विकासन्युज

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्नले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात युनियन लाइफमा जीवन बीमा गर्ने ग्राहकहरुले आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । साथै नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले बताएका छन् ।

माछापुच्छ्रे बैंकद्धारा बालुवाटारदेखि भाटभटेनीसम्म वृक्षारोपण सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर बिरुवा रोपेको हो । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन प्रगतिशील धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका छन् । बैंकले हाल ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बाली तथा पशुपन्छी बीमामा उल्लेख्य योगदान गर्ने ३ बीमा कम्पनी सम्मानित

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ३ वटा बीमा कम्पनीलाई सम्मान गरेको छ । बाली तथा पशुपन्छी बीमा कार्यक्रम कार्यान्वयनमा उल्लेख्य योगदान गरे वापत ३ वटा निर्जिवन बीमा कम्पनीलाई सम्मान गरेको हो । कृषि मन्त्री चक्रपाणी खनालले एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेका हुन् । एनएलजीले सर्वाेत्कृष्ठ कम्पनीको सम्मान पाएको हो भने सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ठ कम्पनीको सम्मान गरिएको हो । सम्मान ग्रहण गर्न एनएलजी इन्स्योरेन्सका कामु सिइओ सुनिल वल्लब पन्त, सिद्धार्थ इन्स्योरेन्सका सिइओ बिरेन्द्र वैद्यवार र लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ नुर प्रकाश प्रधान कृषि विभाग पुगेका थिए । सरकारले बाली तथा पशुपन्छी बीमा कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । ठूलो मात्रामा बीमा गराएको तथा समयमै दावी भुक्तानी गराएको भन्दै सम्मानित गरिएको हो ।

माछापुच्छ्रे बैंक र हङकङको एसएमए ईन्टरनेशनलबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र हङकङ स्थित एसएमए ईन्टरनेशनलबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेशनलद्धारा सञ्चालित वर्करएप्जबाट लिन सक्नेछन् । वर्करएप्ज एउटा वेब र मोबाईल एप्प बेसड पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो । वर्करएप्जका संस्थापक तथा सीइओ प्रबिन चन्दिरामनिले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वितका साथै मानिसहरुको जीवनस्तर उकास्न समेत मद्दत पुग्ने बताएका छन् । यो सम्झौतासँगै यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् । साथै, रेमिट मार्फत स्वदेशमा पठाएको रकम यस बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले राेप्याे १०० वटा रुख, सडक पेटी हरियाली बनाउने उद्देश्य

काठमाडौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सडक पेटी हरियाली कार्यक्रम’ अन्तर्गत बालुुवाटार वरपरको सडक पेटीमा वृक्षारोपण गरेको हो । उक्त स्थानमा करीब १०० वटा रुख वृक्षारोपण गरिएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र पिडीएसएस संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम ओयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सराहना गर्दै सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरेका हुन् । सो अवसरमा प्रदेश नं. ३ का सभासदहरु दिपक निरौला र नारायणबहादुर सिलवाल, यस विकास बैंकका संचालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायत विकास बैंकका कर्मचारीहरु, का.म.न.पा. वडा नं. २, ४ र ९ का वडा अध्यक्षहरु र पि.डी.एस.एस. संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

वर्ल्डकप लक्षित ‘मेरो टिसिएल मेरो विश्वास’अत्याधिक सफल

काठमाडौं । अन्तराष्ट्रिय स्तरको तेस्रो ठूलो टिभी ब्राण्ड, टिसिएलको ‘मेरो टिसिएल मेरो विश्वास’ अत्याधिक सफल भएको छ । यसपालिको फिफा वर्ल्डकपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एलइडि टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । टिसिएल ब्राण्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेको छन् । टिसिएलका एलइडि टिभीहरुमा ३ वर्षको वारेण्टी पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ । नेपालका लािग आधिकारीक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

तपाईंहरू फोहोर गरिदिनुहुन्छ, अनि गाली मैले खान्छु- मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसक्दा चर्को आलोचना खेप्नु परेको बताएका छन् । बुधबार राजधानीमा आयोजित नगर-नगर साझेदारी कार्यक्रममा बोल्दै शाक्यले जनताको काम भोट हालेर प्रतिनिधि जिताउने काम मात्र नभएको बताएका हुन् । ‘कुन ठाँउमा कसले फोहर गर्छ त्यो नगरपालिकाले देख्दैन, अरुले देख्छ अनि विद्यासुन्दरले काम गरेन भनेर मैले गाली खानुपर्छ, मेयर शाक्यले भने जापानका फुटबल समर्थकले खेलपछि रसियामा स्टेडियम सफा गरे त्यस्तै संस्कार हामीले पनि सिक्नुपर्छ ।’ कार्यक्रममा बाल उद्यान निर्माण गर्न महानगर र टोखा नगरपालिकाबिच १ करोड बराबरको सहयोग रकममा हस्ताक्षर भएको छ । उद्यान निर्माणको लागि महानगरले ५० प्रतिशत र टोखा नगरपालिकाले ५० प्रतिशत लगानी गर्ने सहमति भएको छ । ११ बुँदे सम्झौतामा समयमै आयोजना सम्पन्न गर्ने, झोर झरना, वौडेश्वर महादेव क्षेत्रलाई संस्कृतिक पर्यटन क्षेत्रमा विकास गर्ने लगायतको सम्झौता भएको छ ।

ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै विश्वकप, गोल्डेन बुट ह्यारी केनले लैजाने सम्भावना

काठमाडौं । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ । त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए । प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ । प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो । प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो । चर्चा ‘गोल्डेन बुट’को  विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ । गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले छ गोल गरिसकेका छन् । छ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत गरेका हुन् । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या चार छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि चार गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा सम्भावना छैन । त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन । यही असार २२ गतेदेखि क्वाटर फाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११ः४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ । त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ । क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ । क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् । त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटर फाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो । प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो । विश्वकप २०१८ मा चम्किएका खेलाडी  नेयमार जुनिय फरवार्ड, ब्राजिल  नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा प¥याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो । भिक्टर लिन्डेलोफ, स्वीडेन  स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो । डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे  उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स  फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । इगोर अकिनफेभ (गोलकिप्पर), रुस  प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले । मारियो फर्नान्डेज, रुस  राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान  जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ । किलियन एमबाप्पे फरवार्ड, फ्रान्स फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो । एडिन्सन काभानी फरवार्ड, उरुग्वे  एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो । क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल  २०१६ को युरोकपको विजेता टोलीको क्याप्टेन क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा चार गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह््याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्को विरुद्ध गोल गरेर गोल्डेन बुटको बलियो दाबेदारी प्रस्तुत गरे पनि उनको टोली प्रि क्वाटरफाइनबाटै बाहिरएपछि उनी गोल्डेनबुटको होडबाट बाहिरिएका छन् । रासस