विकासन्युज

भारतीय पक्षबाट निर्माण भइरहेका सडकले दक्षिण क्षेत्र डुबानमा पर्ने खतरा

बुटवल । बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षबाट निर्माण भइरहेका सडकले त्यहाँको दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। “यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहलकदमी लिनुपर्छ र यस्तो कार्यमा दुई पक्षीय समझदारी हुनुपर्छ,” उनले भने, “उक्त निर्माण कार्यका कारण स्थानीय त्रसित भएका छन्, यो राष्ट्रियतासंग जोडिएकोे विषय पनि हो ।” विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमामा निर्माणसम्बन्धी काम दुई पक्षीय समन्वयमा हुनुपर्नेमा जोड दिए । यो संघीय सरकारसंग जोडिएको विषय भएकाले आवश्यक तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी सदनलाई दिए । यस्तै बैठकले प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको विद्येयक तथा प्रदेश नं ५ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सो नियमावली पारित भएको हो । यस्तै प्रदेश आर्थिक विधेयक २०७५ माथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले प्रगतिशील करको अवधारणाका रुपमा विधेयक आएको बताए । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले करको दर तथा राजश्व संकलनका विषयमा विधेयकले सम्बोधन गरेको र प्रगतिशील कर अवधारणा ल्याएको बताएका छन् । अर्का सदस्य रमा अर्यालले करलाई जनताले स्वीकार गर्ने र समय सान्दर्भिक हुनुपर्नेमा जोडदिँदै निवेदन दस्तुरका आधारमा जग्गा रजिष्ट्रेसनमा कर लगाउनुपर्ने जनाएका छन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने-‘प्रक्रियामा हामी सिक्दै जाने चरणमा भएको हुँदा काम गर्ने विधि कार्यान्वयन हुँदै जानेछ।’ उनले आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यस्तै लुम्बिनीको पृष्ठभूमिमा रुकुमको पूथा हिमालदेखि मर्चवारसम्म धानको बाला, विभिन्न वेशभूषा देखिने आकृतिको लोगो सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुलाई वितरण गरेका छन् । रासस

कुमारी बैंकद्धारा गैर-सरकारी संस्थालाई एक लाखको सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले “साथ” नामक सामाजिक कल्याण-उन्मुख गैर-सरकारी संस्थालाई नगद एक लाख रुपैयाँको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सो मात्राको सहयोग गरेको हो । साथले “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एचआइभी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पुर्याईरहेको छ । साथै, बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिँदै आईरहेको छ । बैंकले उक्त संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेका हुन् । साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात धर्नामा

पोखरा । प्रदेश नं ४ को नाम र राजधानी तय गर्न आइतबार(आज) समितिको प्रतिवेदन गठन भएकाे छ । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान-मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ । गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । यसअघि नामांकन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ र २७ गते दुईपटकसम्म बैठक अवरुद्ध गरेको थियो भने तेस्रो पटक अवरोध गर्न खोजिँदा मार्सल लगाएरै बैठक चलाइएको थियो । यसैबीच, प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज नदीपुरमा धर्ना दिएको छ । स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अर्को बैठक असार १७ गते दिउँसो १ः०० बजे बस्नेछ । रासस

नेप्से सामान्य अंकले उक्लियो, २० करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार बढ्दो क्रममा रहेको थियो । तर दिनभर बढीरहेको बजार करिब २ बजेपछि पुन ओरालो लागेको छ । अन्तत बजार बन्द हुँदा परिसूचक १.३५ अंकले बढेर १२१९ अंकमा पुगेको छ । बजारमा १६७ कम्पनीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य ६९० रुपैयाँ रहेको छ ।

धितोपत्र बोडद्धारा वीड इन्भेष्टको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वीड इन्भेष्ट लिमिटेडको धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) को अनुमति पत्र खारेज गरेको छ । बोर्डले आइतबार धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्तर्गत लगानी व्यवस्थापकको कार्य गर्न ललितपुरको वीड इन्भेष्टलाई प्रदान गरेको उक्त अनुमतिपत्र खारेज गरेको हो । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम नवीकरण नगरेकोले उक्त इन्भेष्टकाे अनुमति पत्र खारेज गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उन्नति माइक्रोफाइनान्सको अध्यक्षमा अनिता ढुङ्गाना, सञ्चालकमा चार जना नियुक्त

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई संस्थाको अध्यक्षको पदमा नियुक्त गरेको हो । साथै, बैठकले सञ्चालकमा चार जनालाई नियुक्त गरेको छ । संस्थाको सञ्चालकमा खड्गबहादुर राना, लोकनाथ नेपाल, मनोज उपाध्याय र तुलसीराम खनाल नियुक्त भएका छन् । संस्थाले आगामी साधारणसभासम्मका लागि तुलसीराम खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

केरुङ-काठमाडौं रेल मार्ग माओत्सेतुङको सपना थियो, सि जिनपिङले पुरा गर्छन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं रेलमार्ग समाजवादी चीनका संस्थापक माओत्सेतुङकै सपना भएको बताएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा रेल पुर्याउने सपना माओत्सेतुङले नै देखेको र त्यसलाई सि जिनपिङले पुरा गर्ने प्रतिवद्धता जनाएको बताएका हुन् । ओलीले केरुङ–काठमाडौं रेलमार्गका सम्बन्धमा सञ्चारकर्मीले राखेको प्रश्न दिईरहका बेला परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ओलीलाई कानमै पुगेर माओत्सेतुङकै सपना भएको बताएका थिए । ‘ चेयरम्यान माओले पनि यो कुरा भन्नु भएको थियो, अहिले जिनपिङले पुरा गर्र्छु भन्नु भएको छ ।’, ओलीले भने । ओलीले जोसँग पैसा छ उसैले केरुङ–काठमाडौं रेलमार्गमा लगानी गर्ने पनि स्पष्ट पारे । ‘जोसँग पैसा छ उसैले लगानी गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन् । पहिले पुर्व सम्भाव्यता अध्ययन गरौं । त्यसपछि लगानीको कुरा गरौँला ।’, ओलीले भने । ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रोजेक्ट भएकाले हतार भन्दा पनि परिपक्क ढंगले काम गर्न चाहेको बताएका थिए । ‘हामीलाई थाहा छ हिमाली भागमा रेल सहज छैन् । तिब्बति पठार उचाईमा भए पनि अलि लामो छ । हामी तिर एकै पटक उचाईबाट तल आउनु पर्छ । त्यसकारण केहि समय लाग्छ । रेलमा हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्छ ।’, ओलीले भने । उनले विस्तृत अध्ययन गरेर केहि बर्षभित्र रेल बनाउन लागिपर्ने जानकारी पनि दिए । ‘राष्ट्रपति सिले वार्ताका क्रममा काठमाडौं रेल पुर्याउने योजना सुनाउनु भएको छ, संयुक्त वक्तव्यमा पनि त्यो कुरा समेटिएको छ’, ओलीले भने । चिनियाँ राष्ट्रपति सि जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको पनि ओलीले जानकारी दिएका थिए ।  

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १३.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता ३६८.३७ रुपैयाँ रहेको थियो ।