प्रतिनिधिसभामा विभिन्न ६ वटा विधेयक पेश
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मौलिक हक कार्यान्वयन गर्ने लगायतका विभिन्न ६ वटा विधेयक पेश गरिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ पेश गरेका हुन्। त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ पेश गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ र गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ विधेयक पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक र रोजगारीको हकसम्बन्धी विधेयकमा सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेका ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन गर्नेसम्बन्धी प्रस्तावको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते बिहान ११ बजे बस्नेछ । रासस
भक्तपुरको गठ्ठाघरमा प्राइम कमर्सियल बैंकको शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मध्यपुर थिमि नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ । उक्त शाखाको उद्घाटन बैंकको संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले गरेका हुन् । यसैगरी बैंकले आगामी दिनहरुमा पनि शाखा संजाल बिस्तार गर्दै जाने बताएको छ ।
१३, १५ बिजोर र १४ गते जोर नम्बरको सवारी चल्ने, भीआईपी सवारी आउँदा सडक खाली
काठमाडौं । बिम्स्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुग्दा भदौ १३, १५ गते बिजोर र १४ गते जोर नम्बरको सवारी चल्न दिने सरकारले निर्णय गरेको छ । महानगरीय प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनकाे नम्बर प्लेटकाे अन्तिम अंक(१,३,५,७,९) र १४ गते (०,२,४,६,८) भएका सवारी साधनहरु संचालन हुने भएका छन् । अति विशिष्ट अतिथिको सवारीको लागि सरकारले जोर बिजोर प्रणाली लागू गरिएको हो । प्रहरी महाशाखाका प्रवक्ता रामकुमार लम्सालका अनुसार राती १० बजेदेखि बिहान ६ बजेसम्म भने सबै सवारी चल्न पाउनेछ । उपत्यका बाहिर जाने सवारीको हकमा बिहान छ बजे नै प्रतिबन्ध लागेको सवारी बाहिरी सक्नु पर्नेछ । यो प्रणाली सबै सवारी साधनमा लागू हुने प्रवक्ता लम्सालले बताए । साँझ ६ बजे म्यानमारका राष्ट्रपति विन मिन्त भैंसेपाटी स्थीत राजदुतावासमा खाना खाने कार्यक्रम रहेकोले होटल सोल्टीदेखि कालिमाटी, बल्खु, सानेपा, नख्खु दोबाटो हुदै भैंसेपाटी सम्मको सडकखण्ड केहि समय अवरुद्ध हुनेछ । राष्ट्रपति मिन्त पुन होटल सोल्टीमै फर्किने कार्यक्रम रहेको छ । यसैगरी सरकारले उपत्यकाको विद्यालयहरु १४ र १५ गते बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार सुचना जारी गर्दै उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सम्पुर्ण विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको हो ।
सन्तान नजन्माउनेलाई कर लगाउने चीनको तयारी, सीमा पनि हटाइँदै
बेइजिङ । चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । नयाँ बनाउन लागिएको देवयानी संहिताले दशकौँ देखिको विवाद अन्त्य हुने अधिकारीहरूले विश्वास लिएका छन् । संसारकै सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चिनिने चीनले दुई जनाभन्दा बढी सन्तान जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरेको थियो । परिवार नियोजनसम्वन्धी यस व्यवस्थालाई परिवर्तन गर्न बनाइएको कानूनको मस्यौदालाई राष्ट्रिय जनकङ्ग्रेसमा सन् २०२० मा मतदान गराईने तयारी गरिएको श्रोतले जनाएको भन्दै पत्रिकाले लेखेको छ । चीनमा कम्युनिष्ट पार्टीले सन् १९७९ मा एउटा मात्रै सन्तान जन्माउन पाइने र त्योभन्दा बढी जन्माएमा कारबाही हुने व्यवस्था लागु गरिएकोे थियो । जनसङ्ख्या अत्यधिक बढ्दै गएको र देशले थेग्न नसक्ने भएकाले नियन्त्रण आवश्यक भएको भन्दै एक सन्तानको नीति लागु गरिएको हो । एक सन्तानको नीतिले आवश्यकता भन्दा बढी जनसङ्ख्या घटेपछि गत सन् २०१६ मा भने सो सन्तानको नीतिलाई परिमार्जन गरेर बढीमा दुई सन्तान जन्माउन पाइने व्यवस्था गरिएको थियो । जनसङ्ख्या बृद्धि कम भई मुलुकको आवश्यकताअनुसारको जनसङ्ख्या अभाव हुने सङ्केत देखेपछि चीनले अहिले जनसङ्ख्या बढाउने अभियान चलाउने तयारी गरेको छ । थोरै सन्तान जन्माउन दवाव दिने यसअघिको नीतिले चिनियाँहरूमा थोरै सन्तानको संस्कार बढेपछि अहिले धेरै सन्तान जन्माउने बनाउन गाह्रो भएको छ । त्यसैले उनीहरूलाई एकभन्दा बढी बच्चा जन्माउने गराउन चिनियाँ दुई जना विज्ञले केहीदिन अगाडी एउटा विवादास्पद उपाय सुझाएका थिए । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका थिए । जनसङ्ख्या न्युनिकरण कम गर्न दुईभन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न उनीहरूको सुझाव छ । विज्ञहरूको यो सुझावलाई लिएर अहिले चीनभरी पक्ष र विपक्षका तर्क र वितर्क गर्दै बहस चलिरहेको समाचारमा जनाइएको छ । उनीहरूले ४० बर्ष भन्दा कम उमेरका दम्पत्तिले दुई भन्दा कम सन्तान जन्माएमा वा जन्माउदै नजन्माएमा अरुलाई सहयोग पुर्याउन बार्षिक रूपमा एउटा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् । “जब कसैले दुई वा दुई भन्दा बढी सन्तान जन्माउछन्, तब उनीहरूले सो कोषमा राहत रकमका लागि दावी गर्न सक्नेछन्,” नान्जीङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापकद्वय लिउ झिविओ र झाङ येले लेख्नुभएको छ । क्षतिपूर्ति वा राहत रकम दावी गर्दा सन्तान जन्माउदा लागेको खर्च वा त्यस क्रममा आम्दानीमा भएको गिरावट उल्लेख गर्नु पर्ने र त्यस वापतको भुक्तानी कोषबाट गर्नु पर्ने व्यवस्था गर्न उनीहरूले सुझाएका छन् । उनीहरूले पर्याप्त मात्रामा शिशु स्याहार केन्द्रहरू खोल्नु पनि जन्मदर बढाउने अर्को सहयोगी उपाय हुन सक्ने बताएका छन् । दुईभन्दा बढी सन्तान जन्माउनेलाई सेवा निवृत्त भएपछि विषेश आर्थिक व्यवस्था गरिदिएमा उनीहरू सन्तान जन्माउन प्रेरित हुने अपेक्षा गरिएको छ । यसअघि जनसङ्ख्याघटाउने अभियान अन्तर्गत दुई वा सो भन्दा बढी बच्चा जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरिएको थियो भने महिलाहरूलाई गर्भपतनका लागि प्रोत्साहन गरिएको थियो । लैङ्गिक तथा जनसाङ्ख्यीक असन्तुलन बढेपछि सामाजिक समस्याहरू थपिँदै गएको सरोकारवालाहरूले बताएका छन् भने देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ । त्यसैले अहिले यसका बारेमा पुर्नविचार गर्नुपर्ने अवस्था आएको हो । रासस
काठमाडौं उपत्यकाका विद्यालय दुई दिन बिदा हुने, कहिले कहिले ?
काठमाडौं । सरकारले आगामी भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विद्यालयहरुमा बिदा दिएको छ । काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक) सम्मेलनलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालयमा उक्त दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले विम्स्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उक्त दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको बताएकाे छ ।
२१५ प्रतिशत नाफा बढने सिटी एक्सप्रेस फाइनान्सको प्रक्षेपण,लाभांश कति ?
काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७५/०७६ मा नाफा २१५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको अनुमानित वित्तीय विवरणमा नाफ भारी वृद्धि हुने देखाएको हो । संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ( राइटव्याक) का कारण चालु आर्थिक वर्षमा नाफा बढ्ने देखिएको हो । यो वर्ष राइटव्याकबाट ६ करोड ५१ लाख रुपैयाँ असुली हुने अनुमान फाइनान्सको छ । यस्तै आगामी आर्थिक वर्ष ०७६/०७७ मा २ करोड ६३ लाख रुपैयाँ मात्र फिर्ता हुने छ । गत आर्थिक वर्षमा ४ करोड ९५ लाख रुपैयाँ राइटव्याक गरेको फाइनान्सले जनाएको छ । यो वर्ष निक्रिय कर्जा अनुपात शुन्यमा झार्ने लक्ष्य फाइनान्सको छ । चालु वर्ष कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा १ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षमा नाफा बढे पनि आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा भने १.१ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरिएको छ । आगामी वर्ष नाफा ५ करोड १४ लाख रुपैयाँ मात्र हुने प्रक्षेपण फाइनान्सको छ । चालु आर्थिक वर्षमा फाइनान्सको ब्याज आम्दानी बढेर ६ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । यस्तै आगामी वर्ष बढेर १५ करोड ३४ लाख रुपैयाँ पुग्ने फाइनान्सले वित्तीय विवरणमा उल्लेख गरेको छ । गत वर्ष ५६ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । हकप्रद सेयर बाँडफाँडपछि चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ३६ पैसा र आगामी वर्ष ६ रुपैयाँ ४३ पैसा पुग्ने अनुमान फाइनान्सको छ । यस्तै चालु आर्थिक वर्षमा फाइनान्सले निक्षेप परिचालन ७५० प्रतिशत बढाएर ४६ करोड १० लाख रुपैयाँ पुर्याउने भएको छ । गत आर्थिक वर्षमा निक्षेप परिचालन ५ करोड ४२ लाख रुपैयाँ थियो । आगामी आर्थिक वर्षमा निक्षेप ४९.५७ प्रतिशत बढेर ६८ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान फाइनान्सको छ । कम्पनीले विस्तारै नाफा बढाउदै गएपनि चालु वर्षमा जगेडा कोष भने १८ करोड ८८ लाख रुपैयाँ ऋणात्मक हुने देखिएको छ । यस्तै आगामी वर्ष १३ करोड ७४ लाख रुपैयाँमा झर्ने छ । गत आर्थिक वर्षमा जगेडा कोष २३ करोड ९७ लाख रुपैयाँ थियो । चालु वर्षमा कम्पनीको कर्जा लगानी १ हजार ४७३. ६५ प्रतिशत बढेर करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षमा २४.२४ प्रतिशत बढेर ८९ करोड रुपैयाँ पुग्ने छ । सिटीले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गरेकाे छ । कम्पनीले चुक्तापुँजी बढाउन १६७ प्रतिशत अर्थात २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हो । हकप्रद सेयर निष्कासन बन्द असोज ४ गते हुनेछ । बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्ने छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ । साउन २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् । वित्तीय अवस्था ऋणात्मक भएपछि नेपाल राष्ट्र बैंकले कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडलाई २०६९ पुस २६ गतेदेखि समस्याग्रस्त घोषणा गरेको थियो । यसबाट ५ बर्षदेखि नियमित बैकिङ्ग कारोबार समेत अवरुद्द भएको थियो । फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरी नियमित संचालनको अवस्थामा फर्काउने थप पूँजी लगानी सहित नयाँ लगानीकर्ताको प्रबेश भएपछि सिटी फाइनान्सको नामबाट कारोबार सुरु भएको हो । राष्ट्र बैंकको मिति २०७४ मंसिर २४ फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको थियो ।
म्यान्मारका राष्ट्रपति राजधानीमा
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्मारका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । म्यान्मारका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । राष्ट्रपति विनलाई म्यान्मारका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्मारका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन्। रासस
मासिक १२ हजार ९९९ तिर्नुस्, आफ्नै कार चढ्नुस्
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाट्सन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ । जसमध्ये डाट्सन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।