उपसभामुखमा एमालेले मतदान नगर्ने
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ । शुक्रबार संसदमा उपसभामुखका लागि मतदानअघि प्रस्तावक र समर्थकले बोल्ने क्रम जारी छ । संसदमा बोल्दै एमालेका सांसद मोहम्मद इस्तियाक राईले एमालेले मतदान नगरेर तटस्थ बस्ने निर्णय गरेको बताए ।
नयाँ वर्षदेखि साझा यातायातका बस एआई निगरानीमा, सबै गतिविधि रुमबाटै थाहा हुने
काठमाडौं । साझा यातायातले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन डिजिटल रूपान्तरणको सुरुवात गरेको छ । ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा अत्याधुनिक कृत्रिम बाैद्धिकता (एआई) प्रविधिमा आधारित कन्ट्रोल रुम स्थापना भएसँगै साझाले नयाँ फड्को मारेको हो । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार यो प्रणाली अहिले परीक्षणको अन्तिम चरणमा छ र आगामी २०८३ वैशाख दोस्रो वा तेस्रो हप्ताभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ । कन्ट्रोल रुमले साझाका गाडीहरूमा जडान गरिएका सीसीटिभी क्यामेरा र जीपीएस प्रणालीलाई एउटै प्लेटफर्ममा जोड्नेछ । यसबाट कार्यालयबाटै गाडीभित्र र बाहिरका गतिविधिहरू लाइभ हेर्न सकिनेछ । यात्रुमाथि हुने दुर्व्यवहार रोकथाम गर्न र सामान हराएमा तत्काल ट्र्याकिङ गर्न सजिलो हुनेछ । यदि चालक निदाएमा, सवारी चलाउँदा धुम्रपान गरेमा वा असामान्य व्यवहार देखाएमा प्रणालीले तत्काल कन्ट्रोल रुममा नोटिफिकेसन पठाउनेछ । गाडीको गति, दुई गाडी बीचको दूरी र बस स्टपमा रोकिने समयको डिजिटल अनुगमन हुनेछ । सीईओ अर्यालले भने, ‘अब यात्रुहरू ढुक्क भएर बस चढ्न सक्नेछन्, किनभने प्रत्येक गतिविधि र प्रत्येक व्यक्तिको चलायमान अवस्था रेकर्ड र निगरानीमा रहनेछ । केवल एक क्लिकमै सबै जानकारी हेर्न सकिने यो प्रविधिले सार्वजनिक यातायातमा पारदर्शिता र सुरक्षालाई नयाँ उचाइमा पुर्याउनेछ ।’ यात्रु र संस्थालाई हुने लाभ यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सार्वजनिक यातायातमा देखिने अव्यवस्थित प्रतिस्पर्धा र ढिलासुस्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।
महिलालाई अपशब्द बोलेर भिडियो बनाउने राइड सेयरिङका चालक पक्राउ
काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । कुनै पनि भिडियो बनाउँदा वा प्रतिक्रिया व्यक्त गर्नुअघि अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमा आँच आउने किसिमका कार्य नगर्न पनि नेपाल प्रहरीले अनुरोध गरेको छ ।
बीमा व्यवसायको गरिमा उच्च हुनेगरी काम गर्न बीमा कम्पनीलाई सुवेदीको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै उनले बीमा सम्बन्धी ऐन, नियम र निर्देशनहरू बमोजिम बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तार, सुशासन कायम, नविनतम् प्रविधि अवलम्बन र बीमाको पहुँच विस्तारका लागि उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण सदैव तयार रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेलले पछिल्लो समयमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र बीमा क्षेत्रका अधिकाङ्श परिसूचकहरू पनि सकारात्मक रहेको जानकारी दिए । निर्देशक ढुंगेलले जोखिम व्यवस्थापनका साथसाथै ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तारलाई प्राथमिकता दिएर बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणले विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
देशभरका विमानस्थलमा स्तनपान कक्ष, प्राथमिक उपचारदेखि स्यानिटरी प्याड उपलब्ध गराउन निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलहरूमा स्तनपान कक्ष र प्राथमिक उपचार कक्षदेखि यात्रुलाई दिने विभिन्न सेवामा थप सुधार गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयले देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा व्यापक सुधार आवश्यक देखिएको भन्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ । स्तनपान तथा शिशु हेरचाह कक्षअन्तर्गत सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकता अनुसार स्तरोन्नति गर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लगि प्राथमिक हेरचाह कक्ष बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यसैगरी, विमानस्थलमा महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन मन्त्रालयको निर्देशन छ ।
अदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने, ‘तत्काल मताधिकारसहितको अधिकार चाहियो’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरूले आफूहरूलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागी हुनको लागि एउटा साधारणसभामा भाग लिएको हुनुपर्ने बताएका हुन् । अदालतबाट हिजोमात्रै न्याय पाएका १८ वस्तुगत संघले महासंघको यसअघिको विशेष साधारण र ५९ औं वार्षिक साधारण सभामा भाग लिइसकेका छन् । साथै उनीहरूले सदस्यताका सबै दस्तुर तिरिसकेका छन् । अदालतले सबै सदस्यतालाई मध्यनजर गर्दै महासंघको आसन्न ६०औं वार्षिक साधारण सभामा सहभागी गराउनू भन्ने अन्तरिम आदेश जारी गरेसँगै १८ वस्तु अदालतको निर्णयअनुसार मताधिकारसहित आफूलाई चुनावी प्रक्रियामा सहभागी गराउन माग गरेका हुन् । यस्तो छ उनीहरूले प्रस्तुत गरेको मताधिकार प्रयोग पाउनुपर्ने आधारहरू १. हामी उल्लेखित संस्थाहरुले महासंघको सदस्यता दिने निर्णय हुनु पूर्व विभिन्न मितिमा सदस्यता प्राप्तिका लागि आवश्यक कागजात सहित निवेदन दर्ता गरिएका थियौं । २. मिति २०८१–११–२४ गते सदस्यता सिफारिस समितिले व्याख्याको लागि कार्यसमिति समक्ष पेश गरेको रहेछ । ३. मिति २०८१–११–२६ गते कार्यसमितिवाट हामीलाई विधिवत रुपमा सदस्यता प्रदान गर्ने निर्णय भएको । ४. सदस्यता दिने निर्णय बिरुद्द समान अधिकार र जिम्मेवारी रहेको नेपाल पोल एसोसियसनको तर्फबाट किशोर श्रेष्ठ ज्युले सम्मानित उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको । ५. उक्त मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने आदेश भई महासंघको मिति २०८१–१२–२८ मा सम्पन्न ५९औं साधारण सभामा सहभागी भएको । ६. उल्लेखित मुद्दा मिति २०८२/०९/१६ गते आदेश हुँदा महासंघले सदस्यता वितरण गर्दा तथ्य र कारण नखोली सदस्यता प्रदान गरेको देखिदा सो निर्णयलाई बदर गरि १५ दिन भित्रमा तथ्य र कारण खोली पुन निर्णय गर्नु भनि आदेश भएको । ७. सो उपर हामी उल्लेखित संस्थाहरु सम्मानित सर्वोच्च अदालतमा दोहोर्याई पाउँ भनि दोपा निवेदन दायर गरेको साथै महासंघ समेतले दोपा निवेदन दर्ता गरेको । ८. मिति २०८२–१२–०४ गते महासंघमा मुद्दाको अन्तिम किनारा नलागेसम्म वा महासंघबाट हामीलाई सहभागी हुनेगरी निर्णय नभएसम्म साधारण सभाको काम कारबाही नगर्नु हुन भनि निवेदन दर्ता गरेको । ९. मिति २०८२–१२–०५ गते सम्पन्न महासंघको कार्यसमितिको बैठकबाट हाम्रो सम्बन्धमा कुनै निर्णय नगरी अधिवेशन सम्बन्धि निर्णय र अधिवेशन आह्वान भएको । १०. मिति २०८२–१२–२२ गते हामी मध्यका ७ वटा संस्थाहरुले हाम्रो सहभागिता बिना सम्पन्न गर्न खोजिएको साधारण सभा गैरकानुनी रहेको जिकिर गरि निशेधाज्ञा निवेदन दर्ता गरेकोमा २३ गते अन्तरकालीन अन्तरिम आदेश जारि भएको । ११. मिति २०८२–१२–२६ गते दोहोरो छलफल पश्चात सम्मानित अदालतबाट हाम्रो सहभागिता बिना साधारणसभा गर्नु कानुन सम्मत नदेखिएको भनि अन्तरिम आदेश जारी भइ साधारणसभा स्थगित भएको । १८ नयाँ सदस्य विवादले रोकियो महासंघको चुनाव
संसदमा राष्ट्रपतिका १७ सन्देश (पूर्णपाठ)
काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलन पश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकासका लागि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद र आभार प्रकट गरे । उनले निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभुतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधि सभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको उल्लेख गर्दै यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताएका छन् । यस्तो छ सम्बोधनको पूर्णपाठ सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । २. सर्वप्रथम, म नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन भएका सबै आन्दोलन र संघर्षको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । ३. सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलन पश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकासका लागि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणासहित तत्कालीन प्रतिनिधिसभाको विघटन भएको विषय हामी सवैलाई अवगत नै छ । फागुन २१ गते तोकिएकै समयमा स्वच्छ, निश्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भै ताजा जनादेशवमोजिम सरकार गठन समेत भैसकेको छ । म यस अवसरमा निर्वाचनमा सहभागी हुने सवै राजनीतिक दल तथा उम्मेदवाहरू, निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्न चाहान्छु । उहाँहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु । ४. अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु थियो । सोहीअनुसार तत्कालीन सरकारले राज्य संयन्त्रलाई लयमा ल्याई भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहमा सुधारसहित संवैधानिक र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । ५. प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न आआफ्नो तर्फबाट भूमिका खेल्ने तत्कालीन सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु । ६. देशको विषम र संवेदनशील अवस्थामा सबै राजनीतिक दल, युवा पुस्ताका अभियन्ता तथा अगुवा, संवैधानिक अङ्ग, सुरक्षा निकाय, राष्ट्रसेवक, सम्पूर्ण राज्य संयन्त्रले निर्वाह गरेको भूमिका, सहयोग तथा नेपाली जनताले देखाएको संयमताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहान्छु । ७. निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभुतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधि सभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ । ८. जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सवै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसर, दण्डहिनताको अन्त्य, सामाजिक न्याय, तिब्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकांक्षा राखेका छन् । पटक, पटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो । ९. जनताको यी चाहना पूरा गर्न संसदले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्दछ । निर्माण भएका कानुनको मर्म र भावनाअनुरुप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु । साथै, न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ । १०. वर्तमान संविधान कार्यान्वयनको बिगत १० बर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । तर संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम हामीले गर्नुपर्ने काम अझै धेरै बाँकी छ । ११. आजका युवाको चाहना विगतभन्दा धेरै नयाँ छ । उनीहरू नयाँ कुरा सिक्न चाहन्छन् । परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौं बसौं बनाउनुपर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ । १२. यसैगरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराएर देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्ने छैन भन्ने पनि मेरो विश्वास छ । निराश जनशक्तिबाट कुनै पनि मुलुकको उन्नति भएको पाईँदैन । हाल युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको निराशाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रित गर्नेछ । १३. भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्दछ । सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ । १४. हालैका दिनमा विश्वपरिवेशमा देखिएका द्धन्द तथा अस्थिरताको अवस्थालाई मध्यनजर गरी सरकार र सम्वद्ध सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मान र सहयोगमा आधारित कुटनीतिक सम्बन्ध अगाडि बढाउनु पर्ने आवश्यकता छ । १५. जलवायु परिवर्तनले हामीलाई पारेको नकरात्मक प्रभावबाट परेको असर न्युनिकरण गर्न जलवायु न्यायका लागि विश्व समुदायसँग सरकारले उचित पहल गर्नेछ । १६. मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवद्र्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हांसिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ । १७. अन्त्यमा, लोकतान्त्रिक मूल्य र मान्यता र आदर्शलाई आत्मसाथ गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधिहरू, राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ्न आह्वान गर्दै सार्वभौम संसद, नेपाली जनताको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको चाहनालाई मुखरित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु । जय नेपाल ।