काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई के के चाहिएको हो त्यसको सूचि लिएर आउन भनेका छन् । नेपाल उद्योग परिसंघको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीलाई आवश्यक पर्ने सुबिधा र सहुलियतहरुको सूचि लिएर आउन भनेका हुन् ।
तर उनले धागो कारखाना र बाँसबारी जुक्ता कारखना सक्काउने योजना भने नल्याउन सम्झाए । ओली सरकारका कारण नीजी क्षेत्र त्रसित बनेको र पूँजी पलायनको अवस्था सृजना भएको आरोप लागिरहेका बेला ओलीले भने सहुलियतको सूचि लिएर आउन भनेका हुन् ।
उनले धेरै नाफा र बोनसको मात्रै पछि नलाग्न पनि उद्योगीहरुलाई आग्रह गरे । संसारकै सस्तो कामदार नेपालमै पाइने दावी गर्दै ओलीले त्यसको सदुपयोग गरेर विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न सुझाव दिए । उनले नेपालको आँप रसिया निर्यात गर्न सकिने धारणा समेत राखेका थिए ।
पाँच बर्षको स्थायी सरकार आएकाले नीति परिवर्तनको आंशका नरहेको र पाँच बर्षभित्रै सुशासन सहित समृद्धिको अभियान धेरै अघि बढिसक्ने दावी पनि गरे । नेपाली मिडियाले गाली नगरेको मान्छे बन्नका लागि भाग्यमानी हुनुपर्ने समेत बताए । बार्षिकोत्सवमा नेपाल उद्योेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगी व्यवसायी विश्वकै उत्कृष्ठ रहेको दावी गरेका थिए । लगानीको वातावरण बनाईदिन नेपाललाई नीजी क्षेत्रले समृद्ध बनाउन नेतृत्व गर्ने उनको भनाई थियो ।