विकासन्युज

नेपाल बङ्गलादेश बैंक र आईएमई लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

रत्नपार्क–महाराजगञ्ज भूमिगत विद्युत वितरण योजनामा अनियमितता, २५ प्रतिशत महंगोलाई ठेक्का दिने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनुमानित लागत भन्दा झण्डै २५ प्रतिशत बढी महंगो दर प्रस्ताव गर्ने कम्पनीलाई विद्युतीय वितरण प्रणालीलाई भूमिगत तथा अटोमेसन (अण्डरग्राउन्ड) गर्ने कामका ठेक्का दिन लागेको छ । अनुमानित लागत भन्दा २५ प्रतिशत बढी प्रस्ताव गर्ने भारतको लार्सन एन्ड टर्बो कम्पनी लिमिटेडलाई महाराजगञ्ज र केईआई इन्डष्ट्रिज लिमिटेडलाई रत्नपार्कको विद्युतीय प्रणालीलाई भूमितगत गर्न ठेक्का दिने तयारी भएको हो । अनुमानित लागत भन्दा धेरै बढी रकम प्रस्ताव परेपछि ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले दुबैसंग वार्ता गरी घटाघट गराउने प्रयास गरेको थियो । तर लार्सन र केईआईले महाराजगञ्ज र रत्नपार्ककको प्याकेजको काम बाँडेर लिन आन्तरिक सहमति गरी ०.८ प्रतिशत मात्र घटाउन सकिने प्रस्ताव गरेका थिए । एडीबीले अनुमानित लागत भन्दा १५ प्रतिशतसम्म बढी प्रस्ताव गर्ने सबैभन्दा न्युनतम बोलपत्रदातालाई ठेक्का दिने गरेको छ । सबैभन्दा कम दर प्रस्तावकको अनुमानित लागत भन्दा १० प्रतिशत बढी आए मात्र वार्ताबाट ठेक्का सम्झौता गर्न सकिने व्यवस्था सार्वजनिक खरिद ऐनमा रहेको छ । खरिद ऐनअनुसार अनुमानित लागत भन्दा बढी दर प्रस्ताव भएमा पुनः बोलपत्र आब्हान गर्नुपर्ने हुन्छ । तर ढिला हुने भन्दै अनुमानित लागत भन्दा धेरै प्रस्ताव गर्ने लार्सन र केईआईलाई ठेक्का दिन प्राधिकरले तयारी गरेको छ । महाराजगञ्जमा अनुमानित लागत भन्दा बढी भएपनि लार्सन एन्ड टर्वोको सबैभन्दा कम र दोस्रो प्रतिस्पर्धीमा केईआई छ । यस्तै रत्नपार्कमा सबैभन्दा कम केईआई र दोस्रोमा चान्सु फेङफङ कम्पनी रहेका छन् । लार्सनले महाराजगञ्ज र केईआइले रत्नपार्कको ठेक्का हात पार्ने गरी सहमति गरेको स्रोतको भनाई छ । रत्नपार्कमा भुमिगत विद्युतीकरणको कामका लागि केआईईले ३ करोड १५ लाख डलर अर्थात ३ अर्ब १५ करोड र महाराजगञ्जमा लार्सन एन्ड टर्वोले ३ करोड ७५ लाख अर्थात ३ अर्ब ७५ करोड डलर प्रस्ताव गरेका छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वालले पारदर्शी प्रक्रियाबाट ठेक्का सम्झौता हुन लागेको बताए । लगानीकर्ता एडीबी, कम्पनी र प्राधिकरणबीच छलफल भइ सहमतिमा पुगेको बताए । दोस्रो पटक बोलपत्र आब्हान गर्दा यो दर भन्दा महंगो आउने संभावना भएकाले सस्तो दर प्रस्तावकलाई दिने तयारी भएको उनले सुनाए । उनले निर्णय भइनसकेको जानकारी दिए । यसअघि नवलपरासीको वर्दघाटदेखि बुटवलसम्म २२० केभी क्षमताको प्रसारणलाइन बनाउदा अनुमानित लागत भन्दा बढी आएपछि पुनः प्राधिकरणले बोलपत्र आब्हान गरेको थियो । यस्तै सडकलगायत अन्य आयोजनाको ठेक्कामा अनुमानित लागत भन्दा बढी आएपछि पुनः बोलपत्र आब्हान हुने गरेको छ । भूमिगत योजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले साढे १५ अर्ब रुपैयाँ दिने भएको छ । सरकारले पनि एडीबीको १५ अर्ब ४० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने तयारी प्राधिकरणको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गर्नुपर्ने हुन्छ ।

सनराइज बैंक र मनमोहन मेमोरियल अस्पतालबीच सम्झौता, १० प्रतिशत छुट पाउने

काठमाडौं । सनराइज बैंकले आफना ग्राहकलाई स्वास्थ्य बीमा योजना प्रदान गर्न देशभरका ८० भन्दा बढी निजी अस्पतालसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट पाउन सक्ने छन् । तोकिएका अस्पतालमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ । यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा तथा ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधा ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेञ्चुरी कमर्शियल बैंकको गण्डकी प्रदेशमा नयाँ ८ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेशका विभिन्न स्थानमा ८ वटा शाखा कार्यालयहरु एकैसाथ सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश कार्यालयको उद्घाटन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका थिए । ८ वटा शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतिनिधि, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । गत असारसम्म मसान्तसम्म बैंकले ६१ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

मिर्मिरे लघुवित्तको सेयर रजिष्टारमा नेपाल एसबीआई मर्चेन्ट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्टार सम्बन्धित सबै काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । एसबीआईले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने छ । शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि मिर्मिरे र नेपाल एसबीआईबीच सम्झौता भएको छ । नेपाल एसबिआईका प्रबन्ध संचालक रमेश घिमिरे र मिर्मिरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वाणिज्य बैंकलाई भारुमा ऋण लिन बाटो खुल्यो, हाउजिङ, घरजग्गा र रियलस्टेटमा लगानी गर्न नपाइने

  काठमाडौं । वाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु) मा भारतबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट बैंकले बुधबार निर्देशन जारी गरी प्राथमिक पुँजीको २५ प्रतिशत मात्र भारुमा ऋण लिने बाटो खुला गरेको हो । सो रकम बैंकले जलविद्युत, विद्युत प्रसारणलाइन, सडक, लघुवित्त र पर्यटन क्षेत्रमा लगानी गर्न पाउने छन् । हाउजिङ, घरजग्गा र रियलस्टेटमा भने लगानी गर्न नपाउने व्यवस्था गरेको राष्ट बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगानाले बताए । \उनका अनुसार भारुमा लिएको कर्जाको अवधि न्युनतम १ वर्षदेखि ५ वर्षसम्म हुनेछ । ऋणदाताले सहमति जनाएमा समय थप गरिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । भारत सरकारले जारी गरेको टेजरी विल्सको औसत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरि लिन सक्ने व्यवस्था गरेको छ । सो कर्जामा ब्याज बाहेक कुनै शुल्क लाग्नु नहुने राष्ट बैंकले जनाएको छ । विदेशबाट ऋण लिदा बैंकले धितो र ग्यारेन्टी लिन नपाउने व्यवस्था गरिएको छ । नेपाल बैंकर्स संघको सुझावका आधारमा केन्द्रीय बैंकले भारुमा विदेशबाट ऋण लिने व्यवस्था गरेको हो । यो व्यवस्थाले गत वर्षको जस्तो लगानीयोग्य पुँजीको अभाव नहुने अपेक्षा गरिएको छ । डलरमा ऋण लिदा महंगो पर्ने भएको भन्दै बैंकहरुले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न माग गरेका थिए ।यसअघि नै केन्द्रीय वैंकले परिवत्र्य मुद्रा डलर र युरोमा पनि विदेशबाट ऋण लिन बाटो खुला गरेको थियो । डलरमा ल्याउने ऋण महंगो र जोखिम बहन गर्नका लागि हेजफण्ड पनि नभएको बैंकहरुले ८० अर्ब रुपैयाँ भन्दा बढी विदेशबाट ऋण लिन पाउने छन् ।

म्याराडोनाले भने-‘अब अर्जेन्टिनाको प्रशिक्षक मै बन्छु’

काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा दाजुभाई म अझै अर्जेन्टिनाको प्रशिक्षक बन्न सक्छु र दाबेदार पनि हुँ, म सम्झन्छु जब मैले खेलेको, मलाई अझै पनि त्यो शक्ति कायमै छ । तर मलाई किन कसैले पनि बुझ्न चाहदैनन् । मलाई धेरै दुख लागेको छ ति पत्रकार जसले मलाई प्रशिक्षकको सूचिमा राखेनन्, म उनिहरुलाई भन्न चाहान्छु हामी अर्जेन्टाइन हौं ।” म्याराडोनाले सन् २०१० को विश्वकप खेलाएका थिए । अफ्रिकामा भएको प्रतियोगितामा अर्जेन्टिना जर्मनीसँग ४ गोल खादै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । हाल म्याराडोना बेलारुसको डाइनामो फुटबल क्लबसँग ३ वर्षे सम्झौता गरेका छन् ।अर्जेन्टिनाको फुटबल एशोसिएसनले जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।

मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौं। दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो । प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ। अस्पतालले आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता छ । प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिनुभयो । सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । मन्त्री यादवले भन्नुभयो, “जनताको घर आँगनमा आधारभूतसहित विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनु सरकारको पहिलो कर्तव्य हो, यस कार्यमा म जुटिरहेको छु, सहयोग गर्न आग्रह गर्छु ।” सरकारी अस्पतालमा जडान भएका उपकरण चाँडै बिग्रने र त्यस्तै उपकरण निजीमा हतपत किन बिगिँ्रदैन भन्ने प्रश्न गर्दै मन्त्री यादवले देश ग्रामीण भेगले बनेको छ, चिकित्सक शहरमा बस्दछन् अब समन्वय जरुरी छ भन्नुभयो । सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो । सम्मानित हुनेमा प्रा डा भोलाराज जोशी, प्रा डा महेश खकुरेल, प्रा डा कनकबहादुर रावत, प्रा डा गुणकुमार श्रेष्ठ, प्रा डा दिव्यासिंह शाह, प्रा डा प्रेमराज ज्ञवाली, प्रा डा उत्तमकुमार शर्मा, प्रा डा लोकराज मरहठ्ठा, प्रा डा डेभिड फ्रान्सिस र उपप्रशासक कृष्णदेव पन्त हुनुहुन्थ्यो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँले आगामी दिनमा चिकित्सा अध्ययन संस्थानको क्षमता बढाउन सहयोग थप्दै जाने बताउनुभयो । मिर्गौैला रोग विशेषज्ञ प्रा डा शाहले अध्ययन संस्थानले मिर्गाैला प्रत्यारोपण गरी नयाँ युगको शुरुआत गरेको भन्दै आगामी दिनमा यसको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यारोपणको दिनसम्म आइपुग्न विभिन्न कठिनाइ आइप¥यो, यसलाई सहजतापूर्वक समाधान गर्दै नयाँ इतिहास बनाउने काम गरियो ।” सम्मानित प्रा डा फ्रान्सिसले पहिलो प्रत्यारोपण कार्य अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको स्मरण गर्दै नेपाली चिकित्सकका ज्ञान, सीपको उच्च प्रशंसा गर्नुभयो । अर्का मिर्गौला रोग विशेषज्ञ प्रा डा उत्तमकुमार शर्माले मिर्गाैला प्रत्यारोपणका लागि छुट्टै केन्द्र स्थापना गर्न माग गर्नुभयो।रासस