बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर पारित, अध्यक्षद्धारा सपथ ग्रहण
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित १३.२५ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको सो मात्राको लाभांश पारित गरेको हो । त्यसैगरी, सभाले छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । साथै, आइतबार(आज) बैंकका सञ्चालक प्रकाश श्रेष्ठले अध्यक्षको सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।
पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी
काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए । नेपाल पर्यटन बोर्डको प्रायोजन र पर्यटन क्षेत्रका तीन मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा भएको तालिमको समापन गर्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अब चप्पल लगाएर काम गर्ने मजदुरको माग खान देउ भन्ने मात्र होईन नीति निर्माण गर्ने तहमै सहभागीता हुनुपर्ने बताए । कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले जिम्मेवार भएर श्रमिकले कार्य गर्नुपर्ने बताउँदै आफ्ना अधिकारका विषयमा नडराई माग उठाउन श्रमिकहरूलार्इ आग्रह गरे । कार्यक्रममा आयोजकमध्येको एक यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्र नियमसंगत ढंगले चल्नुपर्ने भन्दै गलत काम गर्ने व्यवसायी र सरकारी निकायका पदाधिकारीलाई पर्यटन श्रमिकले साथ नदिने बताए । उनले ट्रेकिङ क्षेत्रका समस्या बेलैमा समाधान नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्ने भन्दै पर्यटन मजदुरका समस्या बेलैमा समाधान भएन भने श्रमिकले यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिए । त्यस्तै व्यवसायीका कारण अहिले पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको भन्दै बेलैमा सचेत हुन उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले टिम्सको रकम श्रमिकको पक्षमा नहुने हो भने यसलाई बन्द गर्नुपर्ने वा श्रमिकको सामाजिक सुरक्षा कोषमा हाल्नुपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल)ले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक प्रचार किन भयो भन्नेबारे सबै व्यवसायी र सरकारले विचार पुर्याउनुपर्ने भन्दै बेलैमा नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाले पर्यटन क्षेत्रका सबै श्रमिकहरु एक भएर गलत कामको भण्डाफोर गर्नुपर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायी दिपक महत मजदुरको समस्या समाधान गर्न व्यवसायी र राज्य लाग्नुपर्ने र टिम्सको रकम श्रमिकको हितमा लागाईनुपर्ने बताए । त्यस्तै पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रमा इमान्दारिता देखाउनुपर्ने भन्दै पर्यटन श्रमिकको बीमाको कुरा व्यवसायी स्वयंले नै बहोर्नुपर्ने र टिम्सको रकममा र्याल चुहाएर सरकारको भर पर्न नहुने बताए । राज्यको रकम आपत विपदका बेला प्रयोग गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै टानका अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा एकताको खाँचो रहेको भन्दै फेक हेलिकप्टर रेस्यु गर्ने सिमित व्यवसायीका कारण पुरै पर्यटन क्षेत्रलाई बद्नामी गर्न नहुने बताए । त्यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङले टिम्सको रकम सिधै मजदुरको कल्याणकारी कोषमा जानुपर्ने भन्दै जिम्मेवार पर्यटन गर्न लाग्नुपर्ने बताए । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले पर्यटन श्रमिकलाई फेक रेस्क्यूको नाममा अवैध सुन बोक्ने गोरेजस्तै बनाउन नहुने बताए । ६ दिनको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा १५० जना पर्यटन श्रमिकहरु सहभागी भएका थिए । आयोजकले सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराएको थियो ।
चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि….
काठमाडौं । “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अडेस लगाइरहनुभएको थियो । आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आज “चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गरेका थिए । कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गरेका थिए । त्यसैअनुरुप कविहरुले पनि श्रम, सीप, सिर्जना, स्वदेशमा रोजगार, आपसी एकता, प्राकृतिक सम्पदाको उपयोग, कुशासनको अन्त्य आदि विषयलाई कविताको धागोले उनेर समृद्धिको माला उपहार प्रदान गरेका थिए । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए । प्रधानमन्त्रीसँगै वरिष्ठ साहित्यकार, चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल पनि मञ्चमा बसेर कविता श्रवणबाट मन्त्रमुग्ध हुनुभएको थियो । कविता फुरेमा कार्यक्रमको अन्त्यसम्म आफूले पनि कविता सुनाउने प्रधानमन्त्रीको उद्घोषले सहभागीमा अर्को उत्सुकता पनि पैदा भइरहेको थियो । छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाँल्दै नयाँ समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक पनि प्रस्तुत गरेका थिए । काठमाडौँका कवि डा रामप्रसाद ज्ञवालीले भाका हालेर सुमधूर स्वरमा यसरी कविता भनेका थिए । “उड्दैछन् पुतली स्वयम् सुर लिई आकाशमा फर्रफर नेपाली यदि स्वाभिमान छ भने आफैँ उठाऊ शिर” गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शार्दुलविक्रीडित छन्दमै थपे, “ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत” प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खा यसरी पोखेका थिए । “अरु छैन धोको यति गर्न पाउँ वतन्को सिपाही भई मर्न पाउँ चुनौतीहरुको छ जंघार चर्को नमानेर झर्को सधँै छर्न पाउँ” कविहरु डिएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागार्इं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाएका थिए । सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए। भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जिलिङ्का कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गरेका थिए। सम्मिलनमा आजै चन्द्रागिरि घोषणापत्र जारी गरिनेछ । रासस
अब टेलिकमको भ्वाइस र डाटा दुवैमा सेवा शुल्क तिर्नु पर्ने, साउन १ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल टेलिकमको मनसुन अफर अन्तर्गत अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ । त्यसैगरी, डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । टेलिकमले मनसुन उक्त अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क(टीएससी) समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ । एडीएसएल लगायत निम्न लिखित प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको छ: कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार निम्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन गरिएको छ: अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ । मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्नेछ । त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
नेप्से ८ अंकले बढेर १२०० अंकमा, सबैभन्दा बढी सेञ्चुरी बैंकको प्रमोटर सेयर कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.११ अंकले उकालो लागेको छ । दिनभर सामान्य उतारचढाव आएको बजारमा परिसूचक ०.६८ प्रतिशतले बढेर १२०० अंकमा पुगेको छ । बजारमा कूल १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७० कम्पनीको ६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । आइतबार यस बैंकको एक लाख २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको बजार मूल्य प्रतिकित्ता १७३ रुपैयाँ रहेको छ । आइतबार फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सबैभन्दा बढी बीमा ४३.४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ४०.६६, होइड्रो १०.७८ र उत्पादनमूलक समूह ९.३८ अंकले उकालो लागेका छन् ।
हिमालयन बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।
५ किलो सुनको ट्रफ्री फ्रान्स कि क्रोयोसियाको ? अर्जेन्टिनाकै रेफ्रीले देखाएका थिए जिदानेलाई रातो कार्ड
काठमाडौं । फुटबल महाकुम्भको अन्तिम दिन फ्रान्स र क्रोयोसिया भिड्ने तयारीमा छन् । दास्रो विश्वयुद्धपछि लोकप्रिय बन्दै गैरहेको फुटबल खेलले एउटा युद्धकै काम गरिरहेको छ । यसमा कि जित कि हार स्वीकार गर्नुको विकल्प छैन । ४ वर्षमा आउने यस पर्व एक पक्षलाई रुवाउने छ भने अर्को पक्षलाई हसाउने छ । फ्रान्स २०१६ को युरो कपको हारको पिडा बिर्सिने दाउमा छ भने क्रोयोसिया स्वर्णिम अक्षरले इतिहास लेख्ने तयारीमा रहेको छ । युवा खेलाडीले भरिएको फ्रान्स र टीमवर्कमा निकै राम्रो देखिएको क निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिन्छ । युवा खेलाडीले भरिएको फ्रान्स फ्रान्सका मुख्य प्रशिक्षक डिडर देशच्याम्पले युवा खेलाडीलाई काउन्टर अट्याक र डिफेन्सिभमै जोड दिइरहेका छन् । अघिल्लो पंक्तिमा ओलिभर जिरोर्ड र केलियन एम्बाप्पेलाई राखिएको छ भने मिडफिल्डमा ग्रीजम्यान, पाउल पोग्बा, कान्टे, माटुडी रहेका छन् । डिफेन्स लाइनमा सामुयल उमटीटी निकै शसक्त देखिएका छन् । फ्रान्सलाई फाइनल पुर्याउन बेल्जियम विरुद्ध महत्पुर्ण गोल गरेका उमटीटी सबैभन्दा भरपर्दा डिफेन्डर हुन् । क्रोयोसियाको तिब्र गतिको आक्रामक खेल क्रोयोसियाका प्रशिक्षक जाल्टको डालिकको खेलाउने शैलि सफल हुदैं आएको छ । क्रोयोसियाको खेल हेर्दा यस्तो देखिन्छ कि सबै खेलाडीहरु बराबर क्षमतामा खेल खेलिरहेका छन् । उच्च गतिमा फुटबल खेल्ने क्षमता भएको क्रोयोसियन टोलीले आजको खेलमा सम्भवत बल पोजिसन बढी राख्नेछ । पेनाल्टी क्षेत्रभन्दा बाहिरबाटै राम्रो सुट प्रहार गर्न सक्ने लुका मोड्रिक र अवसर पाउदा गल्ति नगरी गोल गर्न सक्ने इभान राकेटिक मुख्य खेलाडी हुन् । मिडफिल्ड बढी प्रभावशाली देखिएपनि क्रोयोसियाको समग्र टी सन्तुलित देखिएको छ । मैदानमा फ्रान्सको टोली भन्दा क्रोयोसियका खेलाडीहरुले बढी संघर्ष गरेर आएका छन् । रसियालाई ट्राइबेकरमा हराएको क्रोयोसियाले फाइनलमा स्थान बनाउन १ सय २५ मिनेट इंग्ल्यान्डसँग सघर्ष गर्नु परेको थियो । अर्जेन्टिनाकै रेफ्रिले जिदानलाई रातो कार्ड दर्शाएका थिए सन् २००६ को फाइनलमा इटाली र फ्रान्स खेलिरहँदा म्याच रेफ्री अर्जेन्टिनाका होरासियो इलिजोन्डो रहेका थिए । खेलमा फ्रेन्च स्ट्राइकर जिनेदिन जिदानले इटालिका मार्को माटराजीलाई टाउकोले छातीमा हानेपछि होरासियोले उनलाई सिधै रातो कार्ड दर्शाएका थिए । १० खेलाडीमा सिमित फ्रान्सलाई इटालिले ट्राइबेकरमा ५-३ गोल अन्तरले हराएको यिथो । संयोगबस आज हुने फाइनल खेलमा पनि मुख्य रेफ्रीको भुमिकामा अर्जेन्टिनाका निस्टोर पिटना सहित ३ जना रहेका छन् । ‘मेरो अन्तिम शब्द, यो राम्रो समय हो साथी’: डालिक पहिलो पटक फाइनलमा पुगेको क्रोयोसियन टोलीले कप उचाले मात्र सार्थकता पाउनेछ । किनभने इतिहास जित्नेको लेखिन्छ हार्नेको होइन । प्रशिक्षक डालिकले आफ्ना खेलाडीहरुलाई मेरो अन्तिम शब्द यो राम्रो समय हो साथी भनेका छन् । उनले स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै डालिकले भने-‘मलाई अझै विश्वास लागिरहेको छैन, कि हामी फाइनलमा आइपुगेका छौं । मैले कहिल्यै सोसेको थिइँन यो यात्रा तर म भन्न चाहान्छु मेरा साथीहरु, खेलाडीहरु यो समय धेरै राम्रो समय हो । मेरा खेलाडीहरु तिमीहरु अझ धेरै रमाइलो गर । मोड्रिक र राकेटिक जस्ता खेलाडीहरुलाई प्रशिक्षण गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो । उनीहरु महान खेलाडी हुन् । मेरा खेलाडीहरुले मेरो योजनालाई राम्रोसँग मैदानमा उतारिरहेका छन् ।’ चर्चा मोड्रिक र एम्बाप्पेको दुई स्ट्राइकर लुका मोड्रिक र केलियन एम्बाप्पेको चर्चा चुलिएको छ । रियल म्यड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका मोड्रिकले उच्च गतिमा दोडन सक्ने र टाढाबाटै शक्तिशाली प्रहार गर्न सक्ने उनको मुख्य विशेषता हो । उनले फाइनल खेल जिते गोल्डेन बलको दाबेदार समेत हुनेछन् । जिएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका १९ वर्षिय केलियन उम्बाप्पेले विश्वकपमा ३ गोल गरिसकेका छन् । उत्कृष्ट ड्रिबल सहित तिब्र गतिमा दौडन सक्ने एम्बप्पे उत्कृष्ट युवा खेलाडीको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् । परिक्षा भन्ने बित्तिकै जुनसुकै मान्छे एक पटक डराउँछ भने झै विश्वकप फाइजनल खेलमा कुनै पनि खेलाडीले क्षमताको सय प्रतिशत खेल देखाउन सक्दैन । दुई देशका खेलाडीहरुको तुलना गर्ने हो भने फ्रेन्च खेलाडी केहि माथिल्ला स्तरमा रहेका छन् । पाउल पोग्बा, एन्टोनी ग्रीजम्यान, एम्बाप्पे, डेम्बेले उमटीटी, कान्टे माटुडी विश्व फुबलमा मुल्यवान खेलाडीन्हरु हुन् । क्रोयोसियाका मान्जुकी, इभान राकेटिक र मोड्रिक उच्च स्तरका खेलाडी हुन् । यदि फ्रान्सले पहिलेकै रणनीतिमा खेलाडी मैदान उतारे बल पोजिसन नराखी फ्रान्सले काउन्टर एट्याकमा ध्यान दिनेछ । यता क्रोयोसियाले बल पोजिसन बनाउँदै तिब्र गतिको फुटबल देखाउने छ । फाइनल खेल हार्न एउटै गल्ती प्रयाप्त हुन सक्छ । पहिले गोल खाने टीमलाई खेलमा पर्किन निकै कठिन हुनेछ । किनकि सबै विश्व च्याम्पियन बन्न खेलिरहका हुन्छन् ।
सानिमा बैंकद्धारा ‘टिच फर नेपाल’ लाई १० लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थालाई बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका(भिजन) साथ टिच फर नेपाल विगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ । यस बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म १८९ विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ । शिक्षा नै राष्ट्र निर्माणको मुल आधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृत्तिलाई निरन्तरता दिँदै आएको छ । सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुनेछन् ।