बैंकहरूको लागत घटाउने, संस्थागत सुधारमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित नीति जारी गरिएको बताएका छन् । उक्त उद्देश्य हासिल गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधार गर्दै पुँजी परिचालनको खर्च घटाउने र त्यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा हस्तान्तरण हुने व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए। मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसार विशिष्टीकृत सेवासहितको बैंकिङ अवधारणामा अघि बढ्ने नीति लिएको छ । यस्तै, शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचकता दिने, वित्तीय सेवामा डिजिटाइजेसनलाई प्रोत्साहन गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीका विभिन्न उपाय अघि सारिएको छ । मौद्रिक नीतिमा संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाइ गरिने पनि उल्लेख गरिएको छ। यसमार्फत असीमित दायित्व सिर्जना हुने अवस्था हटाइने राष्ट्र बैंकले जनाएको छ ।
एआई चिपको मागसँगै सामसुङको नाफा १९ गुणाले बढ्ने
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो । विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर एक हजार ७१० खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले बढी हो । कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ । एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ । यही कारण सामसुङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो । सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे–जोङले सामसुङको अनुमानित नाफालाई कम्पनीकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताए । उनका अनुसार कम्पनीले यस्तो प्रदर्शन निरन्तर कायम राख्न सके विश्वकै अग्रणी उत्पादन कम्पनीका रूपमा अझ बलियो स्थान बनाउन सक्छ । तर उनले एआईसँग सम्बन्धित मेमोरी चिपको उच्च माग कति समयसम्म कायम रहन्छ भन्ने विषय नै आगामी चुनौती रहने उल्लेख गरे । उनका अनुसार अर्को वर्षसम्म माग सुरक्षित देखिए पनि त्यसपछिको अवस्था निश्चित छैन । सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि मङ्गलबार बिहानको कारोबारमा सामसुङको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो । सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि यसको प्रभाव पारेको विश्लेषण गरिएको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले बजार विश्लेषण उद्धृत गर्दै सामसुङको प्रारम्भिक नाफा अनुमान विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा छ दशमलव दुई प्रतिशतले बढी रहेको जनाएको छ । सामसुङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोन बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन् । प्राध्यापक किमका अनुसार उक्त परियोजना सम्पन्न भएपछि पनि सामसुङले हालको आयको स्तर कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय भने अझै अनिश्चित छ । केही विश्लेषकले एआई पूर्वाधारमा हुने सम्भावित लगानी सुस्ताइलाई अहिलेको मेमोरी चिप बुमका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन् । तर काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीचको अन्तर अझै उल्लेखनीय रूपमा कायम रहेकाले व्यापक मन्दीको निष्कर्ष निकाल्न हतार हुने बताए । उनका अनुसार केही प्रतिस्पर्धी कम्पनीका डाटा सेन्टर परियोजना ढिलो हुन सक्छन्, तर त्यसलाई समग्र एआई पूर्वाधार लगानी घटेको संकेतका रूपमा लिन मिल्दैन । एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन् । यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ । दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ । राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन–सिकले कर राजस्वबाट प्राप्त अतिरिक्त आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताएका छन् । यसैबीच एसके हाइनिक्ससँग सम्बन्धित ज्याकेट यस वर्ष सामाजिक सञ्जालमा धन र सफलताको प्रतीकका रूपमा भाइरल बनेको थियो । विभिन्न व्यङ्ग्यात्मक सामग्रीमा त्यसलाई विलासी जीवनशैली र राम्रो वैवाहिक सम्भावनाको ‘सुनौलो टिकट’ का रूपमा चित्रण गरिएको थियो । योन्हापका अनुसार वैवाहिक मिलान संस्था सुनुले तयार पारेको ‘वाञ्छनीयता सूचकाङ्क’ मा सामसुङ र एसके हाइनिक्सका कर्मचारीको आकर्षण डाक्टर र वकिलसरह पुगेको देखिएको छ । रासस
आगामी वर्ष १२ वटा प्रसारण लाइन सकिने, आन्तरिक सुधार र विस्तारका लागि ४६ अर्ब बजेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षमा प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, सिँचाइ पूर्वाधार र ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्याप्रति मन्त्रालय गम्भीर रहेको र तत्काल, मध्यकालीन तथा दीर्घकालीन रणनीतिअनुसार समाधानका काम अघि बढाइएको जानकारी दिए । उनले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको उल्लेख गर्दै पछिल्ला तीन महिनामा प्राप्त करिब १८ हजार ३ सय गुनासो सम्बोधन गरिएको बताए । मन्त्री श्रेष्ठका अनुसार अहिले देशमा विद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी भए पनि पुराना प्रसारण तथा वितरण संरचना, तीव्र रूपमा बढ्दो विद्युत् माग र प्रतिकूल मौसमका कारण केही क्षेत्रमा आपूर्ति प्रभावित भएको हो । सरकारले आगामी आर्थिक वर्षभित्र १३२ केभीका ९ वटा, २२० केभीका २ वटा तथा नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन गरी कुल १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य लिएको उल्लेख गर्दै आन्तरिक तथा अन्तरदेशीय प्रसारण र वितरण प्रणालीको सुधार तथा विस्तारका लागि करिब ४६ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । सिँचाइतर्फ सरकारले नयाँ आयोजना सुरु गर्नेभन्दा निर्माणाधीन तथा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने नीति लिएको मन्त्री श्रेष्ठले बताए । आगामी आर्थिक वर्षमा थप १५ हजार ७ सय ७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने र सिञ्चित क्षेत्रको अनुपात ६४ प्रतिशत पु¥याउने लक्ष्य रहेको उनले उल्लेख गरे । त्यस्तै बबई, भेरी–बबई र सुनकोशी-मरिन डाइभर्सनलगायत ठूला आयोजनाका लागि पर्याप्त बजेट र कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरिएको जानकारी दिँदै उनले तराई-मधेशमा भूमिगत जल सिँचाइ विस्तार, डिप ट्युबवेल निर्माण, लिफ्ट सिँचाइ, साना जलाशय निर्माण तथा नदी नियन्त्रणका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको बताए । ऊर्जा उत्पादनतर्फ आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने भन्दै उनले राष्ट्रिय विद्युत् पहुँच हाल ९७.६ प्रतिशत पुगेको र आगामी आर्थिक वर्षको अन्त्यसम्म ९८.१ प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी दिए । बाँकी क्षेत्रमा लघु जलविद्युत, सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जामार्फत सेवा विस्तार गरिने उनले बताए । मन्त्री श्रेष्ठले अब विद्युत् उत्पादनसँगै खपत वृद्धि र ऊर्जा व्यापारलाई पनि प्राथमिकता दिनुपर्ने समय आएको उल्लेख गर्दै सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति-२०८३ कार्यान्वयनमा ल्याएको बताए । रणनीतिअनुसार आन्तरिक खपत बढाउँदै वर्षायाममा बचत हुने विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गरिने उनले स्पष्ट पारे । ऊर्जा क्षेत्रमा पहिलोपटक व्यापार उदारीकरणको नीति अपनाइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अब निजी क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न पाउने तथा निजी लगानीमा प्रसारण लाइन निर्माण गरी ‘ह्विलिङ चार्ज’ मार्फत विद्युत् व्यापार गर्ने कानुनी व्यवस्था अघि बढाइएको जानकारी दिए ।
मौद्रिक नीति अघिको बजार २४ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजार २४.५७ अंक बढेको छ । सोमबार २६ अंकले घटेको बजार आज उकालो लागेको हो । यससँगै बजार २६५१.६८ विन्दुमा उक्लिएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । कारोबारतर्फ ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटकमा किनबेच भएको छ । कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् । धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट रहेका छन् । समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् । बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढे । त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढेका छन् । आज राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
२५ वर्षमा साना किसान विकास लघुवित्तको कृषि उत्पादनमा ७२ अर्बको योगदान
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले हाल देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा सेवा विस्तार गर्दै करिब १० लाख किसान परिवारसम्म लघुवित्त सेवा पुर्याएको जनाएको छ । संस्थाका अनुसार देशभर एक हजार ४८५ भन्दा बढी साना किसान सहकारी संस्थामार्फत वित्तीय सेवा प्रवाह भइरहेको छ । लाभग्राहीमध्ये महिलाको सहभागिता ८२ प्रतिशत रहेको छ भने दलित, जनजाति र अन्य समुदायका किसानसमेत सेवाबाट लाभान्वित भएका छन् । संस्थाले नेपाल सरकारको सहकार्यमा विगत १५ वर्षदेखि पशुपालन र पछिल्ला ६ वर्षदेखि तरकारी खेतीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसबाट हालसम्म करिब १७ लाख ७९ हजार पशुपालन तथा ११ हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार भएको दाबी गरिएको छ । यी कार्यक्रमबाट वार्षिक करिब ४.८ अर्ब रुपैयाँ बराबरको उत्पादन तथा हालसम्म ७२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको दूध, मासु र तरकारी उत्पादनमा योगदान पुगेको संस्थाले जनाएको छ । संस्थाले कृषि व्यवसायीकरण, उद्यमशीलता विकास, कृषि तालिम, पशुधन संरक्षण तथा वित्तीय साक्षरतालगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै युवा लक्षित आधुनिक कृषि तालिम कार्यक्रमअन्तर्गत हालसम्म ३६१ जनाले तालिम लिएको जानकारी दिएको छ । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको सहकार्यमा सञ्चालन गरिएको ग्रामीण उद्यम परियोजनामार्फत कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा आधारित २ हजार ५८० उद्यम स्थापना भएको तथा ती उद्यममा ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी भई १० हजार ७३७ जनाले रोजगारी पाएको संस्थाको दाबी छ । संस्थाले आगामी दिनमा पनि साना किसानको उत्पादन क्षमता वृद्धि, कृषि व्यवसायीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ । आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो । माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।
आजै अभिषेक गिरीलाई सीआईबीले म्याद थप्न अदालत लैजाने
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठगी तथा अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ । सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार गिरीलाई अनुसन्धानको सिलसिलामा ब्युरोमा ल्याइएको हो । प्रवक्ता जवराले ठगी तथा अन्य आपराधिक कसुरमा अनुसन्धान भइरहेको विकासन्युजलाई जानकारी दिए । गिरीलाई कानुनी प्रक्रियाका लागि आजै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको समेत सिआईबीले जनाएको छ । प्रवक्ता जवराले भने, ‘अनुसन्धानको सिलसिलामा गिरीलाई यहाँ ल्याइएको छ। ठगी तथा अपराध विषयको सम्बन्धमा अनुसन्धान भइरहेको छ र आजै म्याद थप्ने प्रक्रिया अगाडि बढ्छ ।’ सोमबार गिरीलाई मोरङ जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । केही दिनअघि मात्र उनलाई मोरङ जिल्ला कारागारका कैदीबन्दीसँग रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले एक कैदीबन्दीसँग ५ सयदेखि १ हजार रूपैयाँ असुल्ने गरेका थिए । राज्यले कैदीबन्दीलाई भत्तास्वरूप दिएको पैसा उनले लिने गरेका थिए । कारागारले कैदीबन्दीलाई गर्मीका लागि पोशाक तथा रासनभत्ता उपलब्ध गराएको रकमसमेत उनले असुल्ने गरेका थिए । गिरी केही समयअघिसम्म सोही कारागारमा कैदीबन्दीका रूपमा पनि थिए । कारागारबाट छुटेपछि नेपाली कांग्रेससँग आवद्ध भएका थिए । त्यसैगरी, उनले गिरी फाउन्डेसनमार्फत मोरङका विभिन्न ठाउँमा पुगेर समाजसेवा गर्दै आएका थिए ।
बालेन र कान्डाको ‘वान टु वान’ वार्ता, थप ३६४ अर्ब रूपैयाँको प्रतिवद्धता
काठमाडौं । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय दातृ निकायसँग एक्लाएक्लै गरेको यो पहिलो भेटवार्ता हो । यसअघि उनले विभिन्न देशका राजदूतसँग संयुक्त रुपमा छलफल गरेका थिए । उक्त भेटमा अध्यक्ष कान्डाले प्रधानमन्त्री शाहलाई बलियो जनमत (स्ट्रङ म्यान्डेट) प्राप्त गरेकोमा बधाईसहित नेपाल सरकारसँग थप प्रभावकारी रुपमा समन्वय हुने प्रतिवद्धता गरेका छन् । भेटपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष कान्डाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीका लागि प्रधानमन्त्री शाहले अघि सारेका महत्त्वाकांक्षी सुधारका कार्यहरूलाई एडीबीले दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा स्थापित हुँदै एडीबीले प्रधानमन्त्रीको ’भिजन’ लाई परिणाममा बदल्न सन् २०२९ सम्ममा थप २.४ बिलियन (हालको विनिमय दरमा ३ खर्ब ६४ अर्ब नेपाली रुपैयाँ) बराबरको थप सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । विगत ६० वर्षदेखि नेपाल र एडीबीले संकट, पुनरुत्थान र प्रगतिका हरेक चरणमा सहकार्य गर्दै सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, मजबुत पूर्वाधार र उत्कृष्ट अवसरहरू सिर्जना गर्न योगदान पुर्याउँदै आएको विषय अध्यक्ष कान्डाले उल्लेख गरेका छन् । आगामी दिनमा पनि नेपाली जनताका लागि ठोस र दीर्घकालीन प्रगति हासिल गर्न प्रधानमन्त्री शाह र नेपाल सरकारसँग मिलेर नजिकबाट काम गर्न आफू उत्सुक रहेको अध्यक्ष कान्डाले बताएका छन् । प्रधानमन्त्री बालेनसँगको भेटबारे एडीबीले प्रेस विज्ञप्ति पनि जारी गरेको छ । भेटका क्रममा अध्यक्ष कान्डाले नेपाल अहिले एक निर्णायक मोडमा रहेको र यहाँ गतिशील एवं उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ठूलो अवसर रहेको उल्लेख गरेको बताइएको छ । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारको रूपमा रहेको एडीबीले सन् २०२९ सम्म गर्ने २.४ अर्ब अमेरिकी डलर लगानीलाई रोजगारी सिर्जना, व्यवसायको सुदृढीकरण र नेपाली समुदायको जीवनस्तर सुधार गर्नमा प्रयोग हुने उल्लेख गरेको छ । सोमबार एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर समेत गरेको छ । यस अन्तर्गत ८ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउन ११ करोड ५० लाख डलर र सीमापार व्यापार प्रणालीलाई डिजिटलाइजेसन एवं आधुनिकीकरण गरी व्यवसायको लागत घटाउन ५ करोड डलर विनियोजन गरिएको छ । साथै, अध्यक्ष कान्डाले एडीबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण पनि गरेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नर्वेकी राजदूत ड्याग्नी म्योजसँग मिलेर काठमाडौंको विद्युत आपूर्ति सुदृढ गर्ने दुईवटा सबस्टेशनहरूको भर्चुअल उद्घाटन गरेका छन् । यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको र आधुनिक विज्ञान–प्रविधि सुविधाले सम्पन्न त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको अवलोकन समेत गरेका छन् । भ्रमणकै सिलसिलामा अध्यक्ष कान्डाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको आर्थिक सुधार, लगानी परिचालन र सरकारका विकास प्राथमिकताहरूका बारेमा गहन छलफल भएको बताएका छन् । उनले नेपालको निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि भेटेर लगानीका अवसर र चुनौतीबारे विचार आदानप्रदान गरेका छन् । एडीबीले आफ्नो सन् २०२५–२०२९ को नेपाल साझेदारी रणनीति अन्तर्गत यो वर्ष वार्षिक कर्जा प्रवाह ६६ करोड डलरसम्म पुर्याउने योजना बनाएको छ । आगामी दिनमा दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण र महिला तथा पिछडिएका वर्गको सशक्तीकरणलाई प्राथमिकता दिँदै हरित बन्ड र स्थानीय मुद्रा बन्ड जस्ता नवीन वित्तीय उपकरणहरू मार्फत थप स्रोत परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ । It was an honor to meet Nepal’s Prime Minister @ShahBalen and congratulate him on the strong mandate he has received. I affirmed ADB’s strong commitment to supporting his ambitious reforms towards economic transformation, job creation, and investment. ADB is stepping up as… pic.twitter.com/GxWFAqgway — Masato Kanda (@ADBPresident) July 7, 2026