विकासन्युज

अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ । १० दिनअघि बढेको मूल्य मंगलबार (भोलि)बाट लागू हुनेगरी पुन: बढ्ने भएको हो । नेपाल लेयर्स कुखुरापालक संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको हो ।  मूल्य बढेसँगै सबैभन्दा ठूलो  अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ। मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।  संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा : क्रेडिट कार्ड खरिद अब किस्तामा सजिलै

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवामा नयाँ डिजिटल सुविधा ‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यस सुविधाले क्रेडिट कार्डधारकलाई ५ हजार रुपैयाँ भन्दा माथिको खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई) मा रूपान्तरण गर्न सक्ने अवसर प्रदान गरेको छ । ग्राहकले खरिद बिल र पोस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइट मार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्नेछन् । बैंकका अनुसार न्युनतम शुल्क तथा ब्याजदरको व्यवस्था गरिएको छ भने अग्रिम भुक्तानी गर्दा कुनै जरिवाना लाग्ने छैन । यस सेवामार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली तथा चाडपर्वमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ । एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ ।  

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

काठमाडौं । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशासनका अनुसार यो वृद्धि दर वर्षको पहिलो १० महिनामा देखिएको ३.६ प्रतिशतको दरसँग स्थिर रहेको छ । यसले चीनको व्यापार वृद्धिमा स्थिरता आएको सङ्केत गर्दछ । विशेषगरी नोभेम्बर महिनामा मात्र चीनको आयात र निर्यात ३.९ खर्ब युआनमा पुगेको छ, जुन वर्षभरको तुलनामा ४.१ प्रतिशतले बढेको हो । यसमा निर्यातको योगदान ठूलो रहेको जनाइएको छ । विश्लेषकहरूले चीनको विदेशी व्यापारमा यो स्थिर वृद्धि विश्व अर्थतन्त्रमा चीनको योगदान र निर्यात–आयात दुवै क्षेत्रको सन्तुलनको सङ्केत भएको बताएका छन् । चीनले मुख्य रूपमा इलेक्ट्रोनिक सामान, मेशिनरी र औद्योगिक वस्तुको निर्यातमा वृद्धि गरेको छ भने कच्चा पदार्थ र ऊर्जा स्रोतको आयातमा पनि हल्का वृद्धि देखिएको छ । चिनियाँ अधिकारीहरूले भनेका छन् कि आगामी वर्षमा विदेशी व्यापार वृद्धिलाई थप प्रोत्साहित गर्न नयाँ आर्थिक नीतिहरू लागू गरिनेछन्, जसमा उत्पादन, निर्यात, लगानी र व्यापार सहकार्यलाई प्राथमिकता दिइनेछ । यो तथ्याङ्क चीनको वैश्विक व्यापारिक स्थिति र अन्तर्राष्ट्रिय बजारमा यसको स्थायित्व बुझ्न महत्वपूर्ण मानिन्छ ।  

माग पूरा नभए आन्दोलनमा जाने बीमा प्राधिकरणका कर्मचारीको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले पटकपटक माग राख्दै आए पनि सम्बोधन नभएपछि सात दिने अल्टिमेटम जारी गरेका छन् । माग सम्बोधन नभए आउँदो आइतबारबाट चरणबद्ध हड्तालमा जाने उनीहरूले चेतावनी दिएका छन् ।  कर्मचारीको वृत्ति विकास, क्षमता विकास नयाँ, अवसरहरूको सिर्जना गर्ने, पदपूर्तिद्वारा बढुवा, तालिम, सेवा सुविधालगायतका माग निरन्तर रूंपमा अध्यक्ष तथा उच्च व्यवस्थापन समक्ष राख्दै आएपनि कनै पहल र प्रतिबद्धता नभएको कर्मचारीद्वारा जारी अल्टिमेटमा उल्लेख गरिएको छ । कर्मचारी युनियनका अध्यक्ष प्रेम हरि पोखरेल र कर्मचारी संगठनका अध्यक्ष दीपक ज्ञवालीले संयुक्त रूपमा जारी गरेको सातदिने अल्मिटमेटममा २१ दिनसम्म पनि व्यवस्थापन पक्षबाट कुनै पहल नभएपछि हुँदा सातदिने अल्टिमेटम जारी गर्दै मंसिर २८ गतेदेखि क्रमबद्ध रूपमा हड्ताल सुरु गर्ने चेतावनी दिएको हो । के–के छन् माग ?  कर्मचारी युनियन र कर्मचारी संगठनले जारी गरेको संयुक्त अल्टिमेटमा प्राधिकरणले २०८२ जेठ १२ र १६ गते सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालय गएको सेवासुविधा तथा नयाँ दरबन्दी (नयाँ संरचना संगठन) संरचनासहितको प्रतिवेदन लागू गर्ने तथा पदपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको छ । त्यस्तै, बीमा प्राविधिक विषय भएकाले माथिल्लो पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकताअनुसारको जनशक्ति उपलब्ध नहुने हुँदा कर्मचारी विनिमयावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा कार्य सम्पादन मूल्यांकन प्रक्रियाबाट मात्रै पदपूर्ति गर्ने माग छ । कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा निकट भविष्यमा यसले समस्या तथा विवाद गर्न सक्ने अवस्था भइसकेको हुँदा ती विषयलाई समयमै समाधान गर्ने प्रदेश सरुवा तथा भौगोलिक अंगको व्यवस्थालाई समेत स्पष्ट पारी नीतिगत व्यवस्था गर्नुपर्ने, कर्मचारीको सिक्ने अवसर क्षमता विकास कार्य वातावरण सुधार तथा कर्मचारीका गुनासा सुनुवाइ तथा मनोबल वृद्धिजस्ता कर्मचारी विनियमावलीमा भएको कर्मचारीसँग सम्बन्धित विषयमा तथा भविष्यमा कुनै पनि किसिमको विवाद सिर्जना हुन नदिनका लागि कर्मचारीको प्रतिनिधित्व हुने गरी सिफारिस समितिको आधारमा मात्र हुने व्यवस्था गर्नुपर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि सीमाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, प्राधिकरणको उत्तराधिकारी योजना बनाई यथा शीघ्र लागू गर्न व्यवस्था मिलाउनुपर्ने र प्राधिकरणको संस्थागत सुधार तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरका संस्थामार्फत रिइन्जिनियरिङ गर्नुपर्ने कर्मचारीहरूको माग छ । 

एमाले महाधिवेशनका प्रतिनिधिलाई घरमै आवास व्यवस्था गरिने

काठमाडौं । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न प्रदेशबाट काठमाडौं आउने प्रतिनिधिलाई खाना र आवास मिलाउन सम्पर्क समन्वय कमिटी सक्रिय बनेको छ । समन्वय कमिटी सँयोजक स्याम बस्नेतका अनुसार महाधिवेशन आयोजक कमिटिले यो वर्ष आवासको व्यवस्था नगरेका कारण टाढाबाट आउने खाने र बस्ने समस्या भएका प्रतिनिधिलाई समन्वयका नेता कार्यकर्ताको घर तथा कोठामा बसोबास मिलाइने व्यवस्था गरिएको हो । बस्नेतले अहिले प्रदेशगत रूपमा काठमाडौंमा बस्न कठिनाइ हुने प्रतिनिधिहरूको विवरण संकलन भइरहेको जानकारी दिए । उनका अनुसार, हामीले काठमाडौंमा आउने प्रतिनिधिलाई बासको समस्या नपरोस भनेर नेता कार्यकर्ताको घरमा राख्ने समन्वय गर्दैछौं । यसपटक महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । उद्घाटन भक्तपुरको सल्लाघारीमा मंसिर २७ मा हुनेछ ।

महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक 'बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट' विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित एक समारोहमार्फत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । समारोहमा प्रदान गरिएको क्षेत्रीय–स्तरको अन्तराष्ट्रिय अवार्ड बैंकले हालका वर्षहरूमा गरेको डिजिटल सुधार, ग्राहकमैत्री सेवा, संस्थागत सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा ब्रान्ड प्रतिष्ठा अभिवृद्धिका आधारमा दिएको जनाइएको छ । बैंकका वरिष्ठ अधिकृतहरूले महालक्ष्मी विकास बैंकको तर्फबाट सम्मान ग्रहण गरेका थिए । बैंकले पछिल्लो समय सीमा–पार वित्तीय सेवा सुगमनमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेषगरी भारत–नेपाल भुक्तानी प्रणाली सहज बनाउन गरेको सहयोगका कारण पनि यो अवार्ड महत्वपूर्ण भएको बैंकको भनाइ छ । अवार्डले दुवै देशबीचको बैंकिङ सम्बन्ध मजबुत बनाउन, व्यापार तथा रेमिटेन्स प्रवाह वृद्धि गर्न थप मद्दत गर्ने बैंकको विश्वास छ । यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ, जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिति र विश्वसनीयता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो । महालक्ष्मी विकास बैंकले निरन्तर सेवा विस्तार, ग्राहक विश्वास अभिवृद्धि तथा नवप्रवर्तनमार्फत बैंकिङ यात्रालाई थप सबल बनाइरहेको जनाएको छ ।

महिन्द्राका गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले गर्याे ७.१३ अर्ब रुपैयाँ आम्दानी

काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ ।  कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको कम्पनीले जनाएको छ ।  यसअघि सन् २०२३ मा कम्पनीले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख रुपैयाँ र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०१६ मा कम्पनीले १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउटलेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । 

मलेसियाबाट फर्किएका धर्मेन्द्र अण्डा उत्पादन गरेर मासिक साढे २ लाख आम्दानी गर्दै

महेन्द्रनगर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उनी एक वर्षमै स्वदेश फर्किए । 'एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।' रानाले भने, 'मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।' दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । 'अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।' उनले भने, 'मासिक नौ/दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।' व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए । 'एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् ।' उनले भने, 'तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।' अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ । मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए ।' मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसेँ ।' उनले भने, 'धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।' कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उनले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । 'गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकौँ भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।' व्यवसायी रानाले भने, 'लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन ।' हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् । उनले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । 'यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।' रानाले भने,'स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।' 'निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।' उनले भने, 'वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।' रासस