
काठमाडौं । सनराइज बैंकले आफना ग्राहकलाई स्वास्थ्य बीमा योजना प्रदान गर्न देशभरका ८० भन्दा बढी निजी अस्पतालसँग सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट पाउन सक्ने छन् । तोकिएका अस्पतालमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।
यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ ।
तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा तथा ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधा ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।