विकासन्युज

सेयर बजारमा गिरावट कायमै, उत्पादन र होटल बाहेक सबै समूह राताम्मे

काठमाडौं । सेयर बजारमा गिरावट कायम रहेको छ । सोमबारको बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार सामान्य अंकले घटेको बजार सोमबार करिब दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ९.७२ अंकले झरेर १२१० अंकमा पुगेको छ । त्यस्तै, आइतबार २० करोडको कारोबार भएको बजारमा सोमबार जम्मा १८ करोडको सेयर किनबेच भएको छ । कुल १५८ कम्पनीको सेयर किनबेच भएको बजारमा सबैभन्दा बढी समाता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बजारमा दुई समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक १.६६ र होटल समूह २.२६ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७९ अंकले राताम्मे भएको छ । त्यस्तै, अन्य र बैंकिङ् समूह सामान्य अंकले घटेका छन् भने बाँकी दोहोरो अंकले घटेका छन् । सोमबार खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.४५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी जेबिल्स फाइनान्सका लगानीकर्ताले ७.४ प्रतिशत गुमाएका छन् ।

यस्तो बिरालो जसले दैनिक १० लाख पंक्षीको शिकार गर्छ

सिड्नी । जङ्गली बिरालो अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली बिरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप नै भएको बताउने गरिन्छ । यद्यपि पछिल्लो समयमा जङ्गली बिरालोको जनसङ्ख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने उक्त विकराल स्थितिमा केही सुधार देखिएको छ । सरीसृप प्रजातिको नासको कारक मानिने १० हजार जङ्गली बिरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरीसृप प्रजातीका कैयौँ दुर्लभ प्राणी बिरालोको शिकारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् । अध्ययन प्रतिवेदनमा जङ्गली बिरालोका कारण वार्षिक जम्मा ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ । “प्रत्येक जङ्गली बिरालोले औसतमा प्रतिवर्ष २२५ सरीसृपको शिकार गर्ने गरेका छन्,” चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनास्र्कीले भने । अष्ट्रेलियामा बन बिरालो संयुक्त राज्य अमेरिका वा यूरोपमाभन्दा बढी सरीसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा थाहा भएको उनले बताए । उनले भने, “केही जङगली बिरालो त सरीसृपको ठूलो सङ्ख्यालाई शिकार गर्दछन् । अध्ययनका क्रममा हामीले केही बिरालोको एकै दिनमा झण्डै ४० वटासम्म छेपारा प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाएको पायौँ ।” ‘वाइल्डलाइफ रिसर्च जोर्नल’मा प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियामा बिरालोले २५० विभिन्न प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाउने गर्छन् । जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन, तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरीसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन् । अष्ट्रेलियामा जङ्गली बिरालाको सङ्ख्या दशौँ लाखको सङ्ख्यामा रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् । सोही समूहले गत वर्ष गरेको अनुसन्धानमा जङ्गली बिरालोले प्रतिदिन दश लाख पंक्षीको शिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अष्ट्रेलियाको सरकारले जङ्गली बिरालोको बिगबिगीलाई कमी गर्न विभिन्न योजनामार्फत वार्षिक दुई करोड ३० लाख अमेरिकी डलर खर्चिँदै आएको छ । अष्ट्रेलियाली वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना नौ हजार ४०० हेक्टर मरुभूमि क्षेत्रलाई जङ्गली बिरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय वार निर्माण गरेको थियो । सरकारले उक्त अभियान अन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन, जहाँ बिरालोको बिगबिगी छ, लाई विद्युतीय तारबार गर्ने योजना छ । (रासस/एएफपी)

पोखरा विमानस्थलको निर्माण नरोकिने- मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्धारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पारेका छन्। एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिएका छन् । मन्त्रालयमा आफूले नेतृत्व सम्भालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनःनिर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी दिँदै उनले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताए । सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको छ भन्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको बताएका छन् । सम्पदा पुनःनिर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको बताउँदै उनले कृष्ण मन्दिरको पुनःनिर्माण भइरहेको र धरहराको पुनःनिर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष माधव बराललगायतका पत्रकारले समसामयिक विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । रासस

एसईईमा चरम लापरवाहीः सयौँ विद्यार्थीको नतिजै आएन

काठमाडौं। परीक्षा नियन्त्रण कार्यालयले १० वटा विद्यालयहरुको परीक्षाफल नै प्रकाशित नगरेको तथ्य फेला परेको छ । आफ्नो विद्यालयका परीक्षार्थीहरुको परीक्षाफल नै प्रकाशित नभएपछि राजधानीका १० वटा विद्यालयले परीक्षा नियन्त्रण कार्यालयमा उजुरी दर्ता गरेका छन् । कार्यालयका सूचना अधिकारी बिष्णुप्रसाद मिश्रका अनुसार १० वटा विद्यालयहरुले आफ्नो विद्यालयको परीक्षा फल नै प्रकाशित नभएको भन्दै उजुरी दर्ता गराएका हुन् । परीक्षा नियन्त्रण कार्यालयले गत शनिबार माध्यमिक शिक्षा परिक्षाको नतिजा प्रकाशित गरेको थियो । कतिपय विद्यार्थीका प्राक्टिकलको नम्बर समेत चढाउन छुटाएको कार्यालयले दर्जनौं विद्यालयको परीक्षा फल नै गायब पारेको हो । नतिजा सार्वजनिक गरेको २४ घण्टा भित्रै १० वटा विद्यालयले विद्यार्थीहरुको नतिजा नआएको भनेर निवेदन दिएका छन् । सोमबार पनि आफ्नो विद्यालयका विद्यार्थीहरुको नतिजा नआएरको भनेर निवेदन दिन विभिन्न विद्यालयका शिक्षकहरु लाईनमा बसिरहेका छन् । काठमाडौं स्युचाटारस्थित रेडियन पब्लीक बोडिङ्ख स्कुलबाट ३२ जना विद्यार्थीले एसईई दिएका थिए । ३२ जनामा कसैको पनि परीक्षाफल पूर्णरुपमा आएको छैन । जनसंख्यामा प्रक्टिकल र थ्यौरी(लिखित र प्रयोगात्मक) दुबैमा विद्यार्थीको नम्बर आएको छैन । ऐच्छिक गणित २३ जना विद्यार्थीले पढेका थिए । ति सबै विद्यार्थीको अंक आएको छैन । ९ जनाले ऐच्छिक वातावरण पढेका थिए, उनिहरुको अंक भने आएको छ । कम्प्युटर साइन्समा सबै विद्यार्थीको प्राक्टिकलको अंक आयो । तर प्रयोगात्मक अंक भने आएको छैन । रेडियन पब्लिक बोर्डिङ स्कुलका प्रेन्सीपल सूर्यबहादुर केसीले भने-मैले हिजो गएर परीक्षा नियन्त्रण कार्यलयमा विद्यार्थीको नेटबाट निकालेको मार्कसिट र विद्यालयको निवेदन पेस गरेको छु । परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका उप सचिव डिल्ली लुइटेलले ४ दिनमा अंक मिलेर आउने बताए । एसईईको परिक्षाफल नआएपछि परीक्षार्थी रिपीका बिडारीले भनिन्-छिमेकका साथीहरूले रिजल्ट आयो भनेर खुसी भएका छन्, आफ्नो रिजल्ट नआउँदा तनाब भैरहेको छ ।  

नयाँँ बानेश्वरमा महालक्ष्मी विकास बैंक, शाखा संख्या ७२ पुग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७२औँ शाखा हो । बैंकले हाल ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै, बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ । यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । त्यस्तै, बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

बोनस र हकप्रद सेयरमा लाभकर विवादः के गर्दैछ अध्ययन समिति ?

काठमाडौं । बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर लाभकर लगाउने वा नलगाउने भन्नेबारे अध्ययन गर्न गठित समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । जेठ २२ गते गठित समितिको बैठक ३ पटक बसेको छ भने अब सेयर बजारका लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने चरणमा पुगेका समितिका एक सदस्यले बताए । ‘हामीले तीन पटक छलफल गरेका छौं, अब लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन बुझाउँछौं’, समितिका सदस्यले भने । श्रोतका अनुसार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समायोजीत मूल्यमा कर लगाउन सुझाव दिएका छन् । तर अर्थमन्त्रालयका अधिकारीहरु भने आफ्नो निर्णयमा अडिक जस्तै देखिएका छन् । ‘धितोपत्र बोर्ड, नेप्से र सिडिएसको उस्तै खालेको सुझाव आएको छ, अर्थमन्त्रालयका प्रतिनिधी भने आफ्नो पूर्ववत निर्णयकै पक्षमा देखिएका छन’, समितिका ती सदस्यले भने । आन्तरिक राजश्व विभागले जेठ १८ गते पत्र काटेर २० गते देखिको सेयर कारोबारमा बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर ७.५ प्रतिशत लाभकर असुल्न भनेको थियो । आन्तरिक राजश्व विभागको पत्रपछि लगानीकर्ताहरुले सेयर बजार बन्द गरेर आन्दोलन सुरु गरेपछि अर्थमन्त्रालयले जेठ २२ गते वित्तिय व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहेका छन् । समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तासँग पनि छलफल गर्ने अधिकार पाएको छ । तर तीन पटक बैठक बसेको भए पनि हालसम्म लगानीकर्तासँग भने छलफल गरिएको छैन् । ‘हामीले अनौपचारिक रुपमा आफ्ना कुरा समिति समक्ष पुर्याईरहेका छौं, औपचारिक छलफलका लागि बोलावट हुन्छ भन्ने सन्देश पाएका छौं’, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने ।नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले मूल्य समायोजनपछि हुने नाफामा मात्रै लाभकर असुल्न अर्थमन्त्रालय सकारात्मक रहेको संकेत आफुहरुले पाएको धारणा राखे । समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा अर्थमन्त्रालयले बोनस र हकप्रद सेयरमा लाभकर निर्धारण सम्बन्धी आफ्नो निर्णयमा पुनर्विचार गर्ने वा यथावत राख्ने भन्ने निर्णय गर्नेछ ।

रोयल इन्फिल्डको शोरुम धरान र इटहरीमा

काठमाडौं । एमभि दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाईल्स प्रालिकाे सव डिलर रोयल मोटर्स प्रालिले रोयल इन्फिल्ड कम्पनीको दुई नयाँ अन्तर्राष्ट्रिय स्तरको शोरुम उद्घाटन गरेको छ । रोयल मोटर्सले धरानमा र इटहरीमा नयाँ शोरुम तथा वर्कसप विस्तार गरेको हो । रोयल इन्फिल्डको धरानमा ३००० स्क्वायर एफ्टी र इमर्जिङ् सिटी इटहरीमा १९०० स्क्वायर एफ्टीको शोरुम तथा वर्कसप निर्माण भएको । धरान र इटहरीमा ७ वटा सर्भिस बे, स्पेर पार्टस् सेक्सन रहेका छन् । कम्पनीले एक कार्यक्रमबीच धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले उक्त शोरुमो उद्घाटन गरेका हुन् । उद्घाटन पछि उपमेयरले भनिन्, ‘रोयल इन्फिल्ड बाईक क्लासिक तथा यूनिक फिचर भएका ब्राण्ड हुन् । यसले आन्तरिक पर्यटन प्रवद्र्वन गर्न विशेष भूमिका खेलेको छ साथै सुरक्षित यात्रा र सडक सुरक्षाको सन्देश फैलाएको छ ।’ साथै, यस अवसरमा रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले रोयल इन्फिल्ड राईडरहरुलाई उच्च स्तरीय सेवा सुविधा प्रधान गर्ने उद्देश्यका साथ थप सेवा पुर्याउन मद्दत्त पुग्ने बताएका छन् । नेपालमा रोयल इन्फिल्डले विगत ८ वर्षदेखि सेवा दिँदै आइरहेको छ ।

स्थानीय सरकारले भाईभतिजालाई करारमा जागिर खुवाउन पाउँदैनन्: मन्त्री लालबाबु पण्डित

बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगेर नागरिकको सेवामा लागिसक्ने बताएका हुन् । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा कार्य गरिरहेको बताउँदै केही खरदार र सुब्बासरहका कर्मचारीमात्र अपुग रहेको जानकारी दिए । सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा कार्य गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिए । मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिए । उनले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताए । मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिए । मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने स्पष्ट पारे । संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिने दावी गरे । रासस