काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको नेतृत्व हस्तान्तरणलाई अब अनिवार्य प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।
उनले स्थानीय तहको निर्वाचनसम्म पार्टी सञ्चालनका लागि अन्तरिम नेतृत्व निर्माण गर्नुपर्ने धारणा अघि सार्दै अध्यक्ष केपी शर्मा ओलीलाई आठबुँदे लिखित प्रस्ताव बुझाएका छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकका क्रममा मंगलबार भट्टराईले ओलीलाई आफ्नो लिखित धारणा बुझाएका हुन् ।
बैठकमा सदस्यहरूले निर्धारित समयभित्र सबै विषयमा धारणा राख्न नसक्ने अवस्था रहेकाले उनले मौखिक प्रस्तुतिभन्दा अघि नै लिखित दस्तावेज अध्यक्षलाई बुझाएका हुन् ।
भट्टराईको बोल्ने पालो भने बुधबारका लागि तय भएको छ ।
उनले लिखित धारणामा पार्टीको वर्तमान राजनीतिक अवस्था, नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनसम्म संगठन सञ्चालनको ढाँचाबारे आफ्नो प्रस्ताव अघि सारेका छन् ।
भट्टराईले स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व खडा गर्नुपर्ने विषयलाई प्रस्तावको महत्त्वपूर्ण हिस्साका रूपमा अघि सारेका छन् ।
पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुसार पुनर्गठन गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्ने उनको धारणा छ ।
एमालेभित्र निर्वाचनमा पार्टीले बेहोरेको पराजय र त्यसपछि उत्पन्न नेतृत्व तथा संगठनसम्बन्धी बहस चलिरहेका बेला भट्टराईको लिखित प्रस्ताव आएको हो ।
यसअघि पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी विषयमा पनि नेतृत्व तहमा मतभिन्नता देखिँदै आएको छ ।
भट्टराईले आफ्नो धारणा केन्द्रीय कमिटी बैठकमै राख्ने तयारी गरेका छन् । बुधबारको बैठकमा उनले लिखित दस्तावेजमा उल्लेख गरिएका विषय सार्वजनिक रूपमा प्रस्तुत गर्नेछन् ।
उनको प्रस्तावले नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनसम्म पार्टी सञ्चालनको संरचनाबारे एमालेभित्रको बहसलाई थप औपचारिक बनाउने देखिएको छ ।