अपडेटः सेयर बजार दोहोरो अंकले उकालो, बीमा समूह १०९ अंक माथि
काठमाडौं । बिहीबारको सेयर बजार करिब साढे एक घण्टामै दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार उकालो लाग्ने क्रममा रहेको छ । करिब १२ बजेर २० मिनेट जाँदा नेप्से परिसूचक १६ अंकले उकालो लागेर १२०० अंक पार गरेको छ । सो अवधिसम्म परिसूचक १.४३ प्रतिशतले बढेर १२०५ अंकमा पुगेकाे छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह १०९ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य र फाइनान्स समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
अपर तामाकोशीको आईपीओ २२ दिनपछि सर्यो, आवेदन गर्ने दिन पनि बढ्यो
काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको आईपीओ २२ दिन पछि सरेको छ । यस अघि असार २४ गतेदेखि साउन ९ गतेसम्म आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भनिएको थियो । तर अब त्यसको ठिक २२ दिन पछि अर्थात साउन १६ गतेदेखि भदौ १४ गतेसम्म सेयर खुल्ला गरिनेछ । जिल्ला समन्वय समिति दोलखाको आग्रह अनुसार सेयर खुल्ला गर्ने मिति सारिएको तामाकोशी हाइड्रो पावर कम्पनीका विज्ञान न्यौपानेले बताए । उनले बर्षातको समयमा सेयर आवेदन गर्न कठिन हुने भएकाले असारबाट पछि सारेर मध्य साउन पुर्याईको बताए । आयोजना प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउने कोषले जानकारी दिएको छ ।
अब व्यवसायीले मूल्यसूची बिलविजक ग्राहकले देख्नेगरी राख्नुपर्ने
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र ५ हजार ४ सय व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिए । बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजश्व ठगी गर्ने गरेको पाइएको छ । उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जनाएको छ । आव २०७३÷७४ मा चार हजार ७०५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १०९ वटा फर्म बन्द गराइएको थियो । रासस
ओली सरकारको एक झट्काले यीनको जागिर गयो (नामावली सहित)
काठमाडौं । देउवा सरकारले निर्णय गरेका विभिन्न कार्यकारी प्रमुख, प्रदेश प्रमुखहरुको ओली सरकारले एकै पटक पदमुक्त गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरु सहित विभिन्न संस्था तथा संस्थानका कार्यकारी प्रमुखहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेहरुमा नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह साउद लगायतका दर्जनभन्दा बढि नियुक्त रद्ध भएका छन् । त्यस्तै, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष नविनकुमार झा, गुँठी संस्थाका अध्यक्ष मिनराज चौधरी, प्रशासक नारायण चौधरी समेत पदमुक्त भएका छन् । यसैगरी बाैद्धनाथ विकास समितिका अध्यक्ष राजकुमार लामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति संगीता भण्डारी, कर्जा सुरक्षण निगमका अध्यक्ष बिष्णु मिश्र, पर्यटन बोर्डका तीन जना सदस्य लगायतको जागिर गएको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । यस्तै, सात प्रदेशका प्रमुखहरु प्रदेश १ का गोविन्द सुब्बा, २ का रत्नेश्वर लाल कायस्थ, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ का उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र ७ का मोहनराज मल्ललाई प्रदेश प्रमुखबाट मुक्त गरिएको छ ।
सातै प्रदेशका प्रमुखहरु पदमुक्त, नयाँ नियुक्ति छिट्टै गर्ने सरकारकाे तयारी
काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । बैठकले २०७४ भदौ १४ गतेपछि तत्कालिन शेर बहादुर देउवा सरकाले गरेका सबै राजनीतिक नियुक्तका निर्णयहरु बदर गर्ने निर्णय गरेसँगै सात वटै प्रदेशका प्रमुखहरु पद मुक्त भएका हुन् । ‘प्रदेश प्रमुखहरु नियुक्त गर्ने देउवा देउवा सरकारको निर्णय पनि अब रद्द भएको छ, उनीहरु पनि राजनीतिक नियुक्तीका थिए, अब नयाँ प्रदेश प्रमुखहरु नियुक्त हुनेछन्’, कानुन मन्त्री तामाङले विकासन्युजसँग भने । माघ ३ गते बसेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । सातै प्रदेश प्रमुखकाे नयाँ नियुक्ति छिट्टै गर्ने सरकारकाे तयारी छ ।
विश्वकपमा बाजी खेल्ने दश हजार जना पक्राउ
बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा
काठमाडौं । एनआईसी एशिया बैंकले झापाको चारपानेमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन बुधबार एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले गरेका छन् । यस शाखा सहित बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।
३२ ठूला बस किन्न एडीबीले दिने अनुदानको म्याद सकियो, माइक्रोमै यात्रु कोच्दै कीर्तिपुरका बस व्यवसायी
काठमाडौं । रत्नपार्क कीर्तिपुर अन्तर्गतको एस-३ रुटमा ठूला बस मात्रै सञ्चालन गर्ने सरकारको योजना असफल भएको छ । दुई व्यवसायीहरुबीच सहमति हुन नसक्दा योजनाको समय अवधि सकिएको हो । कीर्तिपुर मिनीबस समिति र विशालनगर माइक्रोबस व्यवसायीलाई एसियाली विकास बैंक (एडीबी)ले दिने भनिएको १५ प्रतिशत अनुदान रोकिएको छ । व्यवसायीहरुबीच सहमति हुन नसकेपछि योजनाको म्याद सकिएको यातायात व्यवस्था विभागका इन्जिनियर शरद आचार्यले बताए । उनका अनुसार अब सो कार्यक्रमलाई ल्याउने की नल्याउने सरकारले निर्णय गर्नेछ । व्यवसायीहरुलाई एक वर्ष अघिनै सहमति गरी बस सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीहरुबीच सहमति हुन नसकेको हो । योजना अन्तर्गत सो रुटमा चलिरहेको ७६ वटा माइक्रोबसलाई विस्थापन गरी ३२ वटा ठूला बस सञ्चालन गर्ने तयारी रहेको थियो । व्यवसायीहरुलाई बस किन्नका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत रकम उपलब्ध गराउने, एडिबीले १५ प्रतिशत अनुदान दिने र बाँकी ५ प्रतिशत व्यापारीहरुले लगानी गर्नु पर्ने रहेको थियो । एस ३ रुटलाई तीन भागमा विभाजन गरी ‘ए’ र ‘बी’ ग्रेडमा रुटमा छुट्याइएको छ । एस ३ ए अन्तर्गत कीर्तिपुरदेखि नारायणगोपाल चोकसम्म १३.९ किमी रहेको छ । त्यस्तै एस ३ ‘बी’ अन्तर्गत कीर्तिपुर गल्फुटारसम्म १५.४ किमी रहेको छ । यसैगरी एस ३ ‘ए’ अन्तर्गत नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धम्बाराई मार्ग, चप्पल कारखाना, नारायणगोपाल चोक हुँदै गुड्नेछ । यस्तै एस ३ ‘बि’ अन्तर्गतको रुट नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धुम्बाराई मार्ग, धुम्बाराही, मन्डीखाटापुर, गोल्फुटार र न्युरो हस्पिटल हुँदै गुड्नेछ । अहिले एस ३ रुटमा १९४ वटा साना ठुला बस सञ्चालनमा रहेका छन् । जसमध्ये कीर्तिपुर यातायात सेवा कम्पनीले ४१ वटा बस किर्तिपुर रत्नपार्क सञ्चालन गर्दै आएको छ । कीर्तिपुर मिनीबस समितिले २५ वटा मिनीबस र १० वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । यसैगरी विशालबजार माइक्रोबस समितिले २८ वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । विशालनगर माइक्रोबस व्यावसायीका सचिव दिवाकर अधिकारीले सवारीधनीहरुलाई सहमति गराउन नसकिएको बताए । सरकारले सिन्डिकेट अन्त्य गरिसकेकोले जुनसुकै व्यवासायीहरु आएपनि आफुहरु प्रतिस्पर्धा गर्न तयार रहेकाे बताए । उता केहि माइक्रोबस आफ्नो समितिले किन्ने प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको कीर्तिपुर मिनीबस व्यवसायीका अध्यक्ष छविलाल विश्वकर्माले बताए । एस ३ रुटमा माइक्रो विस्थापन गर्न सके ट्राफिक व्यवस्थापन र यात्रुलाई सहज हुने विभागका प्राविधिक सल्लाहकार पदमबहादुर शाहीले बताए । हाल त्रिपुरेश्वर कालीमाटी लगायतका क्षेत्रमा धेरै समयसम्म सवारी जाम हुने गरेको छ । एस ५ रुटमा सफल एस ५ रुट अन्तर्गत सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवि-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी-गंगबु हुँदै नयाँ बसर्पाकसम्म १७ बस सञ्चालन हुने भएकाे छ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगबु-गल्कोपाखा-लैनचौर-जमल-तिनधारा-कमलपोखरी-ज्ञानेश्वर-मैतीदेवी-पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ । यो रुटमा सञ्चालन गरिएको २६ वटा माइक्रो र ३५ वटा टेम्पोलाई अर्को रुटमा प्रतिस्थापन गरिएको छ । सो केही दिनमै बस सञ्चालन हुने दिगो शहरी यातायातका निर्देशक अनन्त आचार्यले बताए । सबै बस काठमाडौं आइसकेको छ तर प्राविधिक काम सकिएपछि सञ्चालनमा ल्याउने आचार्यले जानकारी दिए ।