गुल्मी कांग्रेसमा विभाजन, वेद थापाको नेतृत्वमा समानान्तर समिति बन्दै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेसभित्र चर्किएको विवादको प्रभाव गुल्मी जिल्लामा पनि देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन अघि बढाइरहेका बेला गुल्मी जिल्लामा त्यसको समानान्तर गतिविधि सुरु गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीको नेतृत्वमा विशेष महाधिवेशनअन्तर्गतका वडा तथा पालिका अधिवेशन भइरहेका छन् । यस्तै १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका वेद थापा मगरको नेतृत्वमा समानान्तर जिल्ला समिति गठन गर्ने तयारी भएको हो ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्षसमेत रहेका थापा मगरले असोज १२ गते समानान्तर जिल्ला समिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित समानान्तर समिति गठनको तयारी गरिएको हो ।

जिल्लाका केही नेताहरूले विशेष महाधिवेशनको प्रक्रियामा असहमति राख्दै आएका नेताहरूलाई समेत समेटेर समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिए । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले आफ्नो पक्षमा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको समर्थन रहेको दाबी गरेका छन् ।

एक नेताका अनुसार हाल जिल्लाका करिब ४५ प्रतिशत क्रियाशील सदस्य समानान्तर समितिको पक्षमा रहेको दाबी गरिएको छ । असोज १२ गतेसम्म उक्त संख्या करिब ५० प्रतिशत पुग्ने दाबी पनि ती नेताले गरेका छन् । तर सभापति पन्थी भने विशेष महाधिवेशन पक्षधर क्रियाशील सदस्यको संख्या ९० प्रतिशतभन्दा माथि रहेको छ ।

विशेष महाधिवेशनअन्तर्गत जिल्लाका वडा र पालिका तहमा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला समानान्तर समिति गठनको तयारीले गुल्मी कांग्रेसभित्रको विवाद थप सतहमा ल्याएको छ ।

सभापति पन्थीले समानान्तर गतिविधिमा लाग्ने नेता कार्यकर्ता कारबाहीको दायरामा आउन सक्ने बताए । तर थापा पक्ष भने १२ गते समानान्तर जिल्ला कार्यसमिति गठनको अन्तिम तयारीमा रहेको छ । थापाले १२ गते विशेष कार्यक्रमका साथ समिति घोषणा गर्ने जानकारी दिए ।

यसअघि १४औं महाधिवेशनमा पन्थी र थापाबीच जिल्ला सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा पन्थी सभापतिमा निर्वाचित भएका थिए ।

केन्द्रीय तहमा देखिएको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको विवाद जिल्ला तहसम्मै विस्तार भइरहेका बेला गुल्मीमा समानान्तर समिति गठन हुन लागेको हो । असोज १२ गते हुने भनिएको घोषणा कार्यक्रमपछि जिल्लामा कांग्रेसका दुई धार औपचारिक रूपमा अलग गतिविधिमा जाने सम्भावना देखिएको छ ।

Share News