विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंकको बारा शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको विरगञ्ज लिंकरोडमा रहेको बैंकले (साबिकको एस डेभलपमेण्ट बैकं लि.) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरेको हो । २५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो । हाल बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । बैंकले ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको एटिएम मार्फत सेवा दिँदै अाएकाे छ ।

वृज सिमेन्टद्धारा पर्वतारोहि शेर्पालाई बधाई, सगरमाथा कथा यात्रामा साथ दिने

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिले पर्वतारोहि कामीरिता शेर्पालाई बधाई ज्ञापन गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पालाई यस सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले बधाई दिएको हो । शेर्पाले आगामी वर्ष सन् २०१९ मा सगरमाथा कथा यात्रा २०१९ आयोजना गर्न लागेका छन् । उनले सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन गर्ने उदेश्यका साथ उक्त यात्रालाई अगाडि बढाउन वृज सिमेन्ट र पुष्पतारा केडिया फाउण्डेशनले सहकार्य गर्ने भएको छ । सगरमाथा वरिपरिका बस्तीहरु (बिशेषगरी, शेर्पा समुदाय) को साँस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरु विश्वसामु चिनाउनु यस यात्राको मुख्य उदेश्य रहने छ । सो अभियानमा सगरमाथा क्षेत्रमा फैलिएको फोहर तथा जलवायु परिवर्तनले दिनानुदिन सगरमाथा क्षेत्रको स्थानीय बस्ती तथा त्यहाँको पर्यटन व्यवसायमा परिरहेको नकारात्मक प्रभावको बारेमा कथाहरु संकलन गरिने छ । २०७२ साल बैशाख १२ गते गएको आम विनासकारी भुकम्प पश्चात पुनर्निर्माणका कथाहरु बिशेष रुपमा यसमा समेटिने छ । कथा संकलनको लागि आधुनिक प्रविधिको प्रयोग गरिनुको साथै नक्सामा कथा राख्ने स्ट्रिट भ्यु अभियान थालनी गरिनेछ, जसका लागि स्टोरी साइकलसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । शेर्पाले भविष्यमा सगरमाथा वरिपरिको क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र सगरमाथा वरिपरिको वातावरण संरक्षणमा समय दिने बताएका छन् । विश्वमा सगरमाथाको चर्चासंगै उच्च हिमाली भेगमा शेर्पा समुदायको संस्कार र संस्कृतिको संरक्षण गरि विश्वभरका पर्यटकलाई नेपालमा स्वागत गर्ने चाहाना रहेको उनले बताए । शेर्पा वृज सिमेन्ट इण्डष्ट्रिजद्वारा उत्पादित वृज सुपर प्रिमियम ओपिसि सिमेन्टको ब्राण्ड एम्बेसेडरको रुपमा रहेका छन् । उक्त कम्पनीले उनलाई देशको अदम्य ऊर्जाको रुपमा सम्मान दिँदै आइरहेको छ । कार्यक्रममा पुष्पतारा केडियाका अध्यक्ष एवं वृज सिमेन्टका प्रबन्ध निर्देशक मनोजकुमार केडियाले शेर्पालाई बधाई दिँदै नेपालको विकास र सम्बृद्धिको अन्य यस्तै काममा सर्धै सहयोग गर्न केडिया अर्गनाइजेशन तत्पर रहेको बताएका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, ४६ करोडको सेयर किनबेच

काठमाडौं । बिहीबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको नेप्से अन्तत ३६ अंकले उकालो लागेर कारोबार बन्द भएको छ । समग्रमा नेप्से परिसूचक ३.०३ प्रतिशतले बढेर १२२४ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा १६८ कम्पनीको ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दिनभरको बजारमा १२ लाख कित्ता सेयर किनबेच भएका छन् । बिहीबार सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२१५ रुपैयाँ रहेको छ । बिहीबार सबैभन्दा बढी बीमा समूह ३२२ अंकले उकालो लागेको छ । उक्त समूहको एकैदिन १२ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, उत्पादनमूलक समूह बाहेक बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक समूह भने ३७ अंकले राताम्मे भएको छ । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, मिथिला वित्तीय संस्था र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९६ र ९.०९ प्रतिशतले बढेको छ ।

युएमको जुनसुकै बाइक तथा स्कुटर खरिदमा कर छुट, २५ गतेसम्म लागू हुने

काठमाडौं । यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभस् प्रा.लि. ले आउँदो आर्थिक वर्ष २०७५/०७६ लागि रोड ट्याक्स छुट स्किम घोषणा गरेको छ । अटोमोटिभस्ले ग्राहकहरुलाई ध्यानमा राखी उक्त स्किम घोषणा गरेको छ । यो स्किम नेपाल भरि लागू हुने गरि प्रत्येक युएम बाइक र स्कुटर खरिदमा रोड ट्याक्स छुट दिने भएको छ । यो स्किम यही असार २५ गते(०९ जुलाई २०१८ )सम्म लागू हुनेछ ।

बीमा बजारमा थपियो नयाँ कम्पनी, अजोड इन्स्योरेन्सले शुरु गर्यो व्यवसायीक कारोबार

काठमाडौं । नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडले बिहीबा(आज)देखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसि मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष बिनोद बिष्टले सबै संस्थापक सेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । मिति २०६४/१२/२० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको यस कम्पनीले मिति २०७४/०१/१५ गते बसेको विशेष साधारण सभाको बैठकको निर्णय अनुसार पुँजी वृद्धि गरेको छ । कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पुँजी बृद्धि गरिएको इन्स्योरेन्सले जनाएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको छ । हाल कम्पनीको संस्थापक सेयरधनी समुहमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् भने यस कम्पनीको प्रथम संचालक समितिको अध्यक्षमा बिनोदप्रसाद बिष्ट, संचालकमा मिनबहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ, सागर गुरुङ्ग रहेका छन् । बैद्यनाथप्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा विगत दुई दशक भन्दा बढिको अनुभव प्राप्त कुमारबहादुर खत्रीले यस कम्पनीको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । यस कम्पनीले नेपाली बीमा बजारमा विभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यकता पहिचान गरी नयाँ बीमा योजनाहरु ल्याउने निर्णय गरेको छ । साथै, देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।

बैंक ब्याजदर बढ्दै गएपछि चितवनका व्यवसायी अाक्राेसित, भित्रभित्रै उद्यमी सकिँदै 

चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।  उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताए । चालीस करोड ऋणको पाँच प्रतिशत ब्याज वृद्धिले वार्षिक दुई करोड रूपैयाँ नोक्सान व्यहोर्नु परेको भन्दै उनले भित्रभित्रै उद्योगी व्यवसायी सकिँदै गएको बताए । “नेपालमा उद्योग खोल्नु भनेको सुकुम्वासी हुनु हो, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने स्थिति छ,” उनले भने । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम सरकारले अन्य क्षेत्रको सिण्डिकेट तोड्ने प्रयास गरे पनि पूँजी बजारमा नहेर्दा उद्योगी व्यवसायी मर्कामा परेको बताए । उत्पादन क्षेत्रमा सात प्रतिशत सम्ममा प्रवाह भएको ऋण १४ प्रतिशतसम्म पुगेको भन्दै उनले दोब्बरसम्म ब्याज वृद्धि हुँदा उद्योगी व्यवसायीले धान्ने अवस्था नरहेको बताए । “जसरी बैंकको ब्याजदर बढेको छ त्यसैगरी मुनाफा बढ्न सक्दैन, यो तालमेल नमिल्दा धेरै उद्योगी व्यवसायी धाराशयी हुने अवस्थामा पुगेका छन्,” उनले भने । बैंकहरुले सिण्डिकेट गरेर ब्याजदर बढाउनु आफैमा खराब भएको भन्दै गौतमले स्प्रेड दर पाँच प्रतिशतलाई घटाएर दुई प्रतिशतमा झार्नुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान सम्झौताको बेलाको ब्याजदर अन्तिमसम्म कायम हुनुपर्ने बताउँछन् । अहिले दोब्बरसम्म ब्याज बढेको भन्दै उनले यसले उद्योग व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको बताए । बैंकहरुले गरेको सिण्डिकेटका कारण यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको र उद्योग व्यवसाय गर्न चाहनेलाई अहिलेको ब्याजले निरुत्साहित बनाएको बताए । स्थिर सरकारसँगै उत्पादन र व्यवसायको क्षेत्रमा काम गर्ने धेरैको चाहना रहेको भए पनि अहिलेको ब्याजदरले उनीहरुलाई निरुत्साहित बनाएको छ । ब्याज बढ्दै गएपछि कतिपयले बैंक नै परिवर्तन गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका त्रिलोचन कँडेल आफ्नो ऋणको ब्याजदर झण्डै चार प्रतिशत वृद्धि भएपछि बैंक नै परिवर्तन गर्नुपरेको बताउछन् । पोल्ट्री व्यवसायी कँडेल ब्याजदरको वृद्धिले आफू जस्ता धेरै किसान प्रभावित भएको बताए । बैैंकको पूँजी बिना व्यावसायिक पोल्ट्री गर्न नसकिने बताउँदै उहाँले बैंकले पनि एकाएक ब्याजदर बढाउन थालेपछि किसान विस्थापित हुने अवस्थामा पुगेको बताए । प्राइम कमर्शियल बैंक भरतपुरका प्रबन्धक पदम पौडेल बैंकहरुमा लगानीयोग्य रकम अभाव भएसँगै निक्षेपमा ब्याजदरको प्रतिस्पर्धा हुँदा ऋणको ब्याजदर बढेको स्वीकार्छन् । उन सरकारी खर्च समयमा नहुने, संविधान बनेपछि उद्योग व्यवसाय गर्नेको संख्या बढेसँगै ऋणको माग बढ्नु, जलविद्युत् जस्ता ठूला र लामो समय ऋण असुली नहुने क्षेत्रमा लगानी बढ्नु लगायतका कारण ब्याजदर उच्च भएको बताए । ब्याजदर उच्च हुँदा यहाँ उत्पादित वस्तुले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । उद्योगी व्यवसायी निरुत्साहित भएका छन् । व्यापार क्षेत्रमा पनि ब्याजदर बढेपछि बढाउनुपर्ने नाफाका कारण यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको छ । रासस

आयल निगमको वार्षिक साधारणसभा साउन ११ गते, पुँजी बढाउन बोनस सेयर जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमको ३६औंँ वार्षिक साधारणसभा आगामी साउन ११ गते हुने भएको छ । निगम सञ्चालक समितिको बैठकले उक्त दिन कम्पनीको साधारणसभा बस्ने निर्णय गरेको हो । यस कम्पनी साउन ११ गते शुक्रबार दिउँसो १ बजे आफ्नै केन्द्रिय कार्यालय बबरमहलमा साधारणसभा बस्दै छ । सभामा कम्पनीले बोनस सेयर जारी गरी निगमको चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव लैजाँदै छ । तर कम्पनीले यति मात्रामा बोनस सेयर जारी गर्ने भन्ने बारेमा भने खुलाएको छैन । त्यस्तै, सभामा निगमले विभिन्न साधारण प्रस्तावहरु लैजाँदै छ । निगमले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने भएको छ । त्यस्तै, ३६औँ वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि तोक्ने निगमको प्रस्ताव रहेको छ । साथै, सभाले सञ्चालक समितिका सदस्यको सञ्चार भत्ताको अनुमोदन गर्ने भएको छ ।

शुक्रबार राजधानीका दुई दर्जन स्थानमा दिनभर बिजुली जाने, हेरौं कुन कुन ठाउँमा काटिन्छ विजुली

काठमाडौं । सडक विस्तारका लागि राजधानीका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । त्यस्तै, बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । यसैगरी, बालाजु — धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।