधारमा पनि खाता ब्लक गराउन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो प्रक्रिया अझ सहज बनाइएको छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिसकल बैंकिङ’भित्रको ‘अकाउन्ट ब्लक बाइ मिसकल’ विकल्प रोज्नासाथ खाता तत्काल ब्लक हुनेछ । बैंकका अनुसार यो सुविधाले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नेछ । बैंकिङ क्षेत्रका विज्ञहरूले समेत यस्ता सुरक्षा प्रणालीले ग्राहकको निक्षेप सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकका अनुसार उक्त व्यवस्थासँगै आफ्नो नयाँ सुरक्षा प्रणालीले ग्राहकको डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ । ग्लोबल आइएमई बैंक उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।  

सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा सहभागी थिए । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनका अनुसार यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी दिएको छ । फुयालले यस उपलब्धिमा योगदान पुर्‍याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाली ब्रोलाई जन्म कैदको सजाय माग, भाई, प्रेमिका र साथी पनि मुछिए

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले भाइरल भएका रेस्लर एवं पूर्वसैनिक कुमार थापा मगरविरुद्द जन्मकैदको सजाय माग गरिएको छ । आफ्नै श्रीमती, नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको चक्कु प्रहार गरी विभत्स हत्या गरेको आरोपमा उनीविरुद् जन्म कैदको सजाय माग गरिएको हो ।  प्रतिवादी अम्बिका भुजेल र नेपाल सरकार वादी भएर दर्ता गरेको अभियोगपत्रमा उनीसहित चार प्रतिवादनी बनाइएका छन् । सरकारी वकिलको कार्यालयले नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्यलाई कुमारसँग मिलेर ईश्वरीको हत्या गरी विवाह गर्ने योजना बुनेको आरोपमा मुदद चलाइएको छ भने उनकै भाई विक्रम थापा मगरलाई दाजुलाई हत्याका लागि उक्साएको र आर्थिक प्रलोभन देखाएको आरोपमा मुदद चलाइएको छ ।  यस्तै, कुमारका साथी एवं धनेश्वर अटोमोबाइल्सका सञ्चालक पूजन थापामाथि पनि कुमारलाई लुक्न र बस्न सहयोग गरेको आरोपमा मुदद चलाइएको छ ।   काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ पैँयुटारमा गत जेठ २२ गते राती साढे ९ बजे थापाले बाटो ढुकेर श्रीमतीको घाँटी रेटी हत्या गरेको तथ्य प्रहरी अनुसन्धान र अदालतमा दायर अभियोग पत्रबाट खुलेको छ ।  मृतक ईश्वरी भुजेल नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटिका सुवेदार पदमा कार्यरत थिइन् ।  घटना पश्चात् सोही राती ११ बजे प्रहरीले अभियुक्त कुमार थापा मगरलाई बालाजु बाइपासबाट रगत लतपतिएको लुगासहित पक्राउ गरेको थियो । अभियोग पत्रका अनुसार कुमार र ईश्वरीबीच करिब २० वर्षअघि नेपाली सेनामा कार्यरत रहँदा प्रेम विवाह भएको थियो । उनीहरूका १८ र ४ वर्षका दुई छोराहरू छन् ।  सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा समेत गएका कुमार नेपाल फर्किएपछि रेस्लिङ खेल र टिकटकमा सक्रिय भएका थिए । टिकटकमा भाइरल भएपछि उनको चिनजान जुम्ला घर भई काठमाडौं बस्ने २५ वर्षीया नर्स प्रतीक्षा आचार्यसँग भयो ।  प्रतीक्षालाई आफ्नो रेस्लिङ खेलको इभेन्ट म्यानेजर नियुक्त गरेपछि उनीहरूबीच प्रेम र शारीरिक सम्बन्ध सुरु भएको कुमारले आफ्नो बयानमा स्वीकार गरेका छन् ।  टिकटकमा प्रतीक्षालाई ‘माई डक्टर गर्लफ्रेन्ड’ भन्दै भिडियो पोस्ट गरेपछि ईश्वरीले उनीहरूको सम्बन्धबारे थाहा पाएकी थिइन् । त्यसपछि परिवारमा तीव्र कलह सुरु भयो र पटक–पटक प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी परिसर काठमाडौंमा मिलापत्र समेत गरिएको थियो ।   अदालतमा विचाराधीन मुद्दा र हत्याको योजना घरेलु हिंसा र प्रताडना सहन नसकी ईश्वरीले श्रीमान् कुमार विरुद्ध प्रहरीमा वैवाहिक जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गराएकी थिइन्, जसमा कुमार ५० हजार धरौटीमा छुटेका थिए ।  यसका साथै ईश्वरीले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा समेत दायर गरेकी थिइन् ।  कुमारले ईश्वरीलाई ती मुद्दाहरूमा ‘होस्टाइल’ हुन (बयान फेर्न) र मुद्दा फिर्ता लिन निरन्तर दबाब र ज्यान मार्ने धम्की दिँदै आएका थिए । हत्या भएको दिन (जेठ २२ गते) अदालतमा सोही मुद्दाको पेसी तोकिएको थियो ।  अभियोगपत्रमा उल्लेख भएअनुसार कुमार बिहानै ईश्वरीलाई भेट्न नारायणहिटीस्थित सैनिक ब्यान्डको गेटमा पुगेका थिए । तर, ईश्वरीले भेट्न मानिनन् । त्यसपछि दिनभर बबरमहल अदालत र साथी पूजन थापा क्षेत्रीको बालाजुस्थित रिकन्डिसन हाउसमा समय बिताएका कुमार बेलुका तनाव र आक्रोशका साथ पैँयुटारस्थित घर पुगेका थिए ।   घरमा छोरा र काम गर्ने केटीसँग विवाद भएपछि कुमार झनै आक्रोशित बनेर आफ्नो कार (बा एची ०३४४) लिई निस्किएको बयान दिएका छन् । सोही क्रममा विपरीत दिशाबाट ईश्वरी ड्युटी सकेर स्कुटरमा घर फर्किँदै गरेकी देखेपछि उनले कार रोकेर आफूसँग सधैँ राख्ने चक्कु लिई ईश्वरीको पिछा गरेको र सिसिटिभीमा कैद विभत्स क्षणपैँयुटारस्थित राजु भट्टराईको निर्माणाधीन घर अगाडिको गल्लीमा ईश्वरी पुगेपछि कुमारले उनलाई पछाडिबाट समातेर नियन्त्रणमा लिई घाँटी रेटी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।  वारदात स्थल नजिकैको सिसिटिभी फुटेजमा कुमारले कारबाट झरेर ईश्वरीलाई लखेटेको, चक्कु प्रहार गरेको र वारदात पछि चक्कु झाडीमा फालेर कार चढी भागेको स्पष्ट देखिएको अभियोग पत्रमामा उल्लेख छ ।  पोस्टमार्टम रिपोर्टका अनुसार ईश्वरीको मृत्यु घाँटी र छातीमा लागेको गहिरो चोटका कारण भएको बताइएको छ ।  उनको हातमा ’डिफेन्स कट’ अर्थात् बच्न खोज्दा लागेका चोटहरू समेत फेला परेका थिए ।  थप तीन जना मतियारका रूपमा प्रतिवादी ईश्वरीकी दिदी अम्बिका भुजेलको किटानी जाहेरीका आधारमा प्रहरीले मुख्य अभियुक्त कुमार थापा मगरसहित हत्याको योजना र मतियारको भूमिका खेलेको आरोपमा अन्य तीन जनालाई पनि प्रतिवादी बनाएको छ ।  प्रहरीले घटनामा प्रयोग भएको ९ इन्च लामो धारिलो चक्कु, रगत लागेको टिसर्ट, किया कम्पनीको कार र आइफोनहरू बरामद गरिसकेको छ ।  कानुन बमोजिम सजायको मागदाबी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी कुमार थापा मगरसहित अन्य मतियारहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत जन्मकैद र कडा सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।

‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सुरु गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले देशभरका ७७ वटै जिल्लालाई समेटेर ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । वित्तीय सेवाग्राहीहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले यो सर्वेक्षण सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सर्वेक्षणका लागि ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर ‘र्यान्डम स्याम्पलिङ’ विधिमार्फत वडाहरू छनोट गरी जम्मा १० हजार ४०५ वटा नमुना संकलन गरिने छ । सर्वेक्षणका क्रममा वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, र वित्तीय ग्राहक संरक्षण जस्ता विषयमा ग्राहकहरूको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।  यस सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक नीति, कार्यक्रम र नियामक व्यवस्थामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा राष्ट्र बैंकको छ । संकलित विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ । सर्वेक्षणलाई प्रभावकारी र विश्वानसीय बनाउन राष्ट्र बैंकले सम्पूर्ण वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, र सरोकारवालाहरूलाई यस कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध समेत  गरेको छ ।  

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । बैंकले यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय प्रतिवेदन मापदण्डको पालना गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ । माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ । 

खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु खानेपानी लिफ्ट आयोजनामा भ्रष्टाचार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरिस कन्सक्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका अनुुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित उक्त लिफ्ट खानेपानी आयोजनाको ठेक्का सम्झौता शिरिस कन्स्ट्रक्सन, भक्तपुरसँग भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेपछि गाउँपालिकाको बैठकले २०७८ माघ २९ मा ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने र बैंक जमानत जफत गर्ने निर्णय गरेको थियो । तर, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निर्माण कम्पनीका सञ्चालकसँगको मिलेमतोमा उक्त निर्णय लुकाएको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोग लागेको छ ।  अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुेवदी र कन्सक्ट्रक्सनका सञ्चालक राईलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।  

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैन : सांसद शर्मा

काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् ।  बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए ।  बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रश्तुत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गरे, 'आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?' किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । काठमाडौं आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुपर्यो ।’ सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे ।  ‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जति सक्दो चाँडो मुक्त हुनुपर्छ ।’ समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिए ।