राष्ट्रपति पौडेलले आज संघीय संसदका दुवै बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । सो अवसरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २६ यात्रु घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए । दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उनले बताए । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
बक्यौता नतिर्ने कलेजको दर्ता रोक्का गर्दै मेडिकल काउन्सिल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूलाई विद्यार्थी भर्ना शुल्क बापतको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । काउन्सिलले स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने संस्थाहरूले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने रकम लामो समयदेखि बाँकी रहेको जनाएको छ । पटक-पटक ताकेता गर्दा पनि केही कलेज तथा प्रतिष्ठानले बक्यौता रकम नबुझाएकाले २१ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको हो । निर्धारित समयावधिभित्र रकम नबुझाउने संस्थाहरूका हकमा काउन्सिलले कडा कदम चाल्ने चेतावनी दिएको छ । काउन्सिलका अनुसार त्यस्ता कलेजहरूको विद्यार्थी परीक्षण दर्ता तथा विदेशी चिकित्सक तथा शिक्षकहरूको दर्ता प्रक्रिया रोक्का गरिनेछ । साथै, समयमै बक्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूको नाम र बाँकी रकमसहितको विवरण सार्वजनिक गरिने पनि काउन्सिलले जनाएको छ ।
सामाजिक सञ्जालमा डीडीसीका महाप्रबन्धकलाई गाली गरेपछि डेरी ब्वाई जोशीको पद धरापमा
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नै एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय कार्यालय, लैनचौरमा रहेको संस्थानले डेरी ब्वाई पदमा कार्यरत सरस्वती जोशीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । केन्द्रीय कार्यालयबाट वि.सं २०८२ चैत २२ गते पठाइएको पत्र काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुमा बुझाउन पठाइए पनि जोशीले सो पत्र बुझ्न अस्वीकार गरेको जानकारी प्राप्त भएको संस्थानले जनाएको छ । वि.सं २०८२ चैत २५ गतेको पत्रअनुसार जोशी कार्यालयमा नियमित उपस्थित भए पनि आधिकारिक पत्र बुझ्न नमानेको उल्लेख गरिएको छ। संस्थानका अनुसार, जोशीले विगतमा पनि महाप्रबन्धक (जीएम) लगायतका पदाधिकारीप्रति अपमानजनक भाषा प्रयोग गर्ने, गालीगलौज गर्ने तथा सामाजिक सञ्जालमार्फत अनधिकृत सामग्री प्रसारण गरी संस्थाको मानमर्यादामा आँच पुर्याउने कार्य गर्दै आएको आरोप छ । यस्ता गतिविधि संस्थानको कर्मचारी प्रशासन विनियमावली, २०६३ (आठौं संशोधनसहित) विपरीत रहेको उल्लेख गर्दै विनियम १३४ उपविनियम (१) का खण्ड (ङ) र (च) अन्तर्गत कसुर गरेको ठहर गरिएको छ । सोही आधारमा विनियम १३७ उपविनियम (१) खण्ड (ग) बमोजिम किन निलम्बन नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको हो । निर्धारित म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा विभागीय कारबाही अघि बढाइने संस्थानले जनाएको छ ।
योजना आयोगमा ६ सदस्य नियुक्त, बालेनका पूर्वसल्लाहकारदेखि विज्ञसम्म
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त सदस्यहरूमा अर्जुनजंग थापा, डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, डा. सुदन झा र पुकार मल्ल रहेका छन् । सदस्यमा नियुक्त थापा भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव हुन् भने डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । त्यस्तै, डा. गौचन ‘समग्र विकास अध्ययन प्रतिष्ठान (आईआईडीएस)’ का वरिष्ठ अनुसन्धानकर्ता हुन् । रेशु अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका मेयर रहँदा सल्लाहकारको भूमिकामा थिइन् । डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङका प्राध्यापक हुन् भने मल्ल ‘गभर्नेन्स ल्याब’ का सहसंस्थापक तथा अध्यक्ष हुन् । साथै, उनी ‘नेपाल लिडरसिप एकेडेमी’का कार्यकारी प्रशिक्षक पनि हुन् । यसअघि सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिसकेको छ ।
पोखरा-मुग्लिन सडक निर्माणले समात्यो गति, ७७ प्रतिशत प्रगति
काठमाडौं । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडक खण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेक काम निर्धारित समयमै सकिने बताए । कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । १०५ वटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । सेती पुल भने निर्माणको चरणमा छ । ‘रोड मार्किङ’ गर्ने, ‘रोड सेफ्टी ब्यारीअर’ राख्ने लगायतका काम पनि भइरहेकाे इन्जिनियर कुँवरले बताए । ४ लेन सडकतर्फ विजयपुर पुलको आडमा ४ सय मिटर र पोखरा विश्वविद्यालय अगाडि १ सय मिटरमात्र कालोपत्र गर्न बाँकी रहेको उनको भनाइ छ । ‘अहिले सर्भिस लेन निर्माणको काम धमाधम भइरहेको छ । ३८.७१ किमीको पश्चिम खण्डमा २०.५५ किमी ४ लेन र १८.१६ किमी ६ लेनको सडक बन्छ,’ इन्जिनियर कुँवरले भने । अहिले ताल चोकदेखि डाँडाको नाक र खैरेनी टारदेखि दुलेगौँडासम्म ‘रोड सेफ्टी ब्यारीअर’ निर्माणको काम भइरहेको जनाइएको छ । जामुनेदेखि दुलेगौँडासम्म ‘रोड मार्किङ’को काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । यस वर्षमात्र ३३.७८ किमीको चार लेन सडकमा अस्फाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्र भएको हो । १५.६ किमी सर्विस लेनसहित विजयपुर खोला पुल र दुईवटा कल्भर्ट निर्माण गरिएको छ । १२.१ किमीको ४ लेन सडकमा यही वर्ष पहिलो तहको कालोपत्र गरिएको हो । अघिल्ला वर्षको तुलनामा यस वर्ष सडक निर्माणको कामले गति लिएको इन्जिनियर कुँवरले बताए । यसअघि सडक निर्माणकार्य सुस्त हुँदा ठेक्काको म्याद पनि थपिँदै आएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले यस खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । सडक ठेक्काअन्तर्गतका १२ वटा पुल बने पनि पुल ठेक्काअन्तर्गत पोखराको सेती पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । ‘केबल-स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माणको काम पूरा भइसकेको इन्जिनियर कुँवरले बताए । अहिले सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ । गत भदौमा ३ वर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा पनि काममा ढिलाइ भएको इन्जिनियर कुँवरले बताए । अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका २ वटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत ९४ करोड रुपैयाँको ठेक्कामा उक्त पुल निर्माण भइरहेको हो ।
नगरपालिकाले वितरण गर्याे २० जनालाई ल्यापटप
काठमाडौं । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उनको भनाइ छ । उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुग्ने उद्देश्यले अनुदानमा ल्यापटप उपलब्ध गराइएको कार्यवाहक नगर प्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् । ‘हामीले विगतका वर्षहरूमा यहाँका युवालाई उद्यमशीलता र सीप विकासका थुप्रै तालिम दिएका थियौँ, तालिम लिएकामध्ये धेरैले कुनै न कुनै व्यवसाय गरिरहुनभएको छ,’ कार्यवाहक नगर प्रमुख दाहालले भनिन्, ‘प्रविधिको प्रयोगले उद्यमीको कामलाई सहज बनाउने तथा व्यवसायलाई विस्तार गर्न सहयोग पुगोस् भनेर २० जनालाई अनुदानमा ल्यापटप उपलब्ध गराइएको हो ।’ उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रममा २० लाख रुपैयाँ बजेट विनियोजन गरी सोही रकमबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप उपलब्ध गराइएको जानकारी दिँदै दाहालले आगामी वर्षमा समेत उद्यमी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन् । यता अनुदानमा ल्यापटप पाएपछि उद्यमीहरू पनि हर्षित भएका छन् । उनीहरूले आफ्नो व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न नगरपालिकाको यस्तो कार्यक्रमले सहयोग मिलेको प्रतिक्रिया दिएका छन् । ‘सुरुमा नगरपालिकाले नै हामीलाई उद्यमशीलता र सीप विकास तालिम दिएर व्यवसायमा लाग्न प्रेरित गरेको थियो,’ इलामेली ललिपप उद्योगकी सञ्चालक सुष्मा राईले भनिन्, ‘नगरपालिकाको सहयोगले व्यवसायलाई व्यवस्थित बनाउन र अनलाइन बजार विस्तार गर्न मद्दत पुग्ने विश्वास छ ।’ इलाम नगरपालिकाले नगरपालिकाभित्रका साना तथा मझौला व्यवसायमा संलग्न रहेको उद्यमीलाई सहयोग गरेको हो । नगरपालिकाले ललिपप उद्योग, मौरी पालन, अचार बनाउन उद्योग, सैलुन व्यवसाय, राइस मिल/कुटानी पिसानी, सोलार सर्भिस, सिलाइ-कटाई, कृषि उपज उत्पादन सङ्कलन वस्तुको प्याकेजिङ, चिया प्रशोधन, हस्तकला उद्योगलगायतका व्यवसाय गरिरहेका युवालाई प्रोत्साहनका लागि सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रचारप्रसार, लेखा व्यवस्थापन तथा बजारसँग जोडिन सहज हुने अपेक्षा गरिएको उनको भनाइ छ । इलाम नगरपालिकाले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
५० प्रतिशत छुट दिँदापनि निगमलाई ७.८१ अर्ब घाटा, १ सय रुपैयाँसम्म बढ्यो मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५/२५ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर २०६ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ । सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ ।