प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मकः डा. महत

<p>काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् । आईतबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताएका हुन् । [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् । आईतबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताएका हुन् ।

उनले भने,‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको जनाए । उनले भने,‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होईनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो ।’

चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने,‘ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ । उनले भने,‘यो अत्यन्तै सकारात्मक छ।’ यद्धपी उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्धिपक्षीय सम्झौता (एमओयू) भएको पनि खुशी व्यक्त गरे । तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ ।

नेता महतले अघि भने,‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ।’

त्यस्तै उनले एक हजार मेगावाटको मस्र्याङ्दी जलविद्युत परियोजना निर्माण गर्नेबारे पनि यस पटकको भ्रमणमा भएको सम्झौताप्रति टिप्पणी गर्दै भने,‘तर सम्झौता ई.पि.सि.एफ. मोडेलमा गरिएको छ, मैले बुझे अनुसार यो मोडेल भनेको सरकार–सरकारबीच गरिने मोडल हो, तर यहाँ त प्राईभेट सेक्टरसँग सम्झौता गरिएको छ, यसमा बुट मोडलमा हुनुपर्ने हो, उक्त मोडेलका सम्झौतामा निजी क्षेत्रलाई किन संलग्न गराई ? हामीले बुझ्न सकेका छैनौं ।’

त्यस्तै महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’

यद्धपी नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने,‘लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ।’ चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्न आउनेपनि उनले जनाए । उनले भने,‘यो रकम त अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउँछ ।’

Share News