काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा दुई दिने वित्तीय साक्षरता तालिम पोखरामा सम्पन्न भएको छ । वित्तीय शिक्षाको सचेतना अभिबृद्धि तथा ग्राहक सदस्यहरुमा वित्तीय चेतना फैलाउने र वित्तीय पहुँच विस्तारका लागि फिल्डमा तालिम गराउनको लागि सक्षम प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा कर्मचारीहरुलाई वित्तीय साक्षरतामार्फत क्षमता अभिबृद्धि गरी ग्राहक सदस्यलाई वित्तीय सचेतना, आम्दानी र खर्चको लेखाजोखा, परिवारिक बजेट, विप्रेषण, बचत, कर्जाको आवश्यकता र महत्वका साथै व्यवसायिक ज्ञानलाई ग्राहक सदस्यसँग कसरी प्रभावकारी तरिकाले पुर्याई वित्तीय चेतना विकास गर्ने र उद्यमसिलतातर्फ उन्मुख गराउने बारेमा सहजकर्ता बिनोद अधिकारी र प्रेमनाथ वाग्लेले सहजीकरण गरेका थिए ।
वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेमा मात्र तालिमले सार्थकता पाउने बताएका छन् । समाजमा परिवर्तन ल्याउन लघुवित्त संस्थामा कार्यरत कर्मचारीको भुमिका महत्वपुर्ण हुने भएकोले कर्मचारीमा उच्च मनोबलका साथ काम गर्न प्रमुख कार्यकारी अधिकृत चौधरीले आग्रह गरे ।
२ दिने उक्त तालिममा वित्तीय संस्थाका विभिन्न शाखाबाट २५ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । विभागीय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेको उक्त तालिममा केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुका साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।