एनसीसी बैंकद्धारा कर्णालीका निःसहाय बालबालिकालाई ३ लाखको आर्थिक सहयोग
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कर्णाली प्रदेश नं. ६ मा रहेका गरिब तथा निःसहाय बालबालिकालाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले उक्त जिल्लाका शिक्षा, स्वास्थ्यबाट बन्चित ४० जना अनाथ, असहाय तथा अपाङ्ग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्धारा संचालित हेल्पलेस चिल्ड्रेन होमलाई उक्त रकमको चेक हस्तान्तरण गरेको छ । बैंकले किर्तिपुरको चोभारमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका ४० जना बालबालिकाहरुको १ वर्षको लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त सो मात्राको आर्थिक सहयोग गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बुलाई हस्तान्तरण गरेका छन् । उक्त रकम ४० जना निःसहाय बालबालिकाहरुको विद्यालय शुल्कको लागि प्रतिमहिना २० हजार रुपैयाँ तथा औषधोपचार खर्च १५०० रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै, हेल्पलेस चिल्ड्रेन होम रहेको भवनको झ्याल तथा ढोकामा एनसीसी बैंकको पहलमा जाली खापा राख्ने कार्य समेत अगाडि बढाईएको बैंकले जनाएको छ । सगरमाथा प्रतिष्ठान नेपालले विगत ११ वर्ष देखि कर्णाली प्रदेशमा रहेका निःसहाय बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र गाँसबासको जिम्मेवारी लिई उक्त संस्थाद्वारा संचालित हेल्पलेस चिल्ड्रेन होम नामको संस्था संचालन गर्दै आईरहेको छ ।
कक्षा १२ को परीक्षाफल सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३।२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५।२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
वेष्ट र सिनर्जी फाइनान्सबीच एकीकृत कारोबार शुरु
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले एक कार्यक्रमबीच गरेका हुन् । प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । वेष्ट फाइनान्स कम्पनीको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ हुनेछ । जुन रकम हाल सिनर्जी फाइनान्सले जारी गरिरहेको १ः०.२५ प्रतिशतको हकप्रद सेयर गणना गरे पछिको रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकीकृत कारोबार पश्चात संस्थाको निक्षेप २ अर्ब २४ करोड रुपैयाँ तथा कर्जा लगानी एक अर्ब ९९ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै, संस्थाको कुल सम्पत्ती ३ अर्ब ६० करोड रुपैयाँ हुनेछ । त्यसैगरी, शाखा संख्या १४ र एटीएम संख्या ३ पुग्ने संस्थाले बताएको छ । उक्त अवसरमा गभर्नर डा. नेपालले भने, ‘१६ वटा वित्तीय संस्थाहरु समस्याग्रस्त थिए । जसमध्ये वेष्ट फाइनान्सले हाल निकै राम्रो काम गरेको छ ।’ साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि बलिया भएका उनले बताएका छन् । प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा पदमराज न्यौपाने नियुक्त भएका छन् । त्यसैगरी, संचालकमा मिलन थापा, कृष्णहरी श्रेष्ठ र सुरज क्षेत्री नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा बेबीजन तिमल्सिना र महेशप्रसाद अधिकारी तथा स्वतन्त्र संचालकमा बिमल ढकाल नियुक्त भएका छन् ।
प्राइम लाइफको जीवन उपहार, सहायक बीमालेख मार्फत दोहोरो सुबिधा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम जीवन उपहार नामको नयाँ बीमा योजना ल्याएको छ । न्युनतम पाँच लाख रुपैंयाँ बीमाङक कायम गरिएको योजनामा अधिकतमको सिमा तोकिएको छैन् । न्युनतम १६ बर्षका किशोर किशोरी देखि ५५ बर्ष उमेरसम्मका मानिसहरुले यो बीमा लेखमा सहभागीता जनाउन सक्नेछन् । ७० बर्षको उमेरमा अनिवार्य बीमा अवधी समाप्त हुने योजनामा मुल बीमालेखमा बीमा प्रारम्भ भएको पहिलो बार्षिकोत्सवपछि अनिवार्य रुपमा मुल बीमालेख बराबर बिमाङकको सहायक बीमालेख जारी गरेर बिमितलाई दोहोरो सुबिधा उपलब्ध हुनेछ । बीमा लेख समाप्त भएपछि बीमाङकको २५ प्रतिशत तथा अनिवार्य सहायक बीमाङकको १०० प्रतिशत तथा खुबै बीमालेखले आर्जन गरेको बोनस पनि प्राप्त हुनेछ । बीमा लेख कायमै रहेको अवस्थामा बीमितको मृत्यु भएमा मुल बीमालेख र सहायक बीमालेखको बीमाङक रकम तथा बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । बीमितले थप सुबिधा लिन चाहेमा दुर्घटना बीमा पनि गराउन सक्नेछन् । नयाँ बीमा लेखा सार्वजनिक गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नयाँ खाले बीमा पोलिसीहरुले बीमा क्षेत्रको विकासमा सहयोग पुर्याउने धारणा राखेका थिए । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले नयाँ बीमा लेख मार्फत नागरिकहरुले डबल फाईदा लिन सक्ने बताए ।
मेसिनले जाँच्दैछ शिक्षक सेवा आयोगको कापी, छिटो र विश्वसनीय नजिता आउने
काठमाडौँ । शिक्षक सेवा आयोगले परिक्षामा सहभागीहरुको कापी मेसिनले जाँच्ने भएको छ । नतिजालाई छिटो छरिटो र विश्वसनीय बनाउन भन्दै आयोगले मेसिन प्रयोग गरेर कापी जाच्न लागेको हो । अब खुल्ने शिक्षक सेवा आयोगको विज्ञापनमा सहभागी हुने परीक्षार्थीहरुको सबै कापी मेसिनले जाच्नेछ । यसका लागि आयोगले आन्तरिक तयारी अन्तिम चरणमा पुर्याईसकेको छ । यस अघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी मेसिनको प्रयोग गरि जाँच्दै आएको थियो । सोही प्रबिधी उपयोग गरेर आयोगको परिक्षामा सहभागीहरुको पनि कापी जाँच्न लागिएको हो । वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका परीक्षणका लागि अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको उपयोग गरिनेछ । ‘यस अघि यही प्रविधि लोकसेवा आयोगले प्रयोग गर्दै आएको छ, हामी पनि त्यही प्रविधि ल्याउने सोचमा पुगेका हौं ।’, आयोगका अध्यक्ष ताना गौतमले । शिक्षा मन्त्रालयमा खाली बसेको प्रविधि जडान र त्यसका लागि आवश्यक पेपर तथा केही लजिष्टक खर्च बाहेक ठूलो भार नपर्ने पनि बताए । मन्त्रालयलाई उक्त मेसिन उपलब्ध गराएकै कम्पनीका प्रतिनिधिसँग जडान गर्दा लाग्ने लागत र आवश्यक अन्य पक्षहरुका बारेमा आयोगले केही चरणको छलफल गरेको गौतमले बताए । मेसिनबाट परीक्षण हुने उत्तर पुस्तिकाको हकमा कलमको प्रयोग गर्नु हुँदैन । यसको प्रयोगका बारेमा परिक्षार्थीहरुलाई छुट्टै जानकारी दिने गरी आयोगले योजना बनाउने पनि गौतमले बताए ।
१५ प्रतिशत बोनसपछि एनएमबी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार एनएमबी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १५ प्रतिशत बोनस पश्चात बैंकको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३१७.३९ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ३९१.७ रुपैयाँ रहेको थियो ।
संचय कोष, नागरिक लगानी कोष र सुरक्षण कोषलाई नियमन गर्ने, नियामक निकाय बनाउने तयारीमा सरकार
काठमाडौं । सरकारले आफनो नियन्त्रणमा रहेको ३ वटा ठुला कोषहरुको नियमन गर्न छुट्ट निकाय गठन गर्ने भएको छ । सरकारले कर्मचारी संचय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई नियमन गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा संचय कोष, नागरिक लगानी र सुरक्षण कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नियमनकारी निकायको गठन गरिने उल्लेख गरिएको छ । संचय कोष र नागरिक लगानी कोष दुबै कर्मचारी अवकास कोष हुन् । सुरक्षण कोषले कर्जा तथा निक्षेपको सुरुक्षणको काम गर्दै आएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको कार्ययोजना तयार पारी कोषहरुको नियमन गर्नका लागि योजना अघि सारेको छ । बजेटमा कार्यक्रम आएपनि हालसम्म यसका लागि काम सुरु भएको छैन् । कार्ययोजना भरखरै आएकाले यस विषयमा काम अघि बढाउने तयारी मन्त्रालयको छ । नियमन गर्ने निकाय भएपछि सानोतिनो काम र समस्या लिएर मन्त्रालय आउनु नपर्ने र सबै काम नियामक निकायबाट गराउन सरकारले कोष नियमनको व्यवस्था गरेको हो । ३ वटै कोषले खर्बौ रुपैयाँ पुँजी परिचालन गर्दै आएका छन् । संचय कोष, नागरिक लगानी र सुरक्षण कोष छुट्टै ऐनबाट सञ्चालन हुदै आएका छन् ।
रघुबिर महासेठको अनुमति कुर्दै इटहरी–बिराटनगर मोनोरेल
काठमाडौं । निजी क्षेत्रको पहलमा इटहरी देखि बिराटनगरसम्म निर्माण गर्ने भनिएको मोनोरेल सम्बन्धी फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर अड्किएको छ । प्रारम्भिक अध्ययनका लागि प्रदेश सरकारले जेठ २१ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लेखि पठाएको थियो । तर मन्त्री रघुबिर महासेठले अझै ठोस प्रतिक्रिया जनाएका छैनन् । ‘प्रदेश सरकार मार्फत जेठ २१ गते प्रारम्भिक सर्भको लागि अनुमति मागेको थियो तर अझै कुनै प्रतिक्रिया आएको छैन्’, बिराट मोनोरेल इन्टरनेशनलका अध्यक्ष परमानन्द मेहताले विकासन्युजसँग भने । मेहताले प्रारम्भिक सर्भेका लागि अनुमति पाए लगत्तै काम थाल्ने तयारी भैसकेको पनि स्पष्ट पारे । ‘हामी अध्ययनका लागि तयारी अवस्थामा छौं, केन्द्र वा प्रदेश सरकारले कस्ले अनुमति दिने हो, चाँडो दिनु पर्यो भन्ने हाम्रो माग हो’, अध्यक्ष मेहताले भने । प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले केन्द्र सरकारको अनुमति आउन ढिला भएमा प्रदेश सरकारले नै अध्ययनको अनुमति दिने प्रतिवद्धता व्यक्त गरेको पनि मेहताले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालय पुगेको फाइलबारे बुझ्न मन्त्री महासेठसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । इटरहीदेखि बिराटनगर जोड्ने ३५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि गठन भएको कम्पनीमा ६ जना लगानी कर्ता छन् । उनीहरुले मोनोरेल निर्माणबारे संघिय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालसँग पनि छलफल गरिसकेका छन् । प्रधानमन्त्री केपी ओलीसँग पनि भेटेर कुरा गर्ने प्रयास भैरहेको मेहताले बताए । २० अर्ब लगात पुर्वानुमान गरिएको मोनोेरेलका लागि केहि विदेशी लगानीकर्ताहरुले समेत चासो देखाईरहेका उनले बताए । उनीहरुले इटहरीदेखि बिराटनगरसम्मका सबै स्थानीय तहसँग अध्ययनका लागि अनुमति लिईसकेका छन् । काम सुरु गरेको ३ बर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मोनोरेल डबल ट्रयाकको हुनेछ । त्यसमा ४ वटा डब्बा गुडाउन सकिनेछ भने मोनोरेल प्रतिघण्टा ५० देखि ७० किलोमिटरको स्पीडमा दौडन सक्नेछ ।