काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य कर्ण थापाले सदस्यहरूलाई बोल्न दिइएको तीन मिनेटको समयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई कर्मकाण्ड मात्रै भएको बताएका छन् ।
बैठकमा बोल्न दिइएको समयप्रति विरोध जनाउँदै थापा केही समय उभिएका थिए । उनी उभिएपछि महासचिव शंकर पोखरेलले उनलाई बस्न आग्रह गरेका थिए । महासचिवको आग्रहपछि थापा आफ्नो स्थानमा बसेका थिए ।
आफ्नो बोल्ने पालो आएपछि भने थापाले २४ पृष्ठ लामो फरक मत केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् ।
उनले पार्टीको महत्वपूर्ण बैठकमा केन्द्रीय सदस्यलाई तीन मिनेट मात्रै बोल्न दिँदा गम्भीर राजनीतिक तथा सांगठनिक विषयमा पर्याप्त छलफल हुन नसक्ने बताएका थिए ।
थापाले पार्टीको पछिल्लो राजनीतिक अवस्था, नेतृत्वको कार्यशैली, संगठन सञ्चालन र आगामी कार्यदिशालगायत विषय समेटेर आफ्नो फरक मत लिखित रूपमा बैठकमा राखेका हुन् ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, नेतृत्वको भूमिका, संगठनको अवस्था तथा आगामी राजनीतिक र सांगठनिक कार्यदिशाबारे छलफल भइरहेको छ । बैठकमा नेताहरूले पार्टी सञ्चालनको शैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै लिखित तथा मौखिक धारणा राखिरहेका छन् ।