टेलिकमले ल्यायो प्रमोसनल अफर, एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवाको आरम्भको अवसरमा ३ महिनाको लागि प्रमोसनल अफर ल्याएको छ । उक्त अफरको रुपमा कम्पनीले यही साउन १० गतेदेखि कात्तिकसम्म कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरेको छ । टेलिकमले वितरण गरिरहेको एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । आईपी बेस प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा(हाई स्पीड इन्टरनेट) का साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ । टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै, कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले(भ्वाइस, हाई स्पीड इन्टरनेट, भिडीयो) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुन्छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको छ ।
बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता
काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय संगठनको यसै आगामी भदौको दोस्रो साता राजधानीमा हुन लागेको चौथो शिखर सम्मेलनको सिलसिलामा आज काठमाडौँमा भएको परामर्श बैठकमा अध्यक्षको हैसियतमा नेपालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । नेपालका विद्वत् वर्गको साझा संस्था इन्स्टिच्युट फर स्ट्राटिजिक सोसियो इकनमिक रिसर्च (आइएससआर) त्यस्तै प्रकृतिको भारतीय प्रतिष्ठान रिसर्चएण्ड इन्फर्मेशन (आरआईएस) र पेभिलियन ग्रुपले संयुक्तरुपमा गरेको ‘प्रि बिम्स्टेक समिट कन्सल्टेटिभ मिटिङ’को उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबै सदस्य मुलुक एकजुट भई सुमधुर भविष्यका निम्ति अग्रसर हुनुपर्ने बताए । उनले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय सहयोगको विकल्प नरहेको उल्लेख गर्दै बिम्स्टेक देशका जनताको जीवनस्तर उकास्ने उनीहरुको सुरक्षा तथा मर्यादित जीवनयापनमा सघाउँदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग प्रवद्र्धन बिम्स्टेको अर्को महत्वपूर्ण विशेषता भएको बताए । द्रुत आर्थिक विकास तथा सामाजिक प्रगतिको उद्देश्यले स्थापना भएको बिम्स्टेकले क्षेत्रीय शान्ति, प्रगति र जनकल्याणमा आशा र विश्वास बढाएको भन्दै उनले २१ औँ वर्षमा प्रवेश गरेको बिम्स्टेक दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियालाई जोड्ने सेतुका रुपमा स्थापित भएको बताए। बिम्स्टेक मुलुकका दूरदृष्टियुक्त नेतृत्वले आफ्ना मुलुकको बासिन्दाका विकासका साझा चाहना पूरा गर्न चाहेका व्यापार, लगानी, पर्यटन, गरिबी निवारण, ऊर्जा, यातायात तथा सञ्चार, जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्दै आएका मन्त्री ज्ञवालीले बताए । नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्ते शाम्सले क्षेत्रीय सहयोगलाई अझ विस्तृत एवं एकीकृत तुल्याउन नयाँ प्रयास अपरिहार्य छन् भने। नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले क्षेत्रीय सहयोगको भावनालाई अझ सुदृढ बनाउन र पारस्पारिक लाभका क्षेत्रका परियोजनामा सहकार्य गर्न बिम्स्टेक स्थापना भएको चर्चा गर्दै आफ्नो देशको सरकारले अङ्गीकार गरेको ‘छिमेक पहिले’ कूटनीतिको विशेषता भएको बताए। नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेराले व्यापार लगानीलाई बिम्स्टेक मुलुकमा भित्र्याउने आर्थिक विकासका माध्यमबाट सदस्य देशका जनताको समृद्धि सुनिश्चित गर्नु बिम्स्टेको मुख्य लक्ष्य हो भने । आइएससआरका कार्यवाहक अध्यक्ष प्राध्यापक गोविन्द नेपालको सभापतित्वमा भएको उद्घाटनसत्रमा श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकुयाल लगायतले क्षेत्रीय सहयोगका लागि बिम्स्टेकको औचित्य र आवश्यकताबारे चर्चा गरेका थिए। सोही समारोहमा आइएससआर र आरआईएसबीच साझेदारी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस
वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त
काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १७ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । अधिकारीका अनुसार उनले सन् २००१ देखि ११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेका थिए । त्यसपछि उनी कास्की फाइनान्समा ७ वर्ष सीईओ भएका थिए । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर काम गरेका थिए । ‘वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा, मर्ज भएको संस्थामा काम गरेको अनुभव छ । विभिन्न समस्याबाट माथि उठ्दै गरेको र मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमता प्रयोग गर्छु’ अधिकारीले विकासन्युजसँग भने ।
सात वर्ष अघिदेखिको पहलमा बल्ल ल्यान्डलाइन टेलिफोन जडान
काठमाडौं। छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ । अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताउनुभयो । वर्षांदेखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा खुलेका सरकारी तथा गैसरकारी कार्यालयलाई समेत सहज भएको छ। मोवाइलको सेवा भरपर्दो नहुने र ल्याण्डलाइन फोन समेत नभएका कारण कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई उक्त फोन सेवाले सहज बनाएकोे स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । फोनसँगै एडिएसएलको इन्टरनेट सेवा समेत पाइने भएपछि बजारवासी हर्षित छन् । रासस
पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने
काठमाडौं। पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्य सहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ। उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उनले बताए। गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए। उद्यान निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक उद्यान कतै पनि निर्माण नभएकाले उद्यान निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए। गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा उक्त उद्यानका लागि रु ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा रु ४० लाख मात्रै खर्च गरेको थियो। गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माणलगायत योजनाका लागि रु ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिए।रासस
संस्थापकले समेत नेपाल बैंकको एफपीओलाई पत्याएनन्, अब ८ वटा अण्डरराइटरले २३२ करोड सकार्ने
काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) लाई संस्थापकले पनि पत्याएनन् । गत मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई एफपीओ खरिदका लागि खुला गरिएकोमा आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । सोमबारसम्म २३ हजार ६२२ आवेदकबाट २ अर्ब ६२ करोड ३६ लाख ७० हजार रुपैयाँ बराबरको एफपीओ मात्र बिक्री भएको सिद्धार्थका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए । उनले एफपीओ बाँडफाँडपछि बाँकी ८ अण्डरराइटरले सकार्ने जानकारी दिए । “आस्वा प्रणालीमार्फत परेको भए आजसम्म विवरण बुझाउन भनेका छौं” उनले भने “अहिलेसम्म संस्थापकले एफपीओ खरिद गरेको देखिएन् ।” अझै २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबरको एफपीओ बिक्री हुन बाँकी छ । सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गरेन । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ। बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड , एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।
कम्पनी ऐन संशोधनपछि ७२ कम्पनी खारेजीमा, (सुचिसहित)
काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । खारेज कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुस खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने राजिष्टार कार्यालयका आशिष श्रेष्ठले बताए । स्थानीय तहदेखी नै चरणबद्ध भएर मन्त्रालयसम्म आइपुग्नु पर्ने भएकाले पनि तत्काल ७२ कम्पनी मात्र खारेजीमा गएका हुन् । अहिलेसम्म ७२ वटा मात्रै खारेजीको पत्र मात्र आएको उनले बताए । कम्पनी खोल्न भन्दा पनि बन्द गर्न समस्या हुदै आएको थियो । कम्पनी ऐन संशोधन भएपछि चुक्तापुँजी ०.५ प्रतिशत शुल्क बुझाएपछि खारेजीमा जान सक्ने व्यवस्था गरिएको छ । अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठाले स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।
सेयर मूल्य बढेपछि एप्पल इंक बन्यो सर्वाधिक महंगो कम्पनी, बजार मूल्य १० खर्ब डलर
एजेन्सी । आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ । विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ । एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो । एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । ४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको फाइनान्सियल एक्प्रेसले जनाएको छ । पेट्रो चाइनाले सन् २००७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेपछि उसको बजार पुँजीकरण १० खर्ब १ अर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एप्पलको १ अर्ब डलरबाट १० खर्ब डलरको यात्रा सन् १९८० मा एप्पलको बजार पुँजीकरण १ अर्ब डलर थियो । सोही वर्षको डिसेम्बरमा एप्पलको सेयर नासाडकमा कारोबारका लागि सुचिकृत भएको थियो । सन् २००७ मा एप्पलको बजार पुँजीकरण १ खर्ब डलर पुगेको थियो । ११ वर्षको अवधिमा एप्पलको सम्पत्ति ९ खर्ब डलर बढेको छ । र, अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी एप्पल भएको छ ।