काठमाडौं । त्रिभुवन विमानस्थलको अध्यागमनबाट श्रम स्वीकृति नभएको एक व्यक्ति पास भएको खुलेको छ ।
सोमबार (आज) बिहान ७ः३५ को उडानमा कुवेत एयरलाइन्समार्फत जाने नरेश विष्टले एक व्यक्तिलाई २३ हजार तिरेर कुवेततर्फ उडेको पाइएको हो ।
विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले विष्टसँग श्रम स्वीकृति नभएकाले भित्र जान दिएका थिएनन् ।
विष्टको राहदानीमा श्रम स्वीकृति नभएपछि विमानस्थल बाहिर निस्केर उनी बसेका थिए ।
सोही समयमा विमानस्थल परिसरमा रहेका एक व्यक्तिले अध्यागमनलाई पैसा बुझाएमा भित्र जान पाइने बताएका थिए ।
विष्टले २३ हजार रुपैयाँ बुझाएमा अध्यागमनबाट पास हुने जानकारी पाए । सोही अनुसार विष्टले ती व्यक्तिलाई २३ हजार रुपैयाँ उनको क्युआरमा हाल्दिएका हुन् ।
विष्टका भाइसँग ती अपरिचित व्यक्तिले थप पैसा माग गरिरहेका छन् । पाँच हजार रुपैयाँ माग गरेको विष्टका भाइले विकासन्युजले बताए ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले पैसा लिएको बारेमा जानकारी प्राप्त भएको बताए । कसले लियो र किन त्यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
पैसा लिने व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको ढकालले जानकारि दिए । ‘पैसा कसले लिएको हो, त्यस विषयमा जानकारी छैन,’ उनले भने,‘ अध्यागमनको कर्मचारीले पैसा लिएको जानकारी छैन ।’
ढकालले कुवेत जाने व्यक्तिले कुनै विचौलियालाई पैसा बुझाएको हुन सक्ने बताए ।