विकासन्युज

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६ अंकले घटेर २३७.७७ विन्दुमा कायम भएको छ। नेप्सेका अनुसार आज ३३५ कम्पनीको ९७ हजार ४० पटक कारोबारमा २ करोड १० लाख ८७ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । ५१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हाे ।  दोस्रो धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, रिदी पावर कम्पनीको ३८ करोड १४ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३६ करोड ८२ लाख रुपैयाँ र खाँखु खोलाको ३१ करोड ४६ लाख रुपैयाँको  कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । शुक्रबार दुई उपसूचक बढेको छ भने बाँकी घटेका छन् । जलविद्युत ०.०८ र उत्पादन १.५९ प्रतिशतले बढेको छ । बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, म्युचल फण्ड ०.४९, निर्जीवन बीमा ०.४८, अन्य १.३९ र व्यापार १.०६ प्रतिशतले घटेको छ । आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्टका लगानीकर्ताले १० प्रतिशतको दरले कमाएका छन् । त्यस्तै रिज लाइन इनर्जी, शिखर पावरका लगानीकर्ता ९.९९ प्रतिशतले कमाएका छन् ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारको कदमविरुद्ध संघ संगठन आन्दोलनमा उत्रिँदै

काठमाडौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको कदमविरुद्ध विद्यार्थी संघ संगठनहरू आन्दोलनमा उत्रने भएका छन् । संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।  आन्दोलनका कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने, चैत ३० गतेदेखि आगामी वैशाख ४ गतेसम्म देशका सबै जिल्लामा रहेका क्याम्पसमा छलफल तथा अन्तरक्रिया गर्ने तथा वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने विद्यार्थीहरूले बताएका छन् ।  यस्तै, वैशाख ७ गतेदेखि ९ गतेसम्म क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्नेदेखि हस्ताक्षर संकलन गरिने, वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गतेः प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र वैशाख १५ गते काठमाडौंको बालुवाटार सहित देशभरि कापी-कलमसहितको प्रदर्शन गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् । विद्यार्थीहरूले सरकार निषेधको नीति लिने र जनताको आवाज थुन्ने कार्यमा अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले दलीय विचारसँग आवद्ध संगठनलाई खारेज गर्ने कार्य स्वीकार्य नहुने भन्दै एकतर्फीले सरकार अघि बढ्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

औषधी व्यवस्था विभागका महानिर्देशक स्वास्थ्य मन्त्रालय तानिए, औषधी मूल्य बढाएको विषमा छानबिन गरिने

काठमाडौं । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिनको दायरामा परेका छन् । कानुन विपरीत औषधीको मूल्यवृद्धि गरेको भन्दै सरकारले ढकालमाथि छानबिन गर्न भन्दै विभागबाट स्वास्थ्य मन्त्रालय तानेको छ ।  प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । निर्देशनपछि ढकाल मन्त्रालयमा तानिएका छन् ।  पत्रमा भनिएको छ, ‘औषधी व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी यस कार्यालयमा उजुरी प्राप्त भएकोले सो विषयमा के कसो भएको हो, औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता रहेको हो सो सम्बन्धमा सम्पूर्ण विषय समेट्ने गरी तथा मन्त्रालयबाट विषयगत विज्ञको सहायतामा तीन सदस्यीय छानबिन समिति गठन गरी यस कार्यालयलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशनानुसार अनुरोध छ ।’ पत्रमा प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधीको मूल्यवृद्धि गरिएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी परेको उल्लेख गरिएको छ ।

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ । उनीहरूलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ । गौरीकुमारीले महोत्तरी- ४ र रामजीले सप्तरी- २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । बिहीबार प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैले सम्हाल्दै आएका थिए ।  यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।

रास्वपाको समर्थन रूबीकुमारी ठाकुरलाई, उपसभामुख निर्वाचनमा मतदान गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने प्रस्ताव पारित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)लाई उपसभामुखमा समर्थन गर्ने चर्चा चलेपनि श्रम संस्कृति पार्टीलाई समर्थन गरेको हो ।   राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।

सहारा घरका आश्रितहरूलाई एनआईसी एशिया बैंकको साथ

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, २ स्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर)का लागि विभिन्न सामग्रीहरू प्रदान गरेको छ । बैंकले डाइनिङ टेबल, बेन्चहरूका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको हो । बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका तथा पाका उमेर व्यक्तिहरूसहित ९७ जनालाई आश्रय दिइरहेको यस संस्थाका लागि यस बैंकका सर्कल हेड दिपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामानहरू हस्तान्तरण गरे । सहारा घरमा असहाय, परनिर्भर, बालबालिका तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई खानेबस्ने सुविधासहित आश्रय दिँदै आएको छ ।  सहारा घरले गरेको यस पुनित कार्यमा यस बैंकले उपलब्ध गराएको सहयोगले उक्त संस्थामा आश्रित व्यक्तिहरूको बसाइँ र स्वच्छ खानेपानीको सुविधा अझ सहज हुने बैंकले विश्वास लिएको छ ।       यसअघि बैंकले शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुको साथै यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।  साथै विगतका वर्षहरूमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ । 

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटलबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  यस सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब नेपाल क्यान्सर हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ  । साथै स्वास्थ्य सेवा प्याकेजमा विशेष सहुलियत दिने भएको छ ।  उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।