विकासन्युज

सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।  महासंघकाअनुसार आइतबार तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।  चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी सोमबार घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।   

पुटिनको भारत यात्रा सकिनेबित्तिकै अमेरिकाका उच्च अधिकारीको आगमन किन भयो ?

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण सकिएपछि तुरुन्तै अमेरिकन अधिकारीहरूको ताँती भारततर्फ लाग्न थालेको छ । अमेरिकाकी वरिष्ठ अधिकारी एलिसन हुकर भारत भ्रमणमा छिन् । उनी ७ देखि ११ डिसेम्बरसम्म नयाँ दिल्ली र बेंगलुरुमा रहनेछिन् ।  हुकर अमेरिकाकी उपविदेशमन्त्री (राजनीतिक मामिला) हुन् । यस भ्रमणको मुख्य उद्देश्य अमेरिका–भारत रणनीतिक साझेदारीलाई सुदृढ बनाउनु हो । साथै दुबै देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्न पनि यो यात्रा महत्त्वपूर्ण मानिएको छ ।  अमेरिका भारतसँगको आर्थिक सहकार्य विस्तार गर्दै भारतातर्फ हुने अमेरिकी निर्यात बढाउन चाहन्छ । त्यसैगरी, कृत्रिम बौद्धिकता (एआई) र अन्तरिक्ष अनुसन्धान जस्ता उदीयमान क्षेत्रमा सहकार्य थप बलियो गर्ने विषयमा पनि जोड दिइनेछ । यसका अतिरिक्त अमेरिकाको अर्को प्रतिनिधिमण्डल पनि १० डिसेम्बरसम्म भारत आउनेछ । यसले भारत–अमेरिका बीच द्विपक्षीय व्यापार सम्झौता (बीटीए) सम्बन्धी अर्को चरणको वार्ता सुरु गर्नेछ । नयाँ दिल्लीमा हुकरले भारतीय अधिकारीहरूसँग क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र हिन्द–प्रशान्त क्षेत्रमा साझेदार उद्देश्यमाथि विस्तृत छलफल गर्नेछिन् । उनले विदेश सचिव विक्रम मिस्रीसँग विदेश मन्त्रालयको परामर्श बैठकमासमेत सहभागी हुने अपेक्षा गरिएको छ ।  बेंगलुरुमा भने उनले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को भ्रमण गर्ने सम्भावना छ । साथै भारतका अन्तरिक्ष, ऊर्जा तथा प्रविधि क्षेत्रका शीर्ष अधिकारीहरूसँग भेटघाट गरी अनुसन्धान तथा द्विपक्षीय सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने केन्द्रित कार्यसूची रहनेछ। यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्राथमिकताहरूलाई अघि बढाउने अर्को कदम मानिएको छ, जसमा अमेरिका–भारत सम्बन्ध सुदृढ पार्नु र स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त अवधारणालाई प्रवद्र्धन गर्नु प्रमुख छ । यस्तो समयमा अमेरिकन अधिकारीहरूको भ्रमण भइरहेको छ जब दुबै देश द्विपक्षीय व्यापार सम्झौतामा अन्तिम चरणसम्म पुगेका छन् । वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हालै दुबै पक्ष प्रस्तावित सम्झौता अन्तिम रूपमा नजिक पुगेको बताए । यस्तै, अमेरिकी उपव्यापार प्रतिनिधि रिक स्विट्जर तथा उनकी टोली पनि यही सातामा भारतमा रहने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ । यी उच्चस्तरीय भ्रमणहरूभन्दा केही दिनअघि मात्रै राष्ट्रपति पुटिन दुई दिने भारत भ्रमण पूरा गरी फर्किएका हुन् ।  भारत सरकार ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गर्न उत्सुक देखिन्छ, जसअन्तर्गत अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत ट्यारिफमा कमी आउने सम्भावना छ । यी ट्यारिफ भारतले रूसी कच्चा तेल किन्ने निर्णयको प्रतिक्रिया स्वरूप लगाइएको बताइन्छ । अमेरिका र भारत चरणबद्ध व्यापार सम्झौता बनाउने प्रक्रियामा छन् । पहिलो चरणको उद्देश्य अमेरिकाले लगाएको प्रतिकारी ट्यारिफको समस्या समाधान गर्नु हो । ट्रम्पले भारतले रूसी तेल आयात घटाएको कदमको प्रशंसा गर्दै सम्भावित ट्यारिफ राहतको संकेत दिएका छन् ।  गत महिना ट्रम्पले अमेरिकाले ‘केही समयपछि’ भारतीय उत्पादनमाथिको ट्यारिफ घटाउने बताउँदै दुवै देश ‘धेरै नजिक’ रहेको उल्लेख गरेका थिए । पछिल्ला महिनाहरूमा दुबै पक्षबीच धेरै चरणको वार्ता भएको छ र भारतीय अधिकारीहरू सतर्क आशावाद देखाइरहेका छन् । हाल अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो । उच्च ट्यारिफले कपडा, छाला, जुत्ता, गहनाजस्ता श्रमआधारित उद्योगहरूलाई गम्भीर रूपमा प्रभावित पारेको छ, जसले व्यापारिक सहमतिमा पहुँचको आवश्यकता झनै बढाएको छ । त्यस्तै, रूस पनि भारतसँग व्यापार विस्तारका सम्भावना खोज्न सक्रिय छ । पुटिनले रूसी आयातकर्ताहरूलाई भारतबाट आयात बढाउन सीधा सन्देश दिएका थिए । केही दिनअघि नै रूसका उद्योगपति तथा उद्यमीहरूको संघ (आरएसपीपी) का उपाध्यक्ष सर्गेई क्रास्निल्निकोभले यसबारे जानकारी दिएका थिए । उनले रूसलाई ५० लाख सीपयुक्त कामदारहरूको आवश्यकता रहेको भन्दै यो अभाव पूरा गर्न भारतले ठूलो भूमिका खेल्न सक्ने बताए ।

विनिमय दर उक्लिँदा नेपाललाई नोक्सानी नै बढी हुन्छ : नरबहादुर थापा [अन्तर्वार्ता]

काठमाडौं । पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्सानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनकाअनुसार अर्थतन्त्रको तागत र आम नागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । नेपालको अर्थतन्त्र बलियो हुँदै गएपनि अहिले भने लाभ भन्दा नोक्सानी बढिरहेको उनको बुझाइ छ । पूर्वकार्यकारी निर्देशक थापाकाअनुसार नेपालबाट विदेश पढ्न जानेको ओइरो नै लाग्ने गरेको छ । नेपाली मुद्रा कमजोर भई विदेशी मुद्रा बलियो हुँदा नेपाली विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । विदेशी विनिमय बलियो हुँदा वैदेशिक ऋणको चपेटामा परेको देशलाई त्यसको दायित्व व्यवस्थापन गर्न कठिन हुन्छ । बजेटमा एउटा रकम दायित्व व्यवस्थापनका लागि छुट्याइने र नेपाली मुद्रा कमजोर बन्दा व्यवस्थापना छुट्याइएको रकम अपुग हुने खतरा बढ्ने र त्यसले बजेटसम्म असर गर्ने थापाको बुझाइ छ । विदेशी विनिमयदरको निर्धारण, भाउमा देखिएको उत्तारचढाव र त्यसले पार्ने प्रभावका बारेमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापासँग गरेको कुराकानीको सम्पादित अंश :   करेन्सीको मूल्य कसरी निर्धारण हुन्छ ?  अर्थतन्त्रको तागत र आमनागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । हाम्रो अर्थतन्त्र बलियो हुँदै गएको छ । आम नागरिक, आयात, निर्यातकर्तासहितको सेन्टिमेन्टको आधारमा सेयर बजारको भाउ जस्तै मुद्राको भाउ तल माथि हुने गर्छ । भाउ बढ्दा कसलाई फाइदा हुन्छ ?  करेन्सीको भाउ तलमाथि हुँदा मूल्यको प्रभाव हुन्छ । यसको लागत कसैले न कसैले व्यहोर्नुपर्ने हुन्छ र यसबाट लाभ पनि हुन्छ । विनिमय दर तल माथि हुँदा त्यसको लागत कुनै क्षेत्रले व्यहोर्नुपरेझैँ मुद्राको भाउ तल माथि हुदाँ कुनै क्षेत्र कुनै व्यक्ति समूहलाई लाभ पनि भइराखेको हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यदि डलर बलियो भयो भने पर्यटन क्षेत्रले लाभ पाउँछ, नेपालमै भ्रमण सस्तो भएर विदेशीहरु सस्तो डिल गरेर आउन पाउँछन् । यसकारण नेपाल सिद्धान्त बढी पर्यटन आउन सक्छन् र पर्यटन क्षेत्रलाई लाभ हुन्छ । त्यस्तै, विनिमय दर बढ्दा नेपालमा वस्तु निर्यात गरिराखेका व्यवसायीहरूलाई पनि लाभ हुन्छ । वस्तु निर्यात गर्दा हिजो १४० रुपैयाँ पाउँथ्यो भने आज आज १ सय ४४ रुपैयाँ पाउँछ, ४ रुपैयाँ उसलाई फाइदा भयो । तेस्रो, विदेशमा काम गरिराखेका रेमिटेन्स पठाइराखेका नेपालीहरूलाई पनि लाभ हुन्छ । हिजो एक डलर पठाउँदा १ सय ४० रुपैयाँ घर परिवारले पाउँथ्यो भने अब १४४ रुपैयाँ पाउने भयो । त्यसैले विदेशी मुद्रा बढ्दा पर्यटन, निर्यात क्षेत्रसँगै विदेशमा काम गरेर नेपालीहरूले घर परिवारहरूलाई रेमिट्यान्स पठाउँदा लाभ हुन्छ ।    भाउ बढ्दा नेपालले कस्तो खालको नोक्सानी व्यर्होर्नुपर्छ ?  करेन्सीको भाउ बढ्दा हामीलाई नोक्सानी पनि हुने गरेको छ । भाउ बढ्दा यसको लागत पनि वृद्धि हुनेछ । हामी धेरै भन्दा धेरै वस्तुहरू आयात गर्छौँ । हामीलाई अत्यावश्यक औद्योगिक कच्चा पदार्थ, अत्याधुनिक मेसिन, प्रविधि, भित्र्याउनुपर्छ । नेपालबाट वैदेशिक अध्ययनमा विदेश जाँदा हाम्रो मुद्रा कमजोर हुँदा असर पर्छ, अनि नेपालको वैदेशिक ऋण पनि छ, जिडीपीको झन्डै २२ प्रतिशत नेपालको वाह्य ऋण छ, त्यसको सावा, ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । हिजो बजेट बनाउदा के आँकलन गरिएको थियो र एक्कासी विनिमयदर तल माथि हुँदा डलर बलियो र नेपाली रुपैयाँ कमजोर बन्दा दायित्व बढ्न जाने र दायित्व व्यवस्थापनका लागि छुट्टाइएको बजेट अपुग हुन पनि सक्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋणको दायित्व भुक्तानीमा सरकारले बढी बजेट विनियोजन गर्नुपर्ने अनि त्यसको भुक्तानी गर्न उचित बजेटको व्यवस्था छैन भने हम्हेहम्मे पर्छ । विनिमय दर बढ्दा बजेटमा प्रतिकुल असर पर्नुका साथै पेट्रोलियम पदार्थको आयातको मुल्य बढ्न जान्छ । औद्योगिक कच्चा पदार्थको मूल्य पनि बढेर जान्छ । नेपालको वस्तु निर्यातको क्षमता छैन । रेमिटेन्स जीडीपको २८ प्रतिशत छ । स्वदेशी रोजगारी रेमिटेन्ससँग जोडिएको कारणले हामीलाई धेरै लाभ हुँदैन । वस्तु निर्यात गर्ने क्षमता यदि नेपालको भएको भए खास गरी तेस्रो मुलुकमा अहिले यो डलरको मूल्य १ सय ४० बाट १ सय ४४ सम्म पुग्दा देशलाई धेरै लाभ हुन्थ्यो । देश भित्र रोजगारी सिर्जना हुनुका साथै उत्पादन पनि बढ्थ्यो तर हाम्रो उत्पादन क्षमता अत्यन्त कमजोर भयो ।  जिडीपीको करिव साढे ४ प्रतिशत निर्यातको अवस्था देखाइएको छ । वास्तविक २.७ प्रतिशत हो । यो भटमासको त्यो तेल आयात गरेर फेरि भारतमा निर्यात गरेको कारणले साढे चार पाँच प्रतिशत निर्यात जिडीपीको तुलनामा देखिएको छ र अत्यन्तै न्युन छ । त्यसैले डलर बलियो हुँदा अर्थतन्त्रले सिद्धान्त जुन लाभ लिनुपर्ने त्यो लाभ लिनसक्ने स्थिति छैन । 

स्वास्थ्य बिमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गरेका हुन्। कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको बताए । उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृत पाई सेवा प्रदान गर्दै आएका छन् । धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ । गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए ।

एनपिएल : आज खेल नहुने

काठमाडौं । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे  हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।  सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।  

फर्सी किलोको ३० रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो  ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३१ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो २९ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ५० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ  कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो ४५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यसैगरी, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४० पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाढीले क्षतिग्रस्त रसुवागढी हाइड्रो पुन: सञ्चालनमा, २ अर्ब बराबर नोक्सान

काठमाडौं । गत असार २४ गतेको बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत् उत्पादन गर्ने ३ वटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो । ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युतगृहमा पानी पठाइएको र अन्य २ युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वले जानकारी दिए । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उत्पादनको एक वर्ष नपुग्दै बाढीले क्षति पुर्याएको थियो । ४ महिनाको अवधिमा उत्पादनबाट पौने २ अर्ब रूपैयाँ बराबर नोक्सान भएको कार्यकारी निर्देशक ज्याख्वले बताए ।  ल्हेन्दे खोलाको बाढीले सुरुङमा पानी लैजाने बाँधको ढोका फोेरेर विद्युत्गृहसम्म नै माटो, काठ, ढुङ्गामुढा तथा हिलो पुगेका कारण दुई युनिटको सफाइ कार्य तीव्र रूपमा भइरहेको मर्मतमा संलग्न प्राविधिकले बताएका छन् ।