विकासन्युज

एनआईसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् । बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रुपैयाँ रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

४५ हजार घुस सहित इन्जिनियर अजय कमार ठाकुर पक्राउ

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय, गौर रौतहटका इन्जिनियर ठाकुर भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । ठाकुरले विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने घुस मागेपछि उनी पक्राउ परेका हुन् । ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ४५ हजार घुससहित पक्राउ गरेको सहायक प्रवक्ता मदन कोइराले जानकारी दिए । अब उनीमाथी थप अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिने कोइरालाले बताए ।

थुम्को मन्दिर परिसरमा सौर्यबत्ती जडान

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । “बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ”, अध्यक्ष ऐरले भने । पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्ती खेप्दै आएका छन् ।” चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामुदायिक वनको रु आठ लाखको लगानीमा मन्दिरबाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन । प्राचीनकालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो । यसैगरी वडाका दश स्थानमा समेत सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थान, सडक चौराह र विद्यालय नजिकका स्थानमा सौर्यबत्ती जडानको कार्य भइरहेको अध्यक्ष ऐरको भनाइ रहेको छ । सौर्यबत्ती जडानका लागि वडाको रु पाँच लाख र रु पाँच लाख अनुदान गरी रु १० लाखको बजेट परिचालन गरिएको छ । चिकित्सक अभावबारे छलफल यसैगरी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले खेप्दै आएको चिकित्सकको अभाव पूर्ति गर्नका लागि सांसदहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्ष विशेषज्ञ डाक्टरको अभावमा अस्पताल रिफर सेन्टरका रुपमा परिणत भएपछि सांसदले अस्पतालमा चिकित्सकको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । अस्पतालले लामो समयदेखि खेप्दै आएकाले चिकित्सको अभाव पूर्ति गर्नका लागि सदनमा कुरा राखेको सांसद डा दीपक भट्टले अस्पताल सुधारका लागि शनिबार साँझ अबेर सरोकारवालाको सहभागितामा आयोजना गरिएको बैठकमा बताए ।

बीमा कम्पनीसँग लगातार पराजित हुँदै बीमा समिति, युनाइटेड इन्स्योरेन्सले ल्यायो अन्तरिम आदेश

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पछिल्लो समय बीमा कम्पनीहरुसँग लगातार पराजित हुँदै आएको छ । बीमा समितिका निर्णय बिरुद्ध बीमा कम्पनीहरुले अदालतमा दायर गरेका अधिकांश मुद्धामा समिति पराजित हुँदै आएको हो । केहि समय अघि मात्रै महालक्ष्मी लाईफ इस्न्योरेन्स कम्पनीलाई लाइसेन्स नदिने समितिको निर्णय अदालतले उल्ट्याईदिएको थियो । तोकिएको समयमा पुँजी पुर्याउन नसकेको भन्दै समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन अस्विकार गरेको थियो । तर महालक्ष्मीले सर्वाेच्च अदालतमा मुद्धा हालेर जित्यो । बीमा समितिलाई पराजित गर्ने पछिल्लो कम्पनीका रुपमा युनाइटेड इन्स्योरेन्स थपिएको छ । सीजी इलेक्ट्रोनिक्स आगलागी प्रकरणमा गलत ढंगले भुक्तानी गरेको भन्दै बीमा समितिले युनाईटेड इन्स्योरेन्स कम्पनीको फायर पोलिसीमा रोक लगाएका थियो । तर कम्पनीले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेर अन्तरकालिन आदेश ल्याएको छ । सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधान र ईश्वर खतिवडाको पूर्ण इजलासले युनाईटेड ईन्स्योरेन्स कम्पनीको फायर पोलिसी रोक्ने निर्णय कार्यान्वयन नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिए । अब अदालतले अन्तिम फैसला नगरेसम्म युनाईटेड इन्स्योरेन्स कम्पनीले फायर पोलिसी बेच्न पाउनेछ ।

शिवम् सिमेन्ट्सले अागामी तीन वर्षमा क्रमशः १०, १५ र २० प्रतिशत लाभांश दिन्छ-शतिस कुमार मोर

नेपाली अर्थतन्त्रमा तुलनात्मक रुपमा बढी लाभ दिने उद्योगमा सिमेन्ट उद्योग पर्छ भनेर धेरैले स्वीकार गरेका छन् । र, सिमेन्ट उद्योगमा व्यवसायिक घरानाहरुको लगानी निकै बढेको छ ।  विकासको यस क्रममा शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । सिमेन्ट उद्योगलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन हुन लागेको यो पहिलो पटक हो । यस कम्पनीको साधारण सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताका चासोका प्रश्नहरु हामीले शिवम सिमेन्ट कम्पनीका प्रवद्र्धक लक्की ग्रुप नेपालका अध्यक्ष तथा उद्यमी शतिस कुमार मोरसँग राखेका छौं । शतिस कुमार मोरअध्यक्ष–लक्की ग्रुप नेपाल तथा प्रवद्र्धक–शिवम् सिमेन्ट्स लिमिटेड शिवम् सिमेन्ट्सको उत्पादन र बजार कस्तो छ ? शिवम् सिमेन्टले हाल ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । दैनिक३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुँदैछ । क्लिङकर १९०० टन उत्पादन गर्दै आएका छौं । बजारमा शिवम् सिमेन्ट्सको माग धेरै छ । हामीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनौं । शिवम् सिमेन्ट्सको समेत लगानी रहेको होङसी शिवम सिमेन्ट प्रा. लि.को व्यवसायिक उत्पादन समेत शुरु भएको छ । यस कम्पनीको उत्पादन क्षमता सिमेन्ट र क्लिड.कर प्रतिदिन ६ हजार टन हुनेछ । कम्पनीको प्रवद्र्धकहरु को को छन् ? शिवम् सिमेन्ट्समा शुरुमा चार ग्रुपले लगानी गरेका थिए । पछि दुई ग्रुप थपिएको छ । अहिले लक्की ग्रुप, एचआर गोयल ग्रुप, शारदा ग्रुप, देवेनरा ग्रुप, भिमसरिया ग्रुप र जेबी मारु ग्रुप अन्तरगत व्यक्तिगत शेयरधनिहरुको लगानी रहेको छ । शिवम् सिमेन्ट्सले होङसी शिवम सिमेन्टमा कुन मोडलमा लगानी गरेको हो ? शिवम सिमेन्ट्स लिमिटेड अन्तरगत शिवम् होल्डिङ कम्पनी प्रा.लि. छ । त्यसमा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी छ । बाँकी १२ प्रति व्यक्तिगत लगानीकर्ता हरु चुनढुँगा खानीसँग सम्बन्धित विज्ञ व्यक्ति समेत हुनुहुन्छ । शिवम् होल्डिङ कम्पनीले होङसी शिवम सिमेन्टमा ३० प्रतिशत लगानी गरेको छ । त्यसमा शिवम् सिमेन्ट्सको मात्र २६.४० प्रतिशत लगानी हुन्छ । चैत मसान्तसम्ममा होङसी शिवम सिमेन्टमा होल्डिङ कम्पनी मार्फत ३ अर्ब ३६ करोड रुपैयाँ लगानी भईसकेको छ । भविष्यमा यो लगानी विस्तार पनि हुनसक्ने सम्भावना छ । कम्पनीको व्यवस्थापकीय संरचना कस्तो छ ? शिवम सिमेन्टस् लिमिटेडमा हाल ५ जनाको सञ्चालक समिति छ । सुरेन्द्र कुमार गोयल कार्यकारी अध्यक्ष हुनुहुन्छ । रघुनन्धन मारु, अमित मोर, रोहित गुम्ता र शन्दिप कुमार शारदासञ्चालक हुनुहुन्छ । उहाँ पाँचै जना संचालकहरु विभिन्न उद्योग व्यवसाय क्षेत्रमा सक्रिय रहि लामो अनुभव हासिल गरेका व्यवसायीक व्यक्तिहरु संचालक समितिका हुनुहुन्छ । व्यवस्थापन समितिमा सम्बन्धित क्षेत्रको लामो अनुभव भएका र योग्य प्रोफेशनल व्यक्तिहरु हुनुहुन्छ । नवलकिशोर चौधरीले उत्पादनतर्फको नेतृत्व गर्नु भएको छ । त्यस्तै, फाइनान्स, सेल्स एण्ड मार्केटिङ, एचआर, टेक्निकल डिमार्पटमेन्ट, लिगलडिपार्टमेन्ट गरेर विभिन्न डिपार्टमेन्टहरु प्रोफेशनल व्यक्तिहरुले यो कम्पनीको व्यवस्थापन गरेका छन् । कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीले २०६७/६८ मा व्यवसायिक उत्पादन थालेको हो । त्यतिबेला कम्पनी प्रालिमा थियो । २०७२ सालमा आएपछि यो कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा परिवर्तन भएको हो । यस कम्पनीले २०७१/७२ मा ३८७ करोडको सिमेन्टबिक्री गरेको थियो । २०७२/७३मा ५७६ करोडको बिक्री भयो । २०७३/७४ मा ७३६ करोडको बिक्री भयो । २०७४/७५ को चैत मसान्तसम्ममा ७१० करोडको बिक्री भएकोछ । २०७५ असार मसान्तसम्ममा १००० करोड रुपैयाँ भन्दा बढीको शिवम व्राण्डको सिमेन्ट सेल्स गर्ने योजना अनुसार कार्य गरिरहेकाछौं । हामीले २०७१/७२ मा ४१ करोड खुद नाफा गरेका थियौं । २०७२/७३मा ७७ करोड नाफा भयो । २०७३/७४ मा ८१ करोड नाफा गर्यौं । २०७४/७५ को चैत मसान्तसम्ममा ९३ करोड खुद नाफा भएको छ । यो नाफा हेटौडामा रहेको शिवम सिमेन्टको उद्योगको प्रतिफल मात्र हो । हामीले ३३६ करोड होङ्सी शिवम सिमेन्ट नवलपरासी रहेको संयुक्त लगानीको उद्योगमा लगानी गरेका छौं । उक्त उद्योगबाट प्राप्त हुने नाफा पछि लाभाँसको रुपमा शिवम् सिमेन्ट्समा नै आउने हो । तसर्थ सबै वित्तिय पक्षको अध्ययन गर्दा कम्पनीको समग्र आर्थिक स्थिती निकै मजवुद रहेको छ । शिवम् सिमेन्टको चुक्ता पुँजी कति छ ? हाल कम्पनीको ३ अर्ब ८७ करोड २० लाख चुक्ता पुँजी छ । आईपीओ निष्काशन पछि ५२ करोड ८० लाख पुँजी थपिन्छ । पब्लिकको पैसा आईसकेपछि चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुन्छ । संचित कोषमा कति रकम छ ? २०७४ चैत मसान्तसम्ममा २१६ करोड रिर्जभ छ । आईपिओको प्रिमियमबाट १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ प्रिमियम कोषमा थप जम्मा हुन्छ । आगामी वर्षमा कम्पनीको आम्दानी कस्तो होला ? चालु आर्थिक वर्षमा १००८ करोड, २०७५/७६ मा ११०० करोड र २०७६/७७ मा १२६० करोड रुपैयाँ बराबरको सिमेन्ट उत्पादन र विक्री गर्ने योजनाबनाएका छौं ।त्यस्तै, चालु आर्थिक वर्षमा ११४ करोड, २०७५/७६ मा १४३ करोड र २०७६/७७मा १८५ करोडको खुद नाफा हुने अनुमान छ । जुन होङसी शिवम सिमेन्टमा लगानी गरिएको रकमबाट प्राप्त हुने आम्दानी बाहेकको रकम हो । होङ्सी शिवम सिमेन्टमा गरिएको ३३६ करोडको प्रतिफल उत्पादनमुलक उद्योग भएकोले करिव ३ वर्षपछि मात्र मुनाफा आउँछ भन्ने अनुमानका आधारमा हामीले हेटौडा स्थित शिवम सिमेन्ट लि. को उद्योग तर्फको आम्दानी र नाफालाई मात्र प्रक्षेपण गरेका हौं । आगामी वर्ष सेल्स वृद्धि भन्दा नाफा वृद्धि दर उच्च हुने अनुमान गर्नुभयो, कसरी ? उत्पादनमुलक उद्योगमा स्थिर पूँजी तर्फको लगानी कूल लगानीको ठूलो हिस्सा रहने हुंदा आयकर ऐन बमोजिम ह्रासकट्टीको आधारले शुरुका वर्षहरुमा खुद नाफामा असर गर्दछ । यो उद्योगले उत्पादन थालेको ८ वर्ष भयो । यसअवधिमा धेरै ह्रासकट्टी भईसकेको छ । साथै उत्पादन र विक्रीको बृद्धिदर संगै प्रति वोरा उत्पादन लागत खर्च पनि कम पर्ने हुंदा र हरेक वर्ष बैंक कर्जाको रिपेमेण्ट गरिरहेका कारण कर्जाको व्याजभार समेत कम हुन आउने हुंदा हामीले प्रक्षेपण विश्लेषण गरेर नै गरेका छौ । सेयर पुँजी वृद्धि कसरी हुन्छ ? आ. व. २०७१/७२ मा रु. १२५ करोडको शेयर पूंजी बाट बृद्धि गरी हाल यस कम्पनीमा शेयर पूँजीरु. ३८७ करोड छ । यो सर्व साधारणलाई प्रिमियम मूल्यमा शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४४० करोड हुनेछ । हामीले संस्थापकहरुले थप लगानी गरेको शेयर रकम र संचित मुनाफा मध्येबाट सहायक कम्पनी शिवम होल्डिँग प्रा. लि. मार्फत होङ्सी शिवम सिमेन्ट प्रा. लि. को उद्योगमा रु. ३३६ करोड लगानी गरिसकेका छौं । विगतमा कम्पनीले प्रवद्र्धकलाई लाभांश कति दिएको छ ? विगत तीन वर्षमा हरेक आ. व. मा १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेका थियौं । कम्पनीमा लगानी विस्तार हुँदै गएकोले कम लाभांश वितरण गरेका हौं । शुरुमा प्रतिदिन ७०० टन उत्पादन क्षमताको उद्योग लगाएका थियौं । पछि त्यसलाई विस्तार गरेर २३०० टन र हाल प्रतिदिन ३००० टन उत्पादन क्षमता बढाएका छौं । होङसी शिवम सिमेन्टमा भएको लगानी सहितको हिसाव गर्दा यस कम्पनीले चार पटक लगानी विस्तार वृद्धि गरिसकेको छ । एकातिर कम्पनीका प्रवद्र्धकले थप लगानी पनि गरेको देखियो अर्कोतिर नगद लाभांश पनि लिएको देखियो । नगदको सट्टा बोनस सेयरबाट पुँजी वृद्धि किन नगरेको ? लगानीकर्ताले प्रतिफल खोज्नु स्वभाविक कुरा हुन जाने हुंदा हामीले लाभाँस वितरण गर्ने साधारण सभाको निर्णय अनुसार वितरण गरेका थियौं । प्रतिफल प्राप्त हुने कम्पनीमा थप लगानी गर्न उत्साहित हुने र सो वर्षहरुमा कम्पनीले क्षमता बृद्धि गरी थप परियोजनाका लागि आवश्यक रकम माग हुंदा प्रर्वदकहरुले सकारात्मक रुपमा लिई थप शेयर रकम लगानी गर्नु भएको हो । साथै नेपाल धितोपत्र बोर्ड ऐन तथा कम्पनी ऐन २०६३ को प्रावधान बमोजिम प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लगातार तीन आर्थिक वर्षसम्म कम्पनी मुनाफामा संचालन भई लाभांश वितरण गरेको, कम्पनीको सम्पूर्ण दायित्व भन्दा खुद सम्पत्ति बढि रहेको सो लगायतका सबै प्रावधान रहेछ । हामीले आफ्नो उद्येश्य अनुसारका काम कारोवार गर्दा गराँउदा सबै व्यवस्था पुरा भएको अवस्थामा आई पुगेका रहेछौं । कम्पनीले कति ऋण लिएको छ ? त्यसको वार्षिक व्याज खर्च कति छ ? करिव ४ अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका छौं र त्यसको वार्षिक व्याज खर्च करिव ३० करोड रुपैयाँ छ । कम्पनीले किन साधारण सेयर निष्काशन गर्न लागेको हो ? हामीले पहिलेदेखि नै स्थानीयबासीको लागि सेयर निष्काशन गर्ने सोच बनाएका थियौं । पछि सरकारले पनि पब्लिक कम्पनीलाई करमा केही छुट दिने व्यवस्था गर्यो । त्यो स्वागतयोग्य कदम थियो । अहिले सरकारले १ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीले सेयर निष्काशन गर्नै पर्ने नीति बजेटमा ल्याएको छ । हामी उद्यमी व्यवसायीहरुले नेपाल सरकारका नीतिलाई सहयोग पुग्ने गरी कार्य गर्नु पर्दछ भन्ने कर्तव्य पनि ठान्दछौं । यस कम्पनीलाइृ प्रर्वदकको मात्रै होइन सबैको आफ्नै कम्पनी हो भन्ने अनुभति दिलाउने उद्येश्यले पनि स्थानीयलाई २ प्रतिशत र सर्बसाधारणको लागि १० प्रतिशत सेयर निष्काशन गर्ने निर्णय गरेका छौं ।स्टक मार्केटमा गएपछि इक्वीटी व्याकअप स्ट्रोङ हुन्छ भन्ने मान्यतामा छौं । पब्लिक कम्पनी बनाउनु रहर हो कि वाध्यता ? वाध्यता थिएन । हामी बजारमा फरक ढंगले अगाडि बढ्न चाहेका छौं । पुँजी बजारमा पहिलो पटक सिमेन्ट उद्योगले सेयर निष्काशन गर्दैछौं । यसले बजारमा नयाँ स्वाद पनि दिन्छ ।साथै, उद्योग प्रभावित क्षेत्र लगायतका सबै सर्व साधारण लगानीकर्ताहरुले पनि उद्योगबाट लाभ लिन सकून भन्ने हाम्रो चाहाना हो । प्रिमियम मूल्य किन ? १०० रुपैयाँको सेयर १०० मा नै किन निष्काशन भएन ? यो कम्पनी २०६० सालमा स्थापना भएको हो । उद्योगले उत्पादन थालेको पनि ८ वर्ष भएको छ । साथै होङसी ग्रुपमा साझेदारी अगाडि बढाएका छौं । कम्पनीराम्रो नाफामा छ । संचित कोषमा नै २१६ करोड रुपैयाँ छ । तीन महिनाको नाफा अझ यसमा हेरेको छैनौं । आज शिवम सिमेन्ट्स नेपालको नम्बर वान ब्राण्ड बनेको छ। कम्पनीको समग्र अवस्थाको अध्ययन निरीक्षण र आर्थिक विश्लेषण गरी इक्रा नेपाल लिमिटेड जस्तो अन्तराष्टिय संस्थाले ग्रेडिँग गरी ३ प्लस ग्रेडको रेटिङ दिएको छ, जुन कम्पनीको आर्थिक लगायतका सबै अवस्था सवल छन भन्ने संकेत पनि हो ।अन्तराष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी धितोपत्र निष्कासन तथा वाँडफाँड निर्देशिका बमोजिम प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो ३ बर्षको पूंजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र अन्तराष्ट्रिय प्रचलनको विधि समेतलाई अवलम्वन गरी प्रिमियम मूल्य निर्धारण भएको हो । १०० को सेयरमा ४०० रुपैयाँ लगानी गरेको लगानीकर्तालाई कम्पनीले कस्तो प्रतिफल दिन्छ ? आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत, २०७५/७६ को नाफाबाट १५ प्रतिशत र २०७६/७७ को नाफाबाट २० प्रतिशत नगद लाभांश दिने योजना बनाएका छौं । कम्पनीको वित्तिय विवरण अनुसार प्रस्ताव गरे भन्दा बढि दरमा मुनाफा वितरण सकिने भएता पनि कम्पनीले अन्य महत्वकाक्षी परियोजनामा लगानी गर्ने दीर्घकालिन सोच रहेकोछ । आ. व. २०७४/७५ भित्र शेयरमा सर्वसाधारणले लगानी नगरेकै अवस्थामा पनि १० प्रतिशत मुनाफा पाउने प्रस्ताव गरेका छौं । आ. व. २०७५/७६ मा १५ प्रतिशत मुनाफा वितरण गर्ने योजनालाई लगानी पश्चातको पहिलो वर्षमा नै २५ प्रतिशत प्रतिफल हुन आउने कुरा विर्सन हुदैन । कम्पनीको संचित कोष र परियोजनाहरु निक्कै नै उपुयक्त रहेकाले अपेक्षाकृत नाफा भविष्यमा प्राप्त हुने कुरामा लगानीकर्ता विश्वस्त हुनेछन भन्ने विश्वास गरेका छौं । प्रिमियमबाट उठेको पैसा के गर्नुहुन्छ ? प्रिमियमबाट उठेको रकम हामीलेहाल कर्जा चुक्त प्रयोग गरी व्याज खर्च घटाउने र निकट भविष्यमा नयाँ प्रोजेक्टमा लगानी गर्ने दीर्घ कालिन योजना र सोच बनाएका छौं । त्यसमा हाम्रो थप प्रोजेक्ट उत्पादन क्षमतामा बृद्धि र उत्पादन विविधकरण गर्ने हो । हामीले लगानी कर्ताको हितलाई ध्यनजर गरेर नै कार्य गर्ने गर्दछौं । उत्पादन मुलक क्षेत्रको नियामक निकाय छैन । यस्तो कम्पनीको सुशासन र पारदर्शिता राम्रो हुँदैन भन्ने धारणा सर्वसाधारणमा छन् । यस कम्पनीको सुशासन र पारदर्शिता कसरी कायम हुन्छ ? विगतआठ वर्षदेखि यो उद्योग चलाएका छौं । यो कम्पनी योग्य, अनुभवि एवं दक्ष प्रोफेशनलहरुले चलाएका छन् । कम्पनीमा पावर डिसेन्ट्रलाईजेशन भएको छ । आयव्यय सबै पारदर्शी छ । ठूला कम्पनीहरुलाई आन्तरिक राजस्व कार्यालयबाट हरेक आर्थिक वर्षको आर्थिक गतिविधिलाई कर परीक्षण गरी फूल अडिट गरेका हुन्छन् । हाम्रो जस्ता उद्योग क्षेत्रको निगमन र अनुगमन गर्ने थुप्रै निकायहरुले प्रभावकारी रुपमा अनुगमन र निगमन गर्ने गरेका हुन्छन जस्तै उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, वन तथा वातावरण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उपभोक्ता हित तथा संरक्षण विभाग लगायतका निकायहरुको नियमित अनुगमन र निरीक्षणका कारण कम्पनीले सबै ऐन, नियम अनुसार मात्र कार्य गर्ने हुंदा नियामक निकाय छैनन् भन्ने होइन । दोस्रो हामी पव्लिक लिमिटेड कम्पनी भएकाले सबै काम कुराहरु आर्थिक अनुशासनमा रहि पारदर्शी तरिकाले गर्ने गरेका छौं । कम्पनीलेआफ्नो वेवसाइटमा जम्मा तीन पेजको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । यति ठूलो कम्पनीले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अपनाएको देखिदैन, किन ? धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएपछि वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छौं । शेयर निष्कासनसम्बन्धि विवरण पत्र सहितका विस्तृत विवरणहरु हामी छिट्टै सार्वजनिक गर्दैछौं । कम्पनीले यस वर्ष देखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) पद्दति अनुसार वित्तिय विवरण तर्जुमागर्ने योजना गरेका छौं ।

क्लिन नेपालगञ्ज–ग्रीन नेपालगञ्ज, वार्षिक ८ करोड रुपैयाँ खर्च

नेपालगञ्ज/१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’ नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिशापिसाब गर्दैनन् । वस्तीमा नियमित सामूहिक सरसफाइ हुन्छ ।’ शहरको मुख्य बजार घरबारीटोलमा ढलको समस्या छ । व्यापारी जथाभावी सडकमा फोहर फाल्दैनन् । एकै ठाउँमा थुपारेको फोहर उपमहानगरपालिकाको ट्रयाक्टरले लैजान्छ । व्यापारी भानु गौतम भन्छन्, ‘सरसफाईमा उपमहानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति विस्तारै हट्दै गएको छ ।’ नगरका प्रायः मुख्य चोकमा ठेलामा कारोबार हुन्छ । ठेलाको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले ठाउँठाउँमा डस्टबिन राखेको छ । धम्बोझीचोकमा करिब २ दशकदेखि ठेलामा विरयानी बेच्दै आएका अख्तर अलि डस्टबिन प्रयोगबारे भन्छन्, ‘ग्राहकलाई जथाभावी फोहोर फाल्न दिन्नौँ । डस्टबिनमै हाल्न लगाउँछौँ ।’ सरसफाइ चेतना ल्याउन जनप्रतिनिधि सक्रिय छन् । नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु घरदैलो पुगेर फोहोर व्यवस्थापन सिकाइरहेका छन् । शौचालय निर्माणमा सहयोग, डस्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम जारी छ । चिडिमार कसरी सरसफाइ गर्न तयार भए त ? वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी ‘सामूहिक सरसफाई कार्यक्रम गरेर फोहर नगर्न र उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सघाउन गरेको आग्रह” लाई स्थानीयले हाम्रै लागि काम गरिरहेका छन् भन्ने महसुस गर्नुको प्रतिफल ठान्छन् । नागरिक पनि सरसफाइमा जुटेका छन् । २०७३ साल साउनदेखि उपमहानगरसँगको सहकार्यमा साप्ताहिक रुपमा क्लिन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज अभियान जारी छ । ‘नेपालगञ्जको परिचय नै फोहोरसँग जोडिन्थ्यो । सुन्दा दुःख लाग्थ्यो’, अभियन्ता डा. विनोद कर्ण भन्छन्, ‘शुरुमा अभियान थाल्दा झगडा गर्न आउनेहरुलाई हामीले गरेको फोहर हाम्रै लागि हानिकारक हुन्छ । यसले टोल र नगरको सुन्दरता बिगार्छ र स्वास्थ्य खराब पार्छ भन्ने चेतना दिन सफल भएका छौँ ।’ नगर सफा गर्ने अभियानमा उद्योगीव्यापारीको पनि साथ छ । न्यूरोडमा व्यापारीकै सरसफाई कर्मचारी छन् । नेपालगन्जमा सरसफाईसँगै हिलो, धुलो र धुवाँमुक्त गर्दै व्यवस्थित ढल र शौचालयको उचित प्रयोगतर्फ ध्यान दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठको सुझाव छ । नगर सरसफाइमा खुला दिशामुक्त अभियानको पनि देन छ । नालामा जोडिएका सेफ्टि ट्यांकी हटाउन, नालामा फोहोर फाल्न नदिन समुदायलाई नै सक्रिय बनाइएको छ । विपन्नलाई शौचालय बनाउन सहयोग, शौचालय नबनाउने र खुला स्थानमा शौच गर्नेलाई कारबाही भइरहेको छ । अभियानका फोकल पर्सन ओविराज आचार्य अभियान थाल्दाको अनुभव सुनाउँछन्, ‘एकथरीसँग घर, जग्गा र गाडी भए पनि शौचालय थिएन । बनाउनुपर्छ भन्ने चेतना पनि थिएन । अर्को थरी जग्गा, पैसा र चेतना तिनै चिजको अभाव थियो ।’ उपमहानरपालिका दिशामुक्त घोषणा भइसकेको छ । उपमहानगरपालिकाले सरसफाइमा वार्षिक ८ करोड रुपैयाँ खर्च गर्छ । १०४ जना स्वीपर र ७ वटा ट्रयाक्टर खटाइन्छ । दैनिक ३५ टन फोहोर संकलन हुन्छ । स्थान अभावमा अहिले ३२ टन मात्रै व्यवस्थापन हुने गरेको छ । फोहार दीर्घकालिन व्यवस्थापन गर्न हिरमिनीयामा ल्याण्ड फिल्ड साइट निर्माणको काम अन्तिम चरणमा छ । वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी नगरवासीमा सरसफाईप्रति जागरण बढेको देख्छन् । ‘डेढ वर्ष अघिसम्म फोहोर नगरपालिकाले सफा गरिदिने हो ठान्थे प्रवृत्ति फोहोर व्यवस्थापनमा चुनौती थियो । तर अहिले आफै फोहोर व्यवस्थापन गर्ने जनजागरण आएको छ’, भन्छन्, ‘उपमहानगर ५ वर्षे वातावरणमैत्री रणनीतिक योजना बनाइरहेको छ । सरसफाई, जलवायु अनुकुलन, वातावरण सन्तुलन लगायतका विषय समेटिनेछन् । फोहोर र ढल व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाईयुक्त बनाउने हाम्रो लक्ष्य हो ।’ नगरका घरघरमा सरसफाइ चेतना आएको छ । नेपालगञ्ज–१८ कि निर्मला केसी भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउँछिन् । कुहिने फोहोर कुहाएर मल बनाउँछिन् । प्लाष्टिकका झिल्ली पुनः प्रयोग गर्छिन् । काम नलाग्ने फोहोर मात्र फोहर बोक्ने ट्रयाक्टरमा हाल्छिन् । ‘आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो । घरको फोहर घरमै व्यवस्थापन गरे आधा समस्या समाधान हुन्छ ।’ नेपालगञ्ज–७ का वडाध्यक्ष जुमन खाँ नगरवासीको जागरणमा ४० प्रतिशत सुधार आएको दाबी गर्छन् । नगरवासी पनि सरसफाइमा परिवर्तन अनुभूति गर्नथालेका छन् । ७५ वर्षीय कृपाराम वर्मा सरसफाईमा जागरण नै आएको ठान्छन् । ‘शौचालयमा मात्रै शौच गर्ने बानी बस्नु पनि धेरै ठुलो प्रगति हो ।’ स्राेत-नेपालगञ्ज उपमहानगरको ‘शहर फिचर सेवा’

बाहिरी चक्रपथ बनाईदिने चाईना स्टेट कन्स्ट्रक्सनको प्रस्ताव

काठमाडौं । चीनको बहुप्रतिष्ठित निर्माण कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ओभरसिज डेभलपमेन्ट कम्पनी लिमिटेडले बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शुक्रबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सहित मन्त्रालय र आयोजनाका कर्मचारीहरुलाई बाहिरी चक्रपथको सडक निर्माण गर्ने प्रस्ताव गरेको हो । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीका अनुसार उनीहरुले पुरै ७२ किलोमिटर लामो बहिरी चक्रपथ निर्माण गर्न आफुहरु इच्छुक रहेको बताएका थिए । उनीहरुले शनिबार बाहिरी चक्रपथको चोभार सतुंगल खण्डको स्थलगत निरिक्षण पनि गरेका थिए । बाहिरी चक्रपथको सडक निर्माणका लागि यस अघि नै चीन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । चीन सरकारले अनुदानमा वा ऋणमा बाहिरी सडक निर्माण गरिदिएको खण्डमा निर्माण व्यववसायीका रुपमा आफ्नो कम्पनीले काम गर्ने चिनियाँ प्रतिनिधी मण्डलका नेतृत्वकर्ता सु ताओले बताएका थिए । बाहिरी चक्रपथ निर्माणमा चासो देखाउने चिनियाँ कम्पनीमा २ लाख ५० हजार कामदार रहेको उनीहरुले प्रस्तुतीका क्रममा बताएका थिए । शहरी विकास मन्त्री राईले पनि बाहिरी चक्रपथ निर्माणका लागि अनुभवी कम्पनीको आवश्यकता पर्ने धारणा राखेका थिए । मन्त्री राईले बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डको काम अघि बढाउने अन्तिम तयारी भैरहेको बताएका थिए । जहाँ ७६ वटा घरहरु पर्छन् । ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भू माफियाहरुले स साना कित्तामा जग्गा विभाजन गरेर आयोजनाको भविष्य नै अन्यौलमा पारिदिएका हुन् । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपुर्तिका लागि उपलब्ध गराउनुपर्ने अवःथा छ । आयोजनाका अधिकृत ध्रबु सापकोटाले भने अनेकौं अवरोधहरुलाई छिचोल्दै पाइलट प्रोजेक्टको काम अघि बढाउनुको विकल्प नभएको बताए । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०।२५० मिटर जमिन अधिग्रहण हुनेछ ।

भारत र मेलिनाको चाहना यो मनकोेमा १५ वर्षे जोडीको रोमान्स

काठमाडौं । गायिका मेलिना राई र गायक भारत सिवाहाङ राईको आवाजमा तयार गरिको गीत चाहना यो मनकोसार्वजनिक गरिएको छ । अडियो तथा म्युजिक भिडियो एक साथ विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस सांगितिक यात्रामा नयाँ अनुहारका रुपमा आएका भारत सिवाहाङ राईलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी हुन् । अहिले कक्षा १० मा अध्ययन गरिरहेका१५ वर्षीय खम्बुहाङ राईले चाहना यो मनकोबाट अभिनयको यात्रा सुरु गरेका छन् । उनले मिम्छा राईसँग गरेको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । गायक भारत र गायिक मेलिना राई पनि म्युजिक भिडियोमा छन् । सञ्जीव पारदर्शी राई तथा सुष्मा रुपाबुङ राईको शब्द तथा रचना रहेको उक्त गीतमा सङ्गीतकार टिकेन्द्र राईले संगीत दिएका छन् । गायिका मेलिना राईले गीत फरक शैलीमा प्रश्तुत गरिएका कारण दर्शक तथा स्रोतालाई मन पर्ने बताइन् । त्यसै गरि गायन तथा अभिनयमा पहिलो पाइला चालेका भारत सिवाहाङ राई र खम्बुहाङ राईले पहिलो कामबाट धेरै उत्साहित भएको बताए । सबै वर्गलाई लक्षित गर्दै व्यवसायिक शैलीमा म्युजिक भिडियो तयार परिएकाले आफुहरुलाई दर्शकले मन पराई दिने अपेक्षा म्युजिक भिडियोका निर्देशक किरात बिन्द्रले गरेका छन् । बबुल गिरीले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन अंकित कार्कीले गरेका छन् ।