विकासन्युज

७४.५३ करोड रुपैयाँमा राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गरुड सेक्युरिटीजले गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गरुड सेक्युरिटीजले गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालय सुरक्षाको जिम्मेवारी गरुड सेक्युरिटीज प्रालिलाई दिएको हो ।  बैंकको सामान्य सेवा विभागका अनुसार साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने गरी गरुड सेक्युरिटीज छनोट भएको हो । सुरक्षा श्रमिक भर्ना गरेबापत बैंकले गरुड सेक्युरिटीजलाई ७४ करोड ५३ लाख १३ हजार ६७९ रुपैयाँ भुक्तानी गर्नेछ । सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम नेपाल एक्स–टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाइ सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका थिए । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा बोलाएको थियो । बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको थियो । 

आज काठमाडौं विश्वविद्यालयको दीक्षान्त, १७ देशका १९६ सहित २ हजार २१९ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा २ हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । जसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह कुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम रहेको छ ।  समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यसहित दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिए । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुनेछन् ।  दीक्षितमध्ये विद्यावारिधि, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका १ हजार ७२८ जना रहेका छन् । दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेका छन् ।  समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये ५ हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधिमा भारतका ४ हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए । 

१५.४६ प्रतिशत लाभांश बाँड्ने एनआइएमबिको घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । एनआइएमबि एस क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.०९ प्रतिशतका दरले ३ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.३७ प्रतिशतका दरले १२ करोड रुपैयाँ नगद गरी कुल १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले पुस २० गते साढे १२ बजे क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।  यस्तै, कम्पनीको जारी पुँजी परिवर्तन गर्ने तथा सो परिवर्तन सम्बन्धमा प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्न परेमा अख्तियारी संचालक समितिलाई दिने, संचालकहरुको कार्यकाल समाप्त भएकाले पुनः नियुक्ति गर्ने र गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम पारित गर्नेछ ।

सन् २०२६ मा करिब ५ अर्ब २० करोड यात्रु ढुवानी गर्ने, ४१ सय करोड नाफा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब ५ अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ । सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले ३ हजार ९५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने प्रक्षेपण गरेको छ । साथै सन् २०२६ मा पनि करिब ४ हजार १०० करोड रुपैयाँ बराबरको मुनाफा रहने अपेक्षा राखिएको छ । उपकरण आपूर्ति शृङ्खलामा देखिएका अवरोध, विश्वव्यापी राजनीतिक तनाव, सुस्त हुँदै गएको व्यापार र राष्ट्रहरूले थपेका कडा नियमजस्ता चुनौतीका बीच पनि राम्रो सुधार देखिएको महासचिव विलि वाल्शले बताए ।  उनले विशेषतः हवाई मालसामान ढुवानीको सुधारिएको अवस्थाले विमान सेवाको समग्र आर्जनमा ठुलो योगदान पुर्याएको उल्लेख गरे । साथै, क्षेत्रगत आम्दानी फरक-फरक रहेको बताइएको छ । यस वर्ष यात्रु सङ्ख्या पनि उच्च रहने अपेक्षा गरिएको छ, जुन सन् २०२५ मा करिब ४ अर्ब ९८ करोड पुग्नेछ, र यो २०२४ को ४ अर्ब ७७ करोड यात्रुको अघिल्लो कीर्तिमानभन्दा धेरै हो ।

इलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै, जित्नेले विराटनगर किङ्ससँग खेल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज अपरान्ह ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो ।  आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

६५७ मध्ये ८७ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न, ३२ अर्ब धेरै खर्च

हिमाल लम्साल काठमाडौं । सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका ४ पालिकासहित मुलुक भरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सार्यो । योजनामा पालिकाको क्षमताअनुसार क्रमशः ५, १० र १५ शय्या क्षमताका आधारभूत अस्पताल २ वर्षभित्रै सम्पन्न हुने गरी बनाउने घोषणा गरिएको थियो । घोषणाअनुसार पर्सा जिल्लामा ४ आधारभूत अस्पताल निर्माण हुनुपर्नेमा अहिलेसम्म भने एउटा अस्पताल मात्रै सञ्चालनमा आएको छ । बाँकी तीन आधारभूत अस्पतालको निर्माण कहिले सकिने अझैसम्म पनि टुङ्गो लागेको छैन । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने यहाँको ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माण अझैसम्म पूरा भएको छैन । ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले पालिकामा निर्माण गर्ने १५ शय्याको अस्पतालको काम पूरा नभएको बताए ।  ‘आधारभूत अस्पतालको भवन मात्रै ठडिएको छ । झ्याल÷ढोका, खानेपानीका पाइपलगायतका काम तथा अत्यावश्यक पूर्वाधारका संरचना अझैसम्म पनि तयार भएका छैनन्,’ उनले भने, ‘निर्माण कम्पनीले बजेट अभाव देखाउँदै बाँकी रहेको काम सम्पन्न गर्ने तदारुकता देखाइरहेको छैन ।’ आफूहरूले आधारभूत अस्पतालको भवन सम्पन्न गराउनुको लागि पटकपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहलकदमी गरे पनि अहिलेसम्म उपलब्धि नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले अस्पताल भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी विरुद्ध कालोसूचीमा राख्नका लागि सिफारिस गर्ने चरणमा पुगेको बताए । आधारभूत अस्पताल भवन सम्पन्न गर्न अझै पनि २ करोडभन्दा धेरै खर्च लाग्ने उनको भनाइ छ ।  अध्यक्ष श्रेष्ठले आधारभूत अस्पताल भवन तत्कालै निर्माण सम्पन्न भए सेवाग्राही लाभान्वित हुने बताए । ठोरीको मात्रै नभएर यहाँका अन्य २ पालिकामा पनि आधारभूत अस्पतालको प्रगति उत्साहजनक छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । सो अस्पतालको प्रगति २५ प्रतिशत मात्रै छ । त्यस्तै, जिरा भवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको पनि प्रगति २० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सङ्घीय सरकारले अघि सारेको आधारभूत अस्पतालमध्ये पर्साको पटेर्वासुगौली गाउँपालिकामा भने १० शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले आफूहरूको निरन्तरको पहलकदमीका कारणले आधारभूत अस्पताल सम्पन्न गरेर सेवा प्रवाह गर्न सकेको बताउँछन् ।  ‘हाम्रो पालिकामा पनि १० शय्याको आधारभूत अस्पताल सम्पन्न गराउन विभिन्न खालका बाधा अड्चन त आएका थिए । हाम्रो निरन्तर पहलकदमी र समन्वयकै कारणले अस्पतालको भवन निर्माण सम्पन्न गराएर अहिले नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध हुँदै आइरहेको छ,’ उनले भने ।  अहिले पटेर्वा सुगौलीको आधारभूत अस्पतालमा एक एमबिबिएस उत्तीर्ण गरेका चिकित्सकसहितको स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । अध्यक्ष चौधरीले पालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय तथा सहकार्य गरेर अस्पतालमा विभिन्न स्वास्थ्य उपकरणसहितको भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको दाबी गरे । ‘पालिकाले अब आन्तरिक स्रोतबाट एक चिकित्सकलाई राख्ने तयारीमा जुटिरहेका छौँ । दुई जना चिकित्सक भएको खण्डमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुनेछ,’ उनले भने ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ गते पहिलो चरणमा मुलुकभरका ३९६ पालिकामा ५ देखि १५ शय्याको अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला ३९६ अस्पताल २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने बताइएको थियो । सङ्घीय सरकारले पहिलो र दोस्रो चरणमा गरेर मुलुकभरमा रहेका ७५३ पालिकामध्ये ६५७ वटा पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सङ्घीय सरकारले २ चरणमा गरेर मुलुकभरका ६५७ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजनामध्ये अहिलेसम्म ८७ वटा आधारभूत अस्पताल निर्माणको काम सम्पन्न भइसकेको बताए । ‘६५७ आधारभूत अस्पतालमध्ये हालसम्म ४२७ वटा अस्पतालको ठेक्का सम्झौता भइसकेको छ । बाँकी रहेका २३० वटा अस्पतालको अहिलेसम्म पनि ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन,’ उनले भने । प्रमुख पौडेलका अनुसार २३० पालिकामा आधारभूत अस्पताल निर्माणका लागि जग्गा प्राप्ति र अस्पताल कहाँ निर्माण गर्ने भन्ने ठाउँ विवादले ठेक्का व्यवस्थापनको काम अघि बढ्न नसकेको बताए । दुई चरणका आधारभूत अस्पताल निर्माणका लागि गरेर ९२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । हालसम्म करिब ३२ अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भइसकेको उनले जनाए ।  सरकारले चालु आर्थिक वर्षसम्म १०६ आधारभूत अस्पताल निर्माण सम्पन्न हुने लक्ष्य राखेको छ । चालु आवमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । महाशाखा प्रमुख पौडेलले ठेक्का सम्झौता भएर काम सुरुआत भएका आधारभूत अस्पताल निर्माण गर्ने काम भइरहेको बताए । ठेक्का व्यवस्थापन नभएका आधारभूत अस्पतालको प्रक्रिया अघि बढ्न न सकिरहेको उनले बताए ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत प्रकाश पन्थीले आधारभूत अस्पताल निर्माणको भौतिक प्रगति र सञ्चालन भएका अस्पतालको विवरणलाई व्यवस्थित गर्न ‘सिस्टम डिजाइन’को काम अघि बढिरहेको जानकारी दिनुभयो । विसं २०८२ वैशाख ८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरको निर्णयबाट आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ समेत स्वीकृत भइसकेको छ । सो मापदण्डमा स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ । सङ्घीय सरकारले निर्माण सम्पन्न भएका अस्पतालको संलग्न नमुना दरबन्दी तेरिजका आधारमा जनशक्ति व्यवस्थापनको लागि छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मी मन्त्रालय र विभागले प्रदेशमार्फत खटाउने र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने जिम्मेवारी तोकिएको छ । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि खटिएका जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि र आवधिक सुपरीवेक्षण गर्ने दायित्व तोकिएको छ । अस्पताल सञ्चालनको पूर्ण स्वामित्व एवं जिम्मेवारी भने स्थानीय सरकारको हुने मापदण्डमा तोकिएको छ । सम्बन्धित स्थानीय तहले निःशुल्क आधारभूत सेवाको सुनिश्चितताका लागि २४सै घण्टा सामान्य आकस्मिक सेवा, बाहिरङ्ग सेवा, फार्मेसी सेवा, प्रयोगशाला, एक्स-रे सेवालगायत उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ । रासस

केही मतदानस्थलको पुनरावलोकन गर्दै, पायक पर्ने मतदानस्थलमा नाम सार्ने सुविधा

काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदान स्थल पुनरावलोकन गर्न लागिएकाले आम मतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ । नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडा भित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित वडा भित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ । 

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला-ढल्केबर-पथलैया सडक पूर्वी खण्ड आयोजनाका प्रमुख राजेश कुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीका बीच लामो समय पश्चात् डिभिजन वन कार्यालय, वन तथा भू-संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो । प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए । सो अन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा १ हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए । उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ । सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछाउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताए । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनको भनाइ छ ।