भीईसीभीले एकै वर्षमा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गर्यो
काठमाडौं । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । यो हालसम्म वार्षिक रूपमा सबैभन्दा धेरै संख्याको बिक्री हो । भारतीय आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.८ प्रतिशत बढी बिक्री गरेको छ। भीईसीभीको यो उपलब्धिमा कम्पनीका लाइट र मिडियम ड्यटी ट्रक, हेभी ड्युटी ट्रक र बस जस्ता सवारी साधनले भूमिका खेलेका छन् । यो अवधिमा सबैभन्दा बढी अर्थात ४६।१ प्रतिशत भूमिका लाइट एन्ड मिडियम ड्युटी ट्रकको छ । यी सवारी साधन ४७ हजार ७८९ युनिट बिक्री भएका छन् । त्यसैगरी, हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट बिक्री भएका छन् । यी सवारी साधनको समग्र बिक्रीमा भूमिका २५.९ प्रतिशत छ । त्यसैगरी १९ हजार ३६३ अर्थात १८.७ प्रतिशत बस बिक्री भएका छन् । भीईसीभीले विभिन्न उत्पादन उपलब्ध गराइरहेको छ र बेस्ट इन क्लास इन्धन दक्षता, उत्कृष्ट सञ्चालन समय अर्थात सुपेरियर अपटाइम र ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ । सन् २००८ देखि यी दुई ग्रुपको साझेदारी बने पश्चात भल्वो ग्रुपको ग्लोबल टेक्नोलोजीमा भएको विशेषज्ञता र आइसर मोटर्सको मार्केटिङ सम्बन्धी गहिरो बुझाई दुवैलाई जोडेर कमर्सियल मोबिलिटीको बेन्चमार्कलाई पुनःपरिभाषित गर्नमा भूमिका निर्वाह गरेको छ । नेपालमा भीईसीभीको आधिकारिक वितरक बतास एमएडब्लु हो । यस प्रकारको ऐतिहासिक यात्राको एक भाग हुन पाएकोमा बतास एमएडब्लुले गर्व महसुस गरेको बताएको छ । आगामी दिनमा समेत यस प्रकारको एड्भान्स्ड मोबिलिटीलाई ग्राहक बिचमा ल्याउने र नेपालको यातायात क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।
कांग्रेसको पन्ध्रौं महाधिवेशन रोक्न सर्वोच्चमा पूरक रिट
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा देखिएको छ । पार्टीमा विशेष महाधिवेशन पक्षले अघि बढाएको १५औं महाधिवेशनको तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेसँगै पार्टीको विवाद सतहमा आएको हो । निवेदनमा रिटमार्फत विवाद समाधान नभएसम्म नयाँ कार्यतालिका कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । निवेदक पक्षले पार्टीको आधिकारिकता, विधानअनुसारको प्रक्रिया र महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै अदालतको हस्तक्षेप माग गरेको जनाएको छ । कांग्रेसभित्र संस्थापन र असन्तुष्ट समूहबीच लामो समयदेखि जारी शक्ति संघर्षले महाधिवेशनको प्रक्रिया प्रभावित हुँदै आएको छ । पछिल्लो कदमसँगै आन्तरिक कचिंगल फेरि चर्किने संकेत देखिएको छ । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार यो नयाँ रिट नभएर पुरानै रिटको पूरक निवेदन हो । ‘निवेदक पक्षले निवेदन दिएको हामीले पेसीसूची हेरेर थाहा पायौं । तर हामीलाई सूचना आएको छैन,’ उनले भने । विशेष महाधिवेशन पक्षको नेतृत्वलाई कानुनी परामर्श दिइरहेको खनालले जानकारी दिए । निवेदक समूहले छुट्टै रिट नदिई यसअघि दर्ता भएको मुद्दामै पूरक निवेदन पेश गरेको उनले बताए । सो निवेदनमाथि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको खनालले जानकारी दिए ।
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’सुरु
काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा शुक्रबारदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ । सुर्खेतमा सञ्चालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडितहरू लाभान्वित हुने बैंकको अपेक्षा छ । जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले जनाएको छ । यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो । शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएको, हातका औंलाहरू टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मँदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मँदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरूले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयासस्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
दाँतमा समस्या देखिएपछि प्रधानमन्त्री बालेन अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी शुक्रबार बिहान प्रहरी अस्पताल महाराजगञ्जमा पुगेका हुन् । अहिले शाहले दाँत परीक्षण गराइरहेका छन् ।
आइतबार पनि ओपिडी सेवा सुचारु गर्न सरकारकाे निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयलाइ शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागु गरे मन्त्रालयले एक विज्ञाप्ती जारी गर्दै सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित विज्ञाप्तीमा भनिएको छ,‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने र यस व्यवस्था लागु गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुईदिन बिदा गर्ने व्यवस्था गर्न सकिनेछ, बिदा दिन नसिकने अवस्थामा सट्टा बिदा उपलब्ध गर्न सकिने छ ।’ यस्तै मन्त्रालयले यो व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई आग्रह गरेको छ ।
पोर्चुगलमा नेपाली संघ-संस्थाबीच सहकार्य बढाउने सहमति, दूतावाससँग समन्वय गर्ने निर्णय
काठमाडौं । पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ-संस्था र प्रतिनिधिहरूबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ । सुजन लामा मोकतानको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको गैरआवासीय नेपाली संघ, पोर्चुगलका सचिव सुरज भण्डारीले जानकारी दिए । बैठडकले विभिन्न संघंस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापनसँगै स्वागत समेत गरे । उनले बैठकमा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै साझा उद्देश्य हासिल गर्न आगामी दिनमा संयुक्त रूपमा काम गर्ने सहमति भएको समेत बताए । बैठकले लिस्बनस्थित नेपाल दूतावाससँग समन्वय गर्दै नेपाली कामदारहरूलाई परेको प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी समस्यालाई गम्भीर रूपमा उठाउने निर्णय गरेको छ । सो विषयमा पहिलो पटक कागजात पेश गर्ने नेपालीहरूलाई दूतावासबाट जारी हुने डिक्लेरेशन निःशुल्क उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको बताइएको छ । त्यस्तै, बैठकले गैरआवासीय नेपाली संघ पोर्चुगललाई एकीकृत छाता संगठनका रूपमा सुदृढ बनाउन आवश्यक पहल गर्ने तथा पोर्चुगलमा सक्रिय विभिन्न नेपाली संघ-संस्थाहरूले समन्वयात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । समुदायबीच आपसी सहकार्य, सहअस्तित्व र साझा उद्देश्यका लागि सबै संस्थाहरूलाई सकारात्मक तथा उत्तरदायी भूमिका खेल्न आह्वान गरिएको छ । साथै विदेशमा नेपाली धर्म, संस्कृति, चाडपर्व तथा परम्परागत रीतिरिवाजहरूको संरक्षण र प्रवद्र्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ । बैठकले विपद्, मृत्युजस्ता आकस्मिक परिस्थितिमा प्रभावित नेपालीहरूलाई नैतिक, आर्थिक तथा सामाजिक सहयोग उपलब्ध गराउन संस्थाहरूबीच समन्वय कायम गर्दै संयुक्त पहल गर्ने निर्णय गरेको छ। स्थानीय निकाय, सम्बन्धित संस्था तथा अग्रज व्यक्तित्वहरूसँग सहकार्य गर्दै पोर्चुगलस्थित नेपाली समुदायलाई संस्थागत गतिविधिमा समावेशी रूपमा सहभागी गराउने विषय पनि बैठकमा उठाइएको छ । साथै, नेपाल दूतावाससँग संस्थागत सहकार्य सुदृढ गर्दै आवश्यक कार्यहरू संयुक्त रूपमा अघि बढाउने अभियान र उद्देश्य कार्यान्वयनका लागि पोर्चुगलस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ । बैठकले नेपाली समुदायबीच एकता, सहकार्य र संस्थागत मजबुतीका लागि महत्वपूर्ण आधार तयार भएको विश्वास व्यक्त गर्दै उक्त निर्णयहरूमा ऐक्यबद्धता जनाएको समेत उनको भनाइ छ ।
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका विषयमा मुख्य रूपमा छलफल हुने बुर्लाकोटीले जारी गरेको प्रेष विज्ञप्तीमा भनिएको छ । आजै हुने उपसभामुख निर्वाचनका लागि रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ । उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूमाथि समेत छलफल हुने जनाइएको छ । साथै, रास्वपाले अझै मुख्य सचेतक र सचेतक नियुक्त नगरेको विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने बुझिएको छ ।
अत्यधिक भीड बढेपछि यात्रुको स्वागत र बिदाइमा विमानस्थलभित्र ३ जना मात्रै प्रवेश
काठमाडौं । अत्यधिक भीडभाड भएपछि विमानस्थलमा यात्रु स्वागत तथा बिदाइका लागि ३ जना मात्रै प्रवेश दिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलभित्रको अत्यधिक भीडभाड नियन्त्रण गर्न यात्रु स्वागत तथा बिदाइका लागि आउने आफन्तजनको संख्या सीमित गर्ने भएको हो । कार्यालयका अनुसार हाल विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढेसँगै यात्रुहरूको चाप पनि उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । एक जना यात्रुको स्वागत वा बिदाइका लागि दशौं आफन्तजनसम्म विमानस्थल पुग्ने प्रवृत्तिका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको कार्यालयले जनाएको छ । यसरी हुने भीडभाडले सुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुनुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा र विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परेको जनाइएको छ । त्यसैले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जना मात्र आफन्तजन आउने व्यवस्था मिलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिएको छ ।