मेलम्चीको सुरुङ फिनिसिङ ६.४ किलोमिटर सकियो, दशैंमा पानी आउला ?
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ ६.४ किलोमिटर फिनिसिङ सकिएको छ । चैत २७ गते नै ब्रेक थ्रु भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न नसकेको हो । ठेकदार कम्पनीले काम द्रुत गतिमा अघि बढाउन नसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताए । ‘आर्थिक अभाव देखाउँदै निर्माण व्यावसायीले काममा ढिला सुस्ती गरीरहेको छ, सुरुङ छेडिएको ३ महिना बित्न लाग्दा पनि ६.४ किलोमिटर मात्रै काम सकिएको छ,’ प्रवक्ता पन्तले विकासन्युजसँग भने । आयोजनाको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएमसी ले कुनैदिन काम गर्ने र कुनैदिन काम नगर्ने गरेको हो । पन्तका अनुसार कम्पनीले दैनिक ९० मिटर टनेल फिनिसिङ गर्न सक्छ, यस हिसबबाट फेरी मासिक ८ देखि ९ किलोमिटर फिनिसिङ गर्न सक्छ । अब टनेल सफा गर्न १९ किलोमिटर बाँकी रहेको छ । तिब्र गतिमा काम गर्न सकिए यो २ महिनामा गर्न सकिन्छ तर अनेक बहानामा कम्पनीले ढिलो काम गरिरहेको वन्तले बताए । कम्पनीले आफैंले पैसा ल्याएर काम गर्ने र बिल पेश गरेपछि हामीले भुक्तानी दिने व्यवस्था आयोजनाको रहेको छ । पछिल्लो समय कम्पनीले एक महिनामा १२ मिटर मात्रै भुईमा फिनिसिंग गरेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।
पुसपछि बीमा कम्पनीलाई फोर्स मर्जर
काठमाडौं । बीमा समितिले पुस महिनापछि बीमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने भएको छ । समितिले ठूला र बलिया बीमा कम्पनीहरु मार्फत गाउँ गाउँमा बीमा सेवा विस्तार गर्ने भन्दै फोर्स मर्जरको तयारी थालेको हो । संसदमा पेश गरेको नयाँ बीमा ऐनको मस्यौदामा पनि बीमा कम्पनीलाई मर्ज गराउने बिषय उल्लेख गरिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले पुस महिनापछि पुँजी पुर्याउन नसक्ने तथा कमजोर अवस्थामा रहेका बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने बताएका हुन् । अध्यक्षले बीमा सहभागीता कुल नागरिकको ११ प्रतिशत पुगेको जानकारी पनि दिए । उनले हालसम्म जम्मा २ वटा जीवन बीमा कम्पनी र एउटा निर्जीबन बीमा कम्पनीले मात्रै पुँजी वृद्धि गरेको समेत जानकारी दिए । ३६ अर्ब पुँजी पुर्याउनुपर्ने १८ वटा जीवन बीमा कम्पनीको पुँजी हालसम्म २३ अर्ब ५६ करोड मात्रै पुगेको जानकारी दिए । असार मसान्तसम्ममा सबै बीमा जीवन बीमा कम्पनीहरुले २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब पुँजी पुर्याउनुपर्ने थियो । तर हालसम्म जीवन तर्फ नेपाल लाईफ र नीर्जीबन तर्फ शिखर र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी पुर्याएका छन् । अध्यक्ष चापागाईँले असारपछि मर्जरका लागि प्रोत्साहन गर्ने र पुसपछि फोर्स गर्ने स्पष्ट पारे । बीमा समितिले बीमा बिटमा समाचार लेख्ने पत्रकारहरुका लागि आयोजना गरेको आवासिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागार्इँले सो कुरा बताएका हुन् ।
ओलीले भनेः के के चाहियो सूची लिएर आउनुस्, बाँसबारी जुत्ता र धागो कारखाना सक्काउने होइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई के के चाहिएको हो त्यसको सूचि लिएर आउन भनेका छन् । नेपाल उद्योग परिसंघको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीलाई आवश्यक पर्ने सुबिधा र सहुलियतहरुको सूचि लिएर आउन भनेका हुन् । तर उनले धागो कारखाना र बाँसबारी जुक्ता कारखना सक्काउने योजना भने नल्याउन सम्झाए । ओली सरकारका कारण नीजी क्षेत्र त्रसित बनेको र पूँजी पलायनको अवस्था सृजना भएको आरोप लागिरहेका बेला ओलीले भने सहुलियतको सूचि लिएर आउन भनेका हुन् । उनले धेरै नाफा र बोनसको मात्रै पछि नलाग्न पनि उद्योगीहरुलाई आग्रह गरे । संसारकै सस्तो कामदार नेपालमै पाइने दावी गर्दै ओलीले त्यसको सदुपयोग गरेर विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न सुझाव दिए । उनले नेपालको आँप रसिया निर्यात गर्न सकिने धारणा समेत राखेका थिए । पाँच बर्षको स्थायी सरकार आएकाले नीति परिवर्तनको आंशका नरहेको र पाँच बर्षभित्रै सुशासन सहित समृद्धिको अभियान धेरै अघि बढिसक्ने दावी पनि गरे । नेपाली मिडियाले गाली नगरेको मान्छे बन्नका लागि भाग्यमानी हुनुपर्ने समेत बताए । बार्षिकोत्सवमा नेपाल उद्योेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगी व्यवसायी विश्वकै उत्कृष्ठ रहेको दावी गरेका थिए । लगानीको वातावरण बनाईदिन नेपाललाई नीजी क्षेत्रले समृद्ध बनाउन नेतृत्व गर्ने उनको भनाई थियो ।
पोखरामा सांग्रिला डेभलपमेन्ट बैैंकको थप दुुई शाखा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुुई शाखा पोखरामा विस्तार गरेको छ । बैंकले शुक्रबार पोखराको तालचोक र हल्लनचोक लेकसाईडमा दुुई शाखाहरुको उद्घाटन गरि कारोवार शुरु गरेको छ । तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुुरुङले गरेका थिए । मन्त्री गुुरुङले प्रदेश नं.४ पर्यटन व्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा वित्तीय संस्थाहरुले अहम भूमिका निभाउनुु पर्ने बताए । यसैगरी, लेकसाईड शाखाको उद्घाटन प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए । अधिकारीले बैंकको प्रगतिको कामना गर्दै बैंकले विभिन्न ग्रामिण क्षेत्रहरुमा शाखा विस्तार गरि आम जनतालाई बैकिङ सुुबिधा प्रदान गरेकोमा सराहना गरेका थिए । यस विकास बैंकको कुल शाखा संख्या ५२ पुगेको छ । साथै, अन्य बैं ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
एक लाख ३० हजार घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ
बनेपा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित शुक्रबार(आज) दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका-११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ । रासस
प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश
काठमाडौं । साविकको प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश कायम भएको छ । शुक्रबार बसेको प्रदेश संसदले गण्डकी प्रदेश नाम राख्ने निर्णय गरेको हो । सरकारले प्रस्ताव गरेको नामलाई प्रदेश सभाको २ तिहाई भन्दा बढि बहुमतले पारित गरेको हो । नयाँ शक्तिका दुई सांसद बाहेक सबैले गण्डकी प्रदेशका पक्षमा मतदान गरेका थिए । गण्डकी प्रदेशका पक्षमा ५४ मत खसेको हो ।
डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य नियुक्त
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, सोही बैठकले संचालकहरुको सर्व सम्मतिमा संचालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष ढकाल आईएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध छन् । त्यस्तै, प्रवन्ध निर्देशक आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन् । बैठकले अध्यक्ष तथा संचालक पदबाट देवीप्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामालाई स्वीकृत गरेको हो । साथै, भट्टचनले कम्पनीको उल्लेख्य प्रगतिमा पुर्याउनु भएको योगदानलाई कम्पनीले उच्च मुल्याङकन गरेको छ । २०७४ असार १८ गतेबाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ । साथै, कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।