काठमाडौं । साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब तोकिँदैछ । तर पटक पटकका छलफलबाट पनि उद्योगी र ट्रेड युनियनका नेताबिच मजदुरहरुको न्युनतम तलब कति तोक्ने भन्नेबारे जुट्न सकिरहेको छैन् ।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलका अनुसार उद्योगीहरुले १२ हजार ५ सय रुपैंयाँ तलब पुर्याउन सकिने बताएका छन् । तर मजदुर युनियनका प्रतिनिधीका रुपमा आफुहरुले १६ हजार ५ सय रुपैंयाँ भन्दा एक रुपैंयाँ कम पनि नमान्ने अडान राखिरहेको उनले स्पष्ट पारे ।
श्रम मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठक एक दर्जनबाट बसिसकेको छ । बैठकको प्रारम्भमा उद्योगीहरु हाल कायम रहेको ९ हजार ७ सय रुपैंयाँमा १२ प्रतिशत मात्रै तबल बढाउन तयार भएका थिए । एक दर्जन पटकको बैठकपछि उनीहरु १२ हजार ५ सय पुर्याउन सहमत भएका छन् । मजदुर युनियनका नेताहरु पनि सुरुमा २५ हजारको अडानमा थिए । निरन्तरको छलफलपछि उनीहरु २० हुँदै अहिले १६ हजार ५ सय रुपैंयाँको अडानमा आईपुगेका छन् ।
आइतबार निर्णायक छलफल गर्ने तय भएको छ । ‘शुक्रबार राती १० बजेसम्म छलफल भयो, कुनै सहमति हुन सकेन्, उद्योगीहरुले आपसमा छलफल गरेर आउँछौं भनेका छन्, आइतबार निर्णायक छलफल हुनेछ’, समितिका सदस्य पौडेलले भने । उद्योगी व्यवसायीका तर्फबाट समितिमा नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट भरतराज आचार्य, नेपाल उद्योग परिसंघका तर्फबाट राजेश अग्रवाल सहभागी छन् । उनीहरुले शनिबार उद्योगी व्यवसायीहरुसँग व्यापक छलफल गरेर आइतबार निर्णायक छलफलमा सहभागी हुने बताएका छन् ।