काठमाडौं । चीनको बहुप्रतिष्ठित निर्माण कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ओभरसिज डेभलपमेन्ट कम्पनी लिमिटेडले बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शुक्रबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सहित मन्त्रालय र आयोजनाका कर्मचारीहरुलाई बाहिरी चक्रपथको सडक निर्माण गर्ने प्रस्ताव गरेको हो ।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीका अनुसार उनीहरुले पुरै ७२ किलोमिटर लामो बहिरी चक्रपथ निर्माण गर्न आफुहरु इच्छुक रहेको बताएका थिए । उनीहरुले शनिबार बाहिरी चक्रपथको चोभार सतुंगल खण्डको स्थलगत निरिक्षण पनि गरेका थिए ।
बाहिरी चक्रपथको सडक निर्माणका लागि यस अघि नै चीन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।
चीन सरकारले अनुदानमा वा ऋणमा बाहिरी सडक निर्माण गरिदिएको खण्डमा निर्माण व्यववसायीका रुपमा आफ्नो कम्पनीले काम गर्ने चिनियाँ प्रतिनिधी मण्डलका नेतृत्वकर्ता सु ताओले बताएका थिए । बाहिरी चक्रपथ निर्माणमा चासो देखाउने चिनियाँ कम्पनीमा २ लाख ५० हजार कामदार रहेको उनीहरुले प्रस्तुतीका क्रममा बताएका थिए ।
शहरी विकास मन्त्री राईले पनि बाहिरी चक्रपथ निर्माणका लागि अनुभवी कम्पनीको आवश्यकता पर्ने धारणा राखेका थिए । मन्त्री राईले बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डको काम अघि बढाउने अन्तिम तयारी भैरहेको बताएका थिए । जहाँ ७६ वटा घरहरु पर्छन् । ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भू माफियाहरुले स साना कित्तामा जग्गा विभाजन गरेर आयोजनाको भविष्य नै अन्यौलमा पारिदिएका हुन् ।
चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपुर्तिका लागि उपलब्ध गराउनुपर्ने अवःथा छ । आयोजनाका अधिकृत ध्रबु सापकोटाले भने अनेकौं अवरोधहरुलाई छिचोल्दै पाइलट प्रोजेक्टको काम अघि बढाउनुको विकल्प नभएको बताए । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०।२५० मिटर जमिन अधिग्रहण हुनेछ ।