काठमाडौं । बिहीबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको नेप्से अन्तत ३६ अंकले उकालो लागेर कारोबार बन्द भएको छ । समग्रमा नेप्से परिसूचक ३.०३ प्रतिशतले बढेर १२२४ अंकमा पुगेको छ ।

बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा १६८ कम्पनीको ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
दिनभरको बजारमा १२ लाख कित्ता सेयर किनबेच भएका छन् । बिहीबार सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२१५ रुपैयाँ रहेको छ ।
बिहीबार सबैभन्दा बढी बीमा समूह ३२२ अंकले उकालो लागेको छ । उक्त समूहको एकैदिन १२ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, उत्पादनमूलक समूह बाहेक बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक समूह भने ३७ अंकले राताम्मे भएको छ ।
त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, मिथिला वित्तीय संस्था र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९६ र ९.०९ प्रतिशतले बढेको छ ।