विकासन्युज

३ अर्ब ८१ करोडको बोनस सेयर दर्ता, सबैभन्दा बढी हिमालयन बैंकको कसको कति (सूचिसहित)

काठमाडौं । साउनयता डेढ महिनाको अवधिमा विभिन्न ८ कम्पनीको झण्डै ४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । विभिन्न ८ बैंक तथा वित्तीय संस्थाको ३ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ बराबरको ३ करोड ८१ लाख ५३ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका छन् ।   सूची हेर्न यहाँ क्लिक गर्नुहोस  यसअवधिमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंक भएको छ । हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । यस्तै सुर्यौैैदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत अर्थात ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता, युनाइटे फाइनान्स लिमिटेडको १९ प्रतिशत अर्थात १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । यसैगरी सिद्धार्थ बैंकको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, मेगा बैंकको १०.७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार कित्ता सेयर दर्ता भएको छ । नेपाल कम्युनिटी डेलपमेन्ट बैंकको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख र मञ्जुश्री फाइनान्स लिमिटेडको ५.७१ प्रतिशत अर्थात ४ करोड ६४ लाख रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायत विभिन्न ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए ।

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले नियुक्त भएकी छिन् । बैंकको २२९औँ संचालक समितिको बैठकले काफ्लेलाई कम्पनीकाे स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सातौँ एक्स्टेन्सन काउन्टर पशुपतिनाथमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गडमा आफ्नो सातौँ एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त काउन्टरले मन्दिरमा जाने भक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न सहयोग गर्नेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ ।

३ अर्ब ५० करोडले टालियो उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौं । उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा रु तीन अर्ब ५० करोडको बजेट रहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । “सडकको खाल्डाखुल्डी मर्मत सम्भारका लागि रु १५ अर्ब माग गरेका थियौँ, सडक बोर्ड नेपालले रु तीन अर्ब ५० करोडको मात्र व्यवस्था गरेको छ, यस वर्ष बिम्स्टेकको बैठक परेकाले थप बजेट आवश्यक परे अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ”, उनले भने । वर्षायाममा बढी सडक बिग्रने भएकाले बिटुमिन राखेर काम गर्न मिल्दैन । हाल इमुल्सन राखेर खाल्डाखुल्डी पुर्ने काम भइरहेको विभागले जनाएको छ । बिम्स्टेकका लागि विशेष सवारीको मार्ग परेको त्रिपुरेश्वर–कालीमाटी–कलङ्की र चाबहिल–बौद्ध–जोरपाटी–थली मार्गको मर्मत सम्भार ठेक्का लागेकै निर्माण व्यवसायीबाट गराइएको प्रवक्ता गौतमले सुनाए । बिम्स्टेकलाई लक्ष्य गरेर मर्मत सम्भार गर्ने सडकको काम आजसम्म सम्पन्न हुने जनाइएको छ । यस अवसरमा सडकमा विशेष रङरोगनसमेत गरिएको छ । केही स्थानमा जेब्रा क्रससमेत बनेको छ । खानेपानीको पुरानो वितरण सञ्जालको पाइप फुटेर सडकमा पानी जमी धेरै खाल्डाखुल्डी हुने गरेको विभागको भनाइ छ । बिम्स्टेकको मुखमा मुख्य मार्गका खाल्डाखुल्डी टालिए पनि अतिथिको मार्ग नपर्ने सडकमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । विभागले भने १५ दिनपछि बिग्रिएका सबै सडकको मर्मत सम्भार गरिने जनाएको छ । गोकर्ण रिसोर्टमा बिम्स्टेकका पाहुनाको कार्यक्रम राख्दा त्यहीँसम्मको मात्र सडकको खाल्डाखुल्डी टाल्ने काम भएको तर साँखुसम्म काम नगरिएको स्थानीय जीवनाथ सिम्खडाले गुनासो गर्नुभयो । यसैगरी भित्री सडकमा बनेका खाल्डाखुल्डी पनि टालिएको छैन । मर्मत सम्भार गर्नुपर्ने सडकमा विभागले खटाएका पहेँलो र हरियो ज्याकेट लगाएका कामदारले सफाइको काम शुरु गरिसकेको प्रवक्ता गौतमले बताए । रासस

सांग्रीला डेभलपमेन्ट बैंकले नवनियुक्त कर्मचारीलाई दियो १० दिने बैंकिङ् तालिम

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनुभन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले अभिमुखीकरण तालीम राखेको हो । बैंकले यही भदौ १ गते देखी १० गतेसम्म दिएको तालिममा नवनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा नवनियुक्त कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरेको थियो । १० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका छन् । यसैगरी, निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ्ग प्रमुख निर्मलकुमार श्रेष्ठले यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्घि गरि बैंकको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए ।

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ । तर कम्पनीले उनको नियुक्तीबारे आधिकारीक रुपमा जानकारी सार्वजनिक गरेको छैन । प्रक्रियागत केही आन्तरिक काम बाँकी रहेको कम्पनी सम्बद्ध स्रोतले बतायो । इएमबीए र बीएलसम्ममा औपचारिक शिक्षा हासिल गरेका भट्टसँग २३ वर्ष बैकिङ् क्षेत्रमा काम गरेको अनुभव छ । केही समय अघिसम्म उनी मेगा बैंक नेपालको डेपुटी सीईओ थिए । त्यसअघि इन्भेष्टमेन्ट बैंकमा थिए । पछिल्लो समय रेमिट टू नेपालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । २०७४ भदौ १ देखि सञ्चालनमा आएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । जनशक्तिको अभाव जनाउँदै अझै धेरै बीमा कम्पनीहरुले व्यवस्थापकीय तहको प्रमुख पद रिक्त राखेका छन् ।

१११ मेगावाटको रसुवागढी आयोजनाको ७० प्रतिशत काम सकियो, १ अर्ब ७१ करोड तेस्रो आईपीओ आउँदै

काठमाडौं । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ७० प्रतिशत काम सकिएको छ । हालसम्म आयोजनाको ४ हजार २०० मिटर अर्थात ४.२ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएकाे छ । बाँधलगायत अन्य पुर्वाधारको काम जारी छ । आयोजनाको अब ३० प्रतिशत मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ । १८ महिनाभित्र आयोजना महिनामा सम्पन्न भई बिजुली बल्ने छ । आउदो २०७६ फागुन ७ गते आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ ।वर्षादका कारण सडक सडक अवरुद्ध हुदा सिमेन्ट र डण्डीलगायत अन्य निर्माण सामाग्रीको आपूर्तिमा समस्या आएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले भण्डारण रहेको सामाग्री सकिन लागेको र सडक अवरुद्ध हुदा थप आपूर्ति गर्न कठिनाइ भएको जानकारी दिए । सुरुङमा क्रंक्रिट लाइनिङको काम सुरु भएको समेत उनले बताए । निर्धारित समयमै आयोजनाको काम सकिने कोइरालाले जानकारी दिए । आयोजना नेपाल–चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । तेस्रो आईपीओ निष्कासनको काम अघि बढाउन लागेको कोइरालाले बताए । उनले यसका लागि तयारी भइरहेको जानकारी दिए । रसुवागढीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता निष्कासन गरेको थियो । जसअनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्तालाई निष्कासन गरेको थियो । दोस्रो चरणमा संस्थागत लगानीकर्ता अन्र्तगत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको हो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।

लामो चेकलिष्ट बोकेर बीमा कम्पनीहरूमा छिर्यो बीमा समिति, ३९ वटै कम्पनीको स्थलगत निरीक्षण हुने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । समितिले आज एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबाट स्थलगत निरीक्षण शुरु गरेको हो । उपनिर्देशक दिनेश कुमार लालको नेतृत्वमा एउटा टोली एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निरीक्षणमा खटिएको छ भने चार्टर्ड एकाउन्टेण्ट ज्योति पाण्डेको नेतृत्वमा अर्को टोलीले सिद्धार्थ इन्स्योरेन्समा निरीक्षण थालेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक वर्षमा ३९ वटै बीमा कम्पनीहरुको स्थलगत निरीक्षण गर्ने कार्य योजना बनाएको छ । निरीक्षण गर्दा बीमा ऐन, कम्पनी ऐन, बीमा समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका, अन्य निर्देशन तथा नियमावलीहरु, सम्बन्धित कम्पनीका प्रबन्धपत्र, नियमावली, आर्थिक प्रशासन विनियमावली लगायत बीमा कम्पनीमा आकर्षित हुने सबै नियम कानुनको परिपालना भए/नभएको हेरिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । ‘हामीले लामो चेकलिष्ट तयार गरेको छौं । ती सबै कुरा स्थलगत रुपमा हेरिन्छ’ अध्यक्ष चापागाईले भने–‘निरीक्षण गर्दा देखिने साना कमी कमजोरीलाई लिएर हामी कारवाही गर्दैनौं । त्यसलाई सच्याउन निर्देशन दिन्छौं । जानीजानी वा खराब नियतले गलत काम भएको रहेछ भने नियमअनुसार कारवाही पनि हुन्छ ।’ निरीक्षण गर्दा बीमा कम्पनीहरुमा डर, त्रासको वातावरण नबनाउन निरीक्षणमा खटिने कर्मचारीलाई निर्देशन दिएको पनि उनले बताए । बीमा समितिले विगतमा नीति नियम बनाउने, निर्देशन दिने कार्यमा बढी जोड दिएको थियो । तर त्यसको कार्यान्वयन अवस्था कस्तो छ भनेर निरीक्षण गर्ने कार्य कम भएको थियो । ‘अब हामी कम्पनीहरुले नीति नियमको परिपालना गरे/नगरेको स्थलगत रुपमा नै हेर्छौ ।’ सबै कम्पनीहरुको वार्षिक रुपमा स्थलगत निरीक्षण गर्ने बीमा समितिको योजना रहेको उनले बताए । ‘यसले बीमा कम्पनीलाई सुशासित र बलियो बनाउँछ । बीमितको पनि हित हुन्छ । बीमा कम्पनीका लगानीकर्तालाई पनि लाभ हुन्छ ’ अध्यक्ष चापागार्इले भने ।