सिंहदरबारको क्यान्टिन महँगो भयो, सिंहदरबारलाई शाकाहारी बनाउँ : सांसद सुनार
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूको महँगी र अव्यवस्थित संरचनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्यून तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना महँगो भएको भन्दै यसलाई सस्तो र मर्यादित बनाउन माग गरेका हुन् । सांसद सुनारले सिंहदरबारभित्र जताततै खुलेका क्यान्टिन र त्यहाँबाट निस्कने गन्ध तथा फोहोर व्यवस्थापनबारे प्रश्न उठाए । उनले सिंहदरबारलाई व्यवस्थित र सफा बनाउन ‘भेजिटेरियन’ (शाकाहारी) क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘सिंहदरबारभित्र फाइभ स्टार होटलको शैलीमा क्यान्टिन चलाउनु हुँदैन । यहाँका तल्लो तहका कर्मचारी र मर्यादापालकहरूका लागि ३०–३५ हजारको तलबमा दिनभरको चिया–खाजा खर्च धान्न कठिन छ ।’ राजदूत नियुक्तिको विषयमा उठेका प्रश्नहरूमा टिप्पणी गर्दै उनले मापदण्ड पालनामा जोड दिए । उनले भने, ‘विज्ञता र अनुभवका आधारमा नियुक्ति हुनुपर्छ, तर सरकारले बनाएको कार्यविधि मिच्न पाइँदैन । व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्दा पनि उसले जिम्मेवारी बहन गर्न सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण हो ।’ प्रहरीभित्रको भ्रष्टाचार र विशेषगरी म्यादी प्रहरीको जुत्ता खरिदमा भएको अनियमितताका बारेमा सोधिएको प्रश्नमा सांसद सुनारले गम्भीर अनुसन्धान भइरहेको बताए । उनले १ लाख ३० हजारभन्दा बढी म्यादी प्रहरीको जुत्ता खरिदमा बदमासी भएको प्रमाण सङ्कलन भइरहेको दाबी गरे ।
टेकुस्थित प्लास्टिक गोदाममा आगलागी
काठमाडौं । टेकुको प्लास्टिक गोदाममा आगलागी भएको छ । सोमबार (आज) साँझ काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लाष्टिक गोदाममा आगलागी भएको हो । आगलागी भएपछि दमकल, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली श्रमिकले विमानस्थलमा अध्यागमनका विचौलियालाई २३ हजार तिरेर कुवेत उडे
काठमाडौं । त्रिभुवन विमानस्थलको अध्यागमनबाट श्रम स्वीकृति नभएको एक व्यक्ति पास भएको खुलेको छ । सोमबार (आज) बिहान ७ः३५ को उडानमा कुवेत एयरलाइन्समार्फत जाने नरेश विष्टले एक व्यक्तिलाई २३ हजार तिरेर कुवेततर्फ उडेको पाइएको हो । विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले विष्टसँग श्रम स्वीकृति नभएकाले भित्र जान दिएका थिएनन् । विष्टको राहदानीमा श्रम स्वीकृति नभएपछि विमानस्थल बाहिर निस्केर उनी बसेका थिए । सोही समयमा विमानस्थल परिसरमा रहेका एक व्यक्तिले अध्यागमनलाई पैसा बुझाएमा भित्र जान पाइने बताएका थिए । विष्टले २३ हजार रुपैयाँ बुझाएमा अध्यागमनबाट पास हुने जानकारी पाए । सोही अनुसार विष्टले ती व्यक्तिलाई २३ हजार रुपैयाँ उनको क्युआरमा हाल्दिएका हुन् । विष्टका भाइसँग ती अपरिचित व्यक्तिले थप पैसा माग गरिरहेका छन् । पाँच हजार रुपैयाँ माग गरेको विष्टका भाइले विकासन्युजले बताए । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले पैसा लिएको बारेमा जानकारी प्राप्त भएको बताए । कसले लियो र किन त्यस विषयमा अनुसन्धान भइरहेको उनले बताए । पैसा लिने व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको ढकालले जानकारि दिए । ‘पैसा कसले लिएको हो, त्यस विषयमा जानकारी छैन,’ उनले भने,‘ अध्यागमनको कर्मचारीले पैसा लिएको जानकारी छैन ।’ ढकालले कुवेत जाने व्यक्तिले कुनै विचौलियालाई पैसा बुझाएको हुन सक्ने बताए ।
डेटा सेन्टरको प्राविधिक समस्याबारे अध्ययन गर्न नेप्सेलाई सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार स्थगित भएको घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारसहितको प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ । नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी दिएको थियो । उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार स्थगित गरिएको थियो । बोर्डले कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको जनाएको छ । यसैगरी, नेप्सेबाट घटनाबारे जानकारी प्राप्त हुनासाथ प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार स्थगित गर्नुपर्ने कारण पत्ता लगाउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको बोर्डले जनाएको छ । बोर्डका अनुसार निरीक्षण टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप कार्य अघि बढाइनेछ । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा धितोपत्र बजारसँग सम्बन्धित यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
महासचिवलाई बैठक चलाउन नदिएपछि ओलीसँग कृष्णगोपालको भनाभन, गरे बैठक बहिष्कार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत केन्द्रीय कमिटी बैठक सञ्चालन गरेको भन्दै नेता कृष्णगोपाल श्रेष्ठले बैठक बहिष्कार गरेका छन् । सोमबार (आज) ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिएर अध्यक्ष ओली आफैले बैठक अघि बढाएपछि श्रेष्ठले आपत्ति जनाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले ओलीको कदमको विरोध गर्दै करिब एक घण्टा उभिएर असहमति जनाएका थिए । उनले अध्यक्ष ओलीलाई पार्टी विधानअनुसार बैठक सञ्चालन गर्न आग्रह गर्दै विधान पढ्न समेत भनेका थिए । त्यसक्रममा ओली र श्रेष्ठबीच भनाभनसमेत भएको ती नेताले बताए । असहमति जनाएका श्रेष्ठ केही समयपछि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा ओलीले आफै बैठक सुरु गर्नुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गर्दै प्रतिवेदनसमेत पेश गरेका थिए । महासचिवले बैठक सञ्चालन गर्ने पार्टीको अभ्यासविपरीत अध्यक्ष आफैले बैठक अघि बढाएको भन्दै श्रेष्ठले आपत्ति जनाएको एक नेताले जानकारी दिए ।
हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको विजेता
काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । सिद्धार्थ प्रिमियर भने उपविजेतामा सीमित भएको छ । सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीको उत्कृष्ट प्रदर्शन र रोमाञ्चक खेलका कारण प्रतियोगिता आकर्षक बनेको आयोजकले जनाएको छ । प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा मोबाइल एप पार्टनरको सहकार्यमा लाइभ स्कोर, खेलको नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो । बीमा क्षेत्रका कम्पनीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्सले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताले बीमा क्षेत्रमा खेलकुदमार्फत आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको छ ।
बस आगजनी भएको विषयमा छानबिन समिति गठन, आजैदेखि काम थालनी
काठमाडौं । त्रिपुरेश्वरमा बस आगजनी भएको विषयलाई लिएर प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेस बस्नेतको संयोजकमा छानबिन समिति गठन गरिएको हो । कार्यालयका प्रवक्ता गोविन्द थपलियाले काठमाडौंमा रहेका प्रहरी मातहतका कर्मचारीको संलग्नतामा समिति गठन गरिएको बताए । उनका अनुसार काठमाडौं प्रहरी परिसर, ट्राफिक कार्यालय, काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधिसहित समिति बनाइएको छ । ‘समितिले आजदेखि काम थालिसकेको छ,’ उनले भने, ‘चाँडो भन्दा चाँडोभन्दा समितिले काम गरेर सकाउनेछ ।’ समितिले अब बसमा आगजनी किन र कसरी भयो भन्ने विषयमा अध्ययन गर्ने उनले जानकारी दिए । अध्ययनपश्चात समितिले प्रतिवेदन बुझाउने थपलियाले बताए । सोमबार त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका थिए । बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् । हाल उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सामाजिक सञ्जालमा चालक र ट्राफिक प्रहरीको विवाद भएको भिडियो अहिले भाइरल भइरहेको छ । किर्तिपुरस्थिति बर्न अस्पतालका चिकित्सक शंकरमान राईले चालक लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । ' शरीरको ९० प्रतिशत भाग गहिरो भएर जलेको छ,’ उनले भने,’ उहाँको अवस्था चिन्ताजनक छ ।'
सुरु भयो यामाहा ‘ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकको अवसर
काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट–द बिगेस्ट एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । असोज १० गतेसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा सुरु भएको मेला ६ दिनसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, डिलर प्रतिनिधि तथा यामाहाप्रेमीहरूको सहभागिता रहेको थियो । मेलामा ग्राहकले यामाहाका विभिन्न स्कुटर तथा मोटरसाइकल अवलोकन र टेस्ट राइड गर्न सक्नेछन् । साथै, पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरेर नयाँ यामाहा खरिद गर्ने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । पुराना सवारीसाधनको मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिएको छ । ‘चंगा चेट’ अभियानअन्तर्गत योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक पाउने अवसरसमेत रहेको कम्पनीले जनाएको छ । ग्राहकलाई सवारीसाधन खरिदमा सहजता प्रदान गर्न नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ। यस्तै, ४० महिनासम्मको कम ईएमआई योजना पनि सञ्चालनमा रहेको छ । मेलामा टेस्ट राइडसँगै विभिन्न डोर प्राइज, निःशुल्क एसेसरिज तथा हाइटेक ग्याजेट जित्ने अवसर पनि रहेको छ । राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट तथा अन्तरक्रियाका कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत ग्राहकलाई पुरानो सवारीसाधन एक्सचेन्जदेखि नयाँ यामाहा खरिद गरी घर फर्किने अवस्थासम्मको प्रक्रिया सहज र लाभदायक बनाउने उद्देश्य रहेको बताए । यामाहा ‘ब्लू फेस्ट’ असोज १० गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।