काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिले पर्वतारोहि कामीरिता शेर्पालाई बधाई ज्ञापन गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पालाई यस सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले बधाई दिएको हो ।

शेर्पाले आगामी वर्ष सन् २०१९ मा सगरमाथा कथा यात्रा २०१९ आयोजना गर्न लागेका छन् । उनले सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन गर्ने उदेश्यका साथ उक्त यात्रालाई अगाडि बढाउन वृज सिमेन्ट र पुष्पतारा केडिया फाउण्डेशनले सहकार्य गर्ने भएको छ ।
सगरमाथा वरिपरिका बस्तीहरु (बिशेषगरी, शेर्पा समुदाय) को साँस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरु विश्वसामु चिनाउनु यस यात्राको मुख्य उदेश्य रहने छ । सो अभियानमा सगरमाथा क्षेत्रमा फैलिएको फोहर तथा जलवायु परिवर्तनले दिनानुदिन सगरमाथा क्षेत्रको स्थानीय बस्ती तथा त्यहाँको पर्यटन व्यवसायमा परिरहेको नकारात्मक प्रभावको बारेमा कथाहरु संकलन गरिने छ ।
२०७२ साल बैशाख १२ गते गएको आम विनासकारी भुकम्प पश्चात पुनर्निर्माणका कथाहरु बिशेष रुपमा यसमा समेटिने छ । कथा संकलनको लागि आधुनिक प्रविधिको प्रयोग गरिनुको साथै नक्सामा कथा राख्ने स्ट्रिट भ्यु अभियान थालनी गरिनेछ, जसका लागि स्टोरी साइकलसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
शेर्पाले भविष्यमा सगरमाथा वरिपरिको क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र सगरमाथा वरिपरिको वातावरण संरक्षणमा समय दिने बताएका छन् । विश्वमा सगरमाथाको चर्चासंगै उच्च हिमाली भेगमा शेर्पा समुदायको संस्कार र संस्कृतिको संरक्षण गरि विश्वभरका पर्यटकलाई नेपालमा स्वागत गर्ने चाहाना रहेको उनले बताए ।
शेर्पा वृज सिमेन्ट इण्डष्ट्रिजद्वारा उत्पादित वृज सुपर प्रिमियम ओपिसि सिमेन्टको ब्राण्ड एम्बेसेडरको रुपमा रहेका छन् । उक्त कम्पनीले उनलाई देशको अदम्य ऊर्जाको रुपमा सम्मान दिँदै आइरहेको छ ।
कार्यक्रममा पुष्पतारा केडियाका अध्यक्ष एवं वृज सिमेन्टका प्रबन्ध निर्देशक मनोजकुमार केडियाले शेर्पालाई बधाई दिँदै नेपालको विकास र सम्बृद्धिको अन्य यस्तै काममा सर्धै सहयोग गर्न केडिया अर्गनाइजेशन तत्पर रहेको बताएका छन् ।