काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले एक कार्यक्रमबीच गरेका हुन् ।

प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । वेष्ट फाइनान्स कम्पनीको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ हुनेछ । जुन रकम हाल सिनर्जी फाइनान्सले जारी गरिरहेको १ः०.२५ प्रतिशतको हकप्रद सेयर गणना गरे पछिको रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत कारोबार पश्चात संस्थाको निक्षेप २ अर्ब २४ करोड रुपैयाँ तथा कर्जा लगानी एक अर्ब ९९ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै, संस्थाको कुल सम्पत्ती ३ अर्ब ६० करोड रुपैयाँ हुनेछ । त्यसैगरी, शाखा संख्या १४ र एटीएम संख्या ३ पुग्ने संस्थाले बताएको छ ।
उक्त अवसरमा गभर्नर डा. नेपालले भने, ‘१६ वटा वित्तीय संस्थाहरु समस्याग्रस्त थिए । जसमध्ये वेष्ट फाइनान्सले हाल निकै राम्रो काम गरेको छ ।’ साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि बलिया भएका उनले बताएका छन् ।
प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा पदमराज न्यौपाने नियुक्त भएका छन् । त्यसैगरी, संचालकमा मिलन थापा, कृष्णहरी श्रेष्ठ र सुरज क्षेत्री नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा बेबीजन तिमल्सिना र महेशप्रसाद अधिकारी तथा स्वतन्त्र संचालकमा बिमल ढकाल नियुक्त भएका छन् ।