सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २३औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष रामकरण महतोले एक समारोहकाबीच गरेका छन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ ।
प्रभु बैंकको म्याग्दीमा थप २ शाखा कार्यालय
काठमाडौं । प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले म्याग्दीको अन्नपूर्ण र मंगला गाउँपालिकामा नयाँ शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । सो मध्ये अन्नपूर्ण शाखाको उद्घाटन सोही गाउँपालिकाका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले गरेका छन् । त्यसैगरी, मंगला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गरेका हुन् । यी दुई शाखाबाट म्याग्दी जिल्लाका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।
राइटपाथ करियर काउन्सेलिङले पायो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र
काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले इन्टरनेशनल अर्गनाईजेशन फर स्ट्याण्र्डडाइजेशन(आइएसओ) २००९ः२०१५ प्रमाणपत्र पाएको छ । काउन्सेलिङको कार्य, सेवाको गुणस्तरीयता मापन गरेर वस्तु तथा सेवाको गुणस्तरीय मापन गर्ने निकाय टीएनभी सर्भिफिकेटसन यूकेले उक्त प्रमाणपत्र प्रदान गरेको हो । यसका साथै काउन्सेलिङ स्थापनाको छोटो समयमै उच्चस्तरीय सेवा प्रदान गर्ने आइएसओ सर्टिफाइड भएको छ । राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ । दुई वर्षमै आइएसओ मान्यता प्राप्त गर्न सफल भएकोमा खुसी हुँदै राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले आइएसओ प्रमाणपत्र पाउन मुख्य रुपमा अभिभावक, विद्यार्थी र कर्मचारी जिम्मेवार रहेको बताएका छन् । यस काउन्सेलिङलाई अब्रोड स्टडी एण्ड टेष्ट प्रिपेरेसनका लागि आइएसो दिइएको छ । काठमाडौंको पुतलीसडकमा रहेको राइटपाथले आगामी दिनमा चितवनको भरतपुर र दाङको तुल्सीपुरमा नयाँ शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।
एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी
म्याग्दी । बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ । सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो बोलीबाट प्रभावित भएर दिएको पैसा फिर्ता नपाएपछि पीडितहरु उजुरी र गुनासो गर्न आउन थालेका बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताए । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख बरुवालले ठगीसम्बन्धी एउटा उजुरी परेको र झण्डै दुई दर्जन पीडित सम्पर्कमा आएको बताए । पीडितहरुले दिएको सूचनाका आधारमा करीब तीन करोड रुपैयाँ डुबेको प्रारम्भिक अनुमान गरिएको छ । “चार–पाँच वर्ष अघिदेखि नै अवैध धन्दा चलेको भन्ने सुनिएको थियो तर, अहिले पीडा लुकाएर बसेकाहरु सम्पर्कमा आउन थालेका छन्,” उपप्रमुख बरुवालले भने । मासिक चर्को ब्याज तिर्नुपर्ने मिटर ब्याजमा गरिएको लगानी उठ्न नसकेपछि लगानीकर्ता संकटमा परेका छन् भने कतिपय सञ्चालक घर छोडेर सम्र्पकविहीन भएका छन् । मिटर ब्याजको धन्दाले आफन्त, साथीभाइ र परिवारमा विलाप निम्याएको छ । म्याग्दीकी महिला अगुवा विमला गौचनले भने- “भएको घरजग्गा सखाप मात्रै भएको छैन, कतिको त परिवार नै विखण्डनको संघारमा पुगेको छ ।” आपसी समझदारीमा बजारमा चलेको भन्दा बढी ब्याज दिने बहानामा कागज पनि नबनाएका र बैंक/ सहकारीमार्फत नभई नगद नै बुझाएकाहरु अप्ठ्यारोमा परेका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रीम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गरेको पाइएको छ । बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा परेर धेरैजसो महिलाले रकम डुबाउन पुगेका छन् । कानून व्यवसायी ठहरबहादुर भण्डारीका अनुसार उनीहरुसँग पैसा प्रशस्त हुने गर्छ तर, आर्थिक कारोबारसम्बन्धी ज्ञान शून्य छ । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर आएको रकम र बैंकमा घरजग्गा धितो राखेर निकालिएको रकम मिटर ब्याजमा लगाउने गरिएको पाइएको छ । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुष भन्दा महिला नै बढी छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी र घरजग्गाको कारोबार गर्नेहरुले मिटर ब्याजमा ऋण लिने गरेका भेटिएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर लेनदेन मुद्दाको रुपमा प्रहरी र अदालत पुग्ने गरेका छन् । सहमतिमा ऋण लिने÷दिने गरेर समयमै फिर्ता नपाएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने क्रम बढेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । गैरबैंकिङ क्षेत्रबाट हुने यस्ता आर्थिक कारोबारले सामाजिक र आर्थिक विकृति निम्त्याएको उनको निष्कर्ष छ । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । यस्ता विवादमा न्यायिक समिति, सामुदायिक प्रहरी, प्रहरी र स्थानीय प्रशासनमा सहमतिको प्रयास भएपनि कुरा नमिलेपछि उनीहरुले त्यस्ता मुद्दामा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् । गत हप्ता जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ठगी धन्दा गिरोहमा संलग्न एक महिलाले प्रजिअकै कार्यकक्षमा अश्लील र अपशब्द प्रयोग गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको छ । समाजमा प्रतिष्ठित भनी गनिएका व्यक्तिलाई विश्वास गरेर पैसा सहयोग गरेपनि समयमै फिर्ता नगर्ने, थर्काउने, धम्काउने, तनाव र दुःख दिने गरेको पीडित सुनबहादुर विश्वकर्माले बताए । जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०७३/७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेका थिए । त्यसमध्ये २८ वटाको फैसला भयो । आव २०७४/७५ मा लेनदेनसम्बन्धी ४६ वटा मुद्दा परेकामा ३६ वटाको फैसला भयो । बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्ने प्रवृत्ति बढ्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनमा असर पर्ने गरेको छ । यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेहरुले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारमा असर गर्छ । मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमानश्रीमतिबीच विवाद उत्पन्न भई सम्बन्ध विच्छेदसम्मको रुप लिएको उदाहरणहरु रहेको कानून व्यवसायी भण्डारीले बताए । परिवारमा एकजनाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिन व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् । बढ्दो आर्थिक विसंगति र विचलनको समस्या न्यून गर्न समुदायमा आर्थिक कारोबारसम्बन्धी कानूनी सचेतना जरुरी छ । यस अतिरिक्त बैंक तथा वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्ने, बैंकबाट प्रदत्त सेवा सुविधाबारे जानकारी दिनुपर्ने र बैंकमार्फत कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने कानून व्यवसायी भण्डारीको सुझाव छ । रासस
भारतमा घर र कारकाे ब्याजदर बढ्यो
एजेन्सी । भारतमा आवास कर्जा (होमलोन) र सवारी कर्जा (कार लोन) को ब्याजदर बढेको छ । भारतीय रिजर्व बैंकले ब्याजदर बढाएपछि होम र कार लोनमा बढने भएको हो । ऋण लिनेले मासिक किस्ता (ईएमआई) बढी बुझाउनु पर्नेछ । यसले कार र आवासको मूल्य बढाउने छ । केन्द्रीय बैंकले रिपो दर ०.२५ विन्दुले बढेपछि कर्जाको ब्याजदर बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । रिजर्व बैंकले मौद्रिक नीतिको बुधबार समीक्षा गर्दै रिपोदर बढाएर ६.५० पतिशत पुर्याएको छ । यसअघि ब्याजदर ६.२५ प्रतिशत थियो । केन्द्रीय बैंकले ब्याजदर बढाएपछि फाइनान्सियल एक्सप्रेसले ऋण लिनेका लागि नराम्रो समाचार भनेर टिप्पणी गरेको छ ।
चितवन मिल्क पुनः सञ्चालनको तयारी, दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने
चितवन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन् । उनीहरुले दूध प्रशोधन गरेबापत उद्योगलाई भाडा तिर्ने गरेका छन् । तर उद्योग नियमित सञ्चालन भने हुन सकेको छैन । उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने बताए । संघसँग सम्झौताअनुरुप आउने दूधको धुलो उत्पादनसँगै उद्योगले आफ्ना अन्य उत्पादन गर्नेछ । धुलो दुधबाट नियमित उत्पादन शुरु गर्न लागिएको हो । क्रमशः अन्य उत्पादन बढाउँदै लगिने भएको छ । सरकारले हाल धुलो दूध आयातमा प्रतिबन्ध लगाएको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थ उपयोग गर्न नेपाल डेरी उद्योग संघ सकारात्मक भएको छ । कम गुणस्तरको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको बेला भूकम्पले उपकरण र भवनमा क्षति पुर्याएपछि उद्योग बन्द भएको थियो । उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगमा तीन प्रकारको धुलो दूध उत्पादन गर्न सकिने बताए। दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने क्षमता उद्योगसँग छ । घ्यू, दही, पनिर र पोका दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ । विसं २०६६ मा आठ बिगाहा क्षेत्रफलमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा भरतपुर महानगरपालिका-१ ठिमुरामा उद्योग स्थापना गरिएको थियो । शुरुका वर्ष दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो । धुलो दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग भूकम्पछि पूर्णरुपमा बन्द भयो । पराजुलीका अनुसार भारतमा बिक्री नभएको गुणस्तरहीन धुलो दूधसमेत नेपाल भित्रिदा यहाँका उच्च गुणस्तरको दूधले बजार पाउन सकेको थिएन । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीसँग बचेको दूध उद्योगलाई भाडा तिरेर धुलो र नौनी उत्पादन गर्दै आएको बताए । डेरी उद्योगले बचेको दूधको धुलो उत्पादन थालेपछि दूध बढी भएको समयमा किसानलाई आलोपालो प्रथा (मिल्क होलिडे) गर्न नपरेको संघले जनाएको छ । भारतीय धुलो दूध आयात रोकेर नेपालको चितवन मिल्क, दुग्ध विकास संस्थानको विराटनगरमा रहेको उद्योग र सुजल डेरीको पोखरामा रहेको उद्योग नियमित सञ्चालन गर्न सकेमा नेपाल दूधमा आत्मनिर्भर हुने राजभण्डारीको दाबी छ । जसका लागि नेपाली कृषकलाई सरकारले अनुदान दिनुपर्ने कृषक बताउँछन् । रासस
भारतमा मारुती सुजुकी कारको भाउ बढ्दै, नेपालमा कति पुग्ला ?
एजेन्सी । मारुती सुजुकीले कारको मूल्य बढाउने भएको छ । यो महिनाबाट सबै मोडलका कार तथा जिपको भाउ बढ्ने मारुती सुजुकीले बताएको हो । डलरमा उतारचढाव, पेट्रोलियमको भाउलगायत अन्य लागत बढेपछि गाडीको मूल्य बढाएको मारुती सुजुकीले जनाएको छ । कम्पनीले कारको मूल्य बढाउन तयारी गरिरहेको जानकारी दिएको छ । “अहिले लागत वृद्धिको प्रभावका बारेमा अध्ययन गरिरहेका छौ” सुजुकी मारुती इण्डियाका कार्यकारी निर्देशक आरएस कल्सीले पीटआईलाई भने । कति बढाउने भन्ने प्रश्नमा उनले भने “यस विषयमा काम शुरु भएको छ । मोडलअनुसार गाडीको भाउ बढने छ । वित्तीय समूहले अहिले अध्ययन गरिरहेको छ ।” हाल भारतमा मारुती अल्टो ८०० सीसी कारको मूल्य २ लाख ५१ हजार, मिडसाइज सेडान सियाजको मूल्य ११ लाख ५१ हजार रुपैयाँ रहेको छ । डलर मजवुत र इन्धनको बढ्दो मूल्यले उत्पादन लागत बढाएको उनले स्पष्ट पारे । लागत वृद्धिलाई कम्पनीले लामो समय थेग्न नसक्ने भएकाले गाडीको मूल्य बढाउन लागेको उनले बताए । यस्तै महेन्द्रा र टाटा मोटरलगायत अन्य कम्पनीले पनि अगष्टमा मोटरको भाउ बढाउने टाइम्स अफ इण्डियाले जनाएको छ ।