मेलम्चीको सुरुङ फिनिसिङ ६.४ किलोमिटर सकियो, दशैंमा पानी आउला ?

<p>काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ ६.४ किलोमिटर फिनिसिङ सकिएको छ । चैत २७ गते नै ब्रेक थ्रु भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न नसकेको हो । ठेकदार कम्पनीले काम द्रुत गतिमा अघि बढाउन नसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताए । &#8216;आर्थिक अभाव देखाउँदै निर्माण व्यावसायीले काममा ढिला सुस्ती गरीरहेको छ, सुरुङ [&hellip;]</p>

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ ६.४ किलोमिटर फिनिसिङ सकिएको छ । चैत २७ गते नै ब्रेक थ्रु भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न नसकेको हो ।

ठेकदार कम्पनीले काम द्रुत गतिमा अघि बढाउन नसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताए । ‘आर्थिक अभाव देखाउँदै निर्माण व्यावसायीले काममा ढिला सुस्ती गरीरहेको छ, सुरुङ छेडिएको ३ महिना बित्न लाग्दा पनि ६.४ किलोमिटर मात्रै काम सकिएको छ,’ प्रवक्ता पन्तले विकासन्युजसँग भने ।

आयोजनाको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएमसी ले कुनैदिन काम गर्ने र कुनैदिन काम नगर्ने गरेको हो ।

पन्तका अनुसार कम्पनीले दैनिक ९० मिटर टनेल फिनिसिङ गर्न सक्छ, यस हिसबबाट फेरी मासिक ८ देखि ९ किलोमिटर फिनिसिङ गर्न सक्छ ।

अब टनेल सफा गर्न १९ किलोमिटर बाँकी रहेको छ । तिब्र गतिमा काम गर्न सकिए यो २ महिनामा गर्न सकिन्छ तर अनेक बहानामा कम्पनीले ढिलो काम गरिरहेको वन्तले बताए ।

कम्पनीले आफैंले पैसा ल्याएर काम गर्ने र बिल पेश गरेपछि हामीले भुक्तानी दिने व्यवस्था आयोजनाको रहेको छ ।  पछिल्लो समय कम्पनीले एक महिनामा १२ मिटर मात्रै भुईमा फिनिसिंग गरेको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ ।

याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ ।

पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।

Share News