३२ ठूला बस किन्न एडीबीले दिने अनुदानको म्याद सकियो, माइक्रोमै यात्रु कोच्दै कीर्तिपुरका बस व्यवसायी

<p>काठमाडौं । रत्नपार्क कीर्तिपुर अन्तर्गतको एस-३ रुटमा ठूला बस मात्रै सञ्चालन गर्ने सरकारको योजना असफल भएको छ । दुई व्यवसायीहरुबीच सहमति हुन नसक्दा योजनाको समय अवधि सकिएको हो । कीर्तिपुर मिनीबस समिति र विशालनगर माइक्रोबस व्यवसायीलाई एसियाली विकास बैंक (एडीबी)ले दिने भनिएको १५ प्रतिशत अनुदान रोकिएको छ । व्यवसायीहरुबीच सहमति हुन नसकेपछि योजनाको म्याद सकिएको [&hellip;]</p>

काठमाडौं । रत्नपार्क कीर्तिपुर अन्तर्गतको एस-३ रुटमा ठूला बस मात्रै सञ्चालन गर्ने सरकारको योजना असफल भएको छ । दुई व्यवसायीहरुबीच सहमति हुन नसक्दा योजनाको समय अवधि सकिएको हो ।

कीर्तिपुर मिनीबस समिति र विशालनगर माइक्रोबस व्यवसायीलाई एसियाली विकास बैंक (एडीबी)ले दिने भनिएको १५ प्रतिशत अनुदान रोकिएको छ । व्यवसायीहरुबीच सहमति हुन नसकेपछि योजनाको म्याद सकिएको यातायात व्यवस्था विभागका इन्जिनियर शरद आचार्यले बताए । उनका अनुसार अब सो कार्यक्रमलाई ल्याउने की नल्याउने सरकारले निर्णय गर्नेछ ।

व्यवसायीहरुलाई एक वर्ष अघिनै सहमति गरी बस सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीहरुबीच सहमति हुन नसकेको हो । योजना अन्तर्गत सो रुटमा चलिरहेको ७६ वटा माइक्रोबसलाई विस्थापन गरी ३२ वटा ठूला बस सञ्चालन गर्ने तयारी रहेको थियो ।

व्यवसायीहरुलाई बस किन्नका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत रकम उपलब्ध गराउने, एडिबीले १५ प्रतिशत अनुदान दिने र बाँकी ५ प्रतिशत व्यापारीहरुले लगानी गर्नु पर्ने रहेको थियो ।

एस ३ रुटलाई तीन भागमा विभाजन गरी ‘ए’ र ‘बी’ ग्रेडमा रुटमा छुट्याइएको छ । एस ३ ए अन्तर्गत कीर्तिपुरदेखि नारायणगोपाल चोकसम्म १३.९ किमी रहेको छ । त्यस्तै एस ३ ‘बी’ अन्तर्गत कीर्तिपुर गल्फुटारसम्म १५.४ किमी रहेको छ । यसैगरी एस ३ ‘ए’ अन्तर्गत नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धम्बाराई मार्ग, चप्पल कारखाना, नारायणगोपाल चोक हुँदै गुड्नेछ ।

यस्तै एस ३ ‘बि’ अन्तर्गतको रुट नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धुम्बाराई मार्ग, धुम्बाराही, मन्डीखाटापुर, गोल्फुटार र न्युरो हस्पिटल हुँदै गुड्नेछ ।

अहिले एस ३ रुटमा १९४ वटा साना ठुला बस सञ्चालनमा रहेका छन् । जसमध्ये कीर्तिपुर यातायात सेवा कम्पनीले ४१ वटा बस किर्तिपुर रत्नपार्क सञ्चालन गर्दै आएको छ । कीर्तिपुर मिनीबस समितिले २५ वटा मिनीबस र १० वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । यसैगरी विशालबजार माइक्रोबस समितिले २८ वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ ।

विशालनगर माइक्रोबस व्यावसायीका सचिव दिवाकर अधिकारीले सवारीधनीहरुलाई सहमति गराउन नसकिएको बताए । सरकारले सिन्डिकेट अन्त्य गरिसकेकोले जुनसुकै व्यवासायीहरु आएपनि आफुहरु प्रतिस्पर्धा गर्न तयार रहेकाे बताए । उता केहि माइक्रोबस आफ्नो समितिले किन्ने प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको कीर्तिपुर मिनीबस व्यवसायीका अध्यक्ष छविलाल विश्वकर्माले बताए ।

एस ३ रुटमा माइक्रो विस्थापन गर्न सके ट्राफिक व्यवस्थापन र यात्रुलाई सहज हुने विभागका प्राविधिक सल्लाहकार पदमबहादुर शाहीले बताए । हाल त्रिपुरेश्वर कालीमाटी लगायतका क्षेत्रमा धेरै समयसम्म  सवारी जाम हुने गरेको छ ।

एस ५ रुटमा सफल

एस ५ रुट अन्तर्गत सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवि-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी-गंगबु हुँदै नयाँ बसर्पाकसम्म १७ बस सञ्चालन हुने भएकाे छ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगबु-गल्कोपाखा-लैनचौर-जमल-तिनधारा-कमलपोखरी-ज्ञानेश्वर-मैतीदेवी-पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ ।

यो रुटमा सञ्चालन गरिएको २६ वटा माइक्रो र ३५ वटा टेम्पोलाई अर्को रुटमा प्रतिस्थापन गरिएको छ । सो केही दिनमै बस सञ्चालन हुने दिगो शहरी यातायातका निर्देशक अनन्त आचार्यले बताए । सबै बस काठमाडौं आइसकेको छ तर प्राविधिक काम सकिएपछि सञ्चालनमा ल्याउने आचार्यले जानकारी  दिए ।

Share News