पूर्वाधार र प्रचार अभावले सिजनमा सीमित नेपालको पर्यटन
काठमाडौं । नेपालमा पर्यटनको सम्भावना वर्षभरि भएपनि व्यवहारमा भने सिजनमै सीमित हुँदै आएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मनसुन र हिउँदको समयमा पर्यटन आगमन घट्ने गरेको छ । उक्त समयमा होटल र ट्राभल व्यवसाय पनि सुस्त हुने गरेको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक एयरलान्समार्फत नेपाल आउने गरेका छन् । नेपालमा पर्यटनको पहिलो पिक सिजन अक्टोबर–नोभेम्बर र दोस्रो पिक सिजन मार्च–अप्रिललाई लिने गरेको छ । यो सिजनमा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिन्छन् । मनसुन सिजन र हिउँद सिजनमा पर्यटनको आगमन घट्ने गरेको छ, जसलाई ‘लो सिजन’ भन्ने गरिन्छ । बोर्डको तथ्यांकअनुसार २०२५ को ११ महिनामा १० लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सबैभन्दा धेरै अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका छन् । सबैभन्दा कम पर्यटक जुलाईमा ७० हजार ७११ भित्रिएका छन् । पर्यटनसँग सम्बद्ध सरोकारवालाहरूले नेपालमा बाह्रै महिना पर्यटन सिजन नहुनुका कारण प्राकृतिक, संरचनात्मक, नीतिगतलगायत कारण बताउँछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले १२ महिना पर्यटक भित्र्याउन नसक्नुको प्रमुख चुनौती खराब मनसुन र पूर्वाधारको अभाव औंल्याए । पूर्वाधारमा सुधार भएको अवस्थामा नेपालमा बाह्रै महिना पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए । उनले भने, ‘पर्यटकीय हिसाबले सबै क्षेत्रमा सबै थोक छ, तर सबै ठाउँमा पूर्वाधारको सुविधा छैन, उदाहरणको लागि विन्टर सिजनमा बेस क्याम्प जाँदा होटलहरूमा हिटर सिस्टम मात्रै भयो भने पर्यटक आगमन घट्दैन ।’ थपलियाका अनुसार बखायाममा नेपालको मौसम एकदमै खराब हुने भएकाले त्यो समयमा पर्यटकलाई प्रमोट गर्न गार्हो हुने र पर्यटक आगमन घट्ने गर्छ । ‘मनसुनमा हामी नेपालीहरू नै हिँड्न डराउनुपर्ने स्थिति छ, यो बेला कहाँ पहिरो खस्छ, कहाँ बाढी जान्छ थाहा नै हुँदैन । बर्खा याम अलि जोखिमपूर्ण नै भएकोले हामीलाई प्रमोट गर्न अलि गाह्रै छ,’ उनले भने । सिजनको समयमा मौसम पनि राम्रो हुने र विदेशी पर्यटकलाई पनि त्यो समय मन पर्ने हुँदा स्वभाविक रूपमा पर्यटनको संख्या बढ्ने गरेको उनको भनाइ छ । यद्यपि ‘लो सिजन’ मा पर्यटकलाई आकर्षण गर्न सक्ने खालको विभिन्न कार्यक्रम गर्न सके पर्यटक भित्र्याउन सम्भावना भएको थपलियाले बताए । उनका अनुसार लो सिजनमा ४० हजारको हाराहारीमा भारतीय पर्यटकहरू नेपाल हुँदै कैलाश मानसरोवरको यात्रा गर्छन् । त्यो संख्या बढाउन सकेको खण्डमा पनि लो सिजमा पर्यटन व्यवसायीलाई अप्ठ्यारो नहुने उनले बताए । थपलिया भन्छन्, ‘४० हजार पर्यटक अहिले पनि कैलाश मानसरोवर जानको लागि आउँछन् । उनीहरू नेपालमा कम्तीमा चार रात बस्छन्, त्यो समयमा राम्रै खर्च गर्न सक्ने क्षमताको पर्यटक हुन्छन् ।’ पूर्वाधारमा सुधार र मनसुनमा हुने प्राकृतिक विपत्तिको समयमा सरकारले पर्याप्त तयारी गरेको खण्डमा नेपालमा बा¥है महिना पर्यटन सिजन हुने थपलियाले बताए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके पनि नेपालको कमजोर पूर्वाधारकै कारण पर्यटकको संख्या चाहेर पनि बढाउन नसकेको तर्क गर्छन् । पर्यटनसम्बन्धी प्रचार–प्रसार सरकारी निकायबाट जुन तहमा हुनुपर्ने त्यो नहुँदा पनि नेपालमा पर्यटनको सिजन बाह्रै महिना हुन नसकेको उनी बताउँछन् । ‘निजी क्षेत्र, चर्चित ब्लगरहरूले युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालबाट नेपालबारे प्रचार प्रचार गरिरहेका हुन्छन्, तर सरकारी निकायबाट न्यून हुने गरेको छ,’ उनले भने, ‘जति हामीले प्रचारप्रचार गर्न सक्यौं त्यति नै पर्यटक भित्रिने सम्भावना बढ्दै जान्छ । पर्यटनसँग सम्बन्धित टुरिस्ट प्रहरी, स्वंयसेवकलगायतलाई अधिकतम खटाउने, तालिमहरू दिएर संवेदनशील बनाउनु आवश्यक रहेको पनि उनले औंल्याए । ‘नेपाल आउने पर्यटकहरलाई कस्तो व्यवहार गर्ने, कसरी स्वस्थ वातावरण बनाउने भनेर पर्यटक प्रहरीलगायत पर्यटनसँग सम्बवद्धलाई तालिम दिएर संवेदनशील बनाउनुपर्छ,’ उनले भने । अध्यक्ष चुके गर्मी महिनामा आउने पर्यटक चिसो ठाउँमा जान सक्ने र जाडोमा आउने पर्यटकलाई पनि घुम्नको लागि पर्याप्त ठाउँहरू भएको बताउँछन् । उनले सरकारी निकायलाई मात्रै दोष नदिएर सरकार, गैरसरकारी संघसंस्था र होटल व्यवसायीहरू सबै लागि प¥यो भने जुनसुकै समयमा पर्यटन आउने वातावरण बनाउन सकिने दावी गरे । मनसुनको सिजनमा पर्यटकलाई नयाँ अनुभव दिन सक्ने चुके बताउँछन् । उनले पछिल्लो समय मौसविद्हरूले गर्ने मौसम पूर्वानुमान मिलिरहने भएकोले त्यसलाई आधार मानेर यात्रा गर्न सक्ने भएकाले पर्यटकलाई पनि त्यही किसिमले सूचनाहरू प्रचारप्रसार गर्नुपर्ने औंल्याए । ‘मौसमसम्बन्धी सही जानकारी दिएको खण्डमा पर्यटकहरूले त्यसलाई हेरेर मनसुनमा पनि आफ्नो कार्यक्रमको सेड्युल बनाउँछन्,’ उनले भने । १२ महिना नै पर्यटन गन्तव्य बनाउने बोर्डको रणनीति नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले सिजनबाहेकको बाँकी महिनामा पनि पर्यटन गतिविधि विस्तार गर्ने तीव्र रूपमा अघि बढाएको बताए । उनका अनुसार नेपाललाई ‘अफ सिजन’ नभएर ‘अल सिजन’ गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको छ । ‘हामीले अब अफ–सिजन भन्ने शब्द नै प्रयोग गर्न छोडेका छौं, अहिले ‘लो सिजन’ भन्छौं । शब्दबाटै करेक्सन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘पहिले–पहिले अफ–सिजनमा होटल बन्द हुन्थे, स्टाफहरू छुट्टीमा हुन्थे। अहिले त्यो अवस्था छैन । व्यवसाय बन्द गरेर बस्नु पर्ने अवस्था छैन ।’ जाडो मौसमा पनि पर्यटन गतिविधि बढाउन विन्टर स्पोर्ट्स र विन्टर ट्रेकिङलाई अघि बढाउँदै आएको उनको भनाइ छ । ‘युरोपमा घाम नलाग्ने, अत्यधिक चिसो हुने बेला नेपालका घाम लाग्ने मिडहिल र हिमाल नजिकका क्षेत्रहरू आकर्षक हुन्छन् । त्यसैले यो समयमा पनि नेपालमा पर्यटक आउन सक्ने अवस्था छ,’ लामिछाने भन्छन् । घान्द्रुक, घोरेपानी, इलामजस्ता स्थानहरू जाडोयाममा पनि घाम लाग्ने र चिसो कम महसुस हुने भएकाले उपयुक्त गन्तव्य बन्न सक्ने उनी बताउँछन् । उनका अनुसार बोर्डले पछिल्लो दुई–चार वर्षदेखि व्यवसाय नै बन्द गर्नुको सट्टामा विभिन्न प्याकेजहरू बनाएर बेच्न व्यवसायीहरूलाई प्रोत्साहन गर्दै आएको छ । मनसुनलाई पनि अवसरका रूपमा प्रयोग गर्न सकिने लामिछानेको तर्क छ । ‘मिडहिलमा मनसुन टुरिजम, रेन टुरिजम गर्न सकिन्छ, मध्यपूर्वका धेरै पर्यटकले जीवनमा पानी परेको देखेकै हुँदैनन्, बर्खामा भिज्नु, छाँगाछहरा हेर्नु, हुस्सुमा हिँड्नु उनीहरूका लागि ‘लाइफ–टाइम एक्सपेरियन्स’ हो,’ उनी भन्छन् । धान रोपाइँ, खेतबारीका गतिविधि, हरियाली र वर्षायामको प्राकृतिक सौन्दर्यलाई पनि पर्यटन उत्पादनका रूपमा प्रवद्र्धन गर्नतर्फ बोर्ड सकारात्मक रहेको उनले बताए । लामिछानेले बोर्डले पर्यटक ल्याउने, प्रडक्ट बेच्नेभन्दा पनि पर्यटक आउने माहोल बनाइदिने रहेको उनको भनाई छ । उनका अनुसार बोर्डले व्यवसायीलाई एजुगेट गर्ने, पर्यटकको आकर्षण के मा छ, के गर्दा उपयुक्त हुन्छ भनेर त्यसअनुसार गरिरहेको छ । यही अवधारणालाई आत्मसात् गरेको उनी बताउँछन् । ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’ भन्ने भिजन राखिएको छ । ‘सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउँदै जीवनपर्यन्त अनुभूति दिने पर्यटन विकास गर्नु नै हाम्रो लक्ष्य हो,’ उनको भनाइ छ।
ट्रेकिङमै केन्द्रित साहसिक पर्यटन, पर्वतारोहणमा बढ्दै सम्भावना
काठमाडौं । नेपालको साहसिक पर्यटन ट्रेकिङमै केन्द्रित हुँदै आएको छ । पर्वतारोहण, र्याफ्टिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, क्यान्योनिङ, माउन्टेन बाइकिङजस्ता अन्य साहसिक गतिविधिहरूको सम्भावना हुँदाहुँदै पनि ट्रेकिङको तुलनामा ती गतिविधिहरू ओझेलमा परेका छन् । यद्यपि पछिल्लो समय पर्वतारोहण गतिविधि भने बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइपुग्छन् । तीमध्ये ८० प्रतिशत पर्यटक धार्मिक र ट्रेकिङकै लागि आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार धेरैजसो पर्यटक ट्रेकिङका लागि अस्ट्रेलिया र अमेरिकाबाट आउने गरेका छन् भने धार्मिक पर्यटक भारतबाट आउने गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे विगतको तुलनामा नेपालमा साहसिक पर्यटनमा पर्यटकको आकर्षण बढ्दै गएको बताउँछन् । पर्यटकको आकषर्ण बढ्दै गएपनि पर्यटकको लागि आवश्यक नीति र कानुनहरूमा सुधार हुन नसक्दा यो क्षेत्रले जुन लय लिनुपर्ने त्यो भने हुन नसकेकको उनको भनाइ छ । अध्यक्ष पाण्डेले भने, ‘पछिल्लो समय ट्रेकिङ रुटहरू खुल्दै गएका कारण पर्यटकहरू बढेको छ, तर नियमन पक्षबाट यो क्षेत्रको लागि जति सकारात्मक भएर लाग्नुपर्ने हो, त्यो हुन सकेको छैन ।’ उनले नेपालमा सडक पूर्वाधार, महँगो एयरलाइन्सले गर्दा पनि यो क्षेत्रमा सोंचेजति पर्यटक भित्र्याउन नसकेको बताए । त्यस्तै, टानकै उपाध्यक्ष कर्मा शेर्पा नेपाललाई विश्वमा चिनाउने माध्यम नै साहसिक पर्यटन भएको बताउँछन् । उनका अनुसार पछिल्लो समय र्याफ्टिङलगायतका साहसिक गतिविधि बढेपनि विदेशी पर्यटक घुम्न आउने भनेकै यही ट्रेकिङकै लागि हो । उनले विदेशी पर्यटकको लागि कल्चर टुर र अन्य गतिविधि साइड ट्रिप मात्रै भएको बताए । अमेरिका, युरोपबाट आउने पर्यटकहरू २४ घण्टाभन्दा बढी लामो फ्लाइटबाट आउने हुँदा भोलिपल्टै ट्रेकिङको लागि जान सम्भव हुँदैन । एक देशबाट अर्को देशमा आउँदा शरीरको तापक्रम र हावापनीको लेभल पनि ठीक ठाउँमा ल्याउनुपर्ने हुन्छ । त्यसैले विदेशीहरूलाई नेपाल आएपछि एक /दुई दिन काठमाडौं घुम्छन् । ‘नेपाल आउनेवित्तिकै भोलिपल्ट लुक्ला, पोखरा या घान्द्रुक पुर्याउँदा विदेशीलाई गार्हो हुन सक्छ, यसैले हामीले २ दिनजति काठमाडौ घुमाइसकेपछि मात्रै चितवन, पोखरा र ट्रेकिङको कार्यक्रम डिजाइन गर्छौ,’ शेर्पाले भने । नेपालमा आउने पर्यटकको फोकस ट्रेकिङ भएपनि अन्य गतिविधिहरूमा समय बिताउने हुँदा ट्रेकिङ व्यवसायको कारण अन्य क्षेत्रलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । नेपाल एशोसिएन अफ राप्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमलबहादुर ठकुरी भूकम्पपछि पर्यटक आगमन बढेपनि व्यवसायिक हिसाबले साहसिक पर्यटनमा पर्यटकको संख्या भने बढ्न नसकेको बताए । त्यसमा पनि विशेषगरी र्याफ्टिङ व्यवसाय झन् घट्न पुगेको उनले सुनाए । ‘एडभेन्चर टुरिजम व्यावसायिक हिसाबले कमी आएको देखिन्छ, यद्यपि ७२ सालको भूकम्पपछिको अवस्थासँग तुलना गर्दा पर्यटक आगमनको क्रम राम्रै रहेको छ,’ उनले भने । साहसिक पर्यटन युवा पुस्ताले गर्ने भएपनि सरकारले युवा पर्यटकलाई लक्षित गर्न नसकेको उनको भनाइ छ । ‘र्याफ्टिङ गतिविधि बढाउन सकेका छैनौँ, साहसिक गतिविधि युवाहरूले गर्ने भएपनि उनीहरुलाई फोकस गरेर कार्यक्तमहरु ल्याउन सकेको छैन,’ ठकुरीले भने, ‘यस क्षेत्रमा आउने विदेशी पर्यटकहरूको संख्या घटेको अवस्था छ, यद्यपि नेपालीहरू भने पहिलाको तुलनामा अलिअलि बढेको देखिन्छ ।’ र्याफ्टिङमा पर्यटक बढ्न नसक्नुमा नदीहरूमा प्रदूषित हुनु, सडक सञ्जाल राम्रो नहुनेलगायत कारण औल्याउँछन् ठकुरी । त्यस्तै, उनले नेपालमा ट्रेकिङबाहेक पनि अन्य साहसिक गतिविधि हुन्छन् भनेर प्रचारप्रसार पर्याप्त हुन नसक्दा वृद्धि हुन नसकेको उनले बताए । त्यस्तै, होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य नेपालले जहिल्यै पनि मन्दिर–मन्दिर मात्रै भनेर प्रचार गर्दा अन्य साहसिक गतिविधि ओझेलमा परेको बताउँछन् । यसलाई फरक ढंगबाट मार्केटिङ गर्न जरुरी रहेको उनको भनाइ छ । ‘नेपालमा धार्मिक पर्यटको लागि पशुपतिदेखि लिएर विभिन्न मठमन्दिरहरू प्रख्यात छन्, यो मात्रै होइन,’ शाक्यले भने, ‘एडभेञ्जर टुरिजमको लागि चितवन नेशनल र्पाक, बर्दियालगात पनि नेपालमै छन् ।’ नेपालले हिमाल र धार्मिक स्थलबाहेक अरु पर्यटकीय गतिविधिलाई नसमेटिएकै कारण सम्भावना हुँदाहुँदै उपलब्धि हासिल गर्न नसकेको उनको विचार छ । एडभेञ्चर टुरिजमको प्रचार–प्रसार भएको भनिए पनि यसको शैली अझै परम्परागत नै छ । डिजिटल प्रमोसन प्रभावकारी रूपमा गर्न नसक्दा यस क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । शाक्यले भने, ‘प्रचार–प्रसार प्रायः पोखरा, चितवन र एभरेस्ट क्षेत्रमा मात्र सीमित हुँदा अन्य सम्भावनायुक्त गन्तव्यप्रति पर्यटकको चासो बढ्न सकेको छैन ।’ हिमाल चढ्ने पर्यटकको संख्या बढ्दै एडभेञ्जर टुरिजमको लागि नेपाल विश्वमा परिचित छ । किनभने प्रकृतिले निःशुल्क रूपमा विश्वकै अग्लो सगरमाथादेखि थुप्रै हिमाल नेपालमै छन् । नेपाललाई विश्वमा चिनाउने माध्यम नै हिमाल हो । पर्यटन विभागको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा हिमाल चढ्ने आरोहीहरूको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ । विगतमा सगरमाथा चढ्ने आरोहीको संख्या २÷३ सयको हाराहारीमा हुने गरेकोमा पछिल्ला वर्षहरूमा ५ सय को हाराहारीले हिमाल चढ्ने गरेका छन् । त्यस्तै, कोभिडअघि ५०–६० को संख्याले मनास्लु हिमाल चढ्ने गरेकोमा अहिले ४ सयको हाराहारीले चढ्ने गरेका छन् । हिमालमा पर्यटकको संख्या वृद्धि भएपनि अझै पनि धेरै चुनौतीहरू रहेको नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामाले बताए । उनले अस्थिर राजनीति, कमजोर पूर्वाधारले शिखरसम्म पुग्न पर्यटकलाई कठिन रहेको सुनाए । ‘एडभेञ्जर टुरिजम सोचेअनुसार विस्तार हुन नसक्नुमा अस्थिर राजनीति, पूर्वाधार नै हो,’ उनले भने ‘ हाम्रोमा पूर्वाधार कमजोर छ । सडक, एयरपोर्ट, दक्ष जनशक्तिको पनि अभाव छ । सेवा र गुणस्तरको पनि समस्या छ ।’ त्यस्तै, हिमाल वरिपरि वातावरणीय प्रदूषण बढ्दै जानुका साथै पोलिसी पनि पर्यंटनमैत्री नभएको उनले औंल्याए। नीतिगत एवं कानुनी मार्गदर्शनको अभाव अरू मुलुकमा ठूलो खर्च गरी निर्माण गर्नपर्ने पूर्वाधारहरू नेपालमा प्रकृतिले निःशुल्क दिएको छ । हिमाल, सुन्दर पहाड, खोंच नदीहरू तालतलैया, भीरपाखा, जंगल लगायतले साहसिक पर्यटनको सम्भावना बढाएको छ । पर्यटन ऐन, २०३५ को दफा ४५ ‘क’ मा अन्य पर्यटन व्यवसायसम्बन्धी व्यवस्था रहेको छ । र्याफ्टिङ, ग्लाइडिङ, जङ्गल सफारी, क्याम्पिङ हाइकिङ, बर्डवाचिड, स्काइड तथा अन्य व्यवसायहरूको दर्ता, इजाजत, नवीकरण, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था पर्यटन ऐनले तोकेपनि हालसम्म पर्यटन सम्बन्धी नियमावली बन्न नसक्दा स्पष्ट नीतिगत एवम् कानुनी मार्गदर्शनको अभावमा साहसिक पर्यटन गतिविधि अपेक्षित रूपमा वृद्धि हुन नसकेको व्यवसायीहरू औंल्याउँछन् । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० ले स्किइङ, जंगल सफारी, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, प्याराग्लाईडिङ, वेलुनिङ, एम्यूज्मेन्ट पार्कलगायतका अन्य साहसिक तथा मनोरञ्जनात्मक खेल तथा क्रियाकलापहरूलाई साहसिक तथा मनोर पर्यटन व्यवसायको रूपमा परिभाषित गरी दर्ता र नवीकरण सम्बन्धी व्यवस्था गरेको छ । अल्ट्रालाइट र प्याराग्लाइडिङ आकासीय उडानसँग सम्बन्धित भएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणाने सञ्चालनको अनुमति दिएको छ । हालसम्म विभागमा दर्ता भएका साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायको संख्या ५६ पुगेको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ठुलो संख्यामा पर्यटकहरू ट्रेकिङकै लागि आउने भएपनि बोर्डले अन्य गतिविधिलाई पनि प्राथमिकताका साथ राख्दै आएको बताए । ‘अहिले पनि विश्वलाई नेपालले देखाउने भनेको ट्रेकिङ र पर्वतारोहण नै हो, तर टाग्रेट गू्रप पनि छन्, जो साहसिक गतिविधिमा हामीले प्रचार नगरेपनि आउँछन्,’ उनले भने । हिमालमा पनि धेरै पर्यटकको रोजाइ सगरमाथा नै हुने गरेको छ । त्यसले गर्दा अन्य हिमालहरु ओझेलमा पर्न गएका छन् । वरिष्ठ निर्देशक ऐरले भने, ‘अब हामीले सगमाथा मात्र होइन, कञ्चनजंगा। अपि सैपालजस्ता हिमालमा पनि पर्यटकको संख्या बढाउनु आवश्यक छ भनेर फोकस गरिरहेका छौं ।’ त्यहीअनुसार पर्यटन बोर्डले पनि आधारभूत कुराहरू विकास गरिरहेको उनले बताए । त्योसँगै मनास्लुको बेस क्याम्पमा पर्यटकको संख्या वृद्धि गर्नको लागि बोर्डले गतिविधि अगाडि बढाइरहेको छ । ‘एभरेष्ट एरियामा मान्छे नबोलाए पनि आइहाल्छ, तर हामीले मनास्लु, जुगल हिमाललगायत अन्य हिमालमा पर्यटक बढाउने काम गरिरहेका छौं,’ उनले भने । साहसिक पर्यटनमा छुट्याउनै नहुने ट्रेकिङ र पर्वतारोहण भएपनि अन्य गतिविधिलाई विविधीकरण आवश्यक रहेको उनले बताए । ‘हाम्रो पहिचान नै ट्रेकिङ र पर्वतारोहण हो, त्यसलाई छुट्याउनै भएन, त्यससँगै अन्य गतिविधिहरु जस्तै राप्टिङ, प्याराग्लाइडिङ, अल्ट्रा लाइटलगायत एक्टिभिजिटलाई पनि मार्केटिङ गर्नुपर्छ, त्यसमा हामीले सोचेका छौं,’ उनी भन्छन् । पर्यटनसम्बद्ध सूचना प्रचारप्रसार गर्ने, पर्यटकीय ठाउँमा पर्यटकलाई जोड्ने काम भइरहेको उनको भनाइ छ । एडभेञ्जर टुरिजममा बीमा अनिवार्य एभेञ्जर टुरिजमलाई रमाइलो र जोखिम दुवैको मिश्रण भएको क्षेत्रका रूपमा लिइन्छ । यो क्षेत्र प्रत्यक्ष रूपमा मानिसको जीवनसँग जोडिएको हुँदा जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार एडभेञ्जर गतिविधि सञ्चालन गर्ने कम्पनीहरूले पर्यटकको अनिवार्य बीमा गरेका हुन्छन् । आवश्यक इन्स्योरेन्स व्यवस्था नभएसम्म त्यस्ता कम्पनीहरूको नविकरणसमेत हुँदैन । विदेशी पर्यटकहरूको हकमा उनीहरुले नेपाल आउनुअघि नै आफ्नै देशबाट बिमा गरेर आउने गर्छन् । यस क्षेत्रमा लामो समयदेखि काम गरेका व्यवसायीहरूका अनुसार एडभेञ्जर टुरिजममा अन्य क्षेत्रको तुलनामा सुरक्षाको व्यवस्था सबैभन्दा कडाइका साथ लागू गरिएको हुन्छ ।
मोटर बीमा दाबीमा बीमितको चलाखी, झुटो दाबीले पुर्यायो जेल
काठमाडौं । सवारी दुर्घटनापछि बीमाबाट क्षतिपूर्ति पाइएन भन्ने धेरैजसो बीमितको गुनासो हुन्छ । कम्पनीले क्षतिपूर्तिभन्दा कम रकम भुक्तानी गर्यो भन्ने गुनासोसमेत आउने गरेका छन् । तर सवारी दुर्घटनापछि क्षतिपूर्ति पाउनुपर्ने बीमा दाबी प्रक्रियामा कतिपय बीमितले चलाखी गर्दा आफैलाई महँगो पर्ने गरेको छ । जानीजानी दुर्घटना गराएर बीमा दाबी गर्ने, गलत विवरण, पुरानो क्षतिलाई नयाँ भनेर देखाउने वा दुर्घटनाको अवस्था तोडमोड गर्ने प्रवृत्तिले गर्दा बीमितले भुक्तानी नपाउने गरेको देखिन्छ । यो प्रवृत्ति विशेषगरी मोटर बीमामा बढी हुने गरेको बीमा कम्पनीहरू बताउँछन् । भुक्तानी पाउनकै लागि बीमितले अपनाएको यो चलाखीपनले दाबी अस्वीकृत मात्रै नभएर कानुनी झमेलामा समेत पर्ने गरेको छ । चलाखी गरेर बीमा दाबी माग गर्दा पनि दाबीबापतको भुक्तानी नपाएपछि न्यायको माग राख्दै बीमित प्राधिकरणको ढोका ढकढकाउन प्राधिकरण पुग्ने गरेका छन् । प्राधिकरणले पनि बीमितको चलाखीपन थाहा पाएपछि भुक्तानी दिनुपर्ने नदेखिएको भन्दै फैसला गरिदिन्छ । घटना-१ विसं २०७८ साल पुस ९ गते एसके पोल्टी फर्मको नाममा दर्ता भएको ट्रक दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भयो । सुमन खड्काको नाममा दर्ता भएको उक्त ट्रकको बीमा तत्कालीन प्रिमियर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । दुर्घटना भइसकेपछि बीमित खड्काले क्षतिपूर्तिबापतको भुक्तानीको लागि आवश्यक कागजातसहित बीमा कम्पनीमा पेश गरे । आवश्यक कागजात र सर्भेयरको मूल्यांकनपछि बीमितले घटना घटिसकेपछि मात्रै बीमा नवीकरण गरेको पाइएकाले दाबी दिन अस्वीकार गर्यो । कम्पनीका अनुसार बीमा अवधि समाप्त भएको १ महिनापछि बीमितबाट दुर्घटनापश्चात कम्पनीको खातामा नवीकरण वापतको शुल्क जम्मा भएको पाइएको हो । कम्पनीको निर्णय चित्त नबुझेर बीमित खड्का न्यायको लागि प्राधिकरण पुग्यो । प्राधिकरणले पनि बीमितले नवीकरण नभई निष्क्रिय अवस्थामा बीमालेख दुर्घटना भएपश्चात नवीकरण गराई बीमा दाबी गरेको देखिएकोले बीमकको दायित्व नहुने भन्दै निवेदन खारेज गरिदियो । घटना-२ घटना २०७८ सालतिरको हो । बैतडीको पाटन नगरपालिकामा जीप दुर्घटना हुँदा गाडीमा सवार यात्रुमध्ये ५ जनाको घटनास्थलमै मृत्यु भयो । गाडीमा पूर्ण रूपमा क्षति पुग्यो । बीमित कृष्णसिंह भट्टले बीमाबापत्को क्षतिपूर्तिको लागि शिखर इन्स्योरेन्समा निवेदन दिए । कम्पनीले आवश्यक छानबिन र कागजात हेरेपछि मृत्यक ४ जनाको मात्रै जनही ५ लाख रुपैयाँको दरले २० लाख रुपैयाँ जम्मा गरिदियो । तर गाडीको पूर्ण क्षति र एक जना मृतकको भुक्तानी दिन मानेन । कम्पनीमा पेश गरिएका कागजातहरू सवारीसाधनको क्षमताभन्दा दोब्बर यात्री चढाइएको कारण दुर्घटना भएको देखिएकोले गाडीको हकमा बीमा दाबी दिन नमिल्ने भनी भनियो । बीमालेखको सर्त र यातायात व्यवस्था ऐन, २०४९ को दफा १०२ अनुसार दाबी दिनुपर्ने दायित्व नदेखिएको कम्पनीले दाबी गरेपछि बीमित भुक्तानी पाउनबाट वञ्चित हुन पुग्यो । बीमित सवारीसाधनको सुरक्षा सम्बन्धमा बीमितले बीमालेखको शर्त, बीमाको प्रचलित सिद्धान्तहरू तथा सवारीसाधन सम्बन्धी प्रचलित कानुनको पालना गर्नु पर्ने बीमितको कर्तव्य रहन्छ, तर सिट क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना हुन पुगेको कारण क्षतिपूर्तिवापतको रकम उनले पाएनन् । घटना-३ २०७८ साल माघ १७ गते दिउँसो २ बजेतिर चितवन, भरतपुर महानगरपालिकाको बसन्त चोकमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार मेघराज खत्रीको घटनास्थलमै मृत्यु भयो । गाडी पूर्ण रूपमा क्षति पुग्यो । मृतकको परिवारलाई क्षतिपूर्तिको लागि तत्कालीन अजोड इन्स्योरेन्समा निवेदन दिए । कम्पनीले सर्भेयर खटाएर आवश्यक छानबिन गर्दा मृतक खत्री यात्रु नभएर चालक भएको पत्ता लाग्यो । साथसाथै चालक पम्पु थारूले मादक पदार्थ सेवन गरी सवारी चालक अनुमति नभएको व्यक्ति मेघराज खत्रीलाई समेत मादक पदार्थ खुवाई ट्रक चलाउन दिएको अवस्थामा दुर्घटना भएको पत्ता लाग्यो । जिल्ला अदालत चितवनको फैसलाले पनि सोही कुराको निष्कर्ष निकाली थारूलाई २५ दिनको कैद सजाय सुनाएको थियो । मोटर बीमा निर्देशिकाअनुसार चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा दुर्घटना भएको छ भने कम्पनीले भुक्तानी दिँदैन । सोहीको आधारमा कम्पनीले भुक्तानी दिन नमिल्ने भनिएपछि उनले क्षतिपूर्ति पाएनन्। माथि प्रस्तुत मोटर बीमा दाबीसम्बन्धी घटना केही उदाहरणमात्रै हुन् । मोटर बीमाको दाबी भुक्तानीमा यस्ता घटनाहरू धेरै हुने गरेको बीमा कम्पनीहरू बताउँछन् । यस्ता केसहरू बीमितले लुकाउन खोज्ने र दाबी गर्न आउने युनाइटेड अजोड इन्स्योरेन्सका क्लेम डिपार्टमेन्ट हेड सञ्जय शमशेर ज.ब. राणाले बताए । ‘चालकले जानीजानी दुर्घटना गराएको छ भने सर्भेयरले रिर्पोटिङको क्रममा पत्ता लगाइहाल्छ, यस्तो अवस्थामा कम्पनीले भुक्तानी दिँदैन,’ उनले भने । उनका अनुसार विगतमा यस्ता घटनाहरू अलि बढी सुनिएपनि अहिले विस्तारै न्युनीकरण हुँदै गएको छ । यस्ता घटना न्युनीकरणका लागि पनि कम्पनीले निरन्तर छलफल गर्दै आएको उनको भनाइ छ । ‘हामीले दाबी भुक्तानी गर्ने भनेको सर्भेयरको रिपोर्टअनुसार नै हो । नेपालमा धेरैले बीमालाई फाइदाको रूपमा हेर्ने गर्छन्, बीमा फाइदाको लागि भन्दा सहयोग दिने हो । उसको पहिलोको जुन स्थिति हो त्यही स्थितिमा फर्काउने हो । दुर्घटना हुनुभन्दा पहिला बीमितको सम्पत्ति जेजस्तो हालतमा थियो, त्यही हालतमा पुर्याउने दायित्व हो,’ राणाले भने । उनका अनुसार कतिपय बीमितले दुर्घटनामा सवारीसाधन दुर्घटनापछि सवारी मर्मतको बिल क्षतिभन्दा बढी दाबी गरेका हुन्छन् । यस्तो अवस्थामा सर्भेयरले भ्यालुएसन गर्दा रकम घट्न सक्छ, तर बीमितले कम भुक्तानी दियो भनेर गुनासो गर्छन् । क्लेम हेड राणा भन्छन्, ‘दाबीभन्दा कम भुक्तानी हुने अवस्था भनेको सर्भेयरको रिपोर्टले नै हो । बीमितले क्षतिभन्दा बढी दाबी गरेको हुन सक्छ, सर्भेयरले भ्यालुएसनपछि रकम घट्न सक्छ । हामीले मान्ने भनेको सर्भेयरको रिपोर्ट नै हो ।’ अर्को रिपोर्टमा सर्भेयरले यति दाबी आउन सक्छ भनेर लेख्यो तर बिलमा त्यो आएन भने पनि रकम घट्न जाने उनले बताए । ‘सवारीसाधन मर्मत गर्ने बेलामा पनि यो यो पार्ट फेरेको छ, यसको यति लाग्यो भने पनि त्यसको निरीक्षण गर्दा यदि त्यो पाइएन भने पनि दाबी रकम घटेर आउँछ । दाबी जति पनि गर्न सक्छन्, सबै दाबी शतप्रतिशत सही हुँदैन । भ्यालुएनपछि तल-माथि हुन्छ,’ उनले भने । अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी यस्तो धोकाधढी रोक्नको लागि बीमा कम्पनीको विशेष भूमिका खेल्नुपर्ने बताउँछन् । साथै उनले नियामक निकायले यस सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने औंल्याए । उनले भने, ‘नीतिको प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्यो, बीमामा धोकाधढी हुनाले कम्पनीले दक्ष प्रविधियुक्त सर्भेयर खटाउनुपर्यो, रिसर्च गर्नुपर्यो,’ उनले भने । त्यस्तै, हुने आवश्यक परेको अवस्थामा नीतिमा परिमार्जन र नयाँ नीति पनि आउनुपर्ने तर्क राख्छन् । नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेका अनुसार प्राधिकरणमा आउने मोटर बीमासम्बन्धी उजुरीको सन्दर्भमा निर्णय गर्दा बीमितले दाबी पाउने कि नपाउने वा दाबी निदान गरिएको छ कि छैन भनी हेरिन्छ। कहिलेकाहीँ कुनै थप कागजात वा प्रमाण आवश्यक भएमा पेश गर्न आदेश दिइन्छ । बीमितले जालसाझी गरेको पाइएकोमा प्राधिकरणले भुक्तानी नपाउने गरी फैसला गरिन्छ । यस बाहेक बीमा ऐन २०४९ को दफा १४० अनुसार सरकारवादी हो कि फौजदारी मुद्दा हो त्यसअनुसार कारबाही अगाडि बढाउन सक्ने उनले बताए । त्यस्तो केस परेको खण्डमा प्राधिकरणले अनुसन्धानको लागि प्रहरीलाई सिफारिस गर्ने र प्रहरीले थप अनुसन्धान गरेर मुद्दा दायर गर्ने लामिछानेले सुनाए । ‘बीमितले झुटा कागजात पेश गरेर भुक्तानी लिने प्रयास गर्छन् त्यस्तो अवस्थामा अनुसन्धानको लागि भनेर प्रहरीकहाँ सिफारिस गर्छौं, प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गर्छ,’ उनले भने । लामिछानेका अनुसार बीमामा हुने यस्ता धोकाधढी, जालसाजीका घटनाहरूलाई न्युनीकरणको लागि बिमा कम्पनी र बीमितसँग समन्वय गरी प्रयास हुने गरेको छ । त्यस्तै, बीमा ऐन बमोजिम नोटिसहरू प्रकाशित हुने गरेका छन् । साथै यस्तो जालसाजी गरेको अवस्थामा कारबाही हुन्छ है भनेर सचेतना कार्यक्रम पनि अगाडि बढाउँदै आएको उनले बताए ।
सडक दुर्घटनाको भयावह तथ्यांक : ५ वर्षमा १२ हजारको मृत्यु, ३२ हजार गम्भीर घाइते
काठमाडौं । नेपालमा सडक दुर्घटना एक गम्भीर र निरन्तर बढ्दो सार्वजनिक सरोकारको विषय बनेको छ । प्रभावकारी सडक सुरक्षा, कडाइका साथ ट्राफिक नियमको कार्यान्वयन र सुरक्षित सवारी संस्कृतिको अभावका कारण दैनिक रूपमा देशका विभिन्न स्थानमा सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनाले हरेक वर्ष हजारौं नागरिकको अकालमै ज्यान लिइरहेको छ भने सामाजिक र आर्थिक क्षति पनि बढ्दो क्रममा छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकले पछिल्ला पाँच आर्थिक वर्षमा सडक दुर्घटनाबाट भएको मानवीय क्षतिको भयावह अवस्था उजागर गरेको छ । तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा देशभर सडक दुर्घटनामा परी १२ हजार ६७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ मा सडक दुर्घटनामा परी सबैभन्दा धेरैको मृत्यु भएको तथ्यांकले देखाउँछ । उक्त आवमा ३९ हजार ३७९ वटा सवारीसाधन दुर्घटनामा पर्दा २ हजार ५८३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो आर्थिक वर्षहरूमा सवारीसाधन दुर्घटना संख्या बढ्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा १ लाख ८८ हजार ४७६ वटा सवारी दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा ३३ हजार १३५ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा २५ सयले ज्यान गुमाएका छन् । आव २०७९/८० मा सडकमा दुर्घटना हुने सवारीको संख्यामा केही कमी आएको देखिन्छ । उक्त आवमा ३७ हजार ३९२ वटा सवारी दुर्घटना भएको छ । सो आवमा दुर्घटनामा परी २ हजार ३७६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, आव २०८०/८१ मा २ हजार ३६९ जनाले ज्यान गुमाएका थिए । आव २०८१/८२ मा आइपुग्दा सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ हजार ५४९ पुगेको छ । घाइते हुनेको संख्या झनै विकराल पछिल्ला वर्षहरूमा सडक दुर्घटनामा मानवीय क्षतिसँगै गम्भीर घाइते र साधारण घाइते हुनेको संख्या झन् विकराल हुँदै गएको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटनामा परी ५ वर्षमा ३२ हजार ६०४ जना गम्भीर र १ लाख ३२ हजार ८९ जना साधारण घाइते भएका छन् । आव २०७७/७८ मा ६ हजार ४४८ जना मानिस गम्भीर घाइते र १८ हजार ६ सय जना साधारण घाइते भएका छन् । आव २०७८/७९ मा दुर्घटनाबाट गम्भीर घाइते हुनेको संख्या वृद्धि भएर ७ हजार २८२ र साधारण घाइते २५ हजार ७२२ जना पुगेको छ । आव २०७९/८० मा घाइते हुने मानिसको संख्यामा केही कमी आएको देखिन्छ । तथ्यांकअनुसार उक्त आवमा ५ हजार ७३८ जना गम्भीर घाइते र २४ हजार ४८८ सामान्य घाइते भएका थिए । आव २०८०/८१ मा आइपुग्दा दुर्घटनामा परी घाइते हुनेको संख्या बढ्न गएको छ । सो आवमा ६ हजार १६० गम्भीर घाइते र २५ हजार ९९६ साधारण घाइते भएका छन् । आव २०८१/८२ मा सडक दुर्घटनामा परी ६ हजार ९७६ गम्भीर घाइते र ४३ हजार १६५ जना साधारण घाइते भएको प्रहरीको तथ्यांक छ । मृत्यु हुनेमा पुरुष धेरै सवारी दुर्घटनामा परी नेपालमा सबैभन्दा धेरै पुरुषले ज्यान गुमाउने गरेका छन् । तथ्यांकअनुसार पाँच आवमा ९ हजार ७४१ पुरुषले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार आव २०७७/७८ मा १ हजार ९६३, आव २०७८/७९ मा २ हजार २११, आव २०७९/८० मा १ हजार ७७९, आव २०८०/८१ मा १ हजार ७९० र आव २०८१/८२ मा १ हजार ९९८ जना पुरुषको दुर्घटनामा परी मृत्यु भएको छ । पाँच आवमा सडक दुर्घटनामा परी २ हजार ४० जना महिलाको ज्यान गएको छ । प्रहरीको तथ्यांकअनुसार आव २०७७/७८ मा ३४७, आव २०७८/७९ मा ४५०, २०७९/८० मा ४ सय, आव २०८०/८१ मा ४१२ र आव २०८१/८२ मा ४३१ जना महिलाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । तथ्यांकअनुसार पाँच आवमा ६३३ जना बालक र ३४३ बालिकाको मृत्यु भएको छ । दुई पांग्रे सवारी धेरै दुर्घटनामा नेपालमा सवारीसाधनको संख्याका हिसाबले दुई पांग्रे सवारी साधन (मोटरसाइकल) दुर्घटनाको संख्या धेरै रहेको छ । तथ्यांकअनुसार पाँच वर्षमा देशभर १ लाख १ हजार ६९८ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । तथ्यांक केलाउँदा हरेक वर्ष मोटरसाइल दुर्घटना बढ्दो क्रममा रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०८१/८२ मा २५ हजार १४२ वटा मोटरसाइल दुर्घटनामा परेका छन् । जबकि आव २०७७/७८ मा १७ हजार ८७ वटा मोटरसाइल दुर्घटनामा परेका थिए । आव २०७८/७९ मा १९ हजार ९७४, आव २०७९/८० मा १९ हजार ५११ र आव २०८०/८१ मा १८ हजार ९८४ वटा मोटरसाइल दुर्घटनामा परेका छन् । नेपालमा मोटरसाइकलपछि सबैभन्दा धेरै दुर्घटना हुने सवारीमा जीप÷कार रहेका छन् । तथ्यांकअनुसार पछिल्लो पाँच आवमा ३८ हजार ४४७ वटा जीप/कार दुर्घटनामा परेका छन् । जसमध्ये सबैभन्दा धेरै दुर्घटना आव २०७८/७९ मा ८ हजार ९७५ वटा दुर्घटना भएका छन् । तथ्यांकअनुसार आव २०७७/७८ मा ७ हजार ५५९, आव २०७९/८० मा ८ हजार ४३२, आव २०८०/८१ मा ६ हजार ८३७ र आव २०८१/८२ मा ६ हजार ६४४ जीप/कार दुर्घटनामा परेको तथ्यांक छ । दुर्घटनाको मुख्य कारण नै चालकको लापरवाही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदी चालकको लापरवाही र ओभर स्पीडको कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । सुवेदीका अनुसार दुर्घटनामा यान्त्रिक गडबडी र सडकको अवस्थाले पनि दुर्घटना हुने गरेका छन् । त्यस्तै सवारी चलाउँदा मोबाइल फोनको प्रयोग, म्युजिक बजाएर सवारी चलाउँदा पनि दुर्घटना हुने गरेको उनको भनाइ छ । सडकमा हुने दुर्घटना न्युनीकरणको लागि प्रहरीले बेला–बेला सचेतनाका कार्यक्रमहरु गर्दै आएको सुवेदीले सुनाए । ‘धेरैजसो दुर्घटना चालकको लापरवाहीले हुने गरेको छ, दुर्घटना न्युनीकरणको लागि हाम्रो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएका छौं,’ उनले भने, सामुदायिक–प्रहरी साझेदारीमा पनि जनचेतानमामूलक कार्यक्रमहरू हुँदै आइरहेको छ ।’ यातायात विज्ञ आशीष गजुरेल नेपालमा सडक दुर्घटना बढ्नुको मुख्य कारण कमजोर सडक पूर्वाधार, प्रविधिमैत्री व्यवस्थाको अभाव र न्यून सडक अनुशासन रहेको बताउँछन् । उनका अनुसार नेपालको सडक पूर्वाधार विगतको तुलनामा केही सुधार भएको भए पनि सुरक्षित सडक सञ्जाल निर्माण हुन सकेका छैन । उनले हाल देशभर करिब १ लाख किलोमिटर सडक सञ्जाल रहेकोमा तीमध्ये २५ हजार किलोमिटर सडक मात्रै सडक विभागले इन्जिनियरिङ डिजाइनअनुसार निर्माण गरेको बताए । बाँकी ७४ हजार किलोमिटर सडक स्थानीय तहहरूले बनाएका हुन् । सुरक्षित सडक निर्माण गर्न ठूलो लगानी आवश्यक पर्ने र त्यसलाई जुटाउन समस्या रहेको गजुरेलको भनाइ छ । गजुरेलका अनुसार सीमित स्रोत र लगानीको अभावका कारण ती सडकहरूलाई छिटो सुरक्षित बनाउने अवस्था छैन । ‘पहिले हामीले सुरक्षित सडकभन्दा पनि जतिसक्दो धेरै सडक निर्माण गर्ने सोचमा काम गर्यौं,’ उनले भने, ‘त्यसको असर अहिले दुर्घटनाको रूपमा देखिएको छ ।’ दुर्घटना न्यूनीकरणका लागि उनले सडक पूर्वाधार क्रमशः सुधार गर्दै लैजानुका साथै सवारी साधनको अवस्था ठीक राख्न र सडक अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन् । ‘पूर्वाधार, सवारीको कन्डिसन र चालकको व्यवहार यी तीनवटै पक्षमा सुधार नभएसम्म दुर्घटना नियन्त्रण कठिन हुन्छ,’ गजुरेलको भनाइ छ ।
लयमा फर्कियो कार्पेट व्यापार, ६० बढी मुलुकमा निर्यात
काठमाडौं । नेपालको कार्पेट निर्यात पछिल्ला चार/पाँच वर्षयता पुनः लयमा फर्किन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कार्पेटको माग बढ्नुका साथै उत्पादनमा भएको सुधारका कारण निर्यात बढेको तथ्यांकले देखाएको छ । कार्पेट निर्यातको इतिहास हेर्दा दुई दशकअघि देशकै सबैभन्दा ठूलो निर्यात हुने वस्तुमा कार्पेट गनिन्थ्यो । ९० को दशतिर उच्च विन्दुमा निर्यात हुँदै आएको कार्पेट त्यसपछि भने खस्किन थाल्यो । सन् १९६० को दशकमा तिब्बती शरणार्थीहरूको आगमनपछि नेपालमा कार्पेट निर्यात सुरु भएको हो । हाल ६० भन्दा बढी मुलुकहरूमा कार्पेट निर्यात हुँदै आएको छ । सन् १९७७ तिर विश्व बजारमा कार्पेट निर्यात गर्ने देश मोरक्कोको अर्थतन्त्र धराशायी हुन थालेसँगै नेपाली कार्पेट विश्व बजार पुग्ने अवसर प्राप्त भयो । १९९० को दशकमा आएर नेपाली कार्पेट उद्योग फस्टाउँदै गयो र विश्व बजारमा माग समेत उच्च हुँदै गयो । कार्पेट व्यवसायीहरूका अनुसार आर्थिक वर्ष २०५२/५३ मा आइपुग्दा कार्पेट निर्यात उच्च विन्दुमा पुगेको थियो । उक्त वर्ष कार्पेट निर्यात ३३ लाख २५ हजार वर्गमिटर पुगेको थियो । ९० को दशकपछि विस्तारै धराशायी बन्दै गएको कार्पेट निर्यात आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा घटेर २ लाख वर्गमिटरको हाराहारीमा झर्यो । त्यो समय विश्वभर फैलिएको कोभिड महामारीको कारणले पनि निर्यात खस्किएको व्यवसायहरू बताउँछन् । एक दशकअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८ करोड ४६ लाख रुपैयाँ बराबरको २ लाख ८९ हजार वर्गमिटर कार्पेट निर्यात भएको देखिन्छ । त्यसको पछिल्लो वर्ष अर्थात विंस २०७३/७४ मा कार्पेटको परिमाण बढेको छ भने रकम घटेको छ । उक्त आवमा नेपालबाट ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको ५ लाख २२ हजार वर्गमिटर कार्पेट निर्यात भएको छ । आव २०७४/७५ मा कार्पेट निर्यातको परिमाण र रकम दुवै घटेको तथ्यांकले देखाउँछ । उक्त वर्ष ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ लाख ४४ हजार वर्गमिटर कार्पेट निर्यात भएको थियो । आव २०७२/७३ यता घट्ने बढ्ने भइरहेको कार्पेट निर्यात आव ०७७/७८ पछि उकालो लागेको देखिन्छ । तथ्यांकअनुसार आव आव २०७७/७८ मा ४ लाख ४० हजार वर्गमिटर, आव २०७८/७९ मा ४ लाख ९५ हजार वर्गमिटर, आव २०७९/८० मा २६ लाख ७२ हजार वर्गमिटर कार्पेट निर्यात भएको छ । अमेरिकामा धेरै निर्यात नेपालबाट सबैभन्दा धेरै कार्पेट अमेरिका निर्यात हुँदै आएको छ । चालु आव २०८२/८३ को चार महिनामा नेपालबाट विभिन्न मुलुकमा ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको ८ लाख ५९ हजार वर्गमिटर कार्पेट निर्यात भएको छ । जसमध्ये अमेरिकामा मात्रै २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ बराबरको ६१ हजार ८५५ वर्गमिटर कार्पेट निर्यात भएको छ । नेपाली कार्पेट अमरिकासँगै युरोप, अस्ट्रेलिया, हङकङ, भारत, चीन, कतार, थाइल्याण्ड, जापान, कोरियालगायत ६० भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ । सुविधा कटौतीसँगै निर्यातमा चुनौती नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ पछिल्लो समय अमेरिकाले ट्यारिफ घटाउँदा निर्यात बढाउन मद्दत पुगेको बताउँछन् । ‘भारत, पाकिस्तान, अफगानिस्तानमा भन्दा हाम्रोमा ट्यारिफ कम हुँदा हामीलाई फाइदाजनक भयो, जसले गर्दा निर्यातले थोरै लय समातेको हो,’ उनले भने । कार्पेट निर्यात लयमा फर्किन लागेको भएपनि सँगसँगै चुनौतीहरू पनि थपिएकोले निरन्तरता नपाउने हो कि भन्नेमा उनले चिन्ता व्यक्त गरे । उनका अनुसार गत भदौमा भएको जेनजी आन्दोलनले निर्यातमा प्रभाव पारेको छ। जेनजी आन्दोलनपछि निर्यात हुँदै आएका मुलुकहरू डराएकाले निर्यात घट्न सक्ने संकेत देखिएको उनको भनाइ छ । त्यस्तै, नेपाल सन् २०२६ को नोभेम्बरमा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । यसले गर्दा पनि निर्यातमा चुनौती थपिएको गुरुङले बताए । गत दुई वर्षदेखि सरकारले गलैँचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई खारेज गरेको छ । उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा ५० प्रतिशत कर छुट सुविधालाई समेत कटौती गरेको छ । सरकारले गलैँचा उद्योगलाई प्रोत्साहनस्वरुप दिँदै आएको भ्याट छुट र आयकर छुट कटौती हुँदा उत्पादनको लागत बढेको र निर्यातमा चुनौती थपेको व्यवसायीहरू बताउँछन् । अध्यक्ष गुरुङले भने, ‘सरकारले प्रोत्साहनस्वरूप दिँदै आएको अनुदानदेखि लिएर सबै सुविधा कटौती गर्दिएको छ । हामी त्यसै महँगौं छौं, अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । सुविधाजति सबै कटौती गरेर निर्यात बढाउ भनेर हुन्छ ।’ त्यस्तै, उनले नेपालको लजिस्टिक पनि महँगो हुँदा निर्यात बढाउन चुनौती रहेको बताए । व्यवसायीहरूका अनुसार कार्पेट लगायत अन्य वस्तुहरूको निर्यात बढाउनको लागि सरकारले निर्यातमा सहुलियत, अनुदानदेखि लिएर सबै कुरा सहज र सरल बनाइनुपर्छ । कार्पेटमा प्रयोग हुने ऊन, अल्लोजस्ता कच्चा पदार्थ विदेशबाट ठूलो परिमाणमा आयात हुँदै आएको छ । व्यवसायीहरू भने स्वदेशी कच्चा पदार्थ नै प्रयोग गर्न तत्पर रहेको त्यसको लागि सरकारले सहजीकरण गर्नुपर्ने उनीहरूको तर्क छ । ‘हामीले मुस्ताङको कच्चा पदार्थ प्रयोग गरिरहेका छौं, सुदुरपश्चिम सरकारले पनि स्वदेशकै कच्चा पदार्थ प्रयोग गर्नको लागि एप्रोच गरिरहनुभएको छ,’ गुरुङ भन्छन् । यसबाहेक निर्यात बढाउनको लागि व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्डिङ सुरु गर्नुपर्ने उनको तर्क छ ।
१५ वर्ष पुरानो कानुनले रोकेको औद्योगिक विकास
काठमाडौं । औद्योगिक व्यापार नीति, कानुन तथा गभर्नेन्समा स्पष्टता नहुँदा नेपालको औद्योगिक विकासमा चुनौती बढ्दै गएको छ । २०६७ सालमा जारी भएको औद्योगिक नीति १५ वर्ष पुरानो भइसक्दा पनि पुनरावलोकन हुन सकेको छैन । इम्पोर्ट–एक्सपोर्ट म्यानेजमेन्ट ऐन, २०१३ सालमा आएको थियो । जुन ७० वर्ष पुरानो हो । यसैगरी, आइपीआर कानुन २२ साल पुरानो भइसकेको छ । यस्ता पुराना कानुन र नीति आधुनिक व्यापार र उद्योगको मागअनुसार नभएको उद्योगी व्यवसायीलगायत विभिन्न स्टेकहोल्डहरूले आवाज उठाउँदै आएपनि त्यसतर्फ सरकारले ठोस कदम चाल्न सकेको छैन । विभिन्न स्टेकहोल्डरहरूका अनुसार संसारभर केन्द्रीय नीतिहरू दुई/तीन वर्षमा समीक्षा गरिन्छ । नेपालले पनि नीति, रणनीति र कानुन नियमित अद्यावधिक नगरे उद्योग र व्यापारको गति प्रभावित हुने उनीहरूको तर्क छ । कुनै समय कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा १५ प्रतिशतसम्म योगदान गरेको उद्योग क्षेत्र पछिल्लो समय घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ । उत्पादन क्षेत्रले केही सकारात्मक गति लिए पनि निजी लगानी, ऊर्जा–ढुवानी, कच्चा पदार्थ, वित्तीय पहुँच र सीप अभावजस्ता संरचनागत बाधाहरूका कारण उद्योगले ठूलो उचाइ लिन नसकेको उद्योगीहरू बताउँछन् । विभिन्न बाधा र व्यवधानका बाबजुत पनि उद्योग विकासका लाग नीतिगत रूपमै सुधार गरेर अघि बढ्नसके नेपालले उद्योग विकासमा छलाङ मार्नसक्ने सरोकारवालाहरूको तर्क छ । नीतिगत स्थिरता र संस्थागत विकास अनिवार्य नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष स्वागतराज प्याकुरेल जीडीपीमा औद्योगिक क्षेत्रको योगदान बढाउन मुख्य कुरा नीतिगत स्थिरता र संस्थागत विकास अनिवार्य हुनुपर्ने बताउँछन् । आधुनिक कानुनी संरचनाहरू निर्माण हुँदै जानुपर्ने र लागू हुनुपर्ने उनले बताए । ‘कानुन निर्माणसँगै त्यसलाई लागू गर्ने भनेको प्रशासनले हो, लागू गर्ने ठाउँमा पनि इमान्दारिता र पारदर्शिता हुनपर्यो,’ उनी भन्छन् । विकसित मुलुकहरूमा कानुन सकेसम्म थोरै हुन्छ । संविधान नै नचाहिने देशसमेत विश्वमा छन् । त्यहाँका नागरिकहरूको बुझाइ कानुनमा नगर भनेको बाहेक पनि नागरिकको अधिकारलाई हनन नपुग्नेगरी सबै कुरा गर्न पाइन्छ भन्ने छ, तर हाम्रोमा कानुनमा लेखिएको मात्रै गर्न पाइन्छ, अरू पाइँदैन भनेर व्याख्या गरिन्छ । जसको कारण नेपालमा उद्यमशीलता विकास हुन नसेको र इनोभेटिभ आइडियाहरू राम्रोसँग कार्यान्वयन हुन नसकेकको उपाध्यक्ष प्याकुरेल तर्क गर्छन् । अहिले उद्योग क्षेत्र आर्थिक सञ्चालनमा केही न केही हिसाबले अगाडि बढ्दैछ । उपाध्यक्ष प्याकुरेल नीतिगत हस्तक्षेप गर्न सक्ने खालको बोर्ड गठन हुनुपर्ने बताउँछन् । स्थिरताको लागि पनि यस्तो खालको बोर्ड आवश्यक औल्याउँछन् उपाध्यक्ष प्याकुरेल । यस्तो खालको बोर्ड स्थापना हुँदा सरकार परिवर्तन भएपनि कुनै असर नहुने उनले बताए । उनी भन्छन्, ‘औद्योगीकरण गरेर प्रतिस्पर्धात्मक हुने गरी उद्योगलाई प्रवर्द्धन कसरी गर्ने, भविष्यमा योभन्दा माथि उठेर के गर्न सक्छौं भनेर लगानी बढाउनुपर्छ । प्रारम्भिक सफलता हासिल पछि थप अगाडि बढाऔं, औद्योगीकरणतर्फ जाऔं ।’ नेपालमा बिनाअध्ययन यो ठीक छ र यो छैन भन्ने प्रवृत्ति रहेको तर कुनै पनि अध्ययन नहुने गरेकोमा त्यसतर्फ पनि सुधार गर्नुपर्ने उपाध्यक्ष प्याकुरेलले औंल्याएका छन् । ‘हाम्रो देश चिया/कफीमा राम्रो छ भनिरहेछौं, जुन जनताले गरेको बजारीकरणले हो । हामीकहाँ त्यस्तो कुनै एक्सिलेन्स सेन्टर छैन, अध्ययन छैन,’ उनले थप प्रष्ट्याउँदै भने । उनका अनुसार स्थिरता, औद्योगीकरण र विविधिकरण गरी तीन चरणलाई पार गर्न सकेको खण्डमा उद्योगको विकास हुन सक्छ । नीति, कानुन र गभर्नेन्समा स्पष्टता आवश्यक नेपालको संविधानकै कुरा गर्ने हो भने ७० वर्षमा सातवटा संविधान बनिसकेको छ तैपनि संविधानमा समावेश समाजवाद, मिश्रित अर्थतन्त्र र लिबरल अर्थतन्त्रको स्पष्ट कार्यान्वयन नहुँदा सरकार नै अलमलमा परेको नेपाल सरकारका पूर्वसचिव तोयनारायण ज्ञवाली बताउँछन् । ‘अहिलेकै संविधान हेर्नुभयो भने त्यहाँ समाजवाद पनि छ, मिश्रित अर्थतन्त्र पनि छ, लिबरल सबै छ । सचिवहरूलाई गार्हो छ, कुन वादमा टेकेर बजेट बनाउने भनेर,’ उनले भने, ‘हामी समाजवादी भनेर पढेको पढ्यै छौं, संविधानअनुरूप भनेका छौं, तैपनि स्पष्ट नभएर सरकार अलमलिन्छ ।’ सरकारले समाजवादतर्फ जाने कि लिबरल आर्थिक मोडेलतर्फ जाने भन्ने स्पष्ट निर्णय लिनुपर्ने उनको धारणा छ । उनका अनुसार अफ्रिकालगायत केही देश गरिब हुनुको पछाडि स्रोतको अभावको कारण नभई कमजोर गभर्नेन्सले झेल्नुपरेको उदाहरण दिँदै उनले नेपालको गभर्नेन्स नसच्चिकन नहुने तर्क राखे । पूर्वसचिव ज्ञवालीले औद्योगिक नीति र पुराना कानुनबारे चिन्ता व्यक्त गर्दै भने, ‘२०७२ मा नेपालको संविधान जारी भयो तर हामी २०६७ कै औद्योगिक नीति लिएर बसेका छौं, १५ वर्ष पुरानो औद्योगिक नीतिले देश चल्दैन’ । त्यसबाहेक इम्पोर्ट–एक्सपोर्ट म्यानेजमेन्ट ऐन, आइपीआर कानुन पनि पुनरावलोकन हुन सकेको छैन । पूर्वसचिव ज्ञवाली पुराना कानुन र नीतिले अहिलेको आधुनिक व्यापार र उद्योगको माग पूरा गर्न नसक्ने सुनाउँछन् । त्यस्तै, उनले संसारभर नै केन्द्रीय नीतिहरू दुई/तीन वर्षमा समीक्षा गरिने अभ्यास भएकोले नेपालले पनि नीति, रणनीति र कानुन नियमित अद्यावधिक नगरे उद्योगको गतिविधि प्रभाविति हुने बताए । उनका अनुसार अब हाम्रा डाइनामिक पोलिसीहरू ट्रेड इन्डस्ट्री, एग्रिकल्चर, टुरिजम नीतिहरू दुई/दुई वर्षमा रिभ्यु गर्नुपर्छ । सरकारले वाणिज्य नीति नयाँ ल्याएपनि रणनीति र कार्ययोजना भने पुरानै छ । त्यसलाई पनि सल्ट्याउर्ने धारणा पूर्वसचिव ज्ञवालीको छ । ‘पहिला नीति, रणनीति अनि कार्ययोजना बनाउनुपर्यो । यस्ता कुरालाई सरकारले नसच्याउने हो भने उद्योगको विकास गर्न सकिँदैन,’ उनी भन्छन् । उपसचिव ज्ञवालीले औद्योगिक क्षेत्रको विकासको लागि तत्काल सरकारले स्रोत खोजेर भएपनि काम अगाडि बढाउनुपर्ने औंल्याउँछन् । सरकारले त्यसो गर्न नसके उद्योग अघि बढ्न नसक्ने उनको तर्क छ । उनका अनुसार अहिले नेपालको २० प्रतिशत गरिबी छ भने ११ प्रतिशत बेरोजगारी । ज्ञवालीले तत्काल सुधारका रूपमा नीति, रणनीति र कार्ययोजना अद्यावधिक गर्न, पूर्वाधार निर्माणमा लगानी गर्न र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारलाई सुझाव दिएका छन् । के गर्दैछ सरकार ? वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार सरकारले नयाँ औद्योगिक नीति बनाउँदैछ । २०७२ को संविधानपछि बदलिएको भूमिकाअनुसार संघ, प्रदेश र स्थानीय तहका दायित्व स्पष्ट हुनेगरी नयाँ औद्योगिक नीति अन्तिम चरणमा पुगेको उनको भनाइ छ । गत वर्ष सातै प्रदेशमा परामर्श सकिएको र हाल उद्योग–व्यापारसँग सम्बन्धित छाता संगठनबाट लिखित राय संकलन भइरहेको सचिव राउतले बताए । त्यस्तै, औद्योगिक विकास रणनीति पनि सँगसँगै अगाडि बढाएको उनले जानकारी दिए । उनले भने, ‘इन्डस्ट्रियल डेभलपमेन्ट स्ट्राटेजी सँगसँगै हामी लाँदै छौं, गतवर्ष सातै प्रदेशमा परामर्श लिने काम सक्यौं, अहिले अन्तिम चरणमा छाता संगठनहरूको लिखित राय लिने अवस्थामा पुगेका छौं ।’ यो बीचमा सरकारले स्टार्टअप पोलिसी र एमएसएमई नीति ल्याइसकेको छ । नेपालमा ठूला उद्योगहरूको संख्या एकदम कम छ । यो नीतिले बढी रोजगारी दिने र उत्पादन पनि बढी नै हुने सचिव राउत बताउँछन् । उनका अनुसार अहिले लगभग २७ लाख जति रोजगारी एमएसएमईको छ । सविव राउतले नेपालमा सर्टिफिकेसनको कारणले निर्यातमा अवरोध हुँदै आएको जानकारी दिए । सरकारले एक्रिडिटेशन एने २०४९ ल्याइसकेको अवस्थामा त्यसअनुसार प्रत्यायन केन्द्र स्थापना गरिसकेको र यसको नियमावली क्याबिनेटमा रहेको उनले बताए । ‘नियमावली आएपछि कर्मचारी व्यवस्था र ल्याब क्यापासिटी विस्तार हुनेछ, अन्तर्राष्ट्रिय स्तरमा सर्टिफिकेट मान्यता पाउन थालेपछि निर्यात सहज बन्छ,’ उनले भने । हाल नेपालमा आउने करिब ५ हजार ९ सय वस्तु एचएस कोडबाट आउँछ, जसमध्ये ११ सय ४८ वस्तुमा मात्र गुणस्तर निर्धारण भएको र १७ वटा वस्तुमा मात्र एनएस (नेपाल स्ट्यान्डर्ड) अनिवार्य गरेको छ । नेपाल र भारतबीच बाइलेटरल कोअपरेशन एग्रिमेन्ट २०१७ मा सम्झौता भएपनि निष्क्रिय रहदै आएकोमा अहिले ५१ वस्तुको सूची भारतलाई पठाइएकाले प्रक्रिया अघि बढेको सचिव राउतले जानकारी दिए । ‘म्युचुअल रिकग्निसन भएको दिनदेखि हाम्रो सर्टिफिकेट मान्य भई निर्यात रोकिने समस्या हट्नेछ,’ उनले भने । खाद्य, औषधि, प्लान्ट र एनिमल क्वारेन्टिन ल्याब विस्तारमा पनि सरकारले प्राथमिकता दिएको उनले बताए । एसपीएस, हाइजिन र स्वास्थ्यसम्बन्धी वस्तुको परीक्षण क्षमता कमजोर भएकाले क्वारेन्टिन तथा औषधि परीक्षण ल्याबलाई एक्रेडिटेशनसहित आधुनिक बनाउने सरकारको योजना रहेको उनको भनाइ छ । सचिव राउतका अनुसार सरकारले औषधि, खाद्य तथा अन्य उत्पादनमा आधारित उद्योगलाई प्रवद्र्धन गर्ने तयारी गरेको छ । त्यस्तै, ‘मेड इन नेपाल’ स्लोगनलाई ‘मेक इन इन्डिया’ जस्तै ठूलो अभियान बनाउने गरी छलफल भइरहेको उल्लेख गर्दै सचिव राउतले भने, ‘लगानी, क्षमता, उत्पादन विविधिकरण र मल्टिप्लायर–इफेक्ट सुनिश्चित गर्दै मेड इन नेपाललाई नेक्स्ट स्टेजमा लैजाने योजना छ ।’ नेपालमा प्रशस्त स्रोतहरू भएको तर उपयोग नभएको उनको तर्क छ । पर्याप्त स्रोतहरू हुँदाहुँदै कानुनी अर्चनमा अल्झिएको र त्यसलाई समाधान गरेर अगाडि बढ्न सके नेपालको उद्योग क्षेत्रले छिट्टै छलाङ मार्न सक्ने उनको बुझाइ छ । खनिज पदार्थ ऐन पुरानो भइसकेको हुँदा नयाँको लागि कानुन मन्त्रालय पुर्याउने तयारी रहेको र अरू निकायसँग पनि समन्वय गरर अन्तिम चरणमा क्याविनेट पठाउने तयारी रहेको उनले बताए । उद्योगहरू मजबुत नभएसम्म त्यसले राम्रो डेलिभर गर्न नसक्ने र पुरानो उद्योगहरू पनि चलाइरहनुपर्छ भन्दा पनि नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने सचिव राउतको सुझाव छ । ‘प्रविधिको युगमा रचनात्मक ढंगबाट अगाडि बढ्नुपर्ने पुरानै सोचमा अल्झिन भएन,’ सचिव राउत भन्छन्, ‘प्रविधिले गर्दा अब हामी भूपरिवेष्ठित भयौं र गर्न सकेनौं भन्ने अवस्था हटिसकेको छ । हामीसँग क्लिन इनर्जी भएको हुँदा अब इन्टरनेट बेसमा डेटा सेन्टर बनाउन सक्छौं, एआई आइसकेको अवस्थामा उद्योगको स्वरूपमा परिवर्तन गर्नुपर्छ, रचनात्मक तरिकाले सोचेर अगाडि बढ्नुपर्छ ।’
काठमाडौं बाहिर ठडिँदैछन् एकपछि अर्को तारे होटल, ठूला व्यवसायी धमाधम मोफसलमा
काठमाडौं । काठमाडौ उपत्यकामा केन्द्रित होटल व्यवसाय अब क्रमशः राजधानी बाहिर विस्तार हुँदै गएको छ । पछिल्लो समय उपत्यका बाहिरका प्रदेश र जिल्लाहरूमा पर्यटनको विकास र विस्तार तीव्र रूपमा वृद्धि हुँदै गएसँगै व्यवसायीहरूले पनि आफ्नो परियोजना त्यतैतिर मोड्न थालेका हुन् । विदेशी तथा आन्तरिक पर्यटकहरूको रोजाइ राजधानी बाहिरका पर्यटकीय क्षेत्रहरू बन्दै गएका छन् । राजधानी बाहिर पर्यटकको संख्या बढ्दै गएसँगै स्तरीय होटलहरूको माग बढ्दै गएको छ । त्यसलाई मध्येनजर गरेर व्यवसायीहरूले राजधानी बाहिरका विभिन्न पर्यटकीय क्षेत्रहरूमा लगानी बढाएका छन् । पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर २८ वटा पाँच तारे होटल दर्ता भएर सञ्चालनमा छन् । नयाँ बनेका होटल दर्ता हुनै बाँकी छ भने केही दर्ताको प्रक्रियामा रहेको विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताए । उनका अनुसार दर्ता नभईकन पनि केही तारे होटलहरू सञ्चालन भइरहेका छन् । विभागमा दर्ता हुन आएका २८ तारे होटलमध्ये एक दर्जनजति होटल उपत्यका बाहिर खोलिएका होटलहरू हुन् । राजेन्द्र बजगाईंको टाइगर प्यालेस रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा पाँच तारे होटल टाइगर प्यालेस सञ्चालनमा छ । पाँच अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटलमा अस्ट्रेलियाका कम्पनी हेरिटेज इन्भेष्टमेन्टको लगानी रहेको छ । हेरिटेजका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईं हुन् । रिर्सोटमा चार सय कोठा, दुईवटा भिल्ला छन् । होटलमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फर्नलगायत आकर्षणहरू पनि रहेका छन् । फैलिँदैछ सिद्धार्थ हस्पिटालिटी सिद्धार्थ बिजनेस ग्रु्प अफ हस्पिटालिटीले रुपन्देहीको भैरहवामा सिद्धार्थ इन्टरनेशल होटल सञ्चालनमा ल्याएको छ । सिद्धाथए हस्पिटालिटीले कैलालीको धनगढीमा पनि तारे होटल सञ्चालनमा ल्याएको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, टिकापुर, चितवन, बिर्तामोड लगायत ठाउँमा होटल विस्तार गरिसकेको छ । २५ वर्षअघि सुदूरपश्चिमको कैलाली, टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पाँच तारे होटल सञ्चालनमा ल्याएको हो । हस्पिटालिटीका अध्यक्ष हुन् चिन्तामणि (लक्ष्मण) न्यौपाने । भैरहवाको सिद्धार्थ इन्टरनेशनल होटलमा साढे २ अर्ब रुपैयाँ लगानी रहेको छ । ४ विघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेण्ट तथा स्वीमिङ पुल, फिटनेस, जीम, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुममा क्यासिनो सञ्चालन सुविधा होटल सञ्चालनमा आउँदा ३ सय भन्दा बढीले रोजगारी पाएका छन् । होटल द किग्सवरी झापामा सञ्चालनाम आइसकेको होटल हो दि किग्सवरी । यसको सञ्चालक प्रकाश गोतामे हुन् । २ अर्ब रुपैयाँ लागतमा सञ्चालनमा आएको हो । उक्त होटलमा सय वटा बेड र ८२ वटा कोठाहरू रहेका छन् । मेची क्राउन झापाको धुलाबारीमा अर्को पाँच तारे होटल मेची क्राउन सञ्चालनमा छ । कोरोना संक्रमणकै बीचमा सञ्चालनमा आएको उक्त होटलमा हेलिकप्टर व्यवसायमा रहेका पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरिगोल्ड ज्वेलरीका सञ्चालक सुरेशमान श्रेष्ठ र क्षमादेवी बिल्डर्स ग्रुपको लगानी रहेको छ । ८ बिघामा निर्माण भएको होटलमा डेढ अर्ब रुपैयाँ लगानी रहेको छ । यो होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटर दुरीमा छ । होटलमा १०५ वटा कोठा छ, पाँच वटा मेची स्वीट्स १० वटा एक्जुकेटिभ भिल्ला, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको छ । होटल रोयल क्रियसन नेपाल झापामै सञ्चालनमा रहेको अर्को पाँच तारे होटल हो होटल रोयल क्रिएसन । १ अर्ब लगानीमा निर्माण भएको होटल झापाको तेस्रो पाँच तारे होटल हो । भारतीय पर्यटकलाई लक्षित गरेर बनाईएको उक्त होटल नेपाल–भारत सीमानाबाट ९ किलोमिटर दुरीमा अवस्थित छ । होटलमा १५८ कोठा र ३ सय शैया रहेका छन् । होटलका लगानीकर्ता प्रदीप मित्तल हुन् । अश्वत्थ पाँच तारे होटलको हबको रुपमा चिनिने झापामा एकपछि अर्को होटलहरू सञ्चालनमा आउने क्रममा छन् । पछिल्लो पटक सञ्चालनमा आएको पाँच तारे होटल हो ‘अश्वत्थ’ । काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इँटाभट्टामा पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेको लगानी रहेको यस होटलको लागत एक अर्ब ३० करोड रुपैयाँ रहेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा छन् । मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ । पोखरामा पाँच तारे होटल पर्यटकीय नगरीको रुपमा परिचित सुन्दर ठाउँ पोखरामा पनि तारेसहित अन्य ठूला र सुविधासम्पन्न होटलहरू सञ्चालनमा रहेका छन् । पोखरामा स्तरीय होटलहरू चार सय भन्दा बढी छन् । बुटिक होटल र रिर्सोटहरू पनि खुलेका छन् ।विभागमा पाँच तारे होटलको रुपमा दर्ता भएको होटलहरूमा पोखरा ग्राण्ड, होटल द फूलबारी छन् । होटल फूलबारी भने अहिले सञ्चालनमा छैन । आधिकारिक रुपमा पोखरामा पाँच तारे होटलहरू यी नै देखिएपनि बुकिङ डटकममा दर्जनभन्दा बढी होटलहरूलाई पाँच तारे प्रदान गरेको देखिन्छ । जसमा टेम्पल ट्री रिर्सोट, माउन्टेन ग्लोरी फोरेस्ट, ल्याण्डमार्क पोखरा, होटल दिप ओसिस, महाराजा द रोयल होटल एण्ड क्यासिनोलगायत छन् । इच्छा होटल बाराको सिमरामा पाँच तारे होटल सिमरा सञ्चालनमा छ । होटलका सञ्चालक हुन् इच्छा हस्पिटालिटीका इच्छा बहादुर वाग्ले । १ अर्ब २० करोड लगानीमा निर्माण भएको यो होटल मधेश प्रदेशकै पहिलो पाँच तारे होटल हो । सिमरा एयरपोर्टबाट २ किलोमिटर र हेटौंडाबाट ३५ किलोमिटर दुरीमा रहेको होटल दुई बिघा जमिनमा फैलिएको छ । ह्यायात प्यालेस बुटलमा होटल ह्यायात प्यालेस सञ्चालनमा छ । सुरुमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको भए पनि सञ्चालनमा आउँदा ह्यायात प्यालेस ब्राण्डअन्र्तगत सञ्चालनमा आएको हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कठ्ठा क्षेत्रफलमा बनेको यो होटलमा यशोदा फुड्स ग्रुपको लगानी रहेको छ । होटलको सञ्चालकमा चुन्नु प्रसाद पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना छन् । होटल ३ अर्ब ५० करोड लगानीमा निर्माण भएको थियो । होटलमा २५० पाहुना अट्न सक्ने १०९ वटा कोठाहरू छन् । सोल्टी शिवविक्रम होटल्स एण्ड रिसोर्टस पूर्व राजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको सोल्टी होटलको शाखा नेपालगञ्जमा सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट सञ्चालनमा छ । यसमा मूख्य लगानी सोल्टीका अध्यक्ष प्रभाकर शमशेरकै रहेको छ । होटल ५५ करोड रुपैयाँ लागतमा बनेको होटलमा ८१ वटा कोठाहरू छन् । सोल्टी नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा पूरानो हो । होटल सेन्ट्रल प्लाजा बाँकेको कोलपुरमा सेन्ट्रल प्लाजा सञ्चालनमा छ । २०७५ सालदेखि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागमा पछिल्लो पटक २०८० सालमा पाँच तारे होटलको रुपमा नवीकरण गरेको हो । यसअघि उक्त होटल चार तारेको रुपमा सञ्चालनमा थियो । ५० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक एवं म्यानेजिङ म्यानेजिङ डाइरेक्टर देवानन्द अर्याल हुन् । मानसरोवर, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीय स्थलहरू अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर निर्माण गरेको यो होटल सुदूरपश्चिमाञ्चलमै सबैभन्दा ठूलो होटल हो । रोयल टुलिप चितवनको सौरहवामा भखरै मात्रै पाँच तारे होटल रोयल टुलिप सञ्चालनमा आएको छ । यो होटल विभागमा पाँच तारे होटलको रुपमा भने दर्ता हुनै बाँकी छ । केटिएम हस्पिटालिटीले सन् २०२० बाट निर्माण सुरु गरेको यो होटल यही मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीका अध्यक्ष रामेश्वर शाह । एक अर्ब ७५ करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटल चितवनकै पहिलो पाँच तारे रिर्सोट हो । होटलको व्यवस्थापन चिनियाँ कम्पनी जिन जियाङ इन्टरनेशनल फ्रान्सेली होटल लुभ्र होटल्स ग्रुपले गरेको छ । एक दर्जन बढी होटल निर्माणाधीन होटल बाराही सेदी होटल बाराही ग्रुपले पोखराको लेकसाइडमा होटल बाराही सेदी निर्माण गरिरहेको छ । ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यो होटल सन् २०२६ मा सञ्चालनमा आउने छ । होटलमा सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडेलको रहेको छ । निर्माणधीन होटलमा १७१ कोठा हुने छन् । यसमा क्यासिनो, स्पा र फिटनेस सम्बन्धी उत्कृष्ट सुविधाहरू हुनेछन् । कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ बैंकिङ कर्जाको लागि रेटिङ पाइसकेको छ । धनगढीमा खुल्दै दुई पाँच तारे होटल सुदूरपश्चिम प्रदेशमा पनि होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । धनगढीमा पछिल्लो समय साना तथा ठूला होटल निर्माण तीव्र गतिमा हुँदै गएको छ । विगतमा एउटा पनि तारे होटल नभएको धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै खुल्ने क्रममा छ । यसअघि चारेतारे होटलहरू सञ्चालनमा आए पनि पछिल्लो पटक पाँच तारे होटल निर्माण हुने भएको छ । चौलानी ग्रुपले धनगढीमा पाँच तारे होटल निर्माण प्रक्रिया अगाडि बढाएको हो । चौलनी ग्रुपले सवा एक अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको हो । ग्रुपका अध्यक्ष हुन् मानसिंह साउद । ग्रुपले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको हो । त्यस्तै, सिद्धार्थ हस्पिटालिटीले पनि धनगढी चौराहामा पाँचतारे होटल निर्माण अगाडि बढाएको छ । होटल अट्रियम झापाको विर्तामोडमा होटल अट्रियम निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको उक्त होटलको कुल लगानी ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब रुपैयाँको लागि रेटिङ गराइसकेको छ । होटलमा ९८ वटा कोठाहरु हुनेछन् । झापाको चन्द्रगढीस्थित विमानस्थलबाट १२.९ किलोमिटर तथा भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटरको स्थानमा उक्त होटलको निर्माण हुन लागेको हो । पर्यटकीय दृष्टिकोणले पनि इलाम तथा बुढासुब्बा मन्दिरलगायतको नजिक रहेको उक्त ठाउँमा होटल बन्न लागेको हो । सन् २०२६ को मध्य जुलाईबाट सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण भइरहेको उक्त होटलमा ९८ वटा, ब्याङ्क्वेट, क्यासिनोका साथै स्पा, स्वमिङ पुललगायतका अन्य पूर्वाधारसमेत रहेका छन् । होटल पौवा एक अर्ब रुपैयाँ लगानीमा नेपालगञ्जमा होटल पौवा निर्माणाधीन अवस्थामा छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको यो होटलका सञ्चालक विष्णु ज्ञवाली हुन् । करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण थालिएको यो होटलको करिब १ अर्ब रुपैयाँ लागत छ । ९ तलाको बन्ने उक्त होटलमा क्यासिनो, स्पा, स्विमिङ पुल, जिम सुविधा रहने छ। एक्सिस पाँचतारे होटल विराटनगरमा पाँच तारे होटल एक्सिस निर्माण भइरहेको छ । भारतीय र नेपाली पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागेको होटल विमानस्थलबाट एक किलोमिटर टाढा छ । होटल १ अर्ब ७५ करोड लगानीमा निर्माण हुन लागेको हो । एक्सिस हस्पिटालिटी प्रालिको लगानी रहेको यो होटलमा २२५ कोठा हुने जनाएको छ । होटलमा बैङ्क्विट हल, मिटिङ हल, स्पा, साउना, जिम, स्वीमिङ पुललगायतको सुविधा हुने छ ।
‘विकासको मूल फुटाउने माउन्टेन एड्भेन्चर नै हो, एड्भेन्चर युनिभर्सिटी खोल्दैछौं’
विश्वको अधिकांश अग्लो हिमाल नेपालमा नै छन् । यही हिमाली सौन्दर्यले नेपाललाई विश्वस्तरमा पहिचान दिलाएको छ । हिमाल पर्यटन र पर्वतारोहणलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन संस्थागत रूपमा नेपाल पर्वतारोहण संघ (एनएमए) ले अग्रसर रहेर काम गर्दै आएको छ । पछिल्लो समय संघले यस क्षेत्रमा गर्दै आएका काम कारवाही लगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि बबिता तामाङले संघका अध्यक्ष फुरगेल्जे शेर्पासँग कुराकानी गरेकी छन् । नेतृत्व सम्हाल्नु भएको साढे ३ महिनाको अवधिमा एनएमएलाई कसरी नियालिरहनु भएको छ, के–के काम गर्दै हुनुहुन्छ ? सुधार गर्नुपर्ने धेरै कुरा छन् । सुधार गर्नलाई धेरै कुरा सुरुबाट सुरु गर्नुपर्ने हुन्छ । दुई–तीन दिनमा हुने कुरा हैन । हामी आएको साढे तीन महिना मात्रै भयो । यो अवधिमा टिम गठनमै अहिल बढी समय लाग्यो । नेपालमा पर्यटन याम भनेको अक्टोम्बर–नोभेम्बर र स्प्रिङ हो । अगस्टमा चुनाव भयो, सेप्टेम्बरको मध्यभागमा आएर पदभार सम्हालेँ । पर्यटन सिजनको समय भएको र हामी पनि पर्यटन व्यवसायी हुँदा व्यवसायमा अलि अलि समय दिनैपर्यो । धेरै समय एनएमएमा दिएको छु । हामीसँगै धेरैजना आरोही साथीहरू हुनुहुन्छ, कतिपय साथीहरू आरोहणको क्रममा एक–दुई महिना नै बाहिर जानुभो । यो बीचमा हामीले करिब २२–२३ वटा समितिहरू गठन ग¥यौं । हाम्रा ठाउँ–ठाउँमा नयाँ प्रोजेक्टहरू छन् । पोखरामा रहेको म्युजियमलाई अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने भनेर अध्ययन गर्यौं । अध्ययनको प्रतिवेदन आउँदै छ । यस विषयमा हामीले पोखरा महानगरपालिकासँग बसेर मिटिङ ग¥यौं । सँगसँगै म्युजियम भित्र पनि पुनःसंचना गर्नुपने देखिएकाले फर्निसिङ र रि–मोडलिङ गर्ने काम अगाडि बढाउँदैछौं । म्युजियममा दैनिक सात÷आठ सय आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्छन् । तर त्यहाँको टिकट काउन्टर पुरानो र अव्यस्थित भएको हुँदा त्यसलाई थप व्यवस्थित बनाउँदैछौं । त्यसको लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्दैछौं । म्युजियमकै छेउमा बोटानिकल गार्डेन सुरु गर्ने भनेर प्रोजेक्ट अगाडि बढाएका छौं । अहिले डीपीआर तयार भइरहेको छ । यो साल २ करोडको लागतमा र अर्को साल ५ करोडको लागतमा बनाउँदैछौं । त्यस्तै, पोखरामा वाल क्लाइम्बिङको नयाँ डीपीआर तयार गर्दैछौं । मनाङमा हाम्रो माउन्टेनियरिङ स्कुल छ । जुन पुरानो भइसकेको छ । त्यसलाई भत्काएर नयाँ बनाउँदैछौं । ककनीमा १३५ रोपनीमा माउन्टेन मेमोरियल पार्क छ ।, त्यो पनि पुरानो भएकाले त्यसलाई नयाँ बनाउँछौं । काठमाडौंमा बस्ने युवाहरू त्यहाँ गएर रमाइलो गर्ने, अध्ययन गर्ने स्पोट बनाउँछौं । त्यसैको छेउमा माउन्टेन एड्भेन्चर युनिभर्सिटी कार्यक्रम अगाडि बढाउँदै छौं । त्यसबाहेक एनएमएले चुचुरोहरू पहिचान गर्ने र व्यवस्थित बनाउने काम पनि अगाडि बढाइरहेका छौं । सोलुखुम्बुमा एनएमको थुप्रै पिकहरू छ । जहाँ हामी सर्भे गर्दैछौं । सिजनको अन्त्य भएको हुनाले अब तालिम दिने काम सुरु गर्दैछौं । तालिमको लागि कार्यविधि तयार पार्दैछौं । तालिम कसरी दिने भनेर कर्मचारी नियमावली तयार पार्दैछौं । कर्मचारी नियमावली नै बनाएर दक्ष कर्मचारी राख्छौं । कर्मचारी व्यवस्थापनमा सुधार गर्छौं । अब हामी पूर्ण रूपमा सुधारेर जान चाहन्छौं । भोलि कसैले पनि औंला नउठाउने खालको संस्था बनाएर जान चाहन्छौं । नयाँ परियोजनाहरु अगाडि बढाउँदै छौं भन्नुभयो, बजेट व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? हामीसँग बेरुजु भएकोले फछ्र्यौट गर्न खोज्दैछौं । बेरुजु फछ्र्यौट भएपछि अलिअलि बजेट हामीसँगै हुन्छ । माउन्टेन म्युजियममा गर्नुपर्ने लगानी माउन्टेन म्युजियमबाटै आउँछ । त्यहाँको आम्दानी राम्रो छ । मनाङको स्कुलको लागि विभिन्न देशमा हाम्रो घनिष्ट सम्बन्ध भएका उहाँहरूसँग कुरा गर्छौैं– विशेषगरी जापान, कोरिया, अमेरिका र क्यानडामा । प्रोजेक्टको डीपीआर तयार पारेर त्यहाँको एम्बेस्डरसँग बस्छौं । उहाँहरूसँगको औपचारिक भेटमा हामीलाई सहयोगको प्रतिबद्धता जनाइसक्नुभएको हुँदा हामी आशावादी छौं । संघसंस्थामा पनि जाँदैछौं । दातृ निकायहरू पनि हुनुहुन्छ । बजेटको लागि नेपाल सरकारसँग पनि अनुरोध गरेका छौं । वन मन्त्रालयले २ करोड दिनुभएको छ । अर्को साल ५ करोड दिन्छु भन्नुभएको छ । पर्यटन मन्त्रालय पनि छ । सबैतिर बजेटको लागि प्रयास गर्छौं । हिमाल आरोहण अनुमति शुल्क (रोयल्टी) का सम्बन्धमा पछिल्लो पटक सरकारले लिएको नीति कति प्रभावकारी छ ? रोयल्टी निर्धारण विज्ञ साथीहरू बसेर छलफलबाट निर्धारण भएको हो । जुन हिसाबले पनि ठीक छ । भर्खरैमात्रै सरकारले आउने सिजनबाट सुरु हुने गरेर रोयल्टी बढाएको छ । सगरमाथाको रोयल्टी पहिले १२ हजार थियो, अहिले १५ हजार पुगेको छ । समयसापेक्ष ठीक छ । राज्यले पनि त कमाउनु पर्यो नि । मेरो तर्फबाट यसलाई प्रशंसा गर्न चाहन्छु । हिमाल भन्नेबित्तिकै शेर्पा जोडिन्छ । शेर्पा गाइडहरूको तलब, सुरक्षालाई लिएर बेलाबेला बहस हुने गरेको छ । उहाँहरूको हकहितमा एनएमएले के काम गर्दैछ ? विगतको तुलनामा शेर्पा गाइडहरूलाई धेरै कुरामा सहज भइसकेको छ । अहिले धेरेको बीमा छ । उहाँहरूको हकहित सुरक्षाको बारेमा सोच्नु हाम्रो प्राथामिकतामा पनि पर्छ । तलबको विषमा हामीले युनिएनका साथीहरूसँग कुरा गर्छौैं । हामीकहाँ मजदुर साथीहरूको पनि प्रतिनिधि छ । उहाँहरूसँग छलफल गर्छौं । छलफलपछि अन्तर्राष्ट्रियमा प्रचलन के छ, हामीकहाँ कति छ, प्रचलित दर कति हो, यी सबै कुरा अध्ययन गरेर निष्कर्षमा पुग्छौं । पर्यटन, आरोही क्षेत्रमा आवद्ध सबै साथीहरूको हकहितको सुनिश्चित गर्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो । यो पेशामा संलग्न नै बेखुसी हुनुभयो भने अन्ततोगत्वा हाम्रो देशको विकासमा असर पुग्छ । उहाँहरूलाई हकहित दिलाउनै पर्छ । साथसाथै हिमालमा बस्ने स्थानीयको लागि पनि सोच्नुपर्छ भनेर हामी त्यतातिर लागिरहेका छौं । स्थानीय मानिसलाई प्रभावकारी ढंगबाट कसरी लाभान्वित गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान छ । उहाँहरूलाई पनि हामी तालिम दिँदैछौं । तालिम दिइसकेपछि हामीलाई पनि सस्तो हुने र त्यहाँका मानिस लाभान्वित हुन जान्छ । अहिले सोलुखुम्बु, ओखलढुंगा, काठमाडौं, धादिङका मात्रै साथीहरूले माउन्टेन टुरिजमबाट फाइदा लिइरहनुभएको छ । माउन्टेन टुरिजमको फाइदा सिंगो देशका मान्छेले लिनुपर्यो भन्ने हाम्रो धारणा हो । माउन्टेन टुरिजममा सुदूरपश्चिम पूर्णरूपमा टाढा छ । हामी सुदूरपश्चिमलाई पनि यो क्षेत्रमा जोड्न खोज्दैछौं । सबै ठाउँमा विकास हुनुपर्यो, सबै ठाउँका मानिसहरूले समावेशी ढंगबाट यो उद्योगबाट फाइदा लिन सक्नुपर्यो । हामी त्यतातिर लागिराछौं । ट्रेकिङ वा घुम्न जानुअघि विदेशीहरू मौसम या त्यहाँको अवस्था बुझेर यात्रा गर्छन्, तर धेरै नेपालीमा भने देखिँदैन, जसले गर्दा दुर्घटनामा परेको थुप्रै उदाहरण छन्, यस विषयमा सचेतनामुलक कार्यक्रमका विषयमा एनएमएले के गरिरहेको छ ? त्यही भएर नै हामीले माउन्टेन एड्भेन्चर युनिभर्सिटी खोल्दैछौं । युनिभर्सिटीको काम एउटा शिक्षा दिने हो । दोस्रो, सबै जनतालाई माउन्टेन एड्भेन्चर सम्बन्धी सुसूचित गराउने हो । नेपाली युवाहरू दैनिक हजारौंको संख्यामा विदेश गइरहेको छ । त्यसलाई रोक्ने हाम्रो उद्देश्य पनि हो । युनिभर्सिटी खोल्यो भने हामी समावेशी ढंगबाट अध्ययन गराउँछौं । अध्ययन गराइसकेपछि उहाँलाई यही रोजगारी मिल्छ । विकासको मूल फुटाउने नै यो माउन्टेन एड्भेन्चर टुरिजम नै हो । धेरैले हिमाललाई सामान्य रूपमा यहाँबाट देखिरहेका हुन्छन्, गएर आइहाल्ने त हो नि भन्ने छ । नेपालीहरू काठमाडौंबाट बाइक चढेर अथवा गाडी लिएर सिधै मनाङमा आइपुग्छ, ३ हजार ५ सय मिटरमा । यहाँबाट तिलिचो पुग्दा ४ हजार ५ सय देखि ५ हजार मिटरमाथि पुगिसकेको हुन्छ । एक्कासि बिरामी भएर गम्भीर भएर तल ल्याउनुपर्ने अवस्था पुग्छ । यो नहुनको लागि चाहिने सचेतना नै हो । हामीले ठाउँ–ठाउँमा होडिङ बोर्ड राख्दैछौं । जानकारीमूलक सूचना प्रवाह गर्दैछौं । अहिले सोलुखुम्बुमा दैनिकजसो पाँच सय नेपालीहरू पुग्छन् । नेपालीहरू मौसम पूर्वानुमान त के सामान्य अल्टिट्युड पनि ख्याल गर्दैनन् । एनएममा उद्धार समिति छ । मौसम बिग्रियो भन्छौं । मौसम बिग्रन थालेपछि सायद १० दिनसम्म बिग्रन्छ । नेपालमा जतिखेर घटना हुन्छ नि, हेलिकप्टर घटना, प्लेनको घटना, पहिरो, हिमताल फुट्ने, यो जम्मै घटना मौसम खराब भएको बेलामा हुन्छ । एनएमएको उद्धारकर्मी टिम छ, तैपनि उद्धार चाहिने बेला उपकरणसहित टिम पनि काठमाडौंमा हुन्छ । मौसम बिग्रेपछि काठमाडौदेखि उद्धार टोली जान सक्दैन, हेलिकप्टर उड्न सक्दैन । त्यसलाई मध्यनजर गरेर अब हामीले उद्धार सञ्जाल प्रोजेक्ट सुरु गर्दैछौं । अन्नपूर्णदेखि सबै हिमाली र पहाडी जिल्लाहरूमा साथै सुदूरपश्चिमको बझाङसम्म २० देखि ३० जनाको उद्धार टिम बनाउँछौं । त्यसपछि त्यहाँको स्कुल विद्यार्थी, होटल सञ्चालक स्थानीयलाई तालिम दिन्छौं । उनीहरूको सबैको फोन नम्बर ग्रुप बनाएर राख्छौं । रेस्क्युलाई प्रयोग हुने उपकरण पनि एक सेट त्यहीँ छोडिदिन्छौं । उहाँहरूलाई हामी केही न केही सुविधाको पनि व्यवस्था गर्दैछौं । त्यसो गर्दा हिमालमा कुनै पनि दुर्घटना हुनसाथ तुरुन्तै त्यहाँको स्थानीयहरूलाई परिचालन गर्छौं । तुरुन्तै उद्धार हुन्छ । सगरमाथाबाहेक अन्य कम आरोहण भएका हिमालहरूकोे प्रवद्र्धन गर्न एनएमएले केही योजना अघि सारेको छ ? नेपालको पूर्वमा मकालु र कञ्चनजंघा, सुदूरपश्चिममा धौलागिरिदेखि सिंगो क्षेत्र नै अति सुन्दर ठाउँ हो । विडम्बना भनौं दुर्भाग्यबस हामीले त्यसलाई चलाउन सकेनौं । विविध कारणमध्ये एउटा कारण टाढा भयो । त्यहाँ पहुँच नै राम्रो छैन । साथै महँगो पनि छ । डोल्पा गएर आउन सात आठ सय डलर लाग्छ । त्यति रकममा जर्मनबाट अमेरिका गएर मान्छे फर्किन्छ । सुन्दर र रमणीय ठाउँ हुँदा हुँदै यति ठूलो खर्च गरेर सबै जान सक्ने अवस्था छैन । सबैभन्दा पहिलोख एक्सेस राम्रो हुनुपर्यो । बाटो राम्रो बन्नुपर्यो । त्यस्तै, त्यो ठाउँमा लजिस्टिक छैन । टेन्ट लगाउनुपर्ने हुन्छ । काठमाडौंदेखि खानेकुरा लानुपर्ने हुन्छ । अहिले कुल्ली पाउन छोड्यो । अहिले युवाहरू भारी बोक्दैनन् । कुल्लीहरू महँगो हुँदै गएको छ । लजिस्टिक सर्भिस महँगो हुँदा पनि त्यो ठाउँ चल्न सकेको छौ । अब हामीले स्थानीयसँग बसेर छलफल गर्छौं । अहिले कञ्चनजंघामा युरोपियन संस्थाले काम गरिरहेको छ । सुदूरपश्चिमका लागि हामील वल्र्ड बैंकसँग कुरा गर्दै छौं । त्यो ठाउँमा गएर त्यहाँको स्थानीयसँग मिलेर लजिस्टिक नै तयार पानुपर्यो । लजिस्टिक सर्भिस राम्रो भएपछि समस्या विस्तारै समस्या समाधान हुँदै जान्छ । त्यसपछि हाम्रो देशमा भरिया कम भएको समस्या पनि समाधान हुन्छ । यी सबै भइसकेपछि त्यो ठाउँ परिवर्तन हुन्छ । हाम्रो एउटा टिम छ, टिमले ती ठाउँहरुको विकासमा के गर्नुपर्छ भनेर अध्ययन गर्दैछौं । हाम्रा हिमालहरू प्रदूषित हुँदै गएका छन्, हिमालमा हिउँ पग्लिने काम बढिरहेको छ । त्यसतर्फ केही सोच्नु भएको छ ? हाम्रा हिमालहरू प्रदूषित हुँदै गएको छ । यसलाई रोक्नको लागि विशेष सरसफाइ नै हो । हिमालमा हिउँ पर्ने समस्या के कारणले हो, यो विषयमा डब्लुडब्लुएफ, इसिमोड, विभिन्न संघसंस्था, वन मन्त्रलायसँग छलफल गर्छौं । अहिलेसम्म काठमाडौंमा आधारित अध्ययन छ । अब हामी हिमालमै गएर अध्ययन गर्छौं । ५ हजार मिटरमा गएर अध्ययन गर्ने ताकि गलत रिर्पोट नआओस् । सरकारलाई पनि सचेत गराउँछौं । अन्तर्राष्ट्रिय जगतलाई पनि सचेत गराउँछौं र हामी आफै पनि सचेत हुन्छौं । नेपालमा हिमालहरूको राम्रोसँग पहिचान हुन सकेको छैन, गन्तव्य पनि निर्धारण गर्न सकेको छैन । एनएमएले पिक प्रोफाइल बनाउँदैछ । यो साल सिध्याउँछौं । कहाँबाट जाने, कुन रुट हो, कत्तिको खतरा छ ती सबै पहिचान गर्छौं । ३ वर्षभित्र नेपालको सबै पिकको प्रोफाइल बनाएर सकाउने हाम्रो योजना छ । ताकि हिमालको नाम भित्र क्लिक गर्न साथ सबै हिमालको बारेमा जानकारी लिन सकोस् । त्यो हिसाबमा हामी अघि बढ्दैछौं ।