विकासन्युज

औद्योगिक विवरण अनलाइनबाट मात्रै पेश गर्नुपर्ने, समय घर्किए ५० हजार जरिवाना

काठमाडौँ । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह समेत गरिसकेको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने, “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता वस्तुको उत्पादन तथा सेवा उपलब्ध भइरहेका छन् भन्नेलगायतका अद्यावधिक तथ्यांक विभागलाई उपलब्ध हुने हुँदा आगामी दिनमा रणनीति बनाउन सहज हुनेछ । ” तोकिएको समयमा विवरण पेश नगर्ने लघु उद्योगीलाई प्रतिवर्ष पाँच हजार, घरेलु उद्योगलाई १० हजार, साना उद्योगलाई २० हजार, मझौला उद्योगलाई ४० हजार र ठूला उद्योगलाई ५० हजार जरिवाना गरिने विभागले जनाएको छ ।

नयाँ लेखा प्रणालीमा ग्लोबल बैंकको वित्तिय विवरणः नाफा २ अर्ब १५ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो । बैंकले एक खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९३ अर्ब कर्जा लगानी गरेको छ । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ छ । बैंकको खराब कर्जा १.६० बाट घटेर ०.६९ प्रतिशतमा आईपुगेको छ । बैंकले ११ अर्ब ५६ करोड ब्याज आम्दानी गरेर ७ अर्ब ६६ करोड ब्याज खर्च गरेको छ ।

आँखुखोला जलविद्युतको आईपीओ आज देखि, ४००० कित्तासम्म भर्न पाइने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ ।कम्पनीले सिभिल क्यापिटलका अतिरित्त धादिङ जिल्लामा रहेका प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र सिभिल बैंकको शाखामा आवेदन बुझाउने व्यवस्था गरेको छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ । लगातको हिसावले यो सर्वा्धिक मंहगो आयोजना भएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।

पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री पुन

दोलखा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य तामाकोशी आयोजनाले गरेको बताएका छन् । जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत सेयर वितरणको आज चरिकोटमा शुभारम्भ गर्दै उनले देशकै उदाहरणीय तामाकोशी आयोजनाले अन्य जलविद्युत् आयोजना निर्माणका लागि हौसला प्रदान गरेको बताए । एक लाख मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनसक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा ३ हजार मेगावाटका आयोजना सञ्चालन गर्ने योजना सरकारको छ भन्दै उनले सरकारले विभिन्न १६ वटा जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको र त्यसका लागि करिब ६ खर्ब ंरुपैया लगानीको अनुमान गरेको जानकारी दिए। मन्त्री पुनले तामाकोशी आयोजनालाई यही आर्थिक वर्षभित्रै सकाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय जनताको नागरिकता खरिद गरी सेयर हत्याउने गिरोह पनि सक्रिय रहेकाले यसप्रति सचेत हुनुपर्नेमा जोड दिदैं ५० कित्ता सेयर पर्ने गरी खरिद गर्न स्थानीयलाई आग्रह गरे। आयोजनाका लागि जिल्लाका बासिन्दाले पाउने गरी १ करोड पाँच लाख ९० हजार कित्ता शेयरका लागि आजदेखि आवेदन खुला गरेको छ । उक्त शेयरका लागि भदौ १४ गतेसम्म दोलखा जिल्लामा विभिन्न बैंकहरुको १९ वटा संकलन केन्द्र र काठमाडौँमा बस्ने दोलखावासीका लागि सनराइज बैंकको ११ वटा संकलन केन्द्र निर्धारण गरेको छ । ‘शेयरमा सम्पूर्ण दोलखावासीको पहुँच पुगोस्’ भन्ने उद्देश्यका साथ आयोजनाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई सेयरबारे प्रशिक्षणसमेत दिएको छ । कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् । जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट शेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने पनि जनाएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाइ हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाका बासिन्दालाई शेयर आवेदन भर्न ‘डिम्याट’ खाता अनिवार्य गरिएको छैन । तीन वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नुपर्नेछ । वैदेशिक रोजगारीमा गएका दोलखावासीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरी हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्थासमेत गरिएको छ । आयोजनाले अति प्रभावित, कम प्रभावित र प्रभावितको सूची पनि तयार गरेको छ । अति प्रभावितमा ९साविक लामाबगर र गौरीशंकर स्थानीयले हरियो रंगको आवेदन फारम भर्नुपर्नेछ । सडक र प्रसारणलाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले नीलो रंगको आवेदन फारम भर्नुपर्नेछ । कम प्रभावितका लागि कालो रंगको आवेदन फारम तयार गरिएको कम्पनीले जनाएको छ । शेयर निष्काशन तथा बाँडफाँट गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको पनि कम्पनीले जनाएको छ । रासस

कंगारु एजुकेशन फेयरमा विभिन्न देशका २६ वटा कलेजको सहभागी

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले वैदेशिक अध्ययन गर्न चाहने विधार्थीहरुलाई लक्षित गरी आयोजना गरेको कंगारु एजुकेशन फेयर बुधवार काठमाडौंमा सम्पन्न भएको छ । मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र यूरोपका गरी २६ वटा प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहको थियो । मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु ऐजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए । नेपाली विद्यार्थीहरुको बैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा शिप मुलक प्रोग्रामका बारेमा जानकारी प्रदान गरिएको थियो । बिहान १० बजे देखि साझ ५ बजेसम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि १००० भन्दा बढीले मेला अवलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुस्मिता पराजुलीले बताइन् । मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी अभिभावकहरुले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएकोे बताइएको छ । अंग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर मेला अवलोकनमा गएका विद्यार्थी र अभिभावकहरु लाभन्वित भएका थिए । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

भद्रपुर । राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले भीड व्यवस्थापन गर्न बिहीबार(आज)देखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो । बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताए । यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताए । रासस

इचंगुनारायण जग्गा एकिकरण आयोजनाका ११ बर्षः २ करोड २४ लाख भत्ता, २९ लाख विबिध खर्च

काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायण(रानीवन) जग्गा एकिकरण आयोजनामा जनताको जग्गा बेचेर कर्मचारीले रजाई गरेका छन् । तीन बर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु भएको जग्गा एकिकरण आयोजनाले ११ बर्षमा ४६ करोड ८२ लाख रुपैंया खर्च गरिसकेको छ । आयोजनाले आम्दानी बराबर नै खर्च गरेको देखिन्छ । इचंगुनारायण जग्गा एकिकरण आयोजना क्षेत्रमा निर्माण भएको सडक र घरहरु आयोजनाको कुल आम्दानी ४७ करोड ६ लाख रुपैंयाँ रहेको छ । तीन बर्षमा सम्पन्न गर्नुपर्ने आयोजना अझै केहि बर्ष हस्तान्तरण हुने सम्भावना नरहेको जग्गा एकिकरण आयोजना उपभोक्ता समितिका उपाध्यक्ष उदयराज सिंखडाले बताए । आयोजनामा १२ सय घरधुरी छन्, त्यसमध्ये ४५० वटा घर निर्माण भैसकेका छन् । ८० प्रतिशत नागरिकको जमिन फिर्ता भैसकेको छ । आयोजना उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले आयोजना लम्ब्याएर कर्मचारीहरुले जनताको जग्गा बेचेको पैसामा रजाई गरेको आरोप लगाए । ७ सय रोपनी जमिन एकिकरण गरिएकोमा ३२ रोपनी जमिनको सेल्स प्लट निर्माण गरिएको थियो । सोमध्ये अब ६ रोपनी मात्रै बेच्न बाँकी रहेको छ । आयोजनाको प्रमुखका रुपमा काठमाडौं उपत्यका विकास प्राधिकरणले केशब न्यौपानेलाई खटाएको छ । यस्तो छ खर्चको नालीबेली आयोजनाले २०७५ बैशाख मसान्त अवधीमा ७ करोड ९१ लख रुपैंयाँ प्रशासनिक खर्च गरेको देखिन्छ । २ करोड २४ लाख रुपैंयाँ भत्ता वितरण गरेको छ भने ९ लाख २२ हजारको पोशाक लगाएका छन् । २२ लाख ४२ हजार रुपैंयाँ घर भाडा तिरिएको देखिन्छ भने ३९ लाख ८३ हजार रुपैंयाँ कार्यालय खर्चका नाममा मासिएको छ । ४६ लाख ३३ हजार रुपैंयाँ परामर्श दाताका नाममा खर्च गरेको आयोजनाले २९ लाख रुपैंयाँ ६ हजार चाँही बिबिध शिर्षकमा खर्च गरेको छ । २४ लाख ९९ हजार रुपैंयाँ सवारी साधनमा खर्च गरिएको छ ।

ब्लु क्रस अस्पतालमा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु र बैंकका खातावालाहरुले क्रस अस्पतालको विभिन्न मेडिकल स्क्रीनिङ्गमा सो मात्राको छुट पाउने भएका हुन् । सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य रजित श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।