पाँचथर पावरले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन
काठमाडौं । निजी लगानीमा स्थापना भएको पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २१ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरिरहेको छ ।
सार्क उद्योग वाणिज्य संघको विधान संशोधन समितिको सभापतिमा महासंघका ढकाल चयन
काठमाडौं । सार्क उद्योग वाणिज्य संघको ७५औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ । बंगलादेशको ढाकामा भैरहेको कार्य समिति बैठकमा संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको जानकारी गराइयो । त्यसैगरी सार्क उद्योग वाणिज्यसंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन् । विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक, र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् । कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित अ क्लाईमेट रिसाइलेन्ट साउथ एसियाः टर्निङ क्लाइमेट स्मार्ट इन्भेष्टमेन्ट अपर्टुनिटिज इन्टिु रियालिटी विषयक सम्मेलनलाई महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले संबोधन गरेका छन् । संबोधनका क्रममा सार्क उवासंघका उपाध्यक्ष ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा संवोधन गर्नुपर्ने धारणा राखेका छन् । वातावरण परिवर्तनबाट देखापर्ने चुनौतीलाई संबोधन गर्दै आर्थिक विकास, लगानी आकर्षण, रोजगारी सृजना गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा साझा एजेण्डा तय गर्न उनले सुझाव दिए । वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उनले दक्षिण एशियाली देशहरूले पनि आफ्ना विकास रणनीति तय गर्ने बेला आइसकेको बताएका छन् । स्वच्छ उर्जा र उर्जा दक्षता अभिवृद्धिमा भएको लगानी वातावरणमा देखिएको परिवर्तनका कारण दीगो हुन नसकेको ढकालले बताएका छन् । त्यस्तै, उनले वातावरण परिवर्तबाट हुन सक्ने असरलाई समयमै संवोधन नगर्ने हो भने यस क्षेत्रमा सन् २०३० सम्म करिब १० करोड मानिसहरु गरिबीको रेखामुनी धकेलिने बताएका छन् । गरिवीको रेखामुनी जानबाट यस क्षेत्रका जनतालाई जोगाउने हो भने आगामी सन् २०३० सम्म यस क्षेत्रमा स्वच्छ उर्जा उत्पादनमा करिव ४१० विलियन अमेरिकी डलर लगानी गर्नुपर्ने, करिव ६७० विलियन अमेरिकी डलर वरावरको लगानी यातायात सुधारमा खर्चनु पर्ने तथ्यांक पूर्व अध्यक्ष ढकालले प्रस्तुत गरेका छन् । हाल दक्षिण एशियाली देशहरूमा भारतले सौर्य उर्जा, श्रीलंकाले हरित आवास योजना, भुटानले विद्युतीय सवारी साधन, बंगलादेश र नेपालले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक यातायातको प्रवद्र्धन तथा उर्जा विकासमा पहल गरीरहेको बताएका छन् ।
सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा सञ्चालनमा
काठमाडौं । सिद्धार्थ बैंकले आइतबार(आज) विभिन्न स्थानहरुमा एकैसाथ ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसीकोट नगरपालिकाको मुुसीकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ । बैंकले देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेप्सेको सीईओ नहटाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आइतबार साउदलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन सरकारलाई आदेश दिएको हो । गैरकानूनी तरिकाले आफूलाई हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एकैदिन थप दुई शाखा सञ्चालनमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो थप दुई शाखा सल्यान र रुकुममा विस्तार गरेका छन् । फाइनान्सले एकैदिन सल्यानको श्रीनगर र रुकुम (पश्चिम) को सोलावाङ्गमा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त दुवै शाखा सञ्चालन पश्चात यस वित्तीय सस्ंथाको शाखा कार्यालय संख्या १० पुगेको छ । हाल वित्तीय संस्थाको मिति २०७५ आषाढ ३१ सम्ममा चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाको कुल निक्षेप ३ अर्ब ७० करो८ रुपैयाँ तथा कुल लगानी ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच क्यासलेस सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच नगद रहिद स्वास्थ्योपचार गर्ने (क्यासलेस) सम्झौता भएको छ । उक्त सम्झौता पश्चात इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता गरेको हो । जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ । सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका जीवन वीमाका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
सनराइज बैंकको कलंकी शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले कलंकी शाखालाई साविकको स्थानबाट करिब ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमबीच बैंकका संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । हाल बैंकले ९० वटा शाखा, १०० वटा एटीएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
भूमिसुधारका नासु दामोदर खतिवडा ३० हजार घुस लिदाँलिदै पक्राउ
काठमाडौं । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गरे । उनले भने – “भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो ।” विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।