विकासन्युज

‘भूमि सुशासन एप्स’ सञ्चालनमा अायाे, अब दिन गए मालपोत दलालहरुको

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयले कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले सार्वजनिक गरेका हुन् । एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको छ । त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमि सम्बन्धित नाप जाँज सम्बन्धि इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको छ । मोवाइल एप्स सार्वजनिक गरेपछि मन्त्री खनालले यो एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहात मिल्ने बताए । ‘अझै प्रविधिको क्षेत्रमा मन्त्रालयले धेरै गर्न बाँकी छ,’ उनले भने ‘मन्त्रालयमा कार्यारत प्रविधिहरुलाई यप्रति ध्यानकार्षण यसै कार्यक्रममार्फत गराउछु ।’ मन्त्रालयका अनुसार एप्स नेपाली र अंगेजी दुबैमा उपलब्ध छ । एप्स राम्रोसँग प्रयोग गर्न सकेमा मालपोत कार्यालयहरुमा दलालहरुको बिगबिगि अन्त्य हुने मन्त्रालयका सहसचिव जनकराज जोशीले कार्यत्रममा बताए । यस्ता छन् एप्समा समेटिएका विषय एप्लिकेसनमा विभिन्न विषय वस्तुहरु समेटिएको छ । जसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय र उपलब्धी बारे जानकारी, मन्त्रालयबाट प्रदान हुने सेवाहरु बारे जानकारी, सेवा वडापत्र छन् । त्यस्तै मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्र बारे जानकारी, सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु, विभिन्न ऐन, नियम नीति, निर्देशिका, आवश्यक कार्यविधिहरु समेटिएको छ । मन्त्रालय र अन्तर्गतका निकायहरुको अवस्थिति देखाउने नक्सा, भूमि शब्दकोश, नापी क्यालकुलेटर, सूचना तथा गतिविधि, सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्न लगायत विविध विषयहरु समेटिएको मन्त्रालयको भनाइ छ ।

विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभाको आज(आइतबार)को बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भएकाे छ । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले परराष्ट्र सेवालाई समावेशी बनाउन बजेट विनियोजन हुनुपर्ने बताए । उनले सरकारलाई कुनै मुलुकप्रति नजिक नभई राष्ट्रवादीरुपमा काम गर्न आग्रह गरेका छन् । छलफलमा विमलप्रसाद श्रीवास्तव, लालबहादुर थापा, सत्यनारायण खनाल, यज्ञबहादुर बोगटीलगायतले भाग लिएका थिए । ती मन्त्रालयमाथिको छलफल आगामी बैठकमा जारी रहनेछ । सभामुख कृष्णबहादुर महराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको छलफल यही असार ११ गतेको बैठकमा हुने जानकारी गराएका छन् । अर्को बैठक असार ११ गते सोमबार बिहान ११ बजे बस्नेछ । रासस

पोखरामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा दुई दिने वित्तीय साक्षरता तालिम पोखरामा सम्पन्न भएको छ । वित्तीय शिक्षाको सचेतना अभिबृद्धि तथा ग्राहक सदस्यहरुमा वित्तीय चेतना फैलाउने र वित्तीय पहुँच विस्तारका लागि फिल्डमा तालिम गराउनको लागि सक्षम प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको हो । तालिममा कर्मचारीहरुलाई वित्तीय साक्षरतामार्फत क्षमता अभिबृद्धि गरी ग्राहक सदस्यलाई वित्तीय सचेतना, आम्दानी र खर्चको लेखाजोखा, परिवारिक बजेट, विप्रेषण, बचत, कर्जाको आवश्यकता र महत्वका साथै व्यवसायिक ज्ञानलाई ग्राहक सदस्यसँग कसरी प्रभावकारी तरिकाले पुर्याई वित्तीय चेतना विकास गर्ने र उद्यमसिलतातर्फ उन्मुख गराउने बारेमा सहजकर्ता बिनोद अधिकारी र प्रेमनाथ वाग्लेले सहजीकरण गरेका थिए । वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेमा मात्र तालिमले सार्थकता पाउने बताएका छन् । समाजमा परिवर्तन ल्याउन लघुवित्त संस्थामा कार्यरत कर्मचारीको भुमिका महत्वपुर्ण हुने भएकोले कर्मचारीमा उच्च मनोबलका साथ काम गर्न प्रमुख कार्यकारी अधिकृत चौधरीले आग्रह गरे । २ दिने उक्त तालिममा वित्तीय संस्थाका विभिन्न शाखाबाट २५ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । विभागीय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेको उक्त तालिममा केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुका साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एनएमबी बैंकको एफपीओलाई संस्थागत लगानीकर्ताले नि पत्याएनन्, सञ्चय कोष पछि हट्यो !

काठमाडौं । संस्थागत लगानीकर्ताले पनि एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा चासो देखाएका छैनन् । संस्थागत लगानीकर्तालाई खुला गरेपनि हालसम्म बीमा, म्युचअल फण्ड र केही इन्भेष्टमेन्ट कम्पनी गरी ५२ संस्थाले २२ करोड रुपैयाँको एफपीओ मात्र खरिदका लागि आवेदन दिएका छन् । संस्थागत लगानीकर्ताले चासो नदेखाएपछि प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । लगानीको सीमा हटाएर ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गर्दा पनि बिक्री हुन सकेको छैन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । कर्मचारी संचय कोषले एफपीओ खरिद गर्ने बताए पनि संस्थापक नभएकाले पछि हटेको बुझिएको छ । संचय कोषका प्रशासक तुल्सी गौतमले एनएमबीको सेयर किन्ने विषयमा कुरा नै नभएको बताएका छन् । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए एक पटक संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् । नागरिक लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरआरबी मर्चेन्ट बैंकिङ लिमिटेडले सकार्ने छन् । आइतबारसम्म २ अर्ब ४० करोडा रुपैयाँ बराबरका लागि आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । ६० हजार आवेदकबाट ७२ लाख ७ हजार २०७ कित्ताका लागि आवेदन परेको कोषले जनाएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एसिया म्युचअल फण्डले एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिदका लागि वुधबार नै आवेदन दिएका थिए । उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । पहिलो ४ दिनमा पनि बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बैंकको सेयर मूल्य पनि निरन्तर गिरावट आएको छ । आइतबार बैंकको प्रतिकित्ता ३४९ रुपैयाँमा कारोबार भएको छ । एफपीओ निष्कासन भएपछि निरन्त रुपमा बैंकको सेयर मूल्य घटेको छ । एफपीओको भन्दा बजार मूल्य १६ रुपैयाँ मात्र बढी छ । महंगो मूल्यमा सेयर बेचेर एफपीओ किन्न लाग्दा बजार पनि घटेको हो ।  

प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मकः डा. महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् । आईतबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताएका हुन् । उनले भने,‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको जनाए । उनले भने,‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होईनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो ।’ चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने,‘ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ ।’ अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ । उनले भने,‘यो अत्यन्तै सकारात्मक छ।’ यद्धपी उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्धिपक्षीय सम्झौता (एमओयू) भएको पनि खुशी व्यक्त गरे । तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ । नेता महतले अघि भने,‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ।’ त्यस्तै उनले एक हजार मेगावाटको मस्र्याङ्दी जलविद्युत परियोजना निर्माण गर्नेबारे पनि यस पटकको भ्रमणमा भएको सम्झौताप्रति टिप्पणी गर्दै भने,‘तर सम्झौता ई.पि.सि.एफ. मोडेलमा गरिएको छ, मैले बुझे अनुसार यो मोडेल भनेको सरकार–सरकारबीच गरिने मोडल हो, तर यहाँ त प्राईभेट सेक्टरसँग सम्झौता गरिएको छ, यसमा बुट मोडलमा हुनुपर्ने हो, उक्त मोडेलका सम्झौतामा निजी क्षेत्रलाई किन संलग्न गराई ? हामीले बुझ्न सकेका छैनौं ।’ त्यस्तै महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’ यद्धपी नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने,‘लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ।’ चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्न आउनेपनि उनले जनाए । उनले भने,‘यो रकम त अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउँछ ।’

ओरिअन सेरिज अन्तर्गत सिजी मोबाइल्सले ल्यायो दुई नयाँ मोडल, सस्तो मूल्यमा धेरै फिचर

काठमाडौं । सिजी मोबाइल्सले ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । सिजीले ‘ओरिअन १८१डब्लु’ र ‘ओरिअन २४१डब्लु’ नामक दुई मोडलका फोनहरु बजारमा सार्वजनिक गरेको हो । उक्त मोडलका फोनहरुमा धेरै फिचरका साथैं सस्तो मूल्यमा पाइने कम्पनीले जनाएको छ । दुई मध्ये ‘ओरिअन १८१डब्लु’ मोडल सस्तो रहेको कम्पनीले जनाएको छ । जसमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्मथपगर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । साथै, यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ । यस फोनको बजार मूल्य १ हजार १९९ रुपैयाँ तोकिएको छ । यसैगरी, ‘ओरिअन २४१डब्लु’मा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने १ हजार ४९९ रुपैयाँ तोकिएको छ । ‘ओरिअन १८१डब्लु’ कालो र निलो, कालो र पहेलो, कालो र रातो तीन विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यस्तै, ‘ओरिअन २४१डब्लु’ कालो र रातो, कालो र सुन्तला रङ्गहरुमा उपलब्ध छ । साथै, कम्पनीले यो नया“ मोडलमँ १०० दिनको सटही नीति ल्याएको छ । यी दुबै फोनहरु नेपालको सम्पूर्ण मोबाइल बिक्री गर्ने पसलहरुमा उपलब्ध हुने छ ।

मोबाइलबाटै काठमाडौं र पोखराको ३५ बढी होटलको कोठा बुक गर्न सकिने, १५ प्रतिशतसम्म ‘क्यास व्याक’ पाइने

काठमाडौं । मोबाइल तथा कम्प्युटरबाटै अब सहजै रुपमा स्तरिय होटल बुकिङ गर्न सकिने भएको छ । उक्त सेवा प्रदान गर्न काठमाडौंमा आइतबार एक कार्यक्रमबीच उचित मूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले इसेवासँग सहकार्य गरेको छ । उक्त सम्झौता दुई कम्पनीबीच होटल बुकिङ र भुक्तानीको लागि भएको हो । कार्यक्रममा ओयोसँगको सहकार्य सम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रेसिडेण्ट अस्गर अली र ओयोका भाइस प्रसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ । साेही अवसरमा इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाबीचको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकको लागि हाम्रो सहकार्यले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरेका छौं,’ उनले भने ‘ ग्राहकहरुलाई होटल खोज्न दशतिर भौतारीरहन नपरोस् भन्ने उद्देश्यले हामीले यो सम्झौता गरेका हौं ।’ त्यस्तै कार्यक्रममा ओयोका भाइस प्रेसिडेण्ट चौधरीले इसेवासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘यो सहकार्यले ओयोको विस्तारका लागि धेरै सहज हुनेछ,’ उलने भने ‘ओयो र इसेवा दुवै प्रविधिको प्रयोग गरेर ग्राहकहरुलाई अभुतपूर्व सेवा दिन सकिनेमा हामी विश्वस्त छौं ।’ इसेवासँगको सहकार्यले आफु निकैनै उत्साहित भएको उनको भनाइ छ । इसेवाको अनुसार ओयोमार्फत तत्काल काठमाडौं र पोखराका ३५ बढी होटलका ६ सय रुम इसेवामार्फत बुकिङ गर्न सकिन्छ । त्यस्तै ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजारभन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको इसेवाका प्रेसिडेण्ट अलीले जानकारी दिए । १५ प्रतिशतसम्म क्यास व्याक इसेवाको अनुसार ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौैंका होटलहरुमा ७ प्रतिशत र पोखराका होटलहरुमा १५ प्रतिशत ‘क्यास व्याक’ को सुविधा दिइएको छ । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । सन् २००९ बाट कारोबार शुरु गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट(इसेवाजोन तथा पोइन्ट) रहेको इसेवाको प्रेसिडेण्ट अलीको भनाइ छ । त्यस्तै ओयोले २०१७ मे २४ देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ भन्दा बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिदै आएको आयोको भाइस प्रसिडेण्ट चौधरीले जानकारी दिए ।

चौतारी लुघवित्तले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न संस्थाले धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।