विकासन्युज

कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ । सम्झौतामा बैंकतर्फ मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई बुझाए ४० पृष्ठको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनका लागि तयार पारेको विस्तृत अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित कार्यालय पुगेका पोखरेलले आफू निकट नेताहरूको उपस्थितिमा उक्त अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे । अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई आफ्नो अवधारणापत्र बुझाएका हुन् । अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढिरहेका पोखरेलले सार्वजनिक गरेको यो अवधारणापत्र ४० पृष्ठको रहेको छ । नेताहरूका अनुसार उक्त दस्तावेजले पार्टीभित्र नेतृत्व परिवर्तनको स्पष्ट निष्कर्ष प्रस्तुत गरेको छ । महाधिवेशनमा बहसका लागि तयार पारिएको दस्तावेजमा नीति, कार्यदिशा र नेतृत्वमा आवश्यक देखिएको रूपान्तरणका एजेन्डा अघि सारेको बताइएको छ ।

सौर्य ऊर्जाबाट सञ्चालन हुने नेपालकै पहिलो नुडल्स उद्योग बन्यो 'करेन्ट नुडल्स’

काठमाडौं । करेन्ट नुडल्स उत्पादन गर्ने यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटामा ८६५ केडब्ल्यूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेको छ । कम्पनीले २३ नोभेम्बर देखि यस सौर्य ऊर्जाबाटै उद्योग सञ्चालन गर्न थालेको जनाएको छ । यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ । कम्पनीले आफूलाई 'नेपालकै पहिलो ग्रीन नुडल्स उत्पादन केन्द्र' का रूपमा स्थापित गरेको घोषणा गरेको छ । कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा जडान गर्ने पहिलो उद्योग यही हो । कम्पनीका अनुसार यस प्रणालीले उद्योगको करिब ८० प्रतिशत विद्युत आवश्यकताहरू पूरा गर्नेछ । साथै ६५ प्रतिशत विद्युत खर्च घट्ने, प्रयोगविहीन छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ । यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा प्रदान गरेको थियो । साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले जर्मन अनुदान डीकेटीआई कार्यक्रम अन्तर्गत व्याज अनुदानसहित अतिरिक्त आर्थिक सहयोग गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी साहले भने, 'हामी नेपालकै पहिलो सौर्य प्रणालीयुक्त नुडल्स प्लान्ट सञ्चालन गर्न पाएकोमा निकै गर्वित छौँ । ८५६ केडब्ल्यू क्षमताको यो प्रणालीबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुनेछ र करिब २ हजार टन कार्बन–डाइ–अक्साइड उत्सर्जन बचत हुनेछ । यसले उत्पादन लागत घटाउँछ र हामीलाई बजारमा अझ प्रतिस्पर्धी बनाउँछ ।' त्यसबेला एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशन (कार्बन घटाउने) दिशामा अघि बढाउन सहयोग गर्ने बताए । प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गका अनुसार परियोजना तीन महिनाभित्रै सम्पन्न गरिएको हो । यो प्रणालीमा उच्च कार्यक्षमताका दुइतर्फी (बाइफेसियल) सौर्य प्यानल, नवीन सौर्य पीभी प्रविधि र कृत्रिम बुद्धिमत्तायुक्त (एआई–सक्षम) स्मार्ट इनभर्टर प्रयोग भएको उनको भनाइ छ । विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री र कम खर्चिलो ऊर्जा विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका उद्योगहरूले पनि छानामाथिको सौर्य ऊर्जा प्रणालीलाई सस्तो विद्युत स्रोत र कार्बन उत्सर्जन घटाउने उपायका रूपमा तीव्र गतिमा अपनाइरहेका छन् । एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले यस्तो प्रणाली जडान गरिसकेका छन् । यो संख्या दैनिक बढ्दै छ । नेपाल जलविद्युतमा धनी भए पनि सौर्य ऊर्जा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको छ । त्यसैगरी, नेपाल विद्युत प्राधिकरणले नेट–मिटरिङ सुविधा उपलब्ध गराएको हुँदा उद्योगहरूलाई अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउने अवसर पनि मिल्दछ । यसले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउँछ र पूर्वाधार खर्च पनि कम हुन्छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले सबै ग्राहकलाई स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार आयकर ऐन–२०५८ बमोजिम खातामा भएका सबै करकट्टीको विवरण सरकारद्वारा सञ्चालित पान प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने भएकाले पान र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको हो । यसका लागि बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको पान अपडेट विकल्पमार्फत छिटो–छरितो रूपमा अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।  साथै नजिकैको कुनै पनि शाखामा गएर पनि प्यान अपडेटको निवेदन दिन सकिन्छ। बैंकले जनाएको अनुसार निक्षेपकर्ताको ब्याजमा काटिएको करलाई ईटीडीएस रेकर्डमा देखाउन पान अत्यावश्यक हुन्छ ।  पान अद्यावधिक गरेपछि ग्राहकको करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीको अनुसूची १० मा मिलान हुन्छ, जसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सहायता गर्छ र प्रमाणपत्र लिन बैंक धाउनु पर्ने झन्झट समाप्त हुन्छ । बैंकले पान नम्बर अद्यावधिक नगरे त्यसपछिको परिस्थितिमा आफू जिम्मेवार नहुने पनि चेतावनी दिएको छ ।  यदि पहिले नै पान बुझाएको भए पनि विवरण नदेखिएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न, गुणात्मक कर्जा विस्तारमा जोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्‍याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता, चुनौतिहरू र बैंकले निभाउनुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि, बैंकमा रहेका प्रचुर निक्षेपलाई गुणात्मक कर्जामा रूपान्तरण गर्ने उपाय, तथा सम्भावित ग्राहकहरूको अवस्था विश्लेषणसहित शाखा कार्यालयहरूले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्व दिनुपर्ने र क्षेत्रगत सम्भावनालाई समेटेर रणनीति बनाउनुपर्ने निर्देशन दिए । उनले सरकारी बैंकप्रति सर्वसाधारणको धारणा थप सकारात्मक बनाउन, सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्न र गुनासोमुक्त सेवा सुनिश्चित गर्न शाखाहरूलाई आग्रह ग रे। सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जावान रहेको उल्लेख गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा रूपान्तरण गर्न निर्देशन दिए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा रहेको निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणात्मक कर्जा वृद्धि, सेवा प्रवाहमा सुधार र शाखा प्रबन्धकहरूको नेतृत्वदक्षता महत्वपूर्ण रहने बताए। उनले सेवाग्राहीसँगको व्यवहार सकारात्मक बनाउन, कर्जा विस्तार लक्ष्यअनुसार अघि बढ्न र गुनासो न्यून बनाउन ध्यानाकर्षण गराए । खनालले शाखा, प्रदेश तथा केन्द्रीय कार्यालयका कर्मचारीको क्षमता अभिवृद्धि तथा कर्जा गुणस्तरीयता सुधारका लागि नियमित तालिममा बैंकले विशेष जोड दिने पनि स्पष्ट पारे । कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक कार्यक्रम विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए । नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपकार्यकारी अधिकृत विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, रामकुमार थापा, विभागीय प्रमुख तथा प्रादेशिक प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

महाधिवेशनअघि ईश्वर पोखरेल समूहले गर्यो छुट्टै दस्तावेज दर्ता, ओलीसँग प्रतिस्पर्धाको तयारी तीव्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनलाई लक्षित गर्दै छुट्टै नीतिगत दस्तावेज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दर्ता गराएका छन् । महासचिव शंकर पोखरेललाई भेटेर उनले आफ्नो समूहका नेतासहित दस्तावेज बुझाएका हुन् । मंसिर २७ देखि सुरू हुने महाधिवेशनमा छलफलमा ल्याउने उद्देश्यले संस्थापनइतर पक्षले तयार पारेको यो दस्तावेजले आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको एक नेताले बताए । दस्तावेज बुझ्दै महासचिव पोखरेलले यसलाई सचिवालय तहमै पेस गरिएको भए उपयुक्त हुने टिप्पणी गरेका थिए । महासचिव पोखरेलले दस्तावेज बुझ्दै ‘सचिवालय तहको बैठकमा बुझाएको भए पनि हुन्थ्यो नि’ भनेका थिए । यसअघि उक्त दस्तावेज केही सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेपछि पार्टीलाई औपचारिक रूपमा बुझाउन ल्याइएको भन्दै आलोचना भएको थियो । तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने दस्तावेज विधिअनुसार दर्ता गरिएको जिकिर गरेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको जनाउँदै उनका निकट नेताहरूले यो दस्तावेज पार्टीको नीति तथा दिशानिर्देशनमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको बताएका छन् ।

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

काठमाडौं । रुपन्देहीको बुटबलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । ‘समृद्ध नेपान निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा आधुनिक स्तरका स्टलहरु राख्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मेला मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले भने– ‘उद्योग संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेका जानकारी गराउन चाहन्छु । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाई १० वटा ‘पेभिलियन’ हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन । पसलको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।’ मेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता प्रर्दशनीले अर्थतन्त्र चलायमान बनाउन र माग बढाउन सघाउ पुग्ने बताए । उनकाअनुसार स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदनप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरु र सरकारी निकायबीच अन्तरसंवाद, आन्तरिक तथा वाह्य ओद्योगिक बातावरणको जानकारी दिने उद्देश्यले गर्न लगिएको मेलाले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्नेछ । परिसंघ अध्यक्ष पाण्डेले भने–‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । माग बढाउनुपर्ने पनि छ । यो किसिमको प्रदर्शनीले त्यसमा महत्वपूर्ण भुमिका खेल्नेछ । रुपन्देही उद्योग संघको अगुवाईमा निरन्तर प्रदर्शनि भइरहेको कार्यक्रम हो । यसले छुट्टै किसिमको माहोल बनाउनेछ । डिमाण्डलाई हामीले कसरी हुन्छ बढाउनुपर्छ । यही शिलशिलामा पुषको ३ देखि १७ गतेसम्म बुटवलमा मेला हुन लागेको छ ।’ प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिनेछन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५ सय स्टलहरु रहनेछन् । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । 

१२ हजारभन्दा बढी दर्ता : मुम्बईको घर–जग्गा बजारले बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा नोभेम्बर महिनामा सम्पत्ति (प्रोपर्टी) बिक्रीका सबै रेकर्ड ब्रेक भएका छन् । मुम्बई भारतकै सबैभन्दा ठूलो र सबैभन्दा महँगो प्रोपर्टी बजार मानिन्छ ।  सहरमा भइरहेको ठूला पूर्वाधार (इन्फ्रास्ट्रक्चर) र कनेक्टिविटी प्रोजेक्टहरूको कारण सहरको स्वरूप बदलिँदै गएको छ, जसले गरेर प्रोपर्टीको माग पनि तीव्र रूपमा बढेको छ । नोभेम्बरमा मात्रै सहरमा १२ हजार २१९ प्रोपर्टीहरूको दर्ता (रजिष्ट्रेशन) भयो, जुन गत वर्षको तुलनामा २० प्रतिशत बढी हो । यसले सरकारी आम्दानीमा पनि ठूलो लाभ पु‍र्याएको छ ।  रजिष्ट्रेशन र स्टाम्प ड्युटीमार्फत राज्य सरकारले १ हजार ३८ करोड भारु राजस्व आर्जन गरेको छ, जुन गत वर्षभन्दा १२ प्रतिशत बढी हो । यो विवरण महाराष्ट्रका इन्स्पेक्टर जनरल अफ रजिष्ट्रेशन एण्ड कन्ट्रोलर अफ स्ट्याम्प्सका तथ्यांकबाट पत्ता लागेको हो । द इकोनोमिस्ट टाइम्सको एक रिपोर्टअनुसार नाइट फ्र्यांक इन्डियाका सीएमडी शिशिर बैजल भन्छन्, ‘मुम्बईको आवासीय बजार नोभेम्बरमा पनि राम्रो गतिमा नै छ । सबै सेग्मेन्टमा माग बलियो छ र मानिसहरू उच्च श्रेणीका तथा महँगा घरतर्फ बढी आकर्षित भइरहेका छन् । पहिलो ११ महिनामा १ लाख ३५ हजारभन्दा धेरै युनिट दर्ता भइसकेका छन्, जसले बजारलाई धेरै सबल स्तरमा पुर्‍याएको छ । प्रत्येक महिनाको गतिविधि स्थिर र सन्तोषजनक छ । भोल्युम र राजस्व दुबैमा देखिएको स्थिरता मुम्बईमा परिपक्व माग चक्र र घर किन्नेबाहरूको विश्वासलाई देखाउँछ ।’ यस वर्षका पहिलो ११ महिनामा मुम्बईमा १ लाख ३५ हजार ८०७ प्रोपर्टी डिल भएका छन् । जसबाट सरकारले १२ हजार २२४ करोड रुपैयाँ राजस्व पाएको छ । यो वर्ष सम्पत्ति बिक्रीका हिसाबले ‘रेकर्ड ब्रेकिङ’ वर्ष साबित भएको छ । रजिष्ट्रेशन गत वर्षको तुलनामा ५ प्रतिशत बढेको छ भने राजस्व ११ प्रतिशतले बढेको छ ।  नोभेम्बरमा दर्ता भएका जम्मा प्रोपर्टीमध्ये ८० प्रतिशत आवासीय (रेजिडेन्सियल) थिए । ठूला र प्रिमियम घरहरू प्रति आकर्षण बढेको छ । ५ करोड रुपैयाँभन्दा बढी मूल्यका घरहरूको हिस्सा ७ प्रतिशत पुगेको छ जुन गत वर्ष ५ प्रतिशत थियो । १–२ करोड मूल्यका घरहरूको हिस्सा ३३ प्रतिशत रहेको छ भने १ करोडभन्दा कम मूल्यका घरहरूको हिस्सा घटेर ४२ प्रतिशत मात्र रहेको छ ।  २–५ करोड मूल्यका घरहरूको हिस्सा १८ प्रतिशत स्थिर यसले कम मूल्यका घरहरू महँगिँदा किन्न कठिन भइरहेको संकेत गर्छ ।