विकासन्युज

प्राइम कमर्सियल बैंकको शाखा प्युठानको बडडाँडामा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युठानको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र विष्टले गरेका हुन् । बैंकले आगामी दिनहरुमा शाखाहरुको संजाल विस्तार गरी थप स्थानबाट आफ्नो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त बनाउने तयारी गरिरहेको छ ।

माधव नेपाल भन्छन्: डा. गोविन्द्र केसीका माग पुरा गर्न कठिन छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताएका छन् । राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था बन्द गर्ने र करोडौं रुपैयाँ खर्चिएर नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने उद्देश्य राम्रो होइन भन्दै उनले अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न सरकारसँग वार्तामा आउन आग्रह गरे । नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताए । क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै उनले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली काँग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गरे । निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएको पनि उनले बताए ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास शुरु भएको छ ।” नेता नेपालले संक्रमणकालमा गरिने निर्णय सहमति र सहकार्यमा नगरिएकाले बहुमतको वर्तमान निर्वाचित सरकारले खारेज गरेको उल्लेख गरे ।

प्रभु बैंकको नयाँ शाखा रौतहटमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले रौतहट जिल्लाको परोहा नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त परोहा शाखाको उद्घाटन सोही नगरपालिकाका प्रमुख मो.शेख वकिलले गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । यस नयाँ शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ । साथै, सोही नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकको विश्वास छ ।

साउदीको फौरीबाट पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कार, हवाई टिकटसम्म निःशुल्क

काठमाडौं । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना असार २१ गतेबाट असोज १४ गते (६ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८)सम्म कायम हुनेछ । यो योजनाअन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक/एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागिहवाई टिकट प्रदान गरिनेछ । यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिनेछ । पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्नेछ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन् । योजनाको सर्वाधिकार कम्पनीमा निहित हुनेछ । यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध हुनेछ । कम्पनीले १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले असारको तेस्रो सातामा थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ । बैंकले असार १८ गते बाग्लुङ्गको बोबाङ्गमा, १९ गते गुल्मीको पाडथोकमा र ठुलापोखरामा नयाँ सेवा विस्तार गरेको हो । त्यसैगरी, असार २० गते अर्घाखाँचीको डाँडाकटेरीमा र गुल्मीको बास्तुमा बैंकिङ्ग सेवा शुरु गरेको छ । साथै, असार २२ गते नवलपरासीको पट्खौलीमा र गोरखाको मकैसिङ्गमा थप बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ । बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोणप्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्णकुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमाकुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाा रहेको छ । त्यस्तै, कम्पनीको जिवन बीमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सले देशभरका १२५ स्थानबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

सार्क विकास कोषले नेपालका साना उद्योगलाई सघाउने

काठमाडौं । सार्क विकास कोषले नेपालका साना उद्योगहरुको विकास र प्रवद्र्धनमा सघाउने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र सार्क चेम्बर अफ कमर्शको नेतृत्वबिच भएको बैठकले कोषको रकमबाट नेपालका साना उद्योगहरुको प्रवद्र्धनमा सघाउने सहमति भएको हो । दिल्लीमा सम्पन्न बैठकमा महासंघकी अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिवाल सहभागी थिए । उक्त बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायमा समयवद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको हो । सार्क विकास कोषले सार्क सदस्य राष्ट्रहरूमा सम्भाव्य परियोजनालाई अगाडी बढाउने बताईएयो । नेपालको सन्दर्भमा अर्थतन्त्रमा सवैभन्दा बढी योगदान रहेको साना उद्योगहरुकोे विस्तार तथा उनीहरूलाई पछिल्लो प्रविधिबाट सुसज्जित बनाउन आवश्यक रहेको र यसो हुन सकेमा नेपालको अर्थतन्त्रलाई अगाडी बढाउन थप सहयोग पुग्ने धारणा महासंघका तर्फबाट राखिए पछि कोषबाट सहयोग गर्ने प्रतिवद्धता आएको थियो । नेपालको अर्थतन्त्रमा करिव ९० प्रतिशत योगदान रहेको अनुमान गरिएको छ ।

साउन १ देखि मजदुरको नयाँ तलबः उद्योगीको बटमलाइन १२ हजार ५ सय, मजदुरको १६ हजार ५ सय

काठमाडौं । साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब तोकिँदैछ । तर पटक पटकका छलफलबाट पनि उद्योगी र ट्रेड युनियनका नेताबिच मजदुरहरुको न्युनतम तलब कति तोक्ने भन्नेबारे जुट्न सकिरहेको छैन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलका अनुसार उद्योगीहरुले १२ हजार ५ सय रुपैंयाँ तलब पुर्याउन सकिने बताएका छन् । तर मजदुर युनियनका प्रतिनिधीका रुपमा आफुहरुले १६ हजार ५ सय रुपैंयाँ भन्दा एक रुपैंयाँ कम पनि नमान्ने अडान राखिरहेको उनले स्पष्ट पारे । श्रम मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठक एक दर्जनबाट बसिसकेको छ । बैठकको प्रारम्भमा उद्योगीहरु हाल कायम रहेको ९ हजार ७ सय रुपैंयाँमा १२ प्रतिशत मात्रै तबल बढाउन तयार भएका थिए । एक दर्जन पटकको बैठकपछि उनीहरु १२ हजार ५ सय पुर्याउन सहमत भएका छन् । मजदुर युनियनका नेताहरु पनि सुरुमा २५ हजारको अडानमा थिए । निरन्तरको छलफलपछि उनीहरु २० हुँदै अहिले १६ हजार ५ सय रुपैंयाँको अडानमा आईपुगेका छन् । आइतबार निर्णायक छलफल गर्ने तय भएको छ । ‘शुक्रबार राती १० बजेसम्म छलफल भयो, कुनै सहमति हुन सकेन्, उद्योगीहरुले आपसमा छलफल गरेर आउँछौं भनेका छन्, आइतबार निर्णायक छलफल हुनेछ’, समितिका सदस्य पौडेलले भने । उद्योगी व्यवसायीका तर्फबाट समितिमा नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट भरतराज आचार्य, नेपाल उद्योग परिसंघका तर्फबाट राजेश अग्रवाल सहभागी छन् । उनीहरुले शनिबार उद्योगी व्यवसायीहरुसँग व्यापक छलफल गरेर आइतबार निर्णायक छलफलमा सहभागी हुने बताएका छन् ।