शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ६२ करोड नाघ्ने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९५ प्रतिशत अर्थात एक करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को उक्त लाभांश दिन लागेकाे हाे । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत अर्थात २४ करोड ८१ लाख ५० हजार रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्ताव बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंककाे सेयर प्रति कित्ता २७० रूपैयाँमा काराेबार भइरहेकाे छ । माेफसलमा रहेका विकास बैंकहरू मध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धेरै राम्राे बैंक मानिन्छ ।
स्वदेशमै सस्तो दरमा हवार्इ इन्धन उपलब्ध गराउन माग
काठमाडौं । नेपाली एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले एयरलाइन्स कम्पनी र नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने भएका छन् । ती दुई संस्थाबीच बुधबार भएको छलफलमा एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले भोग्नुपरेका समस्या समाधनका लागि संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने निर्णय भएको हो । संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग, नागरिक उड्डयान प्राधिकरणलगायत सरोकारवाला संस्थासँग छलफल गर्ने निर्णय भएको प्रेसिन्डेन्ट ट्राभलका सञ्चालक भोला थापाले जानकारी दिए। बैठकमा विमानस्थल अवतरण शुल्कमा छुट दिनुपर्ने, एयरलाइन्सले विदेशबाट तेल हालेर आउने भएकाले स्वदेशमै सस्तो दरमा तेल उपलब्ध गराउन पहल गर्नुुपर्नेलगायतका विषयमा समेत छलफल भएको थियो । नाट्टाका अध्यक्ष सिएन पाण्डेले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको र त्यसबखत २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले एयरलाइन्सलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । नाट्टाका महासचिव रमेश थापाले एयरलाइन्सले विभिन्न समयमा टिकटमा निकाल्ने छुट तथा विभिन्न प्रदर्शनीबारे जानकारी नाट्टाको इ-बुलेटिनमार्फत प्रचारप्रसार गर्न एयरलाइन्सका प्रतिनिधिलाई आग्रह गरे। नाट्टाले यो वर्षबाट ‘बुद्धिष्ट टुरिजम एक्पो’ आयोजना गर्न लागेको भन्दै उक्त एक्पो सफल बनाउन एयरलाइन्स कम्पनीले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । रासस
वीपी कोइराला क्यान्सर अस्पतालको क्षमता विस्तार, ४७५ शय्याको हुने
चितवन । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा. आचार्यले बताए । नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन् । अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा. आचार्यले जानकारी दिए। टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ । हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् । नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ । अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर ६०० नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उनको भनाइ थियो । गत वर्ष अस्पतालबाट १ लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा २ लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन् । रासस
बिम्स्टेक शिखर सम्मेलन आजदेखि सुरू
काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै हुनुहुन्छ । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिने छन् । शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग लिन थाइल्याण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबाहेक अन्य देशका विशिष्ट अतिथि काठमाडौँ आइसकेका छन् । उनीहरू केही घण्टाभित्रै राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ । रासस
नेपाली मुद्रा हालसम्मकै कमजोर, १ डलर बराबर ११३.२५, ५ महिनामा झण्डै ८ रुपैयाँ अवमूल्यन
काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भएको छ । रुपैयाँ कमजोर हुदा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११३ रुपैयाँ २५ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । एक दिनमै नेपाली रुपैयाँ डलरसंग १ रुपैयाँले कमजोर भएको छ । अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर बलियो भएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । अमेरिकाले ल्याटिन अमेरिकी मुलुकसंग स्वतन्त्र व्यापार सम्झौता गरेपछि व्यापार बढ्ने अनुमानका आधारमा डलर मजवुत हुन गएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतीय रुपैयाँ (भारु) डलरसंग कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले बिहीबारका लागि १ डलर बराबर ७०.८२ भारु तोकेको छ । भारु २३ पैसाले कमजोर भएको आरबीआईले जनाएको छ । बुधबार ५० पैसाले भारु कमजोर भएको थियो । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ८ रुपैयाँले कमजोर भएको छ । एक वर्षको अवधिमा रुपैयाँ अमेरिकी डलरसंग ६ प्रतिशतले अवमूल्यन भएको छ । २०७४ असारको तुलनामा गत असार मसान्तमा रूपैयाँ डलरसँग ६ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय बजारमा डलर महंगिदै गएको हो । यस्तै ट्रम्पको एक वर्षको कार्यकालमा ७ खर्ब डलर विदेशबाट फिर्ता आएपछि अमेरिकामा डलर संचिती बढेको छ । कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । २ वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा असोज ८ मा, लगानीकर्ताले लाभांश नपाउने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता यो वर्ष रित्तो हात फर्कने भएका छन् । बैंकले लाभांश नदिने भएपछि लगानीकर्ता रित्तो हात फर्कन वाध्य भएका हुन् । बैंकले पाँचौ वार्षिक साधारणसभा असोज ८ गते बोलाएको छ । सभामा आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ । बैंकले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेको छैन । गत आर्थिक वर्षका लागि लेखापरीक्षण गर्नका लागि परीक्षक नियुक्त गर्ने प्रस्ताव सभामा पेश हुने बैंकले जनाएको छ । सभाले संस्थापक र सर्वसाधारण समूहको ५ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
विमुद्रिकरणमा मोदी सरकार असफल, ९९ प्रतिशत पुराना नोट फिर्ता
एजेन्सी । भारतले कालोधनलाई निस्तेज पार्नका लागि गरेको विमुद्रिकरण (डिमनिटाइजेसन) अभियान अन्र्तगत २ वर्षको अवधिमा ९९ प्रतिशत पुराना नोट फिर्ता आएका छन् । भारतीय रिजर्व बैंकले प्रतिवन्ध लागेका ५०० र १ हजार दरका पुराना नोटको प्रमाणिकरण समाप्त पारेको छ । जसअनुसार ९९ प्रतिशत प्रतिवन्धित नोट बैंकिङ प्रणालीमा फिर्ता आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । केन्द्रीय बैंकले प्रतिवन्धित नोटको प्रमाणिकरणको कार्यभार समाप्त पारेको जानकारी दिएको छ । नोभेम्बर ८, सन् २०१६ मा भारत सरकारले कालोधन र जाली कारोबार नियन्त्रण गर्न ५०० र १ हजार दरका भारुमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धपछि १५ खर्ब ४० अर्ब मध्ये १५ खर्ब ३० अर्ब भारु नोट फिर्ता आएको रिजर्व बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । गत मार्चसम्म १८ खर्ब भारु नोट बाहिर रहेको रिजर्व बैंकले जनाएको छ । गत मार्चमा बैंक नोट सर्कुलेसन ३७.७ प्रतिशत बढेर १८० खर्ब भारु पुगेको छ ।
विदेशमा अध्ययन गर्न जान पैसा छैन ? जानुस नविल बैंक, १५ वर्षलाई १ करोडसम्म शैक्षिक कर्जा पाइन्छ
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा हुनुहुन्छ ? रहर भएर पनि पैसाको अभावमा विदेशमा अध्ययन गर्न जान पाउनु भएको छैन ? अब चिन्ता नलिनुस नविल बैंकले विदेश अध्ययन गर्न जानेलाई शैक्षिक कर्जा दिने भएको छ । बैंकले १ करोड रुपैयाँसम्म १५ वर्षका लागि कर्जा दिने गरी नयाँ नविल शैक्षिक कर्जा योजना ल्याएको छ । शैक्षिक कर्जाका लागि विदेशी विश्वविद्यालयको अफर लेटर पखिर्नु नपर्ने बैंकले जनाएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीले विश्वविद्यालय वा कलेजको अफर लेटर विना कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले स्पष्टपारेको छ ।