विकासन्युज

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबारबाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । कम्पनीका अनुसार यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो । 'बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं । आवश्यक तयारी पश्चात नयाँ नम्बर रेन्जका नम्बरहरु वितरण थालिएको छ । साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरुले उपझोक्ताका साथै सेवा प्रदायकहरुलाई समेत लाभ प्रदान गर्नेछ,' एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने । नयाँ नम्बरहरु वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्ट्रिगेटरअपडेट गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ । दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ । सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बनेको छ ।  

श्रम संस्कृति पार्टीले गर्यो काठमाडौंमा पहिलो औपचारिक शक्ति प्रदर्शन

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ । निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेपछि काठमाडौंमा आयोजना गरिएको यो सभा पार्टीको संरचना विस्तार र औपचारिक उपस्थितिको रूपमा अर्थ्याइएको छ । ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको उक्त सभामा धरान उपमहानगरपालिकाका मेयर तथा पार्टी अध्यक्ष हर्कबहादुर साम्पाङ स्वयं उपस्थित रहेका थिए । साम्पाङले भाषण सुरु गर्नु अघि गीतसमेत गाएका थिए। कार्यक्रममा पार्टीका सक्रिय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक सुरुवात साम्पाङले परम्परागत शैलीमा पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा श्रम, इमानदारी, सुशासन र स्थानीय स्तरबाट सुरु हुने राजनीतिक–सांस्कृतिक परिवर्तनका एजेन्डामा जोड दिइएको थियो । सभामा बोल्ने अधिकांश वक्ताहरूले श्रम–केन्द्रित राजनीति, भ्रष्टाचारविरुद्धको जनअभियान, स्थानीय विकासमा जनसहभागिताको भूमिका र वैकल्पिक राजनीतिक संस्कृतिका पक्षमा धारणा राखेका थिए । साथै, कार्यक्रममार्फत काठमाडौं उपत्यकामा पार्टीको संगठन विस्तार, नयाँ सदस्य भर्ना गर्ने योजना तथा आगामी राजनीतिक अभियानका कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट, न्यादी  ग्रुपको सबैभन्दा धेरै कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेर २६०६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सागर डिस्टीलरीको २३ करोड, पियोर इनर्जीको ९ करोड ७६ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९ लाख र झपा इनर्जीको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर स्याङ्गे हाइड्रो, स्वत्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशतले बढेका छन्  । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशतले घटेका छन् ।

सचिवमा बढुवाका लागि तीन सहसचिव सिफारिस, पौडेलको सम्भावना प्रबल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा शाखाले सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।  लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । सिफारिस सूचीमा परेका मध्ये सहसचिव राजेन्द्रकुमार पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन् ।  सहसचिव कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । यस्तै, इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठता आधारमा बढुवा हुने प्रचलन रहेकाले पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बढी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ । सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको सोमबार (आज) बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले जानकारी दिए । स्व. सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

कांग्रेसले एकैपटक सुरु गर्‍यो आमनिर्वाचन र महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचन र पार्टी महाधिवेशन दुवैको तयारीलाई एकैसाथ गति दिएको छ । पार्टीभित्र लामो समयदेखि रोकिएको सक्रिय सदस्यता नवीकरण र नयाँ वितरण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।  जिल्लाबाट प्राप्त विवरण समेटेर केन्द्रीय कार्यालयले सदस्यता सूचीको फाइनल तयारी गरिरहेको एक नेताले जानकारी दिए । यससँगै कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस प्रक्रिया पनि सुरु गरिसकेको जनाएको छ ।  संगठन विभागमार्फत जारी गरिएको परिपत्रमा स्थानीय तह, प्रदेश र जिल्ला समितिहरूलाई आ–आफ्नो क्षेत्रअनुसार योग्य, सक्षम तथा जित्ने सम्भावना भएका व्यक्तिहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय पठाउन निर्देशन दिएको छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभाका लागी उमेदवार छनौट गरेर पठाउन निर्देशन आएकोले जिल्लाले उम्मेदवार सिफारिस तयारी गरेको धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीनजना सिफारिस गर्ने केन्द्रको निर्देशन रहेको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीले विधानअनुसारका सबै संरचनालाई सक्रिय बनाउने उद्देश्य राखेको बताएको छ ।  संगठन सुदृढीकरण, आन्तरिक एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकतामा राख्दै कांग्रेसले द्वन्द्वपूर्ण राजनीतिक वातावरणबीच समयमै महाधिवेशन सम्पन्न गर्ने र आमचुनावमा प्रभावकारी रूपमा प्रस्तुत हुने रणनीति अगाडि सारेको केन्द्रीय सदस्य प्रकाश रसाइलीले जानकारी दिए । कांग्रेसभित्र सदस्यता नवीकरण र सिफारिस प्रक्रियाले चहलपहल बढाएको छ । विभिन्न समूह र नेताहरू पनि महाधिवेशनमा प्रभाव जमाउन सक्रिय देखिन थालेका छन् । आगामी केही साताभित्र अधिकांश प्रक्रियाहरू औपचारिक रूपमा सकिने पार्टी नेताहरूले बताएका छन्।

‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि सुरु हुने, आर्थिक पुनरुत्थानमा केन्द्रित

काठमाडौं । मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा सञ्चालन हुने यो एक्स्पोले आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्य राखेको छ । विराटनगर–२, शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयको छेउमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिनेछ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेन्जी आन्दोलनपछि उत्पन्न आर्थिक अनिश्चिततालाई तोड्ने यो मेलाले ठूलो भूमिका खेल्ने दाबी गरिएको छ । मेलाले मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य लक्ष्य बनाएको छ । कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा एक्स्पोले जोड दिनेछ । साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्ने उद्देश्य पनि रहेको छ । मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीअनुसार जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० स्टल राखिनेछन् । प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन पनि समावेश हुनेछन् । एक्स्पोले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै स्टार्टअप, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता प्रवर्द्धन सम्बन्धि विशेष स्टल राख्नेछ । नयाँ उद्यमीलाई स्टार्टअप सञ्चालन, व्यवसाय विस्तार र डिजिटल ज्ञानबारे जानकारी दिने विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ । दर्शकको मनोरञ्जनका लागि हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति हुने छ। मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल र नेपाली कला–संस्कृति झल्काउने आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । मेलाको मुख्य प्रायोजक ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ रहेका छन् । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मोरङ उद्योग व्यापार संघ विगतमा पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रम गर्दै आएको छ ।

बीमा प्राधिकरणमा ४०२ वटा उजुरी विचाराधीन, ३९ वटा मात्रै फैसला

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कार्त्तिक मसान्त) सम्ममा ४४१ उजुरीमध्ये ३९ वटा मात्रैको फैसला गरेको छ । बीमा प्राधिकरणका अनुसार फैसला भएका मुद्दामध्ये १३ वटा मुद्दा सहमतिबाटै टुंगो लगाएको छ । गत आर्थिक वर्षको यही अवधिमा प्राधिकरणले १३१ वटा मुद्दाको फैसला गरेको थियो । जसमध्ये ४६ वटा मुद्दा सहमतिबाटै टुंग्याएको थियो । चार महिनाको अवधिमा प्राधिकरणको केन्द्रीय कार्यालयमा ३३, प्रदेश कार्यालयमा १४ समेत जम्मा ४७ वटा उजुरी दर्ता भएका छन् । गत आवको यही अवधिमा केन्द्रीय कार्यालयमा १४४, प्रदेश कार्यालयमा ९१ गरी कुल २३५ वटा उजुरी दर्ता भएका थिए । तथ्यांकअनुसार प्राधिकरणमा अझै ४०२ वटा उजुरी विचाराधीन अवस्थामा रहेका छन् ।