
काठमाडौं । सरकारले आफनो नियन्त्रणमा रहेको ३ वटा ठुला कोषहरुको नियमन गर्न छुट्ट निकाय गठन गर्ने भएको छ । सरकारले कर्मचारी संचय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई नियमन गर्न लागेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा संचय कोष, नागरिक लगानी र सुरक्षण कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नियमनकारी निकायको गठन गरिने उल्लेख गरिएको छ ।
संचय कोष र नागरिक लगानी कोष दुबै कर्मचारी अवकास कोष हुन् । सुरक्षण कोषले कर्जा तथा निक्षेपको सुरुक्षणको काम गर्दै आएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको कार्ययोजना तयार पारी कोषहरुको नियमन गर्नका लागि योजना अघि सारेको छ । बजेटमा कार्यक्रम आएपनि हालसम्म यसका लागि काम सुरु भएको छैन् ।
कार्ययोजना भरखरै आएकाले यस विषयमा काम अघि बढाउने तयारी मन्त्रालयको छ । नियमन गर्ने निकाय भएपछि सानोतिनो काम र समस्या लिएर मन्त्रालय आउनु नपर्ने र सबै काम नियामक निकायबाट गराउन सरकारले कोष नियमनको व्यवस्था गरेको हो । ३ वटै कोषले खर्बौ रुपैयाँ पुँजी परिचालन गर्दै आएका छन् । संचय कोष, नागरिक लगानी र सुरक्षण कोष छुट्टै ऐनबाट सञ्चालन हुदै आएका छन् ।