विकासन्युज

क्यान्सरले हरेक वर्ष १० लाखको ज्यान लिँदै, रोकथाम र समयमै उपचारमा जोड

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतना मूलक कार्यक्रमका साथ मनाइन्छ ।  सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सर विरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतना मूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको  क्यान्सरका कारण मृत्यु हुने गरेको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । 

भारतीय भूमिमा ढुवानी गर्दा विलम्ब, थप रेल उपलब्ध गराउन लबिङ

काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार केही महिना यता नेपालका लागि आयातित सामान भारतीय भूमिमा ढुवानी गर्दा विलम्ब भइरहेको जानकारी गराउँदै नेपाली सामान ढुवानीका लागि थप रेल उपलब्ध गराउने पहल गरिदिन सचिव घिमिरेलाई आग्रह गरिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव बमोजिम भारतीय र नेपाली बजारमा वस्तुको मूल्यमा फराकिलो अन्तर नहुने गरी भन्सार महसुल र अन्य करका दरहरू समायोजन गरी ग्रे मार्केट नियन्त्रण गर्नुपर्नेमा पनि उनले जोड दिए ।  तेस्रो मुलुकमा निर्मित मेसिन औजारका पार्ट पुर्जा भारतबाट आयात गर्न पाउने व्यवस्थाका लागि नेपाल–भारत वाणिज्य सन्धिको प्रोटोकल संशोधनका लागि पहल गर्न पनि सङ्घले आग्रह गरेको छ । पछिल्लो समय सरकारले स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सञ्चालन गर्न पनि सङ्घले माग गरेको छ । त्यसैगरी एजेन्सी ऐनका कठिन प्रावधान संशोधन गर्न जोड दिएको सङ्घले फर्म नवीकरणमा एकद्वार नीतिको आवश्यकता औंल्याएको छ । सरकारी निकायमा एक ठाउँमा कागजात पेस गरिसकेको अवस्थामा ती कागजात आवश्यक पर्दा जुनसुकै सरकारी निकायले अनलाइनबाटै प्राप्त गर्न सक्ने प्रणाली विकास प्रक्रिया सरलीकरण गर्न पनि सङ्घले माग गरेको छ । अधिकतम खुद्रा मूल्यको विषयमा विद्यमान द्विविधा हटाउन आग्रह गरेको सङ्घले प्रत्येक फर्मले वार्षिक कारोबारको फाँटबारी वाणिज्य विभागमा पेस गर्नुपर्ने प्राइभेट फर्म रजिस्ट्रेसन नियमावलीको प्रावधानले व्यवसायको लागत बढाउने र झन्झट थप्ने काम मात्र गरिरहेको गुनासो गरेको छ । सङ्घले खुला बजार अर्थतन्त्रको मान्यताविपरीत सामान्य जनजीवनका आवश्यक वस्तु आयातमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । आयातमा प्रतिबन्ध लगाइएका वस्तुहरू सीमा नाकाका छिद्रमार्फत अनधिकृत रुपमा आयात भई बजारमा खुलेआम बिक्री हुने हुँदा यसबाट राजस्व गुम्ने, वैधानिक व्यापार रोकिने र अनधिकृत व्यापार फस्टाउने  सङ्घको तर्क छ । सरकारले नगदमा कारोबार गर्न पाउने सीमा १० लाख रुपैयाँबाट घटाएर ५ लाख रुपैयाँ कायम गरेकोमा पनि संघले असन्तुष्टि जनाएको छ । जवाफमा सचिव घिमिरेले विभिन्न वस्तुमा आयातमा कायम प्रतिबन्धबारे अध्ययन गरी सुझाव पेस गर्न आफूले समिति गठन गरिसकेको जानकारी गराउँदै सङ्घले उठाएका विषयहरुलाई सम्बोधन गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।दिए । सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा महासचिव जयन्त अग्रवाल, सचिव विष्णुकुमार जोशी र कार्यसमिति सदस्यहरु मयंक केडिया र आकाश गोल्छा सहभागी थिए । 

एपोलो हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न सेबोनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य १ सय रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति दिएको छ । त्यसमा ९ वटा जलविद्युत् कम्पनी, १ वटा उत्पादन कम्पनी, १ वटा होटल तथा पर्यटन र १ वटा विकास बैंक रहेका छन् । बोर्डले चालु आवको हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

निर्वाचनमा मुस्ताङमा हिमपातको डर, यस्तो सरकारको तयारी

काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । मुस्ताङमा निर्वाचनका लागि सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आँकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरू छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । निर्वाचन कार्यतालिका अनुसार मतदानको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजीअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका-२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड-ताङ्ग्याका मतदाताहरू सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा-८ वटा, घरपझोङ गाउँपालिकामा-६ वटा, लोघेकर दामोदरकुण्डमा-१० वटा, वारागुङ मुक्तिक्षेत्रमा-९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ । मुस्ताङका प्रजीअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेटको सुविधा छ । मुस्ताङमा ११ हजार ३२८ जना मतदाता छन् । जसमध्ये पुरुष ५ हजार ५५९ जना, महिला ५ हजार ७६८ र अन्य १ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।  मुस्ताङको घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०८, लोघेकर दामोदर कुण्डमा १ हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ । निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी, बागमती र गण्डकीमा हिमपात र वर्षा, तराईमा कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा  आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा ‘फ्युचर ग्रेट अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्मानित भएका छन् । ‘द गोल्ट एन्ड मिलो अवार्ड्स २०२६’ अन्तर्गत व्यक्तितर्फको ‘फ्युचर ग्रेट अफ द इयर’ विधामा उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । उक्त अवार्ड युएईको प्रतिष्ठित होटल एटलान्टिस द रोयलमा सोमबार आयोजित समारोहमा प्रदान गरिएको हो ।  व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफहरू पुरस्कृत भएका थिए भने १२ वटा रेस्टुरेन्टहरू पनि विभिन्न विधामा सम्मानित भए । हाल श्रेष्ठ युएईको टु–मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफ का रूपमा कार्यरत छन् । उनी विश्वका सर्वाधिक प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा समेटिएका नाम हुन् । मिसेलिन गाइड २०२५ मा उनले लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् । बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लिया मा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् । परिवारका अन्य सदस्यभन्दा फरक बाटो रोज्दै उनले पाककला क्षेत्रमा करिअर निर्माण गरेका हुन् । विश्वविद्यालयको अध्ययनपछि उनले ले म्यान्वार ओ क्वा सैजों र मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता चर्चित मिसेलिन–स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिए । त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्टहरूमा अनुभव बटुल्दै अन्ततः युएईको ‘रो अन ४५’ सम्मको यात्रामा पुगेका हुन् ।

पुनर्बीमा कम्पनीले दिएनन् दाबी भुक्तानी, प्राधिकरण पुगे बीमा कम्पनी

काठमाडौं । पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको गुनासो बोकेर निर्जीवन बीमा कम्पनीहरू नेपाल बीमा प्राधिकरणमा पुगेका छन् । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीहरूबाट बीमा कम्पनीहरूलाई दिनुपर्ने रकम भुक्तानीमा सहजीकरण गरिदिनुपर्यो भनेर ध्यानाकर्षण पत्र बुझाएको हो । बीमक संघका अनुसार दुई पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई २ अर्ब रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको छ । जसमध्ये नेपाल रि इन्स्योरेन्सबाट ८२ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, हिमालयन रिले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । संघका अध्यक्ष वीरेन्द्र वैदवारले पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी नदिँदा बजारमा समस्या भएको बताए ।  ‘पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीलाई दिनुपर्ने भुक्तानी समयमै नहुँदा बजारमा असहज भएको छ, त्यो रकम दियो भने हामीलाई यता जेनजीको भुक्तानी तिर्नलाई सजिलो हुन्छ,’ उनले भने ।  उनले कम्पनीलाई पुनर्बीमाले तिर्नुपर्ने १०/२० करोडको लागि मात्रै गुनासो गरेको नभएर समग्र बजारमा देखिएको समस्या समाधान होस् भनेर संघले प्राधिकरणसमक्ष निवेदन पेश गरेको सुनाए ।  प्राधिकरणसमक्ष ध्यानाकर्षण गराएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, खासमा अहिले पुनर्बीमा कम्पनीभित्र पनि समस्या नै छ,’ उनले भने ।  यता नेपाल बीमा प्राधिकरणले पनि बीमक संघबाट रि इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी नदिएको भन्ने पत्र प्राप्त भएको बताएको छ । प्राधिकरणका अनुसार यस विषयमा दुवै पक्षलाई सँगै राखेर छलफल अगाडि बढाउने तयारी गरेको छ ।  कुन कम्पनीलाई कति भुक्तानी दिन बाँकी ?  पुनर्बीमा निर्देशिकाको परिच्छेद ९ दफा २६ अनुसार बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनदेन अर्को त्रैमासिक अवधिभित्र राफसाफ गर्नुपर्ने र सोही दफाको उपदफा (२) मा बीमकले अर्को बीमकसँग गरेको फ्याकल्टेटिभ पुनर्बीमा कारोबार प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को वैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीलाई तिर्नुपर्ने रकम समयसीमा भित्रै भुक्तानी गर्ने गरेको भएता पनि पुनर्बीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएको संघले पत्रमा उल्लेख गरेको छ । नेपाल बीमक संघका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई हिमालयन रिले १७ करोड ७१ लाख १५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सँगै सिद्धार्थ प्रिमियरले नेपाल रिलाई भने २६ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीलाई नेपाल रिले २ करोड ६७ लाख रुपैयाँ र हिमालयन रिले ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सानिमा जिआईसी इन्स्योरेन्सलाई हिमालन रिले भुक्तानी गर्न बाँकी रकम १८ करोड ४१ लाख रुपैयाँ रहेको छ । तर उक्त कम्पनीले नेपाल रिलाई भने २ करोड ९० लाख रुपैयाँ तिर्नुपर्ने देखिन्छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले हिमालयन रिबाट २ करोड ६७ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई नेपाल रिले ४९ करोड ८२ लाख रुपैयाँ र हिमालयन रिले ३१ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको संघले जनाएको छ ।  यसैगरी, आइजिआई प्रुडुन्सियललाई हिमालयन रिले ११ करोड रुपैंयाँ बराबरको भुक्तानी दिएको छैन । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल रिबाट १३ करोड ६१ लाख रुपैयाँ र हिमालयन रिबाट ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । नेशनल इन्स्योरेन्स कम्पनीलाई हिमालयन रिले १ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ । हिमालनय एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिबाट ३ करोड ३८ लाख रुपैयाँ र हिमालयन रिबाट ४९ लाख रुपैयाँ लिन बाँकी रहेको देखिन्छ । नेको इन्स्योरेन्स कम्पनीले हिमालयन रिबाट ३ करोड ८८ लाख रुपैयाँ र नेपाल रिबाट १३ करोड ९८ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ । रि–इन्स्योरेन्सले समयमै दाबी भुक्तानी नदिँदा बीमा कम्पनीहरूलाई बीमितको दाबी भुक्तानी गर्न कठिनाइ भएको संघको भनाइ छ । समयमै भुक्तानी नपाउँदा निर्जीवन बीमा कम्पनीहरूको तरलता व्यवस्थापनमा समस्या आउने र बीमितको दाबी भुक्तानी प्रक्रियामै ढिलाइ हुने जोखिम समेत संघले औंल्याएको छ ।  

नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा दीपक थापा मगर पक्राउ परेका हुन् । हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पक्राउ परेको छोरालाई छुटाइदिने भन्दै ठगी गरेर फरार रहेका मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बानियाँटारबाट पक्राउ गरेको हो।  २०८२ मंसिर १५ गते हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा शेर्पा पक्राउ परेका थिए । तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने ४० वर्षीय मगरलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।