महिला हिंसाका दोषीलाई कुनै हालतमा नछाडिने- गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा बुधबार गृहमन्त्रालयमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिईसकेको जानकारी दिएका छन् । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिएपनि कारवाहीको दायरामा ल्याईने स्पष्ट पारेका छन् । यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरेका छन् । उनले भने, ‘‘अनियन्त्रित मदिराको विक्रि वितरण र लागु पदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ति कारणको न्युनिकरण गर्न जरुरी देखिएको छ । ’’ भेटमा गृहमन्त्री बादलले केही दिनमै मदिराको विक्रि वितरणलाई व्यवस्थित गर्ने र लागु पदार्थको प्रयोगलाई निषेध गर्ने गरी गृहमन्त्रालयले कार्यक्रमको घोषणा गर्न लागेको जानकारी दिए । उनले पछिल्ला दिनमा बलत्कारका घटना बढेकोजस्तो देखिएपनि तथ्यांकगत रुपमा घटेको बताए । उनले भने, ‘‘ पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो । ’’ उनले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानविन समिति मार्फत छानविन अघि बढाईसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरेका छन् । महिला हिंसा विरुद्ध आवश्यकता अनुसार थप कठोर कानुन बनाउन सकिने भन्दै संसदमा महिला सांसदहरुबाट आएको संकल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा राखेका छन् । सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलत्कार, हत्या लगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, बलात्कार सम्बन्धी विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने लगायतका माग सञ्जालले राखेको छ ।
प्रभु बैंक र एनबीआईबीच तालिम संचालन गर्ने सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले प्रभु बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौताअनुसार प्रभु बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने छ ।
सरकार र चाइना थ्री गर्जेजबीच वार्ता विफल, ७५० मेगावाटको पश्चिमसेती नबनाउने निश्चित
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ तथा ऊर्जामन्त्रीसंगको वार्तामा उसले थप शर्त अघि सारेपछि सरकार थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको हो । बोर्ड र थ्री गर्जेजबीचको वार्ता असफल भएको छ । बोर्डसंग वार्ता सफल नभएपछि थ्री गर्जेजका अध्यक्ष जाओ जियाङक्वाङसंग बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र सदस्य जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनसंग पनि मन्त्रालयमा थप छलफल भएको थियो । त्यहाँ पनि सहमतिमा नपुगेपछि वार्ता विफल भएको हो । लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ ) महाप्रसाद अधिकारीले बताए । थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको उनले जानकारी दिए । यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएर आयोजनाबाट बाहिरिन खोजेको देखिएको छ । पत्रकार सम्मेलनको आयोजना गरी थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको उनले जानकारी दिए । उनीहरुको मागलाई सम्बोधन गर्दा पनि अझै पनि आयोजना संभाव्य नदेखिएको थ्री गर्जेजको भनाई आएको उनले सुनाए । थ्री गर्जेजले राखेका प्रस्ताव आउदो बोर्ड बैठकमा राखेर निर्णय गराउने अधिकारीले बताए । “उसका माग समेटेर बोर्डमा प्रस्ताव लैजाने छौ, बोर्डले जे निर्णय गर्छ त्यही कार्यन्वयन हुने छ” उनले भने । सुदुरपश्चिममा रहेको पश्चिम सेती आयोजना २५ वर्षदेखि अघि बढ्न सकेको छैन् । अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन (स्मेक) ले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । थ्री गर्जेजले पनि ६ वर्षभन्दा बढी समय आयोजना होल्ड गरेको छ ।
अब गरिमा विकास बैंकबाटै एभरेष्टको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब गरिमा विकास बैंक लिमिटेडबाटै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे बैंकास्याेरेन्स सेवा प्रदान गर्ने सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले हस्ताक्षर गरेका छन् । सो सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको भदौ २२ गतेदेखि १८ दिन बुक क्लोज
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आगामी भदौ २२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असोज ८ गतेसम्म बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १८ दिन सेयर कारोबार बन्द गर्दै छ । बैंक आगामी असोज ८ गते कम्पनीको पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।
लगानीको जोखिम विश्लेषण गर्ने सफ्टवेर सार्वजनिक, सेयर लगानीकर्ताको विश्वास पनि नाप्न मिल्ने
काठमाडौं । सेयर संसार डटकमले “एस्एस्प्रो” सफ्टवेयर सार्वजनिक गरेको छ । एस्एस्प्रो सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ । लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभचार्ट सफ्टवेयर, वाच लीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरु यसमा रहेको कम्पनीले जनाएको छ । कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस्एस्प्रोमा थुप्रै सुविधाहरू छन् । उक्त सफ्टवेर सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीपबिक्रम राणाले भने, “कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तीय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानीकोषहरूको खरिद/बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एस्एस्प्रोमा छन् ।” सेयर लगानीकर्ताहरुले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइएका हल्लाहरुमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरु सबै एस्एस्प्रोमा रहेको छ । बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एस्एस्प्रोले नेपालमै पहिलो पटक बजारको विश्वास मापन गर्ने “मार्केट कन्फिडेन्स मिटर” ल्याएको छ । अहिलेको बजारप्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ । आफ्नो लगानीको अहिलेको मूल्य कति, अहिलेसम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एस्एस्प्रोमा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ । यसमा आफ्नो लगानीका साथै आफ्नै घर-परिवारका अन्य सदस्यहरुको पनि सेयरमा गरिएका लगानीहरूकोे विवरण राख्न सकिन्छ । यतिमात्र नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार–चढाव भएमा सोको जानकारी पनि एस्एस्प्रोले दिन्छ । एस्एस्प्रो सफ्टवेयर प्रयोग गर्न https://pro.sharesansar.com मा गएर १ वर्षको सदस्यता लिन सकिन्छ । साथै, उक्त सफ्टवेर जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानी बोर्डले नसकेपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको चिनियाँ कम्पनीसंग पश्चिमसेती आयोजना बनाउने विषयमा वार्ता
काठमाडौं । लगानी बोर्डले मात्र पश्चिमसेती जलविद्युत आयोजनाको समस्या समाधान गर्न नसक्ने अवस्था आएपछि दुई मन्त्री र चिनियाँ कम्पनीबीच छलफल शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुनले अहिले चाइना थ्री गर्जेज इन्टरनेशनलका अध्यक्षसंग छलफल शुरु गरेका हुन् । मंगलबार र बुधबार बिहानसम्म भएको वार्ता निष्कर्षविहिन भएपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको अग्रसरतामा अहिले ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । छलफलमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको समेत सहभागिता रहेको छ । थ्री गर्जेजले सरकारले तय गरेको ७५० मेगावाटको पश्चिमसेती आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) आकर्षक नभएको, जग्गा अधिग्रहण, प्रसारणलाइन, लगानी ल्याउने विषयमा जटिलता आएपछि मन्त्रीतहबाट सल्टाउने प्रयास थालिएको हो ।
ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले जुनसुकै शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्न रपरेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ् तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।