विकासन्युज

गहुँमा किसानलाई २ सय रुपैयाँ घाटा, सरकारी ढिलाइले बिचौलिया ठगीको जोखिम

काठमाडौं । कैलाली जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल ४ हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब २ सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ । किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ,’ उनले भने ।  टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ । टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँका दरले ४ क्विन्टल गहुँ खरिद गरेका छन् । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनलाई यस वर्षको मूल्य ठिकै लागेको बताउँछन् । ‘“गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्यमा पाएँ,’ उनले भने । टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने, ‘राम्ररी सफा नगरेको गहुँ ३ हजार ६०० रुपैयाँमा खरिद गर्छौँ, गुणस्तर हेरेर ३ हजार ९०० रुपैयाँसम्म पनि दिन्छौँ ।’  खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म ४ सय क्विन्टल गहुँ प्रतिक्विन्टल ४ हजार रुपैयाँका दरले बिक्रीका लागि नेपालगन्ज पठाइएको छ । पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए । उनले भने, ‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ ।’  उनका अनुसार गत वर्ष प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँसम्ममा खरिद गरिएकोमा यस वर्ष ३ हजार ८५० रुपैयाँदेखि ३ हजार ९०० रुपैयाँसम्ममा खरिद गरिएको छ ।  यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् । गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ । टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ ।  ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नुपर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ । यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने । 

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको सामूहिक भेट, असिमले भने- मर्यादित कुटनीति, बलियो नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्ने भएका छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले भने, ‘प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कुटनीति, बलियो नेपाल !’

ओम हस्पिटल अब २ सय शय्याको बन्ने, आम्दानी ८८ करोड, ऋण ५८.८५ करोड रुपैयाँ

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले मुख्यतया गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि गरेको जनाएको छ। सन् १९९५ डिसेम्बरमा स्थापना भएको ओम अस्पतालले १७५ शय्याको पूर्ण सेवा सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रिया र परीक्षण सेवासम्म प्रदान गर्दै आएको छ। २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध रहेको अस्पतालले विभिन्न प्रमुख विधामा ओपीडी र आईपीडी सेवा सञ्चालन गरिरहेको छ। ओम अस्पताल अन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू सञ्चालनमा छन् । कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अस्पतालको अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ रहेका छन्, जो नेपालका अग्रणी रेडियोलोजिस्टमध्ये एक हुन् । सञ्चालक समितिमा प्रमुख विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवसायीहरू रहेका छन् । व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) यम बहादुर महतले गर्दै आएका छन् । बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बिमा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रति बढ्दो जागरूकता, प्रविधिमा सुधार र जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धिले व्यवस्थित स्वास्थ्य सेवाको मागलाई प्रोत्साहन गरेको अस्पतालले जनाएको छ। अस्पतालले घना बस्ती भएको काठमाडौं उपत्यकामा रणनीतिक रूपमा अवस्थित मल्टी-स्पेशलिटी संरचना मार्फत निरन्तर बिरामी आकर्षित गरिरहेको छ, जसले थप आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यससँगै हाल १७५ शय्याको अस्पताललाई विस्तार गर्दै २ सय शय्यामा पुर्याउने योजना बनाइएको छ । कुल ८ हजार ५५४.१९ वर्ग मिटर जग्गा क्षेत्रफलमा जम्मा १० हजार ४२३.२२ वर्ग मिटर बुल्ट अप एरिया भएको २०० शय्याको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न लागिएको हाे ।  अस्पतालले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ।

६ कम्पनीको मर्जर, होलसेल क्षेत्रमा ठूलो कदम

काठमाडौं । विभिन्न ६ वटा डाइरेक्ट होलसेल कम्पनीबीच मर्जर सम्पन्न भएको छ । विभिन्न ६ कम्पनी गाभिएर ‘सस्तो डाइरेक्ट होलसेल’को नामबाट एकीकृत कारोबार औपचारिक रूपमा सुरु गरिएको हो ।       २०८२ फागुन १९ गते सम्पन्न संयुक्त विशेष साधारण भाले बेष्ट मार्जिन डाइरेक्ट होलसेल, उपत्यका डाइरेक्ट होलसेल, एक्स्ट्रा डाइरेक्ट होलसेल, एक्स्प्रेस डाइरेक्ट होलसेल र सुपथ डाइरेक्ट होलसेल प्रालिलाई सस्तो डाइरेक्ट होलसेल प्रालिमा गाभ्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयबाट २०८२ चैत १७ गते अन्तिम स्वीकृति प्राप्त भएसँगै एकीकृत कारोबार शुभारम्भ गरिएको सस्तो डाइरेक्ट होलसेलले जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय कीर्तिपुर नगरपालिका(१, काठमाडौंमा रहेको जनाएको छ । 

वैदेशिक रोजगार कल्याणकारी कोषको ३ अर्ब ३२ करोड रुपैयाँ मुद्दतीमा लगानी गर्ने

काठमाडौं । वैदेशिक रोजगार कल्याणकारी कोषको सवा ३ अर्ब रुपैयाँ मुद्दनी निक्षेपमा लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक र विकास बैंकहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक बैंकहरूले प्रस्तावित ब्याजदर र लिन चाहेको रकमसहित आवश्यक विवरण पेश गर्नुपर्नेछ । बैंकहरूले २०८३ वैशाख ९ गते दिउँसो १२ बजेसम्म दरभाउपत्र सचिवालयमा बुझाउनुपर्नेछ । प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो ४ बजे खोलिने जनाइएको छ । 

कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् १६ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा  नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

अमेरिका–इरान युद्ध दुई साताका लागि स्थगित

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच केही दिनका लागि राहत हुने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पको घोषणासँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानमाथि हुने बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको जानकारी दिए । उनले यस कदमलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक पहलका रूपमा व्याख्या गरे ।  उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँग भएको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए । ट्रम्पले युद्ध विराम सशर्त रहेको स्पष्ट पार्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताए । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘यो दुई पक्षीय युद्ध विराम हुनेछ । यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ,’ उनले भने । उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरे ।

एकै दिन ३९ वटा फर्ममा अनुगमन, शंकर र एमडिआरलाई २० हजार जरिवाना

काठमाडौं । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै,कुलेश्वरकै एमडिआर स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको छ । गोङ्गबुमा रहेको गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।  ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकै दिन कूल ३९ वटा फर्ममा अनुगमन गरेकोमा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।